‘धराप’ बन्दै टोपे खोला

नारायणगढ–मुग्लिन सडक
रमेशकुमार पौडेल

चितवन — नारायणगढ–मुग्लिन सडक खण्डको टोपे खोलामा पहिरो खस्दा बुधबार दिनभर सडक अवरुद्ध भयो । असार १२ गतेको पहिरोले लगातार ११ घण्टासम्म सडक बन्द भएको थियो । असारयता मात्रै यो ठाउँमा तीन ठूला पहिरो गइसके ।

‘धराप’ बन्दै टोपे खोला

टोपे खोलामा यो वर्ष मात्रै पहिरोले दु:ख दिएको होइन । अघिल्लो वर्ष पनि ठूलो पहिरो झर्‍यो । लगभग ९ हजार घनमिटरको त्यो पहिरो हटाउन मेसिनलगायत उपकरणले लगातार १८ घण्टासम्म काम गरेका थिए ।

‘अघिल्लो वर्ष जुन ठाउँमा ठूलो पहिरो गएको थियो । त्यसैको आडबाट यो वर्ष पनि पहिरो खस्न सुरु भएको छ । यो पहिरोले अझै दु:ख दिन सक्छ,’ नारायणगढ–मुग्लिन सडक आयोजनाका इन्जिनियर शिव खनालले भने ।

राजधानीको ‘लाइफ लाइन’ मानिने यो सडक खण्डको टोपे खोला पछिल्लो समय धराप बन्दै गएको छ । यात्रु सास्ती भोग्न बाध्य छन् । पहिरो हटाउने विषयमा आयोजनाका अधिकारीसँग पनि कुनै ठोस उपाय छैन । आयोजना प्रमुख रोहितकुमार बिसुरालले भने, ‘त्यो क्षेत्रमा भएको कमजोर भूभाग पानी पर्दा बगेर तल आउने हो । त्यो नसकिँदासम्म पहिरो झरी नै रहन्छ । अब अहिलेलाई त्यो कमजोर भाग कहिले सकिन्छ भनेर पर्खनुको विकल्प रहेन ।’

नारायणगढ–मुग्लिन सडकलाई एसियाली मापदण्डअनुरूप दुई लेनको बनाउन २०७२ वैशाखदेखि विस्तारको काम भइरहेको छ । साढे पाँच मिटर चौडाइको सडकलाई ९ देखि ११ मिटरसम्म चाक्लो बनाइएको छ । टोपे खोला क्षेत्रमा भने सडकको चौडाइ ९ मिटर छ । साँघुरो सडकलाई चौडा पार्न पहाड काटिएको छ । पहाड काटेको ठाउँमा पहिरो खस्ने समस्या बढेको छ ।

गत वर्ष ठूलो पहिरो गएपछि यो वर्ष नियन्त्रणका लागि काम भएको थियो । ‘अघिल्लो वर्ष जहाँ पहिरो गयो, त्यहाँ रक नेटिङ र रक बोल्टिङको काम भएको हो । पुरानो पहिरो गएको ५० मिटर लम्बाइमा सुधारको काम गरेका छौं । जहाँ पहिरो नियन्त्रणको काम भयो त्यहाँ यो पटक केही भएन । आडैबाट भने अर्को पहिरो खस्यो,’ इन्जिनियर खनालले भने ।

पहिरो नियन्त्रणको विषयमा अध्ययन गर्न आएको टोलीले अहिलेको क्षेत्रलाई जोखिम मानेको थिएन । त्यसैले त्यहाँ नियन्त्रणको काम पनि भएन । अहिले पहिरो गइरहेको टोपे खोला क्षेत्रमा रक नेटिङ र रक बोल्टिङको काम गर्न अप्ठेरो छ । कडा सतह र चट्टान भएको ठाउँमा रक नेटिङ र रक बोल्टिङ गर्न मिल्छ । आयोजना प्रमुख बिसुरालका अनुसार अहिले पहिरो गएको ठाउँमा कमलो माटो छ ।

‘कमजोर भाग झरेरै सकिएको राम्रो हो । त्यसो भएमा त्यो ठाउँ आफ्नो नेचुरल स्लोपमा आउँछ,’ उनले भने । मुग्लिन सडकको २९ ठाउँमा पहिरोको जोखिम छ । जलविरेदेखि मुग्लिनसम्मको सात किलोमिटरको दूरीमा यस्तो जोखिम धेरै छ । नयाँ ठाउँमा पहिरो जान सुरु भएपछि पानी पर्दा फेरि खस्ने सम्भावना उत्तिकै हुने आयोजना प्रमुख बिसुरालले बताए ।

‘टोपे खोलामा पनि एकपछि अर्को गरी पहिरो झरेको झर्‍यै छ । माथि–माथिबाट पहिरो खसेको देखिन्छ । कमजोर माटो पूरै नझर्दासम्म पहिरोको खतरा कायमै छ,’ आयोजना प्रमुख बिसुरालले भने ।

प्रकाशित : असार २१, २०७५ ०७:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?