कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

हुड्केलीका ८७ वर्षे नायक

पुर्खाको नासो बुबाबाट छोरामा सर्दै गयो, छोराबाट नातिमा र नातिबाट पनातिमा । तर ८७ वर्षे लालबहादुर दमाईंले आफ्ना सन्तानमा सार्न सकेनन् । भन्छन्, ‘छोरा–नातिले चासो दिएनन् ।’
डीआर पन्त

समैजी (डडेलधुरा) — नेपाल एकीकरण गर्दा गोर्खाली फौजले कसरी कर्णालीवारि आक्रमण गर्‍यो ? डोटी राज्यका वीरहरू कसरी मारिए ? डोटी राज्य जितेर वडाकाजी अमरसिंह थापाले डडेलधुरामा किल्ला बनाएर कसरी कुमाउंँ–गढवालसम्म जिते ? तत्कालीन समयको इतिहास मुखाग्र छ, हुड्केली गायक लाल दमाईंलाई ।

हुड्केलीका ८७ वर्षे नायक

उमेरले ८७ टेकिसकेको छ । मुखबाट स्पष्ट आवाज आउन छाडिसक्यो । शरीरले पनि साथ दिन छाड्दै गएको छ । तर पनि डडेलधुराको साविक समैजी गाउँपालिकाका लाल दमाईंको उत्साह र जोस मरेको छैन । उनी युवा हुँदा जसरी हुड्केली गाउंँथे आज पनि त्यही उत्साहका साथ डोटी राज्यको इतिहास, नेपाल एकीकरणमा गोर्खाली फौज र डोटेली फौजबीच भएको लडाइँ र तत्कालीन वीर योद्धाका गाथा सुनाउँछन् ।

त्यतिमात्र होइन, लोककाव्य हुड्केलीमा ८ सय वर्षअघिको डोटी राज्यको स्पष्ट वर्णनसमेत हुन्छ । कुनै समय थियो लाल दमाईंले नाच्दै बजाउंँदै हुड्केली गाउन सुरु गरे भने घण्टौंसम्म गाइरहन्थे । हेर्ने र सुन्नेलाई पनि समय बितेको पत्तै हुँदैनथ्यो ।

१० छोरा २ छोरीका पिता लाल दमाईंले जीवनभरि हुड्केली गाएरै सन्तान हुर्काए । डडेलधुरा, बैतडी र डोटीका यस्ता कुनै गाउंँ र जात्रा छैनन्, जहाँ उनले हुड्केली नगाएका हुन् । लालबाट हुड्केली सिक्नेहरूको पनि लामो सूची छ । भन्छन्, ‘नयाँं पुस्ताले सिकेन, आफ्नै समकालीन धेरैलाई मैले सिकाएँ । कोहीचाहिँ मरिसके ।’

यो सांस्कृतिक लोककाव्य संरक्षणमा कसैले चासो नदिएकोमा भने उनको गुनासो छ । ‘मेरा आफ्नै सन्तानले पनि हुड्केलीमा गाइने लोककाव्य सिक्न सकेनन्,’ उनी भन्छन् । पुर्खाको नासो बुबाबाट छोरामा सर्दै गयो, छोराबाट नातिमा र नातिबाट पनातिमा सर्‍यो । तर ८७ वर्षीय लालबहादुरले आफ्ना सन्तानमा पुर्खाको नासो सार्न सकेनन् । ‘अलि–अलि त आउंँछ छोराहरूलाई पनि, तर यसप्रति छोरा नातिले चासो दिएनन्,’ उनले भने ।

महाभारतमा सञ्जयले धृतराष्ट्रलाई कुरु क्षेत्रको कौरव–पाण्डव लडाइँ प्रत्यक्ष वर्णन गरेजस्तो उनी गोर्खाली फौज र डोटी राज्यबीच भएको लडाइँ हुड्केली गाउँंदै सुनाउंँछन् । कुमाउनी युवराज्ञी रानीमौलाले घटाल बाबा डडेलधुरा ल्याएको इतिहास होस् वा डोटेली राजाका युवराज नभएपछि जुम्लाबाट युवराज ल्याएर मल्ल राजाहरू शाही भएको इतिहास पनि हुड्केलीमा पाइन्छ । स्थानीय देवी देउताका कथा र गाथा गाइने हुड्केली मौखिक इतिहास हो ।

लाल दमाईं हुड्केली गाउने पछिल्लो पुस्ताका एक्ला गायक भने होइनन् । बैतडी र डडेलधुराका विभिन्न गाउँंमा अहिले पनि हुड्केली गाएर इतिहास सुनाउनेको कमी छैन । तर लाल दमाईं भने यी सबै गायकका नायक मानिन्छन् । ‘लाल दमाईं जस्तो हुड्केली गाउने यो क्षेत्रमा विरलै पाइएलान्,’ भागेश्वरका नवल दमाईं भन्छन्, ‘समयसँगै लाल दमाईं वृद्ध भए पनि उनीसँग जस्तो इतिहासको भण्डार आज कसैसँग पनि छैन ।’ ‘अलिखित इतिहासप्रति कसैले चासो नै दिएनन्,’ नवलले भने, ‘सम्भवत: लाल दमाईंसँगै डोटी राज्यको अलिखित मौखिक इतिहास पनि समाप्त भएर जानेछ ।’

हुड्केली सुदूरमा गाइने सांस्कृतिक लोककाव्य हो । दमाईं समुदायका गायकमा पुस्तान्तरण हुंँदै आएको हुड्केलीमा डमरुजस्तो बाजा बजाउंँदै गाइने परम्परा छ । सुरुसुरुमा राजा रजौटाहरूले आफ्नो वंश परम्पराको इतिहास राख्न सुरु गरेको हुड्केली कालान्तरमा लोककाव्यमा परिणत भएको हो । बाइसे/चौबीसे राजाहरूका समयमा हुड्केली सुरु भएको इतिहास भेटिए पनि यो त्यस समयभन्दा धेरै पहिले सुरु भएको मानिन्छ । हुड्केलीमा गाइने गीत र गाथामा झन्डै १२ सय वर्षभन्दा पुरानो इतिहास भेटिने गरेको छ ।

‘११–१२ सय वर्षभन्दा पनि अगाडिका रोचक इतिहास हुड्केलीमा छन्,’ गायक लाल दमाईंले भने, ‘धेरैजसो गीत र गाथा मैले आफ्ना बुबा अमरसिंह दमाईंबाट सिकेको हुँ ।’ त्यतिबेला मनोरञ्जनका साधन थिएनन्, इतिहास जान्ने अरू माध्यम कमै थिए, पढेलेखेका पनि विरलै भेटिन्थे । उनका अनुसार त्यो बेला हुड्केली नै कमाउने र चर्चा पाउने माध्यम थियो । इतिहासकार योगी नरहरीनाथले आफूलाई पटकपटक भेटेको सम्झना छ उनीसँग । ‘डडेलधुरा, बैतडी आउँँदा उनले जहिले पनि मलाई भेटेर जान्थे,’ उनले भने, ‘धेरै पटक योगीलाई मैलै हुड्केलीमा भएका गाथा र कथा सुनाएको छु ।’

डोटी राज्यको इतिहास लेखेका इतिहासकार भोजराज भट्टराई पनि हुड्केली अप्रमाणिक इतिहासको भरपर्दो स्रोत भएको बताउँछन् । उनी भन्छन्, ‘इतिहास लेखेर राख्ने चलन सुरु हुनुभन्दा पहिलेदेखि यो सुरु भएको पाइन्छ । हुड्केलीमा गाइने गाथा र इतिहास पुस्तान्तरण हुंँदा केही अपभ्रंश भए पनि जति बांँकी छन् ती सबै इतिहासका पथप्रदर्शक हुन् ।’

पछिल्लो पटक प्रज्ञा प्रतिष्ठानले डडेलधुरामा आयोजना गरेको सांस्कृतिक संगोष्ठीमा लाल दमाईंले गाएको हुड्केली सुनेर दंग परेका प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले यसको संरक्षणका लागि अभियान सुरु हुने बचन दिएका छन् । उप्रेतीले दिएको आश्वासन पछि सुदूरको लोक संस्कृतिको धरोधर हुड्केली संरक्षण हुनेमा सबै आशावादी देखिएका छन् ।


राती होइगै सेती, राती होइगै सेती

लहु बगन लाग्यो, लहु जमन लाग्यो

कोटमथी रुवाबासी, राजामरी कोट बाझो होइयो

कटेन गोर्खालीको मन...

प्रकाशित : असार ३२, २०७५ ०७:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?