कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

तातोपानी सीमालाई हेला !

अनिश तिवारी

तातोपानी (सिन्धुपाल्चोक) — भूकम्प, बाढी र दैनिक सुख्खा पहिरोको आपत व्यहोरिरहेको सीमाक्षेत्रको अवस्था दैनिक कमजोर बन्दै गएको छ । पाइलापिच्छै बर्खेको वर्षाले झरेको पहिरो र पूर्वाधार अभावमा सीमाक्षेत्रका बासिन्दा कष्टपूर्वक बाचिँरहेका छन् ।

तातोपानी सीमालाई हेला !

‘कुनै बेला यहाँ स्वर्ग थियो, व्यापारिक नाकाले सबैलाई सम्पन्न बनाएको थियो,’ लिपिङ बजारपासमा बसिरहेकी डोममाया शेर्पाले क्षतीग्रस्त बजार देखाउँदै भनिन्, ‘अहिले यो क्षेत्र खण्डहर बन्यो, कसैलाई वास्ता छैन् ।’ नाका नखुलेको कारणले गर्दा यहाँको आवश्यक पूर्वाधारलाई समेत वेवास्ता गरिएको शेर्पाले गुनासो पोखिन् ।

नाका खुल्दाको चहलपलदेखि भुकम्प, बाढी र आहिलेको दैनिक पहिरोको साक्षी बनेकी शेर्पाले सीमालाई व्यवस्थित बनाउन अत्यावश्यक भएको बताइन् । ‘नाका नभए चै के सीमा देशभित्र पर्दैन, किन यसलाई हेरिँदैन्,’ उनले प्रश्न गरिन् ।

सीमाको बजारमा धेरैपटक ठूला मन्त्री, नेता र सांसदले नाका खोलेर सीमाको मूहार फेर्ने सपना देखाएको तातोपानी राङबुसाका जोगबहादुर तामाङले भुलेका छैनन् । ‘सबै गफमा उडेर गयो, भोट माग्न अनेक तिकडम अपनाएर उल्लु बनाए, यसको फाइदा उठाए,’ तामाङले भने ।

बजारछेउमा भएको घरमाथि सुख्खा पहिरो झरेर भागभाग भएपछि उनी पुरानो गाउँ फर्केका हुन् । नाका नखुलेपनि ध्वस्त भएका सीमाका सडक र संरचनालाई पुनर्निर्माण गरिए धेरै समस्या नहुने उनको कथन छ । उनको अनुसार जिर्ण सडक र पहिरोको जोखिमले गर्दा यहाँका बासिन्दा बजार पनि झर्दैनन् ।
तातोपानी नाका सञ्चालन हुँदा सधैं व्यवसायी र पर्यटकले भरिने तातोपानी, लिपिङ बजार अहिले सुनसान बनेको छ । गएको असार २१ मा आएको भोटेकोसी बाढी पछि एकैसाथ ‘ग्राउण्ड जिरो’ मा झरेको सीमावर्ती क्षेत्र अझै तंग्रिन सकेको छैन् ।

भूकम्प र बाढीले थलिएको सीमावर्ती बजार लार्चा पुल भत्कीएपछि खण्डहर बन्दै गएको थियो । लार्चा पुल निर्माण र सुख्खा बन्दरगाह पुनर्निर्माणलाई तीव्रता दिइएको भएपनि सीमाको स्वरुप पुरानै स्वरुपमा छ ।

‘माथिल्लो पहाडबाट खसिरहेको ढुंगाले बाँकी बसेका घरभित्रै पसेर कुरुप बनाइरहेको छ,’ तातोपानी भन्सार कार्यालय अगाडि सुरक्षार्थ बसेका सेनाले भने, ‘केही बलियो मर्मत नगरे बर्खामा यो भुभाग नै बग्न सक्छ ।’

उनको अनुसार तातोपानी भन्सार कार्यालय अगाडिबाट नदी नै बग्न थालेको छ । सुख्खा पहिरोसँगै मिसिएर आएका चट्टानका टुक्राले वरीपरी भरिएको छ । क्षतीग्रस्त अध्यागमन् कार्यालय, क्वारेन्टाइन् र सुरक्षा निकायजस्ता महत्वपूर्ण पूर्वाधारको सुरक्षामा दुई सेना तैनाथ भेटिन्छन् ।

तत्कालिन प्रमुख जिल्ला अधिकारी अन्तरबहादुर सिलवाल र उच्च सरकारी अधिकारीको टोलीले आवश्यक भौतिक पूर्वाधार निर्माण भइसकेको जनाएका थिए । तातोपानी नाका खोल्न गरिएको सो पहलले सक्रियता नपाएपछि अहिले सीमावर्ती भेग पुरा थलिएको अवस्थामा छ ।

सडकखण्ड भत्किँदै गएको र माथिबाट ढुंगा खसिरहेकोले त्यहाँ जान स्थानीयलाई समेत बन्देज लगाइएको सीमास्थित सशस्त्र प्रहरी बलका डीएस्पी हजारिलाल जैसवालले बताए । मितेरी पुलदेखि तातोपानी बजार छेउसम्मका भुभाग पहिरोले भग्नावशेष मात्रै बाँकी राखेको उनले जनाए । कोदारी राजमार्ग सामान्य मर्मतसमेत नगरिँदा आउजाउको लागि समस्या भइरहेको उनले प्रष्ट्याए ।

२२ सयको बसोबास रहेको तातोपानीमा जोखिमको त्रासले अधिकाशंले घर छोडीसकेका छन् । विपन्न परिवार मात्रै जोखिम मोलेर आफ्नै थलोमा बस्न बाध्य छन् । सञ्चार, सडकजस्ता अत्यावश्यक कुराको अभावले गर्दा स्थानीय सास्तीमा परेको भोटेकोसी गाउँपालिकाका प्रमुख राजकुमार पौडेलले बताए ।

‘नाका नखुलेकाले सीमाक्षेत्रको यो अवस्था आएको हो,’ उनले भने, ‘आवश्यक पूर्वाधार निर्माण र व्यवस्थित बनाउने पहलमा एकमत भएर लागिरहेका छौं ।’ उनले सीमागाउँको मुहार फेर्न केन्द्रीय रुपमा तातोपानी नाका खोल्न पहल गरिरहेको सुनाए ।


‘केन्द्रीय सरकारबाट नाका खोल्नको लागि पूरा प्रयास गरिएको छैन्,’ उनले भने ।

जोखिम मोलेर यात्रा
सीमाक्षेत्र पुग्नको लागि दर्जनभन्दा बढी पहिरोको जोखिम मोल्नुपर्छ । कोदारी राजमार्गको झ्यालेभिर, चाकु, लार्चा, दशकिलो खण्ड काट्न पहिरोको कारण हम्मे पर्छ । ‘त्यसपछिको दशकिलो उताको सडक पुरा बाढीले कटानमा पारेको छ, जहाँ पैदल हिँड्नसमेत मुस्किल छ,’ तातोपानीतर्फ गइरहेका भोटेकोसी गाउँपालिका तातोपानी बजारका रामचन्द्र घतानीले भने ।

उनको अनुसार लार्चाबाट खोकुण्डोल पार गरेलगत्तै पहिरोले बगाएको सीमाक्षेत्र पुग्न जोखिमपूर्ण यात्रा गर्नुपर्छ । पैदल हिँड्न समेत मुस्किल भएकाले सबै सशस्त्र प्रहरी बलको सुरक्षामा मात्रै वारपार गर्ने गरेका छन् । ‘पहिरोको असुरक्षाका कारण प्रहरी या सशस्त्र स्थानस्थानमा खटेका देखिन्छन्,’ उनले भने ।

कोदारी राजमार्गको सिरिसे, डाक्लाङ, झ्यालेभिर, झिर्पुको हिन्दीदेखि लार्चासम्म भूकम्पले कमजोर बनाएका माथिल्लो भाग खस्ने क्रम नरोकिँदा जोखिम बढ्दै गएको हो ।

‘बाटोमा काल पर्खिएर बसिरहेको जस्तो लाग्छ,’ सुनमाया शेर्पाले तातोपानी जोड्ने बाटोमा झरिरहेको पहिरो देखाउँदै भनिन् । दसकिलो उताका पुरा जमिन भास्सिँदै गएको छ भने, पुरा सडक बगेर गइरहेको छ । खोकुण्डोल, दसकिलो र तातोपानी सुरु भएसँगै सवारीसाधन गुड्नको लागि सडकखण्ड बाँकी छैनन् ।

भुकम्प र ०७३ असार २१ को भोटेकोसी बाढीले ध्वस्त बनाएको सडक चिनियाँ निर्माण कम्पनी सिआरसीसीले पुनर्निर्माण गरेको थियो । उक्त सडकखण्ड बाढीले कटान गरेपछि पुरानै अवस्थामा फर्केको छ ।

प्रकाशित : श्रावण ४, २०७५ १२:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?