१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

कसरी हरायो ‘हरिश्चन्द्र’ ?

यज्ञश

काठमाडौँ — ‘नेपाली भाषाको पहिलो फिल्म कुन हो ?’ नेपालका अधिकांश स्कुलमा हुने हाजिरीजवाफ प्रतियोगितामा नछुट्ने प्रश्न हो यो । उत्तरमा जसले ‘सत्य हरिश्चन्द्र’ भन्यो, उसले नम्बर पायो । तर, यो फिल्म नेपाली भाषामै बनेको हो कि अन्य कुनै भाषाबाट नेपालीमा ‘डब’ गरिएको हो भन्ने प्रश्न बेलाबेला उठ्ने गरेको छ ।

कसरी हरायो ‘हरिश्चन्द्र’ ?

जुन समय कलकत्तामा डीबी परियार नेपाली भाषाको पहिलो फिल्मको तयारी गरिरहेका थिए, त्यस समय नेपाल भने राजनीतिक क्रान्तिको तयारीमा थियो । नेपाली कांग्रेसका नेताहरू बीपी कोइराला, गणेशमान लगायतको नेतृत्वमा राणा शासनविरोधी आन्दोलन २००७ सालमा चर्किरहेको थियो ।
***

कोलम्बो प्लानअन्तर्गत बेलायतको लन्डन विश्वविद्यालयमा फिल्म अध्ययन गर्न गएका यादव खरेल २०२८ मा पढाइ सकेर नेपाल फर्किने तयारीमा थिए । पढाइकै क्रममा बीबीसी नेपाली सेवामा पनि काम गरेका उनले त्यस बेला राजा महेन्द्र र युवराज वीरेन्द्रको अन्तर्वार्ता लिएका थिए ।

फिल्मको पढाइ सकेर उनी नेपाल फर्किंदा महेन्द्रको निधन भएर वीरेन्द्र राजा भइसकेका थिए । राजा वीरेन्द्र विकासलाई सञ्चारसँग जोड्नुपर्छ भन्ने ठान्थे । यसमा फिल्म पनि पथ्र्यो । यसका लागि शाही नेपाल चलचित्र संस्थान गठन गरिएको थियो । खरेल त्यसको अध्यक्ष तथा महाप्रबन्धक नियुक्त भए ।

अध्यक्ष भएको केही समयमै खरेलले फिल्म संग्रहालय बनाउने प्रस्ताव बोर्डमा लगे । बोर्ड सदस्य थिए बालकृष्ण सम, माधव घिमिरे, श्रीधर खनाल र टीका शाह । बोर्डले यो प्रस्ताव पास गरेपछि त्यस बेलाका पत्रपत्रिकामा विज्ञापन छापियो, ‘जो कसैसँग पनि फिल्मका फुटेज वा फिल्म छन् भने ल्याउनुस्, संग्रहालयका लागि सरकारले किन्छ ।’

‘पछिसम्म रहोस् भनेर मैले त्यस्तो अर्काइभको प्रस्ताव गरेको थिएँ । सूचना छापिएपछि ८, १६ र ३५ मिलिमिटरका फिल्म आए । लम्बाइ र गुणस्तर हेरेर संस्थानले ती फिल्म किन्यो,’ खरेल सम्झिन्छन् । उनका अनुसार त्यसै बेला मदन पुरस्कार गुठीले जुद्धशमशेरको एउटा फुटेज पनि बुझाएको थियो । तर, संस्थानले पाएको सबभन्दा ठूलो उपहार त्यो थिएन । त्यो थियो– ‘सत्य हरिश्चन्द्र ।’

खरेल प्रस्ट सम्झिन्छन्, ‘हरिश्चन्द्रको एउटा प्रिन्ट संस्थानमा आइपुग्यो । बोर्ड सदस्यहरूसमेत बसेर हामीले संस्थानकै अडिटोरियममा त्यो फिल्म हेर्‍यौं । प्रिन्ट राम्रो थियो । संस्थानले त्यस बेला ६ हजार रुपैयाँमा त्यो प्रिन्ट किन्यो ।’ नेपालमा सत्य हरिश्चन्द्र (राजा हरिश्चन्द्र पनि भन्ने गरिएको छ) हेर्ने थोरै मान्छेमध्ये खरेल पर्छन् । उनको बुझाइमा त्यो फिल्म डब होइन, नेपाली भाषामै बनाइएको हो । ‘लङ र मिडियम सटमा थाहा हुँदैन तर क्लोजअपमा कलाकारले बोलेका शब्द र मुख चलेको मिलेको छ कि छैन भन्ने थाहा हुन्छ । हरिश्चन्द्र नेपाली भाषामा थियो र कलाकारले बोलेका शब्द र ओठको चालको लय मिलेको थियो । लिप सिंक थियो । अर्को कुनै भाषाको फिल्ममा डब गरिएको भए त्यो मिल्दैनथ्यो,’ खरेल भन्छन् । उनको अनुमानमा फिल्म ३५ एमएम थियो ।
***

शंकर तिवारीले लेखेको परियारको स्मरण ‘फ्रम इन्डियाज फ्रिडम टु नेपाल्ज डेमोक्रेसी’का अनुसार काठमाडौंको वसन्तपुरमा जन्मिएका परियारको बसोबास कलकत्तामा थियो । उनी बंगाली कलाकार, प्राविधिकहरूको सहयोगमा नेपाली भाषाको पहिलो फिल्म बनाउने काम गरिरहेका थिए ।

सन् १९१३ मा भारतको पहिलो फिल्म बनाउँदा ढुण्डिराज गोविन्द फाल्केले पनि सत्यवादी राजा हरिश्चन्द्रकै कथा रोजेका थिए । हिन्दु धर्मको एउटा लोकप्रिय कथा भएकाले व्यावसायिक सफलताका हिसाबले पनि यसको सम्भावना त्यसबेला दरिलो देखिन्थ्यो । कलकत्ताको स्टुडियो एक्समा पोस्ट प्रोडक्सनको सबै काम सकेपछि २००८ सालमा यसको पहिलो प्रदर्शन गरियो ।

यता नेपालमा राणाजी र राजाको दरबारमा त्यस बेला सानो प्रोजेक्टरबाट विदेशी फिल्म हेर्ने चलन आइसकेको थियो । २००७ सालमा राणाशासनविरोधी आन्दोलन चलिरहेका बेला प्रधानमन्त्री मोहनशमशेर भने जनतालाई ‘मनोरञ्जन’ दिलाउन चाहन्थे । विदेश भ्रमण गर्नेले मात्र फिल्म हेर्न पाउने अवस्थामा अन्तिम राणा प्रधानमन्त्री मोहनशमशेरले सभागृहलाई चलचित्र भवन बनाई चलाएको दयारामभक्त माथेमाले आफ्नो स्मृति–पुस्तकमा उल्लेख गरेका छन् । ‘काठमाडौं सिनेमा हल’ नाम दिइएको यो हलमा भारतबाट फिल्म ल्याएर देखाइन्थ्यो । हल सञ्चालन गर्ने जिम्मा सरकारकै थियो । यता सशस्त्र क्रान्ति सुरु भयो । २००७ फागुन ७ गते दिल्लीमा कांग्रेस, राजा त्रिभुवन र राणा प्रधानमन्त्री मोहनशमशेरबीच सम्झौता भएपछि राणाशासन अन्त्य भयो । मोहनशमशेरको सरकारमा कांग्रेस सामेल भयो । बीपी कोइराला गृहमन्त्री बने भने गणेशमान उद्योग र वाणिज्यमन्त्री ।

गणेशमानले जनतालाई मनोरञ्जन दिने फिल्म हल सरकारले चलाउन नसक्ने निर्णय गरे । माथेमाका अनुसार त्यस बेला गोरखापत्रमा फिल्म हल चलाउन टेन्डर आह्वान गरियो । माथेमाले त्यो टेन्डर पाए । अनि उनले सरदार कृष्णलाल चित्रकारसँग मिलेर नेपालको पहिलो फिल्म हल जनसेवाको जग हाले । उनले राजा त्रिभुवनसँग २०११ वैशाख १ बाट फिल्म चलाउन सुरु गर्ने कबोल गरेको पनि आफ्नो पुस्तकमा उल्लेख गरेका छन् । यस हिसाबले हेर्दा जुन बेला हरिश्चन्द्र कलकत्तामा बनेको थियो, त्यस बेला नेपालमा व्यावसायिक फिल्म प्रदर्शन सुरु नै भएको थिएन । त्यस बेला यसको नेपालमा प्रदर्शन हुन सकेन । फिल्मको प्रोसेडिङलगायत पोस्ट प्रोडक्सनको काम भएको कलकत्ताको स्टुडियो एक्समा ठूलो आगलागी भएपछि यसको सबै स्टक र प्रिन्ट जल्यो ।

तर, फिल्मको एउटा प्रिन्ट भने बचेको थियो, जुन काठमाडौं आइपुगेको थियो ।
***

कलकत्तामा निर्माण भएको र अधिकांश बंगाली कलाकार (राजा हरिश्चन्द्रको भूमिकासमेत) र प्राविधिक भए पनि यो फिल्ममा अभिनय गर्न काठमाडौंका एक युवक कलकत्ता पुगेका थिए– ताहाचलका सागरदत्त कोइराला ।

राणाशासन ढल्नु करिब एक महिनाअघि २००७ माघदेखि काठमाडौंमा अमेरिकी सरकारको अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी) सुरु भइसकेको थियो । सागरदत्त यसमा जागिरे थिए । उनले सत्य हरिश्चन्द्रमा स्वर्गका राजा इन्द्रको भूमिकामा अभिनय गरेका थिए । कुन सम्पर्क वा माध्यमबाट उनी त्यहाँ पुगेका थिए भन्ने प्रस्ट छैन । उनी रामोन म्यागसेसे पुरस्कार विजेता पत्रकार भारतदत्त कोइरालाका दाइ हुन् । र, हरिश्चन्द्रको एउटा प्रिन्ट नेपाल ल्याउने पनि उनै सागरदत्त हुन् ।

त्यस बेला सागरदत्तका घरमा १६ मिलिमिटरका फिल्म हेर्न मिल्ने प्रोजेक्टर थियो । उनका भाइ (मामाका छोरा) केशव लामिछानेले पनि कैयौं पटक यो घरमा फिल्म हेरेका छन् । नेपाली भाषाको हरिश्चन्द्र हेर्नेमध्ये उनी पनि एक हुन् । ‘हरिश्चन्द्र ३५ मिलिमिटर थियो जस्तो लाग्छ । त्यो फिल्म घरमा होइन, बाहिर कतै लगेर हेरिएको थियो । नेपाली भाषामै बनेको हो । यसमा शंका नगरे हुन्छ,’ ७७ वर्षीय लामिछाने सुनाउँछन् ।

खरेल र लामिछानेले त्रिचन्द्रमा सँगै पढेका थिए । साथी भएकाले उनीहरूबीच कुराकानी भइरहन्थ्यो । जुन बेला खरेल चलचित्र संस्थानको महाप्रबन्धक भए, त्यसै बेला लामिछानेले एउटा पुरानो फिल्मबारे आफूलाई थाहा भएको बताए । ‘सागर दाइले ल्याएको त्यो प्रिन्ट उहाँको ट्यांकामा धेरै समयदेखि थियो । ढुसी लागेर बिग्रिने अवस्था थियो । त्यसैताका यादवले चलचित्र संस्थानबाट प्रिन्ट खोजेको सूचना पत्रपत्रिकामा छपाए । अनि भारतदत्त र मैले सल्लाह गरी प्रिन्ट लगेर बुझायौं,’ लामिछानेले भने । यसको सम्झना पत्रकार भारतदत्तलाई पनि छ ।

‘त्यो बेला केही प्राइभेट सोहरूमा यो फिल्म देखाइएको थियो । यसमा प्राविधिक गडबडी थिए । पौराणिक कथाको फिल्ममा एउटा दृश्यमा त टाढा रेल चलेकै पनि देखिन्थ्यो । बंगाली कलाकारहरूको नेपाली उच्चारण पनि धेरै शुद्ध छैन । तर, यो डब फिल्मचाहिँ होइन,’ लामिछाने भन्छन् ।

यो फिल्म भारतको कलकत्तामा निर्माण गरिएकाले यसलाई नेपाली फिल्म मान्न हुन्न भन्ने भनाइसँग लामिछाने सहमत छैनन् । ‘त्यति बेला नेपालमा फिल्म बन्नै सक्थेन । उपकरण थिएनन् । त्यसैले कलकत्तामा बन्यो । त्यसो भए त्यसबेला कलकत्तामा रेकर्ड भएका नेपाली गीतलाई नेपाली नमान्ने ?’ उनी प्रश्न गर्छन्, ‘अम्बर गुरुङले दार्जिलिङमा गाएका गीतलाई नेपाली नभन्ने ?’

सागरदत्तले कसरी नेपालमा फिल्म ल्याए भन्नेबारे लामिछाने यकिन भन्न नसकिने बताउँछन् । ‘फिल्मको कलाकार भएकाले नेपालमा देखाउन वा राजा त्रिभुवनलाई देखाउन पो ल्याउनुभएको थियो कि ?’
उनले भने ।
***

वीरेन्द्र राजा भएको केही महिना मात्रै भएको थियो । त्यसबेला उनले सञ्चारलाई निकै जोड दिएका थिए । विकासका लागि सञ्चार भन्ने मन्त्रजस्तै थियो । यसैले होला उनी सञ्चारसम्बन्धी संस्थानका प्रमुखहरूलाई प्रत्येक महिनाजसो आफैं भेट्थे । चलचित्र संस्थानमा हरिश्चन्द्रको प्रिन्ट आएको केही दिनपछि २०२९ सालको कुनै दिन अध्यक्ष तथा महाप्रबन्धक खरेल राजालाई भेट्न पुगे ।

संस्थानका प्रगतिबारे उनले ब्रिफिङ गरे, ‘अर्काइभका लागि थुप्रै फिल्म संस्थानमा आएका छन्, सरकार । नेपाली भाषाको पहिलो फिल्म हरिश्चन्द्रको पनि प्रिन्ट आइपुगेको छ ।’
‘हरिश्चन्द्र मलाई हेर्न दिँदैनौ त ?’ वीरेन्द्रले भने ।

‘म टक्रयाइहाल्छु सरकार,’ खरेलले भने ।

यसको दुई दिनपछि नै खरेलले संस्थानका एकजना कर्मचारीलाई फिल्मको प्रिन्टसहित राजदरबार पठाए । ‘मैले राजाका एडीसी शान्तबहादुर मल्ललाई फोन गरेर फिल्म पठाएको जानकारी गराएँ,’ खरेलले सुनाए ।

त्यसबेला दरबारमा प्रत्येक शुक्रबारजसो फिल्म हेर्ने चलन थियो । १५–२० जना परिवारका सदस्य बसेर फिल्म हेर्ने प्रोजेक्टर र हल भएको खरेल बताउँछन् ।

नेपालमा आएको र आगलागीबाट बचेको त्यो एउटै प्रिन्ट दरबारबाट कहिल्यै फिर्ता आएन । ‘त्यो बेला राजाले हेरे–नहेरेको/कहिले फिर्ता गर्ने भनेर सोध्ने अवस्था थिएन,’ खरेल भन्छन्, ‘दरबारबाट कुनै खबर आएन ।’

त्यसलगत्तै संस्थानमा खरेलको खटपट सुरु भयो । असन्तुष्ट भएर खरेलले राजीनामा गरे । उनीपछि यसको खोजखबर भएन ।

‘संस्थानको रेकर्डमा लेखेर फिल्म पठाएको हो, फिर्ता आएको रेकर्ड छैन,’ खरेल भन्छन् ।
***

त्यसको ३६ वर्षपछि २०६५ सालमा नेपालमा राजतन्त्र अन्त्य भयो । नारायणहिटी राजदरबार अहिले नेपाल ट्रस्टअन्तर्गत छ । तर, ‘हरिश्चन्द्र’ कहाँ छ ? यसको कुनै जवाफ छैन । नेपाल ट्रस्टले जवाफ दिन सक्छ कि ?

प्रकाशित : श्रावण ५, २०७५ ०७:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?