२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

जब पुस्तक पुरिए...

प्रकाश बराल

बागलुङ — रातको समयमा खसेको पहिरोले घर पुरिएपछि मनिकला अर्यालको परिवारले नजिकको जनता माविमा आश्रय लिएको छ । पहिरोले थातथलो उठाएपछि उनलाई दिनरात कटाउन गाह्रो परेको छ । पहिरो पन्छाएर सुरक्षित स्थानमा घर कहिले बनाउने भन्ने चिन्तामा मनिकला छिन् । उनका छोरा हिमालको फिक्री अर्कै छ । घरसँगै पुरिएका किताबकापी उनको चिन्ताको विषय हो । परीक्षा चलिरहेको थियो ।

जब पुस्तक पुरिए...

अकस्मात् उनले पढ्न पाएनन् । पहिरो खसेकै दिनदेखि नगरपालिका, प्रशासन र रेडक्रसलगायत संस्थाले खाद्यान्न, लत्ता कपडा र नगद सहयोग गरे । तर, बालबालिकालाई किताबकापी भने कसैले दिएनन् । ‘सबैका किताबकापी छन् । हाम्रो छैन, कसरी पढ्ने ?’ उनले भने, ‘जसले पनि ठूलाको समस्यालाई हेर्दा रहेछन् । हाम्रो समस्या कसले बुझिदिने ?’ १० कक्षाका यी विद्यार्थीले तत्काल किताब किन्न खोज्दा पनि नपाएको गुनासो गरे । पहिरोले घर पुरिएका सुमन पौवीका छोराछोरीको पनि यस्तै समस्या छ । छोरी कविता र छोरा किस्मत किताबबिनै विद्यालय जान बाध्य भएका छन् ।

बुर्तिवाङमा पहिरोले २८ घर पुरेको थियो । तीमध्ये पूर्ण र आंशिक क्षति भएका परिवारका सबै बालबालिकाको किताब पुरिएका छन् । यहाँका ४० बालबालिकाले गत सातादेखि पढ्न पाएका छैनन् । हातमा आफ्ना किताबकापी नहुँदा उनीहरू चिन्तामा परेका छन् । पढाइ निकै अघि बढिसकेकाले कक्षामा आफू पछि परिने त्रास धेरै बालबालिकामा छ ।

शैक्षिक सत्र सुरु भएको पनि लामो समय भएकाले बजारका स्टेसनरी पसलमा बालबालिकालाई चाहिने किताब भेटिँदैनन् । विद्यालयमा पनि उनीहरूलाई चाहिने किताबको व्यवस्था छैन । केही बालबालिका भने पुरिएको घर छेउमा खनेर किताब भेटिन्छ कि भनेर अझै खोज्दै छन् । ‘पुरिएको ठाउँमा दलदल बनेको छ, नजाउ भन्दा मान्दैनन्,’ पौवीले भनिन्, ‘हाम्रोभन्दा बालबालिकाको समस्या झन् अप्ठ्यारो हुने रहेछ ।’ साना बालबालिकाहरू पुरिएको घरकै छेउमा गएर खोस्रेर बस्ने गरेको उनले बताइन् । धेरै अभिभावकलाई आफ्ना सन्तानको यो चिन्ताले पिरोलेको छ ।

सहयोग दिन आउनेसँग उनीहरू बच्चाहरूका लागि किताब व्यवस्था गरिदिन अनुरोध गर्न थालेका छन् । शैक्षिक सत्र सुरुवातमा पसलहरूले निश्चित संख्यामा ल्याएर बिक्री गर्ने भएकाले विद्यालयस्तरका किताब स्टक राख्दैनन् । विद्यालयले सित्तैं वितरण गर्ने किताबहरू पनि बाँडेर सिध्याएकाले पहिरोपीडित परिवारका बालबालिकालाई पढ्न समस्या भएको हो ।

पहिरोपीडितको संख्या र क्षति विवरण जिल्ला दैवीप्रकोप उद्धार समिति र रेडक्रसले संकलन गरे पनि बालबालिकालाई पाठ्यपुस्तक चाहिने विषय उनीहरूको टिपोटमा परेको छैन । बालबालिकाको अवस्थाबारे अध्ययन नै नभएको शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख कुश्मराज उपाध्यायले बताए । ‘हामीले पनि तत्काल पुस्तक उपलब्ध गराउन सक्ने अवस्था पनि छैन,’ उनले भने, ‘अध्ययन गरेर कति आवश्यक भएको हो भनेर खोजी र माग गर्न सकिन्छ ।’ केही विद्यालयमा बाँकी पुस्तक भएमा ल्याएर वितरण गर्ने सोचाइ रहेको उनले बताए । ‘पाठ्यपुस्तक भन्ने कुरा शैक्षिक सत्रको मध्यतिर व्यवस्थापन गर्न सजिलो हुँदैन,’ उनले भने, ‘तैपनि समस्या आइपरेपछि हामीले कहाँबाट कसरी जुटाउन सकिएला भनेर छलफल गरिरहेका छौं ।’ कुनै विद्यालयमा मौज्दात रहेको पाइएको खण्डमा व्यवस्थापन सजिलो हुने उनले बताए ।

पहिरोपीडितलाई हाल जनता माविको अस्थायी आश्रयमा छ । विद्यालय खुलेपछि कता राख्ने कुनै ठेगान छैन । ‘जोखिम कम भएपछि विस्थापितलाई बासको खोजी गर्छौं,’ ढोरपाटन नगरपालिका–१ का वडाध्यक्ष चित्रबहादुर भण्डारीले भने, ‘पुनर्निर्माणका लागि पनि ठूलो खर्च लाग्ने देखिन्छ ।’ पहिरोले बुर्तिवाङ अस्पतालमा करोडौंको क्षति पुगेको छ भने ५ सय मिटर सडक भत्केको छ । क्षति भएका घर बनाउनका लागि नगरपालिका, नयाँ सहरी विकास आयोजना र स्थानीय अगुवाको साथ लिइने उनले बताए ।

पुरिएका घरको पुनर्निर्माण तथा जोखिम नियन्त्रणका लागि प्रमुख जिल्ला अधिकारी वेदप्रसाद खरेल, भवन डिभिजन प्रमुख प्रकाश अर्याल र सडक डिभिजन प्रमुख थानेश्वर खत्रीले स्थलगत अध्ययन गरिसकेका छन् । दुईतला पुरिएको अस्पतालको मर्मत र पहिरो पन्छाउनका लागि वरिष्ठ जनस्वास्थ्य प्रशासकले क्षति विवरण लिइएको बताए । वर्षामा अझै पहिरो आउन सक्ने भएकाले पहिलो चरणमा खोला नियन्त्रणको काम थालिने प्रजिअ खरेलले बताए ।

प्रकाशित : श्रावण ७, २०७५ ०७:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?