१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

कहाँ होलान् मकवानपुरका साढे तीन सय महिला र बालबालिका

प्रताव विष्ट

हेटौडा — मकवानपुरको सुदुरपुर्वमा पर्ने बागमती गाउँपालिकास्थित राईगाउ—१ की विवाहित २५ वर्षीया सरस्वती राई र २३ वर्षीया जमुना थिङ घरवाट हेटौडा घुम्न आएको एक महिना भइसक्यो, अहिलेसम्म उनीहरु घर फर्केका छैनन् ।

कहाँ होलान् मकवानपुरका साढे तीन सय महिला र बालबालिका

असार १ गते उनीहरु घरवाट निस्केका थिए । दुवैको चार वर्ष पुग्दै गरेको एउटा/एउटा छोरी छन् । राई र थिङ घरमा बच्चा छाडेर वेपत्ता भए । राईको पति नेपाल प्रहरीमा जागिरे छन् भने थिङको पति रोजगारीका लागि साढे १ वर्ष अघि कतार गएका छन् । वुहारीहरु घर फर्केनन्, भनेर दुवैको ससुराले जिल्ला प्रहरी कार्यालय हेटौडाको महिला सेलमा गत असार १३ गते निवेदन दिएका छन् । खोजी गरिदिन अनुरोध गर्दै निवेदन दिएका हुन् ।


राई गाउँको मात्र होइन मकवानपुर गढी गाउपालिका–८ वुढीचौर २४ का विवाहित जानुका विक पनि वेपत्ता भएको दुई महिना भइसक्यो । उनको पतिले उनलाई अहिलेसम्म फेला पार्न सकेका छैनन् । प्रहरीलाई खोजविन गरिदिन पनि निवेदन दिएका छन् । पति श्याम विक विदेशवाट फर्केको दिनदेखि पत्नीको खोजविनमा जुटिरहेका छन् । मलेसियावाट पति काठमाडौं ओर्लेकै दिनदेखि जानुका घरवाट वेपत्ता भएकी हुन् । घरका सासु ससुरालाई काठमाडौंमा पति लिन जानको लागेको भनेर उनी घरवाट निस्केकी थिइन् । उनी पतिलाई स्वागत गर्न पनि पुगिनन् र घर पनि फर्किनन् । २ र ४ वर्षका दुई छोरालाई छाडेर उनी वेपत्ता भइन् । पतिले विदेशवाट पठाएको सवै पैसा लिएर बेपत्त भएको बताइएको छ ।


मकवानपुरको कैलाश गाउँपालिका—३ कालिकाटारकी १९ वर्षीया सुनिता मोक्तान विदेश जान्छु भनेर हिडेको ५ महिना भइसकेको अहिलेसम्म अत्तोपत्तो छैन । विदेशमा गएर हराएको हो की, अन्त कतै गएको हो अहिलेसम्म अत्तोपत्तो छैन बावु दुर्गावहादुर मोक्तानले भने । छोरीको खोजविन गरिदिन जिल्ला प्रहरी कार्यालय हेटौडामा निवेदन दिएका छन् । वैदेशिक रोजगारीका निम्ति साढे एक वर्षअघि कतार पुगेका मकवानपुरगढी सुकौराका अर्जुन भ्लोनको पनि पत्नी चार महिनादेखि घरबाट वेपत्ता भएकी छिन् । उनको ससुराले जिल्ला प्रहरी कार्यालय हेटौडामा खोजविन गरिदिन निवेदन दिएका छन् ।


आव ०७४/०७५ को असार महिनामात्र विवाहित २२ सहित ३१ जना महिला वेपत्ता भएका छन् । यसैगरी मनहरी गाउँपालिका ७ रमनटारका २ वालिका र एक वालक असारको ८ गतेदेखि हराएका छन् । घरवाट मनहरी बजार घुम्न आएका तीन बालबालिका अहिलेसम्म घर फर्केका छैनन् । वालिकाको आमा सुन्तली विकले १३ वर्षीया छोरी हराएकाले खोजी गरिदिन अनुरोध गर्दै तस्बिरसहित निवेदन दिएकी छिन् ।


असार महिनामा मात्र मकवानपुरका १० वालिकासहित १२ जना बालबालिका हराएको महिला सेलले जानकारी दिएको छ । गत आवमा मकवानपुरका १ सय ५१ जना विवाहितसहित २ सय ४२ जना महिला हराएका छन् भने ६८ जना वालिकासहित १ सय ११ जना बालबालिका वेपत्ता भएका छन् । हराएकामध्ये २ सय ७ जना महिला र १ सय ५ जना बालबालिका फेला परेको प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता नरेशकुमार सिंहले वताए ।


मकवानपुर जिल्लामा आव ०७४/०७५ मा महिला र बालबालिका गरेर ३ सय ५३ जना वेपत्ता भएका थिए । ती मध्ये ४१ जनाको हालसम्म अत्तोपत्तो छैन । आव ०७३/०७४ मा १ सय ८२ जना महिला र ६९ जना बालबालिका हराएका थिए । ती मध्ये ४९ जना महिला र १८ जना बालबालिकामात्र फेला परेका थिए । १ सय ८४ जना वेपत्ता भएका थिए । गत आवमा महिला र बालबालिका गरेर ३ सय ५३ जना वेपत्ता भएका थिए । ती मध्ये ३ सय १२ जना फेला परेका छन् ।


आव ०७२/०७३ मा महिला र बालबालिका गरेर १ सय ६३ जनामात्र वेपत्ता भएका थिए । महिला र बालबालिका वेपत्ता हुने क्रम वढ्दो छ । ती मध्ये ७८ जना मात्र फेला परेका थिए । ८५ जना वेपत्ता भएका थिए । ‘महिला र बालबालिका वेपत्ता हुने क्रम बढ्दो छ’ बालबालिका क्षेत्रमा काम गर्दै आएका प्रकाश खतिवडाले भने, ‘महिला र बालबालिकालाई कता लगेर वेपत्ता पार्छन् पत्ता लगाउन मुस्किल परेको छ ।’


आव ०७०/०७१ मा ४५ जना महिलासहित ८० जनामात्र वेपत्ता भएका थिए । तीमध्ये ४३ जना फेला परेका थिए । ३७ जना वेपत्ता भएका छन् । वेपत्ताको संख्या वर्षेनी बढ्दै छ । प्रहरी कार्यालय हेटौडाको सुचिमा वेपत्ता भनिएकाहरु पनि घरमा आइसकेका होलान् तर कार्यालयलाई जानकारी नदिएका कारणले हराउनेको सुचि धेरै देखिएको प्रहरी नायब उपरीक्षक सिंहले भन्छन् ।


मकवानपुरबाट वेपत्ता भएका अधिकांश महिला र बालबालिकाहरु भारतको वेश्यालय, दिल्ली हुँदै अवैध ढंगले रोजगारीका लागि विदेश र सर्कसमा बेचिने गरेका छन् भने केही पतिलाई छाडेर दोस्रो विवाह गरेर सम्पर्कविहिन हुने गरेका छन् । ‘छोरी, वुहारी, नातिनातिनाहरु हराउँदा उनीहरुको आफन्तहरु रुदै निवेदन दिन आउने गर्छन् तर पछि फ्लअप पनि गर्दैनन् र घर फर्केको पनि जानकारी नै दिदैनन्’ जिल्ला प्रहरी कार्यालय हेटौडाकी महिला सेलकी दिपा कार्कीले भनिन्, ‘फेला परेपछि परिवारले जानकारी नै नदिने रोगले गर्दा वेपत्ता महिला र बालबालिकाको संख्या धेरै देखिएको हो ।’


गत आवको असार महिनामा महिला र बालबालिका ४२ जना हराएका छन् । ‘मकवानपुरबाट महिला र बालबालिकालाई विभिन्न प्रलोभनमा पारेर अवैधानिक ढंगले विदेशमा लगेर विक्री गर्ने गरेका छन’ बालवालिकाको क्षेत्रमा लामो समयदेखि काम गर्दै आएको सिविन हेल्पलाईनका प्रमुख झविन्द्र ज्ञवालीले भने, ‘पैसाको लोभमा परेर महिला र बालबालिकाहरु दलालहरुको हातमा पर्ने गरेका छन ।’


आव ०७०/०७१ देखि आव ०७४/०७५ सम्म अर्थात चार वर्षका वीचमा ३ सय ४७ जना महिला र बालबालिका वेपत्ता भएका छन् । उनीहरु कहाँ छन्, के गर्दैछन अहिलेसम्म अत्तोपत्तो छैन । प्रहरी विगतदेखि नै अहिलेसम्म खोजीमै छ । वेपत्ता हुनेका परिवारहरु पनि खोजी गरिरहेका छन् । तर फेला पार्न सकेका छैनन् ।

प्रकाशित : श्रावण ९, २०७५ १५:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?