कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७१

इजरायलबाट फर्केका ३३ प्रतिशत व्यावसायिक खेतीमा 

२१५५ युवायुवती स्वदेश फर्के, ५४० जना जाँदै
जितेन्द्र साह

विराटनगर — मुलुकभरबाट पाँच वर्षको अवधिमा साना किसान परिवारका २ हजार १ सय ५५ युवायुवतीले इजरायलमा आधुनिक कृषि प्रविधिको ज्ञान हाँसिल गरी स्वदेश फर्केका छन् । 
ती मध्ये ३३ प्रतिशत व्यावसायिक खेती गरिरहेको इजरायलको एउटा अध्ययनले देखाएको छ । 

इजरायलबाट फर्केका ३३ प्रतिशत व्यावसायिक खेतीमा 

तेल अविव विश्व विद्यालयका विज्ञहरुले नेपालमा गरेको एक अध्ययनमा इजरायलबाट फर्केका मध्ये ३३ प्रतिशतले व्यावसायिक कृषि कर्म गरिरहेको भेटिएको हो । साना किसान विकास बैंक लिमिटेडको प्रस्ताव अनुरुप इजरायल सरकारले छनौटमा परेका किसानका छोराछोरीलाई सन २०१३ देखि प्रविधियुक्त प्रशिक्षणसँगै अल्पकालिन रोजगारको समेत अवसर दिंदै आएको छ ।


उक्त बैंकले गरेको सर्वेक्षणमा भने उताबाट फर्केका ४४ प्रतिशत खेतीपातीमै लागेको देखाएको छ । ‘सार्वजनिक शोधको विषयमा विश्वमै मान्यता प्राप्त विश्वविद्यालय भएकोले उहाँहरुकै खोज बढी आधिकारिक मानिन्छ,’ बैंकका मुख्य प्रबन्धक झोलेन्द्र भट्टराईले कान्तिपुरसँग भने ।


सन २०१८ मा भने ४२ जिल्लाबाट चयन भएका ५ सय ४० जनाले यो अवसर पाएको उनले बताए । उनीहरुलाई १२ वटा समूहमा विभाजित गरी सीटीईभीटीद्वारा सञ्चालित कलेज र विद्यालयमा प्रशिक्षणको प्रबन्ध मिलाइएको उनले जनाए । भट्टराईले दिनको ७ घण्टाको दरले यो १ हजार ४ सय घण्टे तालिम इजरायल जानु अघि र फर्किसकेपछि समेत दिइने प्रष्टयाए ।


निर्धारित पाठ्यक्रमअनुरुप ६ सय घण्टे ‘क्लास रुम’ तालिम नेपालमा र ८ सय घण्टाको ‘अन द जब ट्रेनिंग’ इजरायलमा हुने गर्छ । इजरायल जानुअघि स्वदेशमा पाँच सातासम्मा दुई सय घण्टा र इजरायलबाट फर्केपछि १० सातासम्म ४ सय घण्टाको अतिरिक्त प्रशिक्षण दिइन्छ ।


‘यसपछि सीटीईभीटीले लिने लेभल टु भनेर बुझिने अन्तिम परीक्षा उत्तीर्ण गर्नेले जेटीए सरहको प्रमाणपत्र पाउँछन्,’ उनले भने । यसअघि काठमाडौं विश्वविद्यालयले समेत इजरायल जानेलाई प्रशिक्षण गराएको थियो । सीटीईभीटीका पाठ्यक्रम निर्देशक दीपक पौडेलले इजरायल जाने विद्यार्थी भाइबहिनीलाई अन्यौल नहुने गरी कृषि विज्ञहरुले परिमार्जित पाठ्यक्रम तयार पारेको जानकारी दिए । ‘सैद्धान्तिकसँगै समय सुहाउँदो व्यावहारिक पक्षमा समेत जोड दिइएको छ,’ उनले भने, ‘हामीले तयार पारिरहेको जनशक्ति प्रतिस्पर्धात्मक छ ।’

वर्षेनी हुने चयन प्रक्रियामा उक्त बैंकसँग ६८ जिल्लामा आवद्ध सात सय सहकारी संस्थाका सदस्य साना किसानका सन्तानले सहभागी हुन पाउँछन् । उक्त बैंकका अधिकारी, इजरायली सरकारका प्रतिनिधि र सञ्चारकर्मी सम्मिलित टोलीले ती संस्थाहरुले छानेर पठाएको नाममध्येबाट निर्धारित कोटाभन्दा दोब्बर संख्यामा युवा किसान छान्छन् । त्यसपछि अन्तर्वार्तामा सफललाई आधारभूत खेतीपाती तालिम पछि इजरायल लगिन्छ ।


यस्तै खाले कार्यक्रम अन्र्तगत नेपालीहरु पहिला पनि इजरायल पुग्ने गरेको तर भागेर लुक्ने हुनाले एकताका कोटा खारेज भएको थियो । २००४ पछि लामो समय इजरायलले नेपाललाई आफ्नो सूचीबाट हटाएको थियो । त्यहाँ प्रविधिमैत्री कृषि तालिमसँगै रोजगारका लागि जानेमा नेपालबाहेक ३१ मुलुकका छन् । एक संस्थाले सन २००३/२००४ मा सञ्चालन गरेको यस्तै एक कार्यक्रममा दुई समूहका गरी ६० जना उतै लुकेर बसेका थिए ।


‘त्यसपछि धेरै वर्षसम्म इजरायलले नेपाललाई यस्तो प्रशिक्षणमा सहभागी गराएन, अरु देशको हकमा भने कोटा कायमै रह्यो,’ भट्टराईले भने । उक्त बैंकले त्यसपछि सन २०११ मा कोटा फुकाउन पुन: पहल गर्दै इजरायली दूतावास समक्ष ठोस प्रस्ताव प्रस्तुत गर्यो । सबैतिरबाट विश्वस्त भएपछि सन २०१३ मा इजरायलले पुन: नेपाली कृषकका छोराछोरीलाई लग्न थालेको उनले बताए ।


सन २०१३ मा २ सय ५० युवायुवती इजरायल जान पाए भने बढ्दो मागसँगै सन २०१४ देखि वर्षेनी औषत ५ सयको हाराहारीमा जान थालेको बैंक व्यवस्थापनले जनाएको छ । तर पाँच वर्षको अवधिमा त्यहाँ पुगेका २ हजार १ सय ६० जनामा पाँच जना भने उतै लुकेर काम गरिरहेको भट्टराईले बताए । ‘सम्पर्कमा रहेका उनीहरुलाई देशको नाम बदनाम नगरी फर्कन भनिरहेका छौं,’ उनले भने ।


कृषिमा प्राविधिक ज्ञान प्राप्त जनशक्तिसहित नविन प्रविधि र पुँजीको उपयोगको अभावमा खाँचो अनुसारको कृषि विकास असम्भव हुने उक्त बैंकको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदन अनुसार कृषि पेसाबाट पलायन युवा शक्तिलाई कृषि कार्यमा आकर्षित गर्न पनि त्यतिकै आवश्यक छ ।


साना किसानको छोराछोरीलाई आधुनिक कृषि प्रविधिको ज्ञान प्राप्त हुने १०/११ महिनासम्मको कृषि तालिमको व्यवस्था मिलाउन बैंकले गरेको आग्रहलाई इजरायल सरकारबाट सकारात्मक सहयोग भएको प्रतिवेदनले भनेको छ । ‘आउँदो पुस्तालाई साना किसान अभियानमा लाग्न प्रेरणा मिलोस् भन्ने अभिप्राय हो,’ प्रतिवेदनले भनेको छ, ‘कृषिको व्यावसायिकरण एवं उत्पादन बढाउन आवश्क छ ।’

प्रकाशित : श्रावण ११, २०७५ १६:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?