फूलबारीमा बारी बाँझै

प्रत्येक घरका सदस्य वैदेशिक रोजगारीमा छन् । खाडीकै कमाइले चुलो बल्छ । खेतीबाट घर खर्च धान्न मुस्किल भएपछि उनीहरु विदेशिएका हुन् ।
मोहन बुढाऐर

फुलबारी (कैलाली) — चालिस वर्षअघि पोखराको भगवतीटारबाट कैलालीको फूलबारी बसाइँ सरेका ८६ वर्षीय वसन्त रानाभाटको परिवार फेरि पुख्र्याैली थलोमै फर्किने योजना बुनिरहेको छ । रानाभाट परिवार कुनै दु:ख र पीडाले यसो गरिरहेको होइन, आफ्नै समुदायको सामीप्यता खोज्दै पुन: पुरानै थातथलोमा फर्किन चाहेको हो ।

फूलबारीमा बारी बाँझै

यो परिवारले पोखरामा घरजग्गा खरिद गरेका छन् । ‘जेठो छोराको परिवार विदेशबाट फर्केलगत्तै पोखरामै घरजग्गा किनेर उतै बस्न थाल्यो,’ वृद्ध रानाभाटले भने, ‘कान्छोले पनि जग्गा खरिद गरिसकेको छ, घर बनाउन मात्र बाँकी छ ।’ घर बनाउने रकमको जोहो नहुँदासम्म कान्छो नारायणले विदेशबाट घर नफर्किने जानकारी गराएका छन्, परिवारलाई ।

रानाभाट परिवारका चार जना रोजगारीका लागि एउटै देश कतार पुगेका छन । भर्खरै जेठो छोरा फर्केर पोखरा बसाइँ सरे । जेठोका दुई छोरा पनि कतारमै छन् । उतैको कमाइले रानाभाट परिवारको आर्थिक अवस्था उकासिएको हो ।

२०३२ सालमा पोखराको भगवतीटारमा भीषण पहिरो गएको थियो । पहिरोबाट आहत ७४ परिवार घरबारविहीन भए । तत्कालीन सरकारले पुनर्वास कार्यक्रममार्फत उनीहरूलाई फूलबारीमा जमिन दियो । तिनैमध्येको एक थियो, वसन्त रानाभाटको परिवार ।

‘हामी पहिरो पीडितलाई नेपाल–भारत सीमा क्षेत्रमा पुनर्वास गराइयो,’ रानाभाटले भने, ‘त्यस बेला सरकारले भूमिहीन र दैवी प्रकोप पीडितलाई यहाँ बस्ती बसाउन सघायो ।’ प्राकृतिक प्रकोप र भूमिहीन दु:खी सबै परिवारलाई एकै ठाउँमा बसाइएकाले यो ठाउँको नाम फूलबारी रहन गएको बस्तीका अगुवा बताउँछन् ।

फूलबारी कैलालीको साविकको एक सिंगो गाउँ विकास समिति हो । हाल धनगढी उपमहानगरपालिकामा गाभिएको छ । नगरपालिकाको १४, १८ र १९ नम्बर वडामा बाँडिएको छ । बस्ती विकास कम्पनीले फूलबारीमा ‘ए’ देखि ‘के’ सम्मको प्लटिङ गरी प्रतिपरिवारलाई कमाइ खान २ बिघा र घर बनाउन ५ कट्ठा जमिन दिएको छ । पोखरा भगवतीटारका ७४ रानाभाट परिवारलाई ‘जे’ प्लटमा बसाइएको छ ।

त्यो बेलाको बन्जर भूमि हेर्दाहेर्दै गुल्जार भयो । पहिलाको जस्तो छैन, अहिले फूलबारी । विकासले गति लिँदैछ । हुलाकी सडकले सदरमुकाम धनगढीसँगको दूरी घटाएको छ । राज्य पुन:संरचनामा उपमहानगरमा गाभिएको फूलबारी अहिले नगरमा परिणत भइसकेको छ ।

तर, वसन्त रानाभाटको परिवार भने थातथलो फर्केर आफ्नै समुदायसँग बस्ने चाहनाले फूलबारी छाड्न थालेको हो । ‘यहाँभन्दा बढी सुविधा र रोजगारका सम्भावना पोखरामै छन्,’ वृद्ध रानाभाटले भने, ‘त्यही भएर छोराहरूले पोखरा सर्ने योजना ल्याए ।’ उनले आफूभन्दा पहिला पनि आफ्नो समुदायका धेरै परिवार पुरानै ठाउँमा फर्किसकेको जानकारी दिए । ७४ मध्ये अहिले ‘जे’ गाउँमा १५/२० परिवार मात्रै बाँकी छन् । ‘अरूहरू पनि विदेशकै कमाइबाट थातथलो फर्के,’ उनले भने, ‘यहाँ भएका प्रत्येक घरबाट एकदेखि चार जनासम्म वैदेशिक रोजगारमा छन् । घरजग्गा किन्ने पैसा जोहो हुनासाथ ठाउँ छोड्न थालेका छन् ।’

रानाभाट परिवारका सदस्यले विदेशको कमाइबाट घरजग्गा जोड्न थाले पनि गाउँका अन्य बेरोजगार युवायुवतीसमेत वैदेशिक रोजगारमा आकर्षित भएका छन् । यो गाउँबाट अन्य समुदायका युवा पनि विदेश हानिने क्रम सुरु भइसकेको छ । गाउँका ९० प्रतिशत युवा जनशक्ति वैदेशिक रोजगारका लागि खाडी मुलुकमा पसेको हुन सक्ने स्थानीय जनकराम धामीको अनुमान छ ।

‘जे’ कै पथमा ‘डी’ गाउँ
फूलबारीमै अर्को बस्ती छ, ‘डी’ गाउँ । यहाँका पनि प्रत्येक घरका सदस्य वैदेशिक रोजगारीमा गएका छन् । खाडीकै कमाइले घरको चुलो बल्छ । खेतीबाट घर खर्च धान्न मुस्किल भएपछि यहाँका युवा पनि विदेश जान बाध्य भएको ‘डी गाउँका जनक खड्का बताउँछन् ।

पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका मानिसको बसोबास छ, यो गाउँमा । अनेक जातजाति, भाषा, धर्म र समुदायको समिश्रण भएको बस्ती हो, यो । स्थानीयवासी धामीले भने, ‘परिवार संख्या बढ्यो । सरकारले उपलब्ध गराएको २ बिघा जग्गामा लगाएको खेतीले खान नपुग्ने भयो । परिवार संख्या बढ्दै जाँदा कृषि पेसाबाट जीवन धान्न सकेनन् । रोजगारी खोज्न सुरु भयो । पहिला सीमापारि भारतीय सहर जान्थे । अहिले खाडी मुलुक जाने फेसन जस्तै भएको छ ।’

सुरक्षित आप्रवासन कार्यक्रममा स्थानीय स्वयंसेवी पूर्णबहादुर तिवारीले ‘डी’ गाउँबाट सुरुमा ९ जना युवा रोजगारीका लागि कतार गएको जानकारी दिए । पर्वतबाट बसाइँ सरेका ९ जना युवालाई एउटा म्यानपावर कम्पनीका एजेन्ट लालबहादुर गुरुङले विदेश उडाएका थिए । ‘त्यहाँ गएकाहरूले महिना महिना घरमा पैसा पठाउन थाले,’ उनले भने, ‘त्यसले अरूलाई पनि आकर्षित गर्‍यो ।’ विदेशबाट फर्केका गाउँकै कृष्णप्रसाद भुसालले भने, ‘त्यहाँ सम्झौतामा उल्लेख भए अनुसारकै तलब, सुविधा मिल्यो । ओभर टाइम पाइयो । त्यो बेला राम्रो कमाइ भयो । थोरै जग्गा जोडे । घर बनाए । ऋण तिरियो ।’

उनी ७ वर्ष कतार बसेर फर्किएका हुन् । उनीसँगै गएका श्यामलाल लामिछाने अहिले पनि उतै छन् । उनी सुपरभाइजरको काम गर्छन् । काम गर्दा हात गुमाएका लामिछानेलाई अपांग भए पनि कम्पनीले रोजगारमै राखेर सहयोग गरिरहेको छ । स्वयंसेवीको काम गर्दै आएका तिवारी कुनै बेला आफैं खाडीमा पसिना बगाउँथे । ‘मुलुकमा सशस्त्र द्वन्द्व चर्किरहेको थियो,’ उनले भने, ‘गाउँमा कोही युवा पनि बस्न चाहेनन् । सुरक्षित पनि भइने र पैसा पनि कमाइ हुने लोभमा विदेशिए । त्यहींको कमाइ अहिले सदुपयोग गरी आर्थिक अवस्था सुधारिरहेका छन् ।’

पछिल्ला दिनमा खाडी जाने महिलाको संख्या पनि बढेको छ । ‘डी’ गाउँबाट मात्रै ३० प्रतिशत महिला वैदेशिक रोजगारीमा गएको तथ्यांक छ । यो गाउँमा पनि विदेश नगएको कुनै घर भेटिँदैन । फर्किने र जानेहरू जहिल्यै तम्तयार भएर बसिरहेका हुन्छन् । ‘१६ वर्ष कट्यो कि विदेश जान नागरिकता बनाउँछन्,’ तिवारीले भने, ‘त्यसपछि पासपोर्ट बनाएर भिसा लगाउन तँछाडमछाड सुरु भइहाल्छ ।’

गाउँका स्कुले किशोरकिशोरीका बीचमा ‘पढेर ठूलो भए डाक्टर वा इन्जिनियर बन्छु’ भनेर छलफल हुँदैन । ‘काम गर्न कुन देश जाने भन्ने सल्लाह हुन थाल्छ । फूलबारीका ‘डी’ र ‘जे’ गाउँमा मात्र होइन, ‘ए’ देखि ‘के’ गाउँसम्मकै अवस्था समान छ ।

देखासिकीले डोर्‍यायो
वैदेशिक रोजगारबाट फर्केकाहरूको चालढाल नै बेग्लै हुन्छ । उनीहरूको ‘हाइफाई’ जीवन देखेर गाउँका तन्नेरी त्यसै मोहित हुन्छन् । गाउँमै सानोतिनो व्यापार गर्नेहरू पनि बाहिर जान तम्सिन्छन् । तिनैमध्येका एक हुन्, अपित सापकोटा । चार वर्ष अघि गाउँमै उनले पसल गरेका थिए । पसल बेचेर कतार हानिए । त्यहाँको भिसा सकिएपछि अहिले घर फर्केका छन् ।

फेरि मलेसियाको भिसा लगाउँदै छन्, उनी । ‘सबै साथीसंगीहरू विदेशको कमाइले रवाफिलो जीवन बिताउन थाले,’ उनले भने, ‘मलाई पनि रहर जाग्यो । दोकान बेचेर विदेश गएँ ।’ उनका अनुसार गाउँमा अहिले वृद्ध, महिला र बालबालिका मात्रै छन्, युवा जति विदेश । उनीहरूको सजिलो गन्तव्य खाडी मुलुक नै हो । अधिकांश कतार, मलेसिया र साउदी अरब गएका छन् । यहाँका अधिकांश घरबाट बुबा गए, उनले छोरा बोलाउने, भाइ, भतिजा र नातेदारलाई खबर गर्ने चलनै छ ।

बाँझै छ खेतबारी
खेतीपाती गर्न सक्ने युवा जनशक्ति विदेशिएपछि खेत त बाँझो हुने नै भयो । गाउँको खबर यस्तै छ । ‘वैदेशिक रोजगारमा गएका परिवारले कृषि पेसा नै छोडिसकेका छन्,’ स्थानीय सीतादेवी खत्रीले भनिन्, ‘उतैबाट पठाएको रकमले दाल, चामल किन्छन् । छोराछोरीको पढाइ र घर खर्च त्यहींको पैसाले धान्छन् ।’ उनका अनुसार आफूसँग भएको खेत अधियाँ वा ठेक्का दिने चलन पनि सुरु भएको छ ।

केहीले ठेक्का र अधियाँमा काम गर्ने मानिस नपाउँदा खेत बाँझै छाडेका छन् । खेती गर्न छोडेकाले वैदेशिक रोजगारबाट कमाएको रकम परिवारको गर्जो टार्नै ठिक्क हुन्छ । त्यसैले यस्ता परिवारले ठूलै आर्थिक फड्को पनि मार्न सकेका छैनन् । खाडीमा धेरै राम्रो कमाइ गर्नेले महिनामा ५०/६० हजार कमाउँछन् । महिनामा उताको खर्च कटाएर घर पठाउँदा ३०/४० हजार आउँछ । त्यो रकम खान, लाउन र केटाकेटीको पढाइ खर्चमै सकिन्छ ।

‘बुझेर जाँदा राम्रो’
रानाभाट परिवार ‘लक्की’ निस्क्यो । वैदेशिक रोजगारीमा जाँदा सबै कुरा जानेर बुझेर गएकाले उनीहरूलाई विदेश फलेको हो । तिवारीले भने, ‘विदेशमा रहेका घरकै सदस्यले अर्काेलाई बोलाउँदा अलपत्र पर्नुपर्ने अवस्था आएन ।’ उनका अनुसार विदेशमा रहेका नातेदारले त्यहींको रोजगारदाता कम्पनी खोजे । भरपर्दाे ‘दलाल’ सँग कुरा मिलाए र घरको अर्काे सदस्यलाई बोलाए । यसले उनीहरू ठगिने, विदेशमा अलपत्र पर्ने र गैरकानुनी भएर बस्नुपर्ने झन्झटबाट मुक्त भए ।

नत्र विदेश जाने रहर मात्रै पालेर प्रक्रिया नमिलाएर गएकाहरू विभिन्न समस्यामा फसिरहेका छन् । ‘कुरा नबुझेर विदेश गएका केहीको घरमा बिल्लीबाठ भएको छ,’ उनले भने, ‘विभिन्न समस्यामा परी गैरकानुनी भएर अलपत्र परेका छन् ।’ उनले विदेशमा अलपत्र परेका परिवारको यता घरमा साँझ बिहानको छाक कसरी टार्ने भन्ने समस्या रहेको सुनाए । अर्काेतिर विदेश जाँदा बोकेको ऋण तिर्न नसकेर साहुको हप्कीदप्की खाने पनि धेरै छन्, फूलबारीमा ।

लोभले विलाप
चार वर्षअघि विदेशबाट फर्किएका थिए, सुरेश विक । त्यसपछि उनले आफ्नो २२ वर्षे छोरालाई पनि उतै पठाए । मन नभए पनि छोराको जिद्दीकै कारण कतार पठाएको उनले बताए । त्यहाँ उनका छोराले मेसिनरी औजार चलाउने काम पाए । एक दिन अचानक काम गरिरहेकै अवस्थामा उनको मृत्यु भयो । यो दुई वर्ष अघिको घटना हो । ‘विदेशबाट छोरा खुसी लिएर आउला भन्ने लागेको थियो,’ बाबु सुरेशले भने, ‘लास भएर घर आउँदा कस्तो भयो होला । सानो लोभले विलाप भयो ।’ फूलबारीमा हालसम्म वैदेशिक रोजगारमा गएका सात जनाको मृत्यु भइसकेको छ ।

प्रकाशित : श्रावण १२, २०७५ ०७:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?