सिमसारको सहर [फोटो फिचरसहित]

गोविन्द पोखरेल

उर्लाबारी,मोरङ — एक वर्षयता मोरङको उर्लाबारी मुलुकमा विभिन्न कारणले चर्चामा रहदै आएको छ । मिस नेपाल २०१७ की विजेता निकिता चाण्डक र नेपाल आइडलका रनर अप निशान भट्टराईको गृह नगरका कारण उर्लाबारीमा चिनियो । त्यसको केही महिना नबित्दै चर्चित ३३ केजी सुन तस्करी र सनम हत्या प्रकरण उर्लाबारीसँगै जोडियो । 

सिमसारको सहर [फोटो फिचरसहित]

जिल्लाको दोस्रो ठूलो सहर उर्लाबारी सम्भवतः मुलुकमै पहिलो पटक सिमसारको सहर भनेर घोषणा गरिएको सहर हो । सरकारको एक नगर एक पहिचान अन्तर्गत उर्लाबारीलाई सिमसारको सहर भनेर घोषणा गरियो ।

प्रधानमन्त्री केपी ओलाको ‘छिमेकी सहर’ उर्लाबारी जैविक विविधतामा धनी भएको सहर हो । क्षेत्रफलको हिसाबले औसत भएपनि यो सहर मोरङको राजनीतिक,सामाजिक,आर्थिक तथा अन्य विविध क्षेत्रले गर्दा जिल्लाको राजनीतिमा प्रत्यक्ष रुपमा प्रभाव राख्दै आएको छ ।


प्रकृति र पर्यावरणको महत्व भावी सन्ततीहरुलाई दर्शाउने हेतुले उर्लाबारीले सिमसारलाई अगाडि बढाएको स्थानीय अगुवा टिका भट्टराईले बताए ।

‘सिमसारयुक्त पर्यटकीय नगरी’उर्लाबारीलाई नै किन भनियो भन्ने सवालमा नगरपालिकाका मेयर खड्ग फागो भन्छन्, ‘ उर्लाबारीमा धेरै सिमसारीय क्षेत्र भएको र भावी सन्ततिहरुलाई वातवरण संरक्षण र सिमसारको महत्व दर्शाउनका लागि घोषणा गरिएको हो । ’


वातवरण विज्ञानले सिमसारलाई ताल, तलाउ, पोखरी, दह, कण्ड, नदीनाला, बाढी क्षेत्र,जलाश्य, धाप वा दलदल सिम,जलक्षेत्रका घाँसे मैदान वा जंगल क्षेत्रलाई जनाउने गरेको छ । उर्लाबारीमा यस्ता क्षेत्रहरु धेरै छन् ।

सिमासरलाई जैविक विविधताको धनी समेत भन्ने गरिन्छ । चरा, माछा, उभयचर, कीटपतंग र बोटका लागि सिमसार महत्वपूर्ण मानिन्छ । वातावरणीय सन्तुलन, जैविक विविधता र जीवनचक्रसँग सम्बन्धित भएको हुँदा यसको संरक्षण सिंगो जलवायुसँग समेत सम्बन्धित छ ।


उर्लाबारीमा बेतिनी,लामपाते,बुढाठाकूर र बाँसेचौर गरी अन्य सिमसारीय क्षेत्रहरु छन् । वन,वातवरण,हावापानी,नदीनाला,खोला तथा सिचाईाको पर्याप्त सुविधा भएको उर्लाबारीको पर्यावरणीय अवस्था जिल्लाका अन्य सहरभन्दा राम्रो छ ।


यी हुन् सिमसारको सहर उर्लाबारीका केही सिमसारीय क्षेत्रहरुः

बेतिनी सिमसारः

उर्लाबारीका अधिकांश सिमसारहरु वडा नम्बर–२ अवस्थित छन् । वडा नम्बर ३ मंगलबारे चोक उत्तरबाट करिब ३ किलोमिटरको दूरीमा बेतिनी सिमसार छ । चराचुरुंगीहरुको आवाज,कृत्रिम पोखरी र यहाँको प्राकृतिक वन जंगललले यो सिमसारको महत्व अझ बढी दर्शाइदिएको छ ।


१।५ वर्ग क्षेत्रबाट निस्किएको जरुवा पानीले यस क्षेत्रमा पानीको सञ्जितीकरण गरिदिएको छ । पोखरीको बीच भागमा निर्माण गरिएको टापूले पर्यटकहरुलाई आकर्षित गर्न खोजिएको छ । सामुदायिक वन क्षेत्रभित्र पर्ने भएकाले यसको संरक्षण सम्बद्र्धनका लागि नगरपालिका र वन दुवैले लगानी गरिरहेका छन् ।


कृत्रिम पाटे बाघ,बाल उद्यान,बोटिङ, कृत्रिम पोखरी तथा पानी हाँसहरु यहाँ प्रशस्तै छन् । चरा अवलोकनकर्ताहरुका लागि यो सिमसार महत्वपूर्ण छ । यस क्षेत्रमा विभिन्न प्रजातिका चरा,हाँस,वन कुखुरा,मांसाहरी चारहरु पाइन्छन् ।


कछुवा,माछा लगायतका जलीय प्राणीहरु प्रचूर मात्रामा पाइन्छन् । दर्जनभन्दा बढी प्रजातिका वनस्पति अनि विभिन्न प्रजातिका सुनाखरीहरु यो सिमसारमा पाइन्छन् ।

कृत्रिम पोखरीको वरीपरी रहेका सालका रुख अनि कृत्रिम टापूमा बस्ने पानीहाँसको बथानले यहाँको प्राकृतिक सौन्दर्यतामा पर्यटकहरु रमाउछन् ।


बुढाठाकूर सिमसारीय क्षेत्रः

जैविक विविधतामा धनी यो सिमसार भूमि पुत्र धिमालहरुको ऐतिहासिक थलोको रुपमा समेत चिनिन्छ । वि।स‍ १९४४ सालबाट धिमाल समुदायले यो क्षेत्रमा पुजाआजा गर्दै आएका छन् ।

प्रत्येक वर्षको जेठ २३ गते यस क्षेत्रमा धिमाल समुदायको भव्य पुजा सहित श्रीजात जात्री मेलाको आयोजना गरिन्छ । उर्लाबारी–३को नयाँ मंगलबारेबाट करिब ५ किलोमिटर उत्तर गएपछि सुनझोडा मावि हुँदै खोला पश्चिम सुकुम्वासी वस्ती छेउमा यो सिमसार रहेको छ ।


सुनझोडा सामुदायिक वनको चार हेक्टर क्षेत्रफलमा फैलिएको यो सिमसारको गुरुयोजना तयार भइसको छ । हरिणका बथान पानी खाने यही आउने गरेको स्थानीय रामबहादुर धिमालले बताए । दुम्सी,वन कुखुरा,बदेँल,हात्ती लगायतका जंगली जनावरहरु यहाँ पाइन्छन् ।


लामपाते सिमसारः

उर्लाबारी–३ नयाँ मंगलबारेबाट तीन किलोमिटर उत्तर शान्ति आधारभूत विद्यालयको पश्चिम हुदै लामपाते सिमसार क्षेत्रमा पुग्न सकिन्छ ।

सालबारी सामुदायिक वनद्वरा संरक्षित यो सिमसार क्षेत्र ५ हेक्टर क्षेत्रफलमा फैलिएको छ । एउटा ठूलो कृत्रिम ताल निर्माण गरेर पर्यटन आकर्षण गर्न खोजिएको छ ।

यस क्षेत्रमा विभिन्न प्रजातिका जंगली जनावार,विभिन्न प्रकारका वनस्पतिहरु यहाा पाइने स्थानीय एवं जनप्रतिनिधि भिष्म बुढाथोकीले बताए । यो सिमसारलाई बोटिङ तथा युगल जोडीहरुका लागि उत्कृष्ठ गन्तव्य बन्न सक्छ ।


बाँसे चौर सिमसार क्षेत्रः

यो सिमसारीय क्षेत्र पनि वडा नम्बर–२मा अवस्थित छ । सिमसारको पूर्वपट्टि ठूलो चौर र घाँसे मैदान छ । पश्चिममा जरुवा पानी तथा सिमसारीय क्षेत्रहरु छन् ।

यो क्षेत्रलाई उर्लाबारी नगरपालिकाले पर्यटक तथा आगन्तुकहरुलाई आकर्षित गर्नका लागि छुट्टै कार्यक्रमका ल्याउन लागेको वडाध्यक्ष राजन कडेँलले जानकारी दिए ।


जाडोयाममा विभिन्न क्षेत्रबाट वनभोजका लागि आगन्तुकहरु आउने गरेको कडेँलले बताए । यी सिमसारहरुमध्ये बेतिनी सिमसारमा मात्रै दैनिक रुपमा ४ सयभन्दा बढी पर्यटकहरु आउने गरेको नगरपालिकाले जनाएको छ ।

अन्य सिमसारीय क्षेत्रहरु प्रचारप्रसारको कमीका कारण पर्यटकहरुको उपस्थ्तिी न्यून रहेको वडा नम्बर–५का जनप्रतिनिधि रविन लामाको भनाइ छ । वडा नम्बर १ मा पनि विभिन्न सिमसारीय क्षेत्रहरु रहेको लामाले बताए ।


मुलुकमा सिमसारको सहर भनेर घोषणा गरिएको उर्लाबारी मात्रै रहेको नगरपालिकाका मेयर फागोले दाबी गरे ।

अन्य नगरपालिकाहरुमा सिमसारीय क्षेत्रहरु भएपनि उर्लाबारीको जतिको संख्यामा नभएको उनले बताए । उर्लाबारीमा आधा दर्जनभन्दा बढी सिमसारीय क्षेत्रहरुको रहेको नगरपालिकाले जनाएको छ ।


यो वर्षबाट नगरपालिकाले गुरुयोजना तथा सिमसारको संरक्षण र प्रबद्र्धनका लागि डीपीआर तयार गर्नका लागि पर्यटन बोर्डमा प्रस्ताव अगाडि बढाएको मेयर फागोले जानकारी दिए ।

नगरपालिकाले अन्य जिल्लाबाट आउने पर्यटकहरुलाई लक्षित गरेर सिमसारीय क्षेत्रहरुको अवलोकन भ्रमणका लागि छुट्टै कार्ययोजना ल्याउन लागेको छ ।


उर्लाबारीको वडा नम्बर–१मा रहेको प्रगतिशिल सामुदायिक वन क्षेत्रमा जलशाय क्षेत्रहरु धेरै छन् । बेतिनी सिमसारभन्दा पााच सय मिटर उत्तरमा यो क्षेत्र रहेको छ । यहाँ विभिन्न प्रकारका जलचरहरु पाइन्छन् ।

सोल्टि खोलाको रमणीय दृश्यहरु समेत हेर्न सकिन्छ । वडा नम्बर–२मा रहेको सिर्जना सामुदायिक वनले जलशाय क्षेत्रमा कृत्रिम ताल निर्माण गर्ने तयारी गरिरहेको अध्यक्ष मोतिलाल परियारले बताए ।


त्यस क्षेत्रमा पोखरी निर्माण गरेर चिल्ड्रेन पार्कसहित स्विमिङ स्पटको रुपमा विकास गर्ने तयारी भइरहेको जानकारी दिए ।

यो वर्षबाट नगरपालिकाले पर्यापर्यटकहरुलाई लक्षित गरेर सिमसारहरुलाई अगाडि बढाएको छ ।

तस्बिरहरुः गोविन्द पोखरेल/कान्तिपुर

प्रकाशित : श्रावण १४, २०७५ १५:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?