१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

सम्झनामा 'हलो क्रान्ति': पण्डितहरूले अनौ समाएको त्यो दिन...

आश गुरुङ

लमजुङ — राणाकालमा खेतीपातीका लागि दलित समुदायलाई हलो जोत्ने काम लगाइन्थ्यो । उनीहरू ब्राहमणको घरमा हली बस्थे । लमजुङको दुराडाँडामा केही यस्ता व्यक्ति निस्किए, जसले ‘हलो जोतेर परिवर्तनको सन्देश दिनुपर्छ’ भन्ने सल्लाह गरे । 

सम्झनामा 'हलो क्रान्ति': पण्डितहरूले अनौ समाएको त्यो दिन...

उक्त समूहमा २७ जना उपाध्याय ब्राहमण सामेल भए । २००६ साउन ११ का दिन दुराडाँडाको बाटेगरामा गोरु जोते । उक्त ठाउँ अहिले सुन्दरबजार नगरपालिका ४ मा पर्छ । ‘दलितले छोएको अनौ समातेको’ भन्दै गाउँमा छिछि र दुरदुर गर्न थालियो । गाउँलेले झ्याली पिटदै उनीहरू ‘दलित’ सरह भएको घोषणा गरे । प्रत्यक्षदर्शी रामप्रसाद पौडेलका अनुसार हलो जोत्नेलाई घरनिकाला गरियो । भात खोसियो । माइत आएका छोरीचेली घर जान पाएनन्, घर गएका बुहारी माइत फिर्न पाएनन् । उमेर पुगेका युवायुवतीको बिहे २ वर्षसम्म रोकियो । कोही विदेश पलायन भए ।


कुरा त्यतिमा मात्रै सीमित रहेन, ब्राहमणले हलो जोतेको विरोधमा राणा सरकारमा उजुरी पर्‍यो । सरकारविरोधी काम गरेको आरोपमा तत्कालीन श्री ३ मोहनशमशेरको पालामा ‘बडाहाकिमले पठाएको’ भन्दै पण्डित तोयानाथ, शेषकान्त र श्रीकान्त अधिकारीलाई गिरफ्तार गरियो । यो घटना २००७ साल साउन ११ गते भएको थियो । परेवाडाँडा, पुरानो सदरमुकाम कुन्छा, भोर्लेटार हुँदै १ दिन १ रात हिँडाएर उनीहरूलाई बिहान ४ बजे पोखराको गोश्वारामा हाजिर गराइयो । ‘गल्ती गरेको छैन, कानुन र वेदमा बाहुनले हलो जोत्न हुँदैन भन्ने उल्लेख भए जस्तोसुकै कारबाही भोग्न पनि तयार छौं’ भनेर जेलभित्रै अनशन बसेपछि सबैलाई ४८ घण्टापछि रिहा गरियो ।


श्रीकान्त पोखराको विन्दवासिनीस्थित आधार स्कुलमा पढाउने भएकाले उनलाई कागज बनाएर र अरू २ जनालाई दैनिक तारेखमा छाडियो । तारेखको म्याद गुजारेपछि उनीहरू गाउँ फर्किए । गाउँलेले भने उनीहरूप्रति हेर्ने दृष्टिकोण फेरेनन् । प्रजातन्त्र स्थापनासँगै चेतनास्तर बढेपछि विस्तारै गाउँलेले कुरा बुझ्न थाले ।


करिब ७ दशक बित्नै लाग्दा ‘हलो क्रान्ति’ मा सहभागी २७ जना ब्राहमणको निधन भइसकेको छ । यसको नेतृत्वकर्ता पण्डित तोयानाथ अधिकारीको २०२२ सालमा निधन भयो । सबैभन्दा कान्छा मायानाथ पौडेलको २०७३ जेठ २८ गते मृत्यु भयो । त्यसअघि २०७१ पुस ३० गते विष्णुप्रसाद अधिकारीको निधन भयो । अन्यको कहिले निधन भएको हो भन्ने पनि यकिन छैन ।


२१ वर्षको छँदा अग्रजको आग्रहमा मायानाथले छिमेकीको गोरु फुकाएर बाटेगरामा पूर्वपट्टि फर्केर गोरु नारेका थिए । अनौ समातेर पण्डित तोयानाथ अधिकारीले खेत जोतेका थिए । त्यसपछि लेफटिनेन्ट शेषकान्त अधिकारी, मुखिया हरिभक्त पौडेल, श्रीकान्त अधिकारी, विष्णुप्रसाद अधिकारी, हरिलाल पौडेललगायतले पालैपालो हलो जोते ।


मायानाथले जीवित छँदा जातीय छुवाछूतविरुद्ध यो कदम उठाएको बताएका थिए । दुराडाँडाको हलोक्रान्तिपछि २००६ सालकै पुसमा तनहुँ, फागुनमा कास्की र धादिङ, २००७ वैशाखमा अर्घाखाँची र गोरखाका साथै २००८ मा स्याङ्जामा हलो जोत्ने अभियान सुरु भयो ।


उपाध्याय बाहुनले लमजुङको दुराडाँडामा पहिलोपटक हलो जोतेको विषयलाई जीवन अधिकारीले २०४८ मा लेखेको हलो क्रान्ति, हंसपुरे सुवेदीले लेखेको सांस्कृतिक परिवेशमा नेपालको हलो क्रान्ति, तीर्थराज शर्मा, खेमकर्ण कोइरालालगायतका लेखकले विस्तृत बयान गरेका छन् ।


यसअघि २००४ सालमै पण्डित तोयानाथको नेतृत्वमा हलो जोत्ने विषय उठान गरिएको थियो । तोयानाथसँगै हरिभक्त, शेषकान्त, हरिदासलगायत अरूले थाहा नपाउने गरी सल्लाह गर्थे । शास्त्रीय र कानुनी पक्षमा अुनसन्धान गर्न तोयानाथ र हरिभक्तलाई जिम्मा लगाइयो । राय लिँदै गर्दा २००५ फागुन ४ गते मुखिया हरिदासको निधन भयो । सल्लाह गरेर उनीहरूले २००६ साउन ११ गते हलो जोतेरै छाडे ।


ब्राहमणले पहिलोपटक हलो जोतेको सम्झनामा एक दशकयता हरेक वर्ष साउन ११ गते दुराडाँडाको अर्चल्यानीको बाटेगरामा औपचारिक कार्यक्रम हुँदै आएको छ । बाटेगराको संरक्षण, संवर्द्धन र यसको प्रचारप्रसार गर्न हलो क्रान्ति नेपाल तथा तोयानाथ स्मृति प्रतिष्ठान गठन गरिएको छ ।


प्रतिष्ठानका सचिव दीपक पौडेलका अनुसार २०६४ सालदेखि बर्सेनि कार्यक्रम गरिँदै आएको छ । शुक्रबार ६९ औं हलो क्रान्ति दिवसको अवसरमा कविता वाचन, कृषक सम्मानका साथै त्यतिबेलाको हलो क्रान्तिको सम्झना गरिएको उनले बताए ।


उनका अनुसार हलो जोतिएको ठाउँ र वरपर गरी २ रोपनी २ आना २ पैसा २ दाम जग्गा तोयानाथका परिवारले प्रतिष्ठानको नाममा गरिदिएका छन् । उक्त ठाउँमा तोयानाथको शालिक निर्माण गर्ने योजना भए पनि पूरा भएको छैन । सचिव पौडेलले साउन ११ गतेको दिनलाई राष्ट्रियस्तरमै ‘हलो क्रान्ति दिवस’ का रूपमा स्थापित गराउने अभियानमा जुटे पनि सार्थकता नपाएको बताए । पण्डित तोयानाथ अधिकारीलाई राष्ट्रिय विभूति घोषणा गर्न माग गरे पनि मागमा मात्रै सीमित भएको उनको गुनासो छ ।


पण्डित तोयानाथका कान्छो छोरा शशिकान्त अधिकारीका अनुसार ‘हलो क्रान्ति’ श्रमप्रतिको सम्मान, छुवाछूतविरुद्धको कदम र शिक्षाको सुरुवात थियो । ‘श्रमप्रतिको सम्मान र छुवाछूत प्रथा अन्त्यको सुरुवात भयो । त्यतिबेला मेरा पिताजी लगायतले जेलनेल खानुभो । आज समाज यतिको बनेको छ,’ उनले भने, ‘व्यावहारिक रूपमा अझै श्रमप्रतिको सम्मान र छुवाछूतको अन्त्य हुन सकेको छैन । त्यतिबेला सुरुवात मात्रै नभएको भए हामी कहाँ हुन्थ्यौं, थाहा छैन ।’


सुन्दरबजार नगरपालिकाका मेयर जनकराज मिश्रले हलो क्रान्तिको केन्द्रीय तहबाटै अध्ययन अनुसन्धान जरुरी रहेको बताए । ‘क्रान्तिका महानायकहरूलाई राज्यले सम्मान दिनुपर्छ । हलो जोतेर क्रान्तिको विगुल फुक्नेलाई राष्ट्रिय विभूतिको संज्ञा दिइनुपर्छ,’ उनले भने ।

प्रकाशित : श्रावण १४, २०७५ १८:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?