दिल्ली पुगेर टुटेको एउटा सपना

नेपाली महिला गैर कानुनी बाटोबाट खाडी मुलुक जाने क्रम रोकिएन
सुरेशराज न्यौपाने

नयाँदिल्ली — पुर्ख्यौली घर उदयपुर र हाल लहान बस्दै आएकी रिता (नाम परिवर्तन) गत शनिबार नयाँदिल्लीको हवाईअड्डा ओर्लिइन् । दिल्ली पुग्नुअघिसम्म कुवेतसम्मको बन्दोबस्ती गर्ने ‘एजेन्ट’ सम्पर्कमै थिए । छिनछिनमा फोन गर्थे ।

दिल्ली पुगेर टुटेको एउटा सपना

दिल्लीसम्मको स्पाइस जेटको टिकट पनि समयमै पठाइदिएका थिए । एयरपोर्टमा समयमै लिनआउँछु समेत भनेका थिए तिनले । उनलाई पनि यसपटकको कुवेतसम्मको यात्रा अघिल्लोपटक भन्दा निकै सहज हुने लागिरहेको थियो । तर, उनी जब दिल्ली ओर्लिइन् त्यो अनुमान गलत साबित भयो ।


एयरपोर्टमा करिब एक घन्टासम्म कुर्दा पनि कोही आएन । तब उनमा चिन्ता बढ्न थाल्यो । ‘निकै चिन्ता हुन थालेको थियो, के गर्ने ? कसो गर्ने ? कोही चिनेको छैन ?’ उनले भनिन् । तर, यसैबीच उनले भाग्य र भाषा दुवैको साथ पाउँछिन् । दार्जिलिङका नेपाली भाषीहरुको एउटा समूहले पनि उनीसँगै एउटै विमानको यात्रा तय गरेको रहेछ । एयरपोर्टमा तिनीहरुले नेपाली भाषामा कुराकानी गरेको उनले सुनिन् । र, एकजनालाई भनेर एजेन्टलाई फोन गरिदन आग्रह गरिन् ।


त्यतिन्जेलसम्म रिताको कथा ती दार्जिलिङका नेपालीभाषी दाजुभाईले थाहा पाइसकेका थिए । उनकै सामु एजेन्टलाई एउटा नेपाली चेलीलाई कुवेत पठाउने भनेर अलपत्र पार्ने भनेर थर्काए ।


त्यसपछि एजेन्टले आफूले ‘पोल्याण्ड’ पठाउन अन्तर्वाताका लागि बोलाएको जवाफ दिए र फोन काटे । त्यसपछि मात्र रितालाई आफू एजेन्टको फन्दामा परेको थाहा भयो । किनकि यसअघि पोल्याण्डको आइनोसम्म गरिएको थिएन । ‘मलाई त कुवेत नै भनेर सुरुदेखि भनेको हो, टिकट पनि पठाएको त्यही भनेर पठाएको थियो,’ रिताले भनिन् । त्यसपछि क्रमश: उनको कुवेत यात्राको अर्को पाटो खुल्न थाल्यो ।


त्यसो त उनलाई भारतहुँदै खाडी जान सरकारले रोक लगाएको छ भन्ने पनि थाहा थियो । त्यसरी जाँदा आइपर्ने जोखिम त उनी आफैंले अघिल्लोपटक नै व्यहोरिसकेकी थिइन् । त्यही विगतले नै उनलाई कुवेतको ‘आकर्षक कमाई’ को सपना बुनेपनि भित्रैदेखि झस्काउँथ्यो ।

***

कुरा तीनवर्ष अघिको हो । २०७२ सालमा आफ्नो परिवारको हैसियत उकास्न भन्दै घरेलु कामदारकै रुपमा कुवेत पुगेकी थिइन् उनी । सुरुमा ठिकै पनि थियो । काम त भ्याए जति गर्नुपर्थ्यो ।


बिहान उठेदेखि राति मध्यरातसम्म । तर, महिना बित्दै जाँदा घरमालिकको व्यवहार फेरिन थाल्यो । खाना नदिने, गाली गर्ने र हुँदाहुँदा तलब पनि समय नदिने । तोकिएको ३० हजार रुपैयाँ तलब पाउन पनि अनेकन कष्ट व्यहोर्नुपर्ने र सुन्नुपर्ने ।

‘त्यतिबेला नै आइन्दा विदेश नजाने कसमै नै खाएर फर्केकी थिएँ,’ उनले भनिन् । दुई वर्षको भिसा भएपनि तलब नपाउने र मालिकले दिनहुँ शारिरीक र मानसिक यातना दिन थालेपछि उनले आफूसँग बचेको केही पैसाबाट टिकट काटेर स्वदेश फर्किइन् । करिब पाँच महिनाको तलब नै माया मारिन् । तलबका लागि पहिलेका एजेन्टसँग सम्पर्क गर्ने कोशिश पनि गरेकी थिइन् । तर, त्यो कोशिश सफल भएन ।


न तलब पाइन् न कुनै क्षतिपूर्ति । उनीसँग क्षतिपूर्ति दाबी गर्ने कुनै आधार नै थिएन । किनकि उनको त्यो यात्रा नै ‘गैरकानुनी’ नै थियो । किनकि सरकारले २०७२ सालमै नेपाली महिलाहरुलाई घरेलु कामदारका रुपमा जान प्रतिबन्ध लगाएको थियो । प्रतिबन्धपछि वैदेशिक रोजगारीको ‘माफिया’ ले अर्को विकल्प रोजे, नेपाली चेलीहरुलाई भारतका सहरहरुबाट उडाउने ।


त्यसपछि भारतका लागि छुट्ने बसहरु नेपाली चेलीहरुले भरिन थाले । रितालाई पनि बसबाटै दिल्ली पुऱ्याइयो ।


दिल्ली पुग्नुअघिसम्म पनि उनलाई आफू एक्लै कुवेत जान लागेको भन्ने थियो । ‘नेपालबाट आउँदा बसमा म एक्लै यात्रा गरेँ, तर दिल्लीको जब एउटा होटलमा पुगेँ त्यहाँ त तीस जना भन्दा बढी अरु दिदीहरु पनि रहेछन्,’ उनले सम्झिइन् । चारदिनको दिल्ली बसाई पछि उनलाई श्रीलंकाको राजधानी कोलम्बो उडाइयो । दिल्लीको होटलमा राखिएका अरुमध्ये केहीलाई चेन्नईबाट उडाउने भन्दै लगियो । कोलम्बोको दुई दिने बसाई पनि दिल्लीकै जस्तो थियो । एउटै कोठामा तीसजना जति । सबै नेपाली दिदीबहिनी । दुई दिनपछि बल्ल उनको पनि पालो आयो र पुगिन् कुवेत ।


र, कुवेतमा साढे १ वर्षसम्म घरेलु कामदारको रुपमा दुखिया काम गरिन् । अनि भागेर नेपाल आइन् ।


***

तर, करिब एक वर्षपछि घरको अवस्थाले उनमा फेरि विदेशको भूत चढ्न थाल्यो । घरमा आफू मुनि रहेका तीन बहिनी, दाजु र बुबा । घर चलाउनै हम्मे पर्न थाल्यो । विदेश पठाइने भन्दै दलालहरु पनि घरघर धाउँथे । यसैबीच कुवेतमा रहेकी नाताले ‘भाउजु’ पर्ने एक जना महिलासँग उनको नियमित सम्पर्क थियो । तर, जेजस्तो दुःखै भए पनि बुबा र घरका अन्य सदस्यले उनलाई विदेश नजान निकै आग्रह पनि गरे । ‘बुबाले मिठोमसिनो खाउँला नजाउ भन्नुभएको थियो,’ उनले सम्झिइन् । तर, उनका अड्डीका सामु घरका कसैको जोर चलेन ।


र, फेरि एकपटक अघिल्लोपटक जस्तै जोखिमपूर्ण र गैरकानूनी यात्रामा निस्कने निर्णय गरिन् । आफ्नो घर नजिकको लहान बजारबाट काँकडभिट्टा हुँदै उनलाई सिधै भारतको सिलगुढीस्थित बागडोगरा विमानस्थल पुऱ्याइयो । त्यहाँसम्म उनी चिनेका दाईमार्फत् पुगिन् । यो यात्रा कुवेतका लागि तय गरिएको थियो । तर, उनीसँग न त कुवेतका लागि भिसा थियो, न कुवेतसम्म पुग्ने टिकट ।


थियो त मात्र बागडोगरा–दिल्लीको टिकट । त्यो पनि त्यही चिनेको दाइले सित्तैमा पठाइदिएको । मोबाइलमा रहेको त्यो डिजिटल टिकट देखाएकै भरमा उनी दिल्ली उड्न पाइन् । सामान्य सोधपुछ बाहेक बागडोगरा विमास्थलका अधिकारीहरुले उनका बारेमा खासै चासो राखेनन् । ‘दिल्ली जाने भनेपछि थप केही सोधेनन्,’ उनले भनिन् ।


दोस्रोपटक दिल्ली उडेदेखि कुवेत पुगेर महिनामा ‘राम्रो आकर्षक’ कमाइ हुने सपना बुन्न थालिन् । त्यही कमाईबाट आफ्नो परिवारको गर्जो टार्ने र केही आफूलाई बचाउने । रिताको त्यो सपना एकाएक चकनाचुर भए पनि अनधिकृतरुपमा खाडी मुलुकमा जाँदा व्यहोर्नु पर्ने मानसिक र शारिरीक यातनाबाट भने उनी बचेकी छिन् ।

साथै दलालको अन्य षडयन्त्रबाट पनि । ‘अब त घरै फर्किन्छु, कहिँ जान्न,’ रिताले निन्याउरो अनुहार लगाउँदै भनिन् । हाल उनी चेलिबेटी बेचबिखन विरुद्धको अभियानमा सक्रिय रहँदै आएको हेल्प नेपाली मिशनसम्पर्कमा छिन् । र, नेपाली दूतावासको समन्वयमा रितालाई नेपाल फर्काउन आवश्यक प्रक्रिया अगाडि बढाइएको छ ।


प्रकाशित : श्रावण १५, २०७५ १३:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?