'बिचौलिया'मार्फत कल बाइपास

शिल्पा कर्ण

काठमाडौँ — केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले रुपन्देहीका रामप्रसाद न्यौपानेलाई साउन ११ मा पक्राउ गर्‍यो । ब्युरोले अवैध कल बाइपास वा भिओआइपी विरुद्धको अभियान ‘अपरेसन भोइस फक्स’ अन्तर्गत उनलाई पक्राउ गरेको थियो ।

उमेरले २८ पुगेका न्यौपानेले झुलेनीपुरस्थित घरमा अवैध कल बाइपास गर्ने उपकरण राखेर धन्दा चलाइरहेका थिए ।

Yamaha

प्रहरीले छापा मार्दा उनको कोठाबाट एउटा ६४ पोर्टकोभिओआइपी गेटवे (सिम बक्स), राउटर, ल्यापटप र दुईवटा मोबाइल सेट बरामद भए । साथै एनसेल, एनटिसी र स्मार्ट सेलका गरी ५३ वटासिम, २६ सय रूपैयाँका रिचार्ज कार्डलगायत कल बाइपासमा प्रयोग हुने उपकरण बरामद भए ।

यसभन्दा दुई दिनअघि पनि चितवनबाट ब्युरोले दुई जनालाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा रुपन्देहीका ३१ वर्षीय विजय गुरूङ र चितवन मंगलपुरका २२ वर्षीय सुनील अधिकारी छन् । साउन

७ मा उनीहरूलाई भरतपुरको एक घरमा भाडा लिएर अवैध रुपमा कल बाइपास गर्दै गरेको स्थानबाट पक्राउ गरिएको थियो । गुरूङले चन्द्रागिरिस्थित घर भाडामा लिएर यो धन्दा चलाइरहेकोअनुसन्धानका क्रममा बताएपछि प्रहरीले छापा मार्‍यो । दुवै स्थानमा गरी १२८ र ६४ पोर्टका दुई गेटवे मेसिन भेटिए । भरतपुरबाट २/२ वटा मोबाइल, विभिन्न ब्रान्डका राउटर, पेन ड्राइभ, ६७ थानसिमकार्ड आदि भेटिए । गुरूङको बयान अनुसार चन्द्रागिरिस्थित घरबाट ७७ थान सिमकार्ड, १८ हजारभन्दा बढी मूल्यका विभिन्न दरका रिचार्ज कार्ड र अन्य उपकरण बरामद भए ।

प्रहरीका अनुसार दुई घटनामा पक्राउ पर्नेमा यी तीन जना देखिए पनि उनीहरुलाई परिचालन गर्ने विदेशी छन् । रुपन्देहीमा छापा मारेपछि पक्राउ परेकाबाट मुख्य अभियुक्त र भिओआईपीसञ्चालकका बारे प्रहरीले निकै महत्वपूर्ण जानकारी संकलन गरेको छ । पाकिस्तानी नागरिक शोयब खान र मुनिर वकास यसमा संलग्न थिए । खान कराँचीमा र वकास टर्कीमा बस्छन् ।

पक्राउ परेका न्यौपानेले वकासलाई फेसबुकमार्फत साथी बनाए । त्यसपछि खानसँग परिचय भयो । तीन महिनाअघि हङकङबाट खानले नै न्यौपानेले पाउने गरी ‘एम्प्लीफायर’को बाकसमा प्याकगरेर भिओआईपी मेसिन नेपाल पठाइदिए । खानले उक्त उपकरण सञ्चालन गर्ने तरिका र ‘सेटअप’बारे उतैबाट न्यौपानलेलाई जानकारी दिए ।

भरतपुरको घटनामा मुख्य अभियुक्त बंगलादेशको मिर्जापुर बस्ने अन्दाजी ३४ वर्षीय मिर्जा शाहिर आलम तुर्जो रहेको प्रहरीको भनाइ छ । उनी हाल ढाकामा बस्ने र त्यहींबाट ‘मेन सर्भर’सञ्चालन गर्ने गरेको खुलेको छ । उनकै प्रत्यक्ष निगरानीमा नेपालको राजधानीसहित बुटवल, चितवनजस्ता स्थानमा अन्य भिओआईपी सञ्चालन भइरहेको छ ।

केन्द्रीय अनुसन्धान ब्युरोको प्रहरी उपरीक्षक कृष्णहरि शर्माका अनुसार अवैध कल बाइपासमा दशकअघिसम्म प्रत्यक्ष रुपमा नेपालमै आएर विदेशी संलग्न हुन्थे भने अहिले यो ‘ट्रेन्ड’फेरिएको छ

। ‘अहिले उनीहरू सामाजिक सञ्जालमार्फत जोडिने र विदेशबाटै कल बाइपासमा संलग्न हुने गरेको देखिएको छ,’ शर्माले भने, ‘उपकरण उतैबाट पठाइदिने, चलाउनेबारे जानकारी गराइदिनेगरेका छन् ।’ उनका अनुसार कल बाइपासका आरोपमा पक्राउ परिरहेकाहरु ‘बिचौलिया’हुन्, उनीहरूलाई ‘चलाउने’काम विदेशबाट भइरहको छ । उनीहरूलाई विभिन्न सफ्टवेयर प्रयोग गरेरविदेशबाटै काम सिकाउने र निगरानी राख्ने गरिन्छ ।

पहिले ‘आइटी’वा यस विषयमा जानकार मात्र कल बाइपासमा संलग्न हुन्थे भने अहिले त्यस्तो छैन । युवाहरू प्रविधिमा बढी रुची राख्ने भएकाले उनीहरुलाई प्रयोग गरिन्छ । विदेशबाटै तलब दिनेगरी सिम र रिचार्ज किन्न राखिएको पनि भेटिएको प्रहरीले जनाएको छ । कल बाइपास वैध वा नहुने देशले नेपालमा उपकरण पठाइदिने र यहाँका युवालाई बाँकी काम गरेबापत मासिक रकम दिने गरेको प्रहरीको अनुसन्धानमा भेटिएको छ ।

नेपालमै आएर यो धन्दा चलाउने पनि छन् । ब्युरोले असार १९ मा दिल्लीका २४ वर्षीय जफर खानलाई अवैध कल बाइपासको आरोपमा काठमाडौंको शुभकामना मार्गबाट पक्राउ गर्‍यो । खानले कल बाइपासमा प्रयोग हुने आधुनिक सिम बक्सलाई मगाउने, सिम किन्न भारतीय र नेपालीहरुको नागरिकता, पासपोर्टलगायत कागजात जम्मा गर्ने गर्थे ।


कारबाही भेगे पनि कल बाइपासमै

गत वैशाखमा प्रहरीले एक भारतीयसहित दुई जनालाई अवैध भिओआइपी सञ्चालनको आरोपमा पक्राउ गर्‍यो । पक्राउ पर्नेमा भारत मध्यप्रदेशका २४ वर्षीय विवेक शुक्ला रसिन्धुली सुनकोसी गाउँपालिका स्थायी घर हुने २५ वर्षीय लालबहादुर मगराती थिए । शुक्लालाई काठमाडौंकै एक होटेलबाट र मगरातीलाई गोठाटारमा भाडाको घरमाभिओआईपी सञ्चालन गरेको अवस्थामा पक्राउ गरिएको थियो ।

अनुसन्धानका क्रममा शुक्लाले बर्दिया जिल्लाको गुलरियालाई केही महिना कार्यक्षेत्र बनाएको र हाल काठमाडौंमै बसेर काम गर्ने गरेको देखियो । मगराती भने यसअघि पनि अवैध बाइपासमा सजाय पाइसकेका व्यक्ति हुन् । २०७१ असोजमा ललितपुरबाट पक्राउ परेका उनी १८ महिना जेल बसेका थिए । कल बाइपासमा उनीजस्ता अन्य युवा पनि छन् । उनीहरू कल बाइपासमा संलग्न हुनुमा फाइदा बढी र सजाय कम हुनु पनि कारण रहेको सम्बन्धित क्षेत्रका जानकारहरु बताउँछन् ।

ब्युरोको तथ्यांक अनुसार २०६७/६८ देखि गएको आर्थिक वर्षसम्म ‘अपरेशन भोइस फक्स’अन्तर्गत पक्राउ परेकामाथि दायर गरिएको मुद्दामा माग/दाबी गरिएको बिगो झन्डै१२ अर्ब पुग्न थालेको छ । हालसम्म नेपालका १ सय ६ स्थानमा भएका कारबाहीमा २३ हजारभन्दा बढी सिमकार्ड बरामद भएका छन् । ३४ जना विदेशीसमेत गरी १ सय ६४ जना पक्राउपरिसकेका छन् । पक्राउ पर्नेलाई दुरसञ्चार ऐन २०५३ अन्तर्गत कारबाही चलाइन्छ ।

भीओआईपी के हो ?

फरक फरक दूरसञ्चार कम्पनीहरुको आ-आफ्नो नेटवर्क हुन्छ । नेपालको उदाहरण हेर्ने हो भने यहाँ नेपाल टेलिकम, एनसेल, स्मार्टसेलजस्ता दूरसञ्चार सेवा प्रदायक छन् । नेपाल टेलिकमकाग्राहकले एनसेलका प्रयोगकर्तालाई फोन गर्दा पनि लाग्छ र एनसेलका ग्राहकले स्मार्टसेलका ग्राहकलाई फोन गर्दा पनि लाग्छ । दूरसञ्चार कम्पनीले अर्को कम्पनीको नम्बरबाट आफ्नो नेटवर्कमाफोन आउजाउ हुने व्यवस्था मिलाएका हुन्छन् । यसलाई अन्तरआबद्धता भनिन्छ । देशभित्रका सञ्चालनमा रहेका विभिन्न दूरसञ्चार सेवा प्रदायकबीच अन्तरआबद्धता भएजस्तै संसारभरकादूरसञ्चार सेवा दिने कम्पनीहरुबीच यस्ता अन्तरआबद्धता हुन्छ ।

जस्तो: भारतको कुनै नम्बरबाट नेपाल टेलिकमको नम्बरमा फोन आउजाउ हुन्छ । यस्तै, एनसेलको नम्बरबाट पनि भारत वा अरु देशका नम्बरमा फोन आउजाउ हुन्छ । यसबापत् दुवै दूरसञ्चार कम्पनीलाई फाइदा हुन्छ । जस्तो: एसनेलको नम्बरबाट कसैले कतारको नम्बरमा फोन गर्‍यो भने एनसेलले ग्राहकबाट जति पैसा प्राप्त गर्छ त्यसको निश्चित प्रतिशत जुन देशको जुन कम्पनीको नम्बरमा उक्त कल गएको हो त्यो कम्पनीले पनि प्राप्त गर्छ ।

विदेशबाट नेपाल आउने कलमा पनि यही नियम लागू हुन्छ । जस्तो: भारतको भोडाफोनको नम्बरबाट नेपाल टेलिकमको नम्बरमा कसैले फोन गर्‍यो भने भोडाफोनले उक्त ग्राहकबाट जति रकमकाट्छ त्यो रकमको निश्चित प्रतिशत नेपाल टेलिकमले पनि प्राप्त गर्छ । अन्तर्राष्ट्रिय कलमा यस्ता दुई नेटवर्कलाई संयोजनको लागि वैधानिक गेट वे हुन्छ । सामान्य भाषामा भन्दा गेट वे भनेको कल आउजाउ गर्ने बाटो हो ।

तर, भीओआईपी सञ्चालकले यस्ता कललाई वैधानिक बाटोबाट जान नदिइ इन्टरनेट जोडिएको उपकरणको सहायताले अवैध ‘गेट वे’बाट पठाउँछन् । त्यसकारण यसको तथ्यांक सम्बन्धितदूरसञ्चार सेवा प्रदायकलाई हुँदैन । यसबाट दूरसञ्चार कम्पनीले प्राप्त गर्ने आम्दानी भीओआईपी सञ्चालकले प्राप्त गर्छन् । त्यसैले नेपाल सरकारलाई फाइदाको अंश करका रुपमा पनि प्राप्तहुन्न । यसको लागि उच्च गतिको नियमित इन्टरनेट आवश्यक हुन्छ ।

कसरी रोकथाम गर्ने ?
विदेशबाट कल आउँदा नेपाली नम्बर देखिए १८८ मा कल गरी टिपाइदिन केही साताअघि नेपाल टेलिकमले आफ्ना ग्राहकलाई म्यासेज पठाएको थियो । विदेशबाट कल आउँदा आवाज प्रस्ट नसुनिने, नेपाली नम्बर देखिने भएमा प्रयोगकर्ताले भिओआइपीको प्रयोग भएको बुझ्नुपर्छ । यसमा गोपनियता पनि कम हुन्छ । नेपाल दुरसञ्चार प्राधिकरणका अनुगमन विभाग निर्देशक विजय रायका अनुसार दुईबीचको कुराकानी तेस्रो व्यक्तिले सुनिरहेको पनि हुन सक्छ ।

लाखौं नेपाली वैदेशिक रोजगारीमा छन् । नेपालका धेरै ठाउँमा इन्टरनेटको पहुँच नहुनु र अन्तर्राष्ट्रिय कल महँगो भएकोले भिओआईपी प्रयोग बढेको हो । केही देशमा भिओआईपी प्रविधिकोप्रयोग वैध पनि छ । नेपालमा पनि यसलाई निश्चित क्षेत्र तोकेर वैध बनाउने वा अन्तर्राष्ट्रिय कल शूल्क सस्तो बनाउने बहसको थालनी हुनुपर्ने प्रहरी अधिकृत बताउँछन् ।

ब्युरोका प्रवक्ता तथा प्रहरी उपरिक्षक कृष्ण हरि शर्माका अनुसार अनुसन्धानका क्रममा एउटै व्यक्तिको नागरिकता प्रयोग गरी २/३ सय वटा सिम खरिद गरेको भेटिएको छ । ‘एउटै नाम तर सिमखरिद गर्न हरेक आवेदनमा फरक फोटो प्रयोग गरिएको घटना पनि छन्,’शर्माले भने, ‘यस्तोमा एउटा व्यक्तिले कतिवटासम्म सिम निकाल्न पाउने, कागजातबारे दूरसञ्चार सेवा प्रदायकले विश्लेषण गर्ने कि नगर्ने, उनीहरुको दायित्व हो कि होइन भन्ने प्रश्न खडा हुन्छ ।’उनले दूरसञ्चार प्राधिकरणले चाहे अवैध कल बाइपाससम्बन्धि अपराध निकै कम हुने विश्वास व्यक्त गरे ।

कलबाइपास सम्बन्धी उपकरण विमानस्थलबाट भित्रँदा सुरक्षा निकायलाई थाहा हुन्छ कि हुन्न भन्ने प्रश्न पनि उब्जिने गरेको छ । त्रिभुवन विमानस्थलका प्रमुख भन्सार प्रशासक श्याम भण्डारीले भने, विमानस्थलबाट सिम बक्स वा प्रयोग हुने उपकरण ल्याइएको रेकर्ड नभएको दाबी गर्छन् । भण्डरी भन्छन्, ‘सेटअप बक्स, राउटरजस्ता उपकरण अहिलेसम्म भेटिएको छैन ।’उनी इन्टरनेटबाट विदेश सहजै कल गर्न सकिने अवस्थामा अवैध विदेशी कल निकै कम हुने समेत बताउँछन् ।

Esewa Pasal

प्रकाशित : श्रावण २३, २०७५ १८:३९
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

न बुझिन्छ, न बुझाइन्छ

समाज
म मैथिल समुदायमा हुर्के–बढेकी केटी । एकाबिहानै हजुरबुवाले गाउनुभएको ‘पराती’को मीठो लय कानमा पथ्र्यो । उत्सवहरूमा सोहर, समदाओन, डहकन, बटगवनी, महेशवाणी गाइन्छ । दसैंमा झिझिया सुनेँ तर यीमध्ये कुनै गीत पनि परीक्षामा लेख्न सकिनँ ।
शिल्पा कर्ण

काठमाडौँ — हामीकहाँ बुझेर पढिंदैन, केवल रटिन्छ मात्रै । समाज बुझाइ र सामाजिक शिक्षाका किताबहरू गफका शास्त्रझैं लाग्छन् । हामीकहाँ विद्यार्थीको बौद्धिकता र क्षमता मापन गरिने विज्ञान र गणितजस्ता विषय मात्रै पढाइन्छ । समाजशास्त्र कहींकतै हराइरहेको छ । यो समाज बुझ्ने र बुझाउने यहाँ न शिक्षक छन्, न प्राध्यापक ।

सोसल पढाउने टिचर किन यति बोरिङ हुन्छन् ?’ एसईई दिएर प्लस टु पढ्ने तयारीमा रहेकी बहिनीले एकाबिहानै प्रश्न गरिन् । सुरुमा हाँस उठ्यो प्रश्न सुनेर । ‘सोसल टिचर मात्रै ? हामीलाई त सबै टिचर बोरिङ लाग्थे,’ तुरुन्तै म जवाफी बनें ।


जवाफ त दिएँ । तर, उनको प्रश्नले केही बेर सोच्न बाध्य बनायो । अनि आफ्नै स्कुले जीवन सम्झेँ । विद्यार्थीका लागि अधिकांश शिक्षकका बारे समान धारणा वा ‘पूर्वाग्रह’ हुन सक्छ । जस्तो : गणित पढाउने शिक्षक जति (शिक्षिका होइन) छुच्चा हुन्छन् । सामाजिक र नेपाली पढाउने शिक्षकलाई केही आउँदैन । अंग्रेजी पढाउने शिक्षक निकै ट्यालेन्ट हुन्छन् (सरकारी स्कुलका हकमा) आदि–इत्यादि ।’


आफ्नो औपचारिक विद्यार्थी जीवन सम्झिनुपर्दा स्नातक पढ्दासम्म ४ वटा शैक्षिक संस्था पुग्नुपर्‍यो । सबै सरकारी वा सामुदायिक विद्यालय र कलेज थिए, पठनपाठन माध्यम नेपाली थियो । कक्षा ५ सम्म बाल मन्दिरमा पढेँ । एक जना गणितकी शिक्षिका थिइन्, राम्रै पढाउँथिन् । नढाँटी भन्दा केही छुच्ची पनि लाग्थिन् । विद्यालयमा सबै विषय पढाउने शिक्षिका मात्रै थिए ।


सायद ५ कक्षासम्मका विषय थिए— हाम्रो नेपाली, गणित, मेरो सेरोफेरो र अंग्रेजी । कक्षा ५ मा पढ्दा होला, नयाँ शैक्षिक विधिको प्रयोग गर्न थालिएको थियो । २/४ दिन खल्ती–खल्ती भएको सेतो कपडालाई ब्ल्याकबोर्डमाथि टाँगेर त्यसमा विभिन्न चित्र बनाइएका कार्ड राखिएका थिए । त्यसैलाई देखाएर पढाइयो, बाहिरबाट हेर्न आएका रमिते र अनुगमनकर्तालाई पनि देखाइयो ।


त्यसबेलाको प्राथमिक तह अर्थात् ५ कक्षा पढेपछि अर्को सरकारी विद्यालयमा भर्ना भएँ । त्यहाँ ‘विद्यार्थीको बौद्धिकता र क्षमता मापन गरिने विषय’ विज्ञान र गणित पढाउने शिक्षक पुरुष थिए । एक जना मिस अंग्रेजी पढाउनुहुन्थ्यो, मिस पनि साह्रै छुच्ची लाग्नुहुन्थ्यो, अंग्रेजीका शब्दार्थ कण्ठ गरिएन भने हत्केला रातै हुनेगरी छडीले पिट्नुहुन्थ्यो ।


कक्षा ८ अर्थात् त्यसबेलाको माध्यमिक तहमा पनि पढाउने धेरैजसो पुरुष थिए । सामाजिक शिक्षा र नेपाली पढाउने दुई जना शिक्षिका हुनुहुन्थ्यो । खै, किन आफू विद्यार्थी हुँदा पनि यी विषय पढाउने शिक्षिकालाई कहिल्यै ‘ट्यालेन्ट’ भन्न सकिएन । बुझ्न सक्दिनँ यी विषयका दोष थिए वा लिंगका, ती विषयमाथि भेदभाव थियो वा शिक्षकमाथि ।


यसरी अहिलेसम्म आफू वरपरको समाज अध्ययन गर्ने अवसर विद्यालय जान थालेदेखि नै सुरु भयो । अक्षर चिन्न थालेपछि किताबबाट समाज चिन्ने पहिलो पुस्तक थियो— मेरो/हाम्रो सेरोफेरो । त्यसका चित्रले आकर्षित गर्थे, आफ्नै वरपरका चित्र लाग्थे । पछि सामाजिक अध्ययन भन्ने विषयमा पनि समाज बुझाउन खोजिएको थियो । तर, मैले बुझिनँ, मलाई लाग्छ धेरैले बुझेनन् । कक्षा १० सम्म जति पनि सामाजिक शिक्षा पढियो, ती सबै परीक्षा उत्तीर्ण गर्नका लागि थिए ।


अहिले आफू बसेको समाज हेर्दा लाग्छ, मैले अझ समाज चिनेकै छैन । समाजशास्त्रको अध्ययन सहज छैन, निकै गहन छ । देश विदेशका छाडौं, आफ्नै देशका पनि हरेक समाजका हरेक पाटा बुझ्न सम्भव छैन । तर, विद्यार्थीको उमेर र कक्षाअनुसार पाठ्यक्रममा राखिएका ‘समाज’ पनि धेरैले बुझ्न सकेका छैनन् ।


परीक्षामा हरेक प्रश्नको एउटा निश्चित ‘प्याटर्न’ मा जवाफ लेख्थे, म मात्र होइन— मैले चिनेका मेरा साथी पनि । मानौं, त्यो गणित र विज्ञान हो जहाँ २ गुणा २ बराबर ४ हुन्छ अथवा दुई हाइड्रोजन र एक अक्सिजन मिल्दा पानी बन्छ । शिक्षकहरूले लेखाउने प्रश्नोत्तर उस्तै हुन्थे, सिर्जनशीलता, मौलिकता र विद्यार्थीको आफ्नो जवाफका लागि पटक्कै स्थान हुँदैनथ्यो ।
पाठ्यक्रम विकास केन्द्रले विद्यार्थीलाई समाज, सामाजिक मूल्य मान्यता, रीतिरिवाज, एकता र सद्भावसँग परिचित गराउन सिकाउने उद्देश्यले यो विषय र यसको पाठ्यक्रम ‘डिजाइन’ गरेको होला । तर, एउटा विद्यार्थीको नाताले मैले यी कुराहरू कहिल्यै बुझिनँ, अनुभव गर्न पाइनँ । सामाजिक शिक्षकले हाम्रो समाजलाई केवल किताबका केही घोकन्ते प्रश्नोत्तरमा सीमित गराइदिएझैं लाग्छ । जबकि यसले हाम्रो वरपरको समाजलाई किताबसँग जोड्नुपर्ने हो । सामाजिक विषय कुनै रट्ने किताब होइन, तिमीहरूकै वरपरको वातावरण, सेरोफेरो बुझ्ने विषय हो भनेर बुझाउन, पढाउन सक्नुपर्ने हो ।


अझ अहिले निजी र अंग्रेजी माध्यमका विद्यालयमा पढ्ने बहिनीलाई हेर्छु र दोधारमा पर्छु— पढेका हुन् कि रटेका हुन् ? पढाउने शिक्षकले आफूले लेखाएभन्दा एक शब्द यताउति भए कि नम्बर काट्ने रहेछन् । कोर्सभन्दा बाहेकका एउटै शब्द वा शब्दार्थ विद्यार्थीलाई थाहा पाउनै मुस्किल छ । प्रयोगात्मक क्रियाकलाप भनेर सामाजिक विषयमा पनि अभ्यास गराउन दिइएका हुँदा रहेछन् । तर, शिक्षकले गराउँदैनन् । न मैले गरेँ, न मेरा बहिनी र नयाँ पुस्ताका विद्यार्थीलाई गराइएको देख्छु । यसरी विद्यार्थी समाज बुझ्नबाट वञ्चित भइरहेझैं लाग्छ ।
कक्षा १० अर्थात् एसएलसी परीक्षाको बेला सम्झिन्छु । जतिखेरसम्म म सामाजिक शिक्षा भनेको ‘गफ दिने विषय’ भन्ने बुझ्थेँ । हामीलाई सामाजिक पढाउने शिक्षकले दिनहुँ कुनै किताब ल्याएर त्यसबाट लेखाउनुहुन्थ्यो । हामी पनि खुइँखुइँ साथ्र्यौं । घर गएर न सामाजिक शिक्षा किताब पल्टाइन्थ्यो, न अघि कक्षामा पाठ सारेको कपी पल्टिन्थ्यो । बरु गणित र विज्ञान पढ्थेँ, गृहकार्य गर्थें ।


एसएलसीमा आफ्नो समुदायमा गाइने गीत लेख्न प्रश्न आएको थियो, सायद १० अंकभारको । सातो गयो, कुन गीत लेख्ने । छेउको साथीले हातमा चिट थमायो । सार्ने धुनमा सारेँ— पछि हेर्दा त गेसपेपरको उक्त पानामा सुदूरपश्चिममा गाइने देउडा गीत सारेकी रहिछु । परीक्षा सकिएपछि थाहा भयो, म मात्र होइन कक्षाभरिका सबैले देउडा नै लेखेका रहेछन् । नेपालको पूर्वी जिल्लामध्येमा पर्ने स्थानमा कसरी देउडा गीत गाइन्छ होला, अहिले सम्झिँदा आफ्नो मूर्खता मात्र होइन, एकैसाथ शिक्षकको कमजोरी पनि देख्छु ।


म मैथिल समुदायमा हुर्के–बढेकी केटी । एकाबिहानै हजुरबुवाले गाउनुभएको ‘पराती’ (बिहानी भजन) को मीठो लय कानमा पथ्र्यो । महिनैपिच्छे पूजा हुन्थ्यो र ममी, काकी, हजुरआमा भगवती, धर्मराज र कुलदेवताको गीत गाउनुहुन्थ्यो । विवाह उत्सवहरूमा सोहर, समदाओन, डहकन, बटगवनी, महेशवाणी आदि गाइन्छ । दसैंमा झिझिया सुनेँ तर यीमध्ये कुनै गीत पनि परीक्षामा लेख्न सकिनँ अथवा पाइनँ । एक हिसाबले सही गरेजस्तो पनि लाग्छ, किनकि यदि मैले मैथिलीमा लेखेको भए कापी जाँच्नेले बुझ्थे कि बुझ्दैनथे अथवा अंक दिन्थे कि दिँदैनथे ?


अहिले मलाई लाग्छ त्यसबेला न म, न त मेरा शिक्षकले ‘सामाजिक विषय’ बुझ्न सकेका थिए । शिक्षकले बुझेका भए पो विद्यार्थीलाई बुझाउँथे । हामीलाई किताबभन्दा बाहिर हाम्रो संस्कृति र समाज कहिल्यै पढाइएन, न अभ्यास गराइयो । ‘आफ्नो समाजमा गाइने गीत भोलि सबैले कक्षामा सुनाउनुपर्छ है’ भनेर शिक्षकले भन्नुभएको भए सायद म घर गएर ममीसँग कुनै मैथिली गीत सिकेर आउनेथिएँ । तर सकिनँ, अहिले पनि गाउन सक्दिनँ । जबकि हाम्रो हरेक पूजा, व्रतबन्ध, सबैमा आवाजजस्तो भए पनि गीतको लय नबिगारी गाउनु अनिवार्य हुन्छ । तर, समाज नबुझेको हाम्रो पुस्ताले यसलाई कसरी निरन्तरता देला खै ?


हुन त सामाजिक विषयमै इतिहास, भूगोल, रहनसहन र संस्कृति सबै समेटिएका थिए । ती घोक्नैपर्ने थिए तर धेरै कुरा यस्ता पनि थिए जुन हामीले बुझ्नुपर्ने थियो । हामीेलाई पढाएको जस्तो नभई हाम्रै समाज बुझाएको जस्तो लाग्नुपर्ने थियो तर लागेन ।


समाजशास्त्र कर्मचारीले सहज विषय लिएर पास गरी बढुवाका लागि दाबी गर्ने मात्र विषय होइन । न त नामका लागि स्नातक वा स्नातकोत्तर पास गरेको छु भनेर देखाउने विषय हो । यो साह्रै गह्रौं विषय हो, अध्ययनको विषय हो, समाज विज्ञान हो, समाजको गणीत हुन्छ ।


गणित, विज्ञान, स्वास्थ्य तथा जनसंख्या शिक्षा, लेखा, अंग्रेजीजस्ता विषयगत शिक्षक आवश्यक भए शिक्षक सेवा आयोगमा लड्न सो विषय नै पढेको हुनुपर्छ । जबकि सामाजिक अध्ययन पढाउन समाजशास्त्र वा समाज विज्ञान विषय नै पढेको खोजिन्न ।


अहिले राजनीतिशास्त्रमा म पढ्दै छु, ‘मानिस एक राजनीतिक प्राणी हो ।’ तर त्यसभन्दा धेरै अघिदेखि पढेकी छु, ‘मानिस एक सामाजिक प्राणी हो ।’ राजनीतिक भने पनि अथवा सामाजिक भने पनि निश्चयै यो समाज परिवर्तनशील छ । तर, हरेक समाजका विशेषता छन्, तिनलाई कायम राख्न सामाजिक अध्ययन अनिवार्य छ । पर्याप्त प्रयोगात्मक क्रियाकलाप जरुरी छ, ताकि भविष्यमा कुनै विद्यार्थीले आफ्नै समाज र संस्कृतिबारे सोधिएको प्रश्नमा समेत गाइड वा गेसपेपर च्यात्नु नपरोस् ।

प्रकाशित : श्रावण १९, २०७५ ०९:५९
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT