‘ज्यानमारा’ सडक !

चन्द्र कार्की

तेह्रथुम — गत असारमा फेदाप गाउँपालिकाको सम्दु गाउँका ५२ वर्षीय नगेन्द्र चोङबाङलाई हृदयाघात भयो । उपचारका लागि धरान लैजाँदै गर्दा उनी सवार गाडी हिलोमा भासियो । निस्कन नसकेपछि उनको गाडीमै मृत्यु भयो ।

तेह्रथुमको चित्रेबाट वसन्तपुर हुँदै सदरमुकाम म्याङलुङ जोड्ने सडकमा भासिएर पल्टिएको ट्रक । तस्बिर : चन्द्र । कान्तिपुर

गत असारमै शल्यक्रियापछि प्रसूति भएकी म्याङलुङ ५ अम्फुवाकी २७ वर्षीया दिलु लिम्बूलाई ३ लाख ६० हजार रुपैयाँ ऋण खोजेर उपचारका लागि हेलिकप्टर चार्टर गरी काठमाडौं लगियो । वसन्तपुर–म्याङलुङ २६ किलोमिटर सडक हिलाम्मे हुँदा आफन्त यस्तो विकल्प रोज्न बाध्य भएका थिए ।

Yamaha


गतवर्ष वसन्तपुर–म्याङलुङ–च्याक्चे खण्डको हिलोमा चिप्लेर मोटरसाइकल खोलामा खस्दा एक जनाको घटनास्थलमै मृत्यु भएको थियो । मोटरसाइकलमा सवार अर्का गम्भीर घाइते भए । गतवर्ष नै जिरीखिम्ती–म्याङलुङबीचको गढी भीरको साँघुरो सडकमा औंसी डाँडातर्फ जाँदै गरेको बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको थियो ।

यही सडक भएर धरान जाँदै गरेको बस दुई वर्षअघि सिंधुवा नजिक दुर्घटना हुँदा पूर्वअर्थ राज्यमन्त्री हरिराज खेवासहित २० जनाको मृत्यु भएको थियो । ३० जना घाइते भए ।

यो सडक खण्डमा यीबाहेक दुर्घटनामा परेका साना सवारी र ट्याक्टरको सूची लामो छ । यो संख्या प्रत्येक महिना बढिरहेको छ । सबै दुर्घटनाको मुख्य कारण सडकको दूरवस्था हो । जिल्ला सदरमुकाम जोड्ने एकमात्र वसन्तपुर–म्याङलुङ २६ किलोमिटर सडकमा ज्यान गुमाउने र सास्ती भोग्नेहरूको सूची निकै लामो छ ।

करोडौं रकम खर्चेर पटक–पटक कालोपत्रे र मर्मत गरिए पनि यो सडकमा अहिले सवारी गुडदैनन् । समयमै अस्पताल पुग्न नसक्दा धेरै जिल्लावासीले अकालमा ज्यान गुमाइरहेको पूर्वजिविस सभापति किशोरचन्द्र दुलालले बताए । हिलो र कच्ची सडकमा सवारी दुर्घटनाको संख्या पनि बर्सेनि बढिरहेको जिल्ला ट्राफिक प्रमुख योगेन्द्र दाहालले बताए ।

मर्मत सम्भारको काम गुणस्तरीय नहुँदा चित्रे–म्याङलुङ खण्डमा वर्षात्मा पैदल यात्रा गर्नै सकस छ । क्षमताभन्दा बढी भार भएका सवारीले पनि सडक भत्काउने गरेका छन् । पूर्वी तराईबाट आयात हुने निर्माण सामग्री सिमेन्ट, रड, बालुवा, इँटा, गिट्टी, पुल तथा सडकका भारी सामानले सडक भत्काउने गरेको छ । यस्तै पहाडबाट तराई निर्यात हुने काठका गोलियालगायत बढी भार बोकेर गुड्ने सवारीले पनि सडक बिग्रिरहेको छ ।

राजमार्गको चित्रेदेखि म्याङलुङसम्मको ३० किलोमिटर खण्डमा ६ हजार बढी खाल्डा छन् । सडकमा परेका खाल्डा र हिलोका कारण पूर्वी तराईबाट आएका सवारी बीच बाटोमै सातासम्म थन्किने गरेको यातायात कर्मचारी दयाराम ढकालले बताए ।
साना सवारी गुड्न सक्ने अवस्था छैन । सडकमा प्रत्येक दिन क्षति बढिरहेको भए पनि यसको रोकथाम र मर्मत सम्भारको पहल कतैबाट भएको छैन । अत्यधिक भार लिएर गुड्ने सवारीलाई ट्राफिक प्रहरीले जरिवाना काट्नेबाहेक अन्य कारबाही गरेको देखिँदैन ।

सडक मर्मत सम्भारको नाममा करोडौं रुपैयाँ खर्च भइरहे पनि ठेकेदारले राम्रो काम नगर्दा सडकको अवस्थामा सुधार हुन नसकेको सडक डिभिजन कार्यालय धनकुटाका प्रमुख विष्णुप्रसाद काफ्लेले बताए । सडकमा ठूला खाडल परेको र हिलोले पूर्वी तराईदेखि वसन्तपुर हुँदै तेह्रथुमको म्याङलुङ, औंसीडाँडा, हलिमेला, संखुवासभाको गुफा, चैनपुर, खाँदबारी, मानेभन्ज्याङ, ताप्लेजुङको साँघुलगायतका स्थानतर्फ जाने सवारी ठाउँ ठाउँमा रोकिएका छन् । पूर्वी तराईबाट धनुकटाको सिंधुवा हँुदै तेह्रथुमको शुक्रबारेतर्फ गुडेका सवारी पनि बीचबीचमा रोकिएका छन् ।

सडक हिलो भएर सवारी फस्ने गरेपछि पहाडका किसानले उत्पादन गरेको ताजा तरकारी र दूध ढुवानीमा समस्या हँुदै आएको छ । किसानले उत्पादन गरेको आलु, बन्दा, मूला, काउली, दूधलगायतका कृषि उत्पादन समयमा बिक्री गर्न नपाउँदा दैनिक करोडौं रुपैयाँको नोक्सान भइरहेको किसानको गुनासो छ ।

सडक निर्माण र मर्मत सम्भारमा लापरबाही र ढिलासुस्ती गर्दासमेत स्थानीय प्रशासन, राजनीतिक दलका अगुवा र जनप्रतिनिधिले पनि प्रभावकारी काम गर्न सकेका छैनन् । कांग्रेस सभापति गोविन्द ढुंगानाले आफूहरूको गुनासो सडक डिभिजन र ठेकेदारले नसुनेको भन्दै उल्टै गुनासो गरे ।

ठेकेदार कुनै न कुनै दलमा आबद्ध हुने भएकाले पनि समस्या भएको उनले बताए । समयमा काम सम्पन्न नगर्ने र गुणस्तरहीन काम गर्ने ठेकेदारलाई कारबाहीको दायरामा ल्याउने प्रक्रिया अघि बढाएको सडक डिभिजन कार्यालयले जनाएको छ । तर, कारबाही भएको देखिँदैन ।

तीन दशकभन्दा बढी समयदेखि निरन्तर निर्माण भइरहेको यो सडकमा अहिलेसम्ममा कति रकम खर्च भयो भन्ने यकिन तथ्यांक सम्बन्धित निकायसँग छैन । यो सडक निर्माण र स्तरोन्नतिमा सडक विभाग, अर्थ मन्त्रालय, बेलायत सरकारको अन्तर्राष्ट्रिय विकास विभाग (डिफिड) तथा अन्य दातृ निकायले समेत बर्सेनि रकम खर्च गर्दै आएका छन् ।

सडक डिभिजनका इन्जिनियर र ठेकेदारको मिलेमतोमा सामान्य प्रकृतिको झारा टार्नमात्र काम हुने गरेको उद्योग वाणिज्य संघ वसन्तपुरका अध्यक्ष रोशन सुवेदीले बताए । सडक निर्माणको गुणस्तर मापन गर्ने छुट्टै आधिकारिक निकाय नभएसम्म सडक सुधारको काम राम्रो नहुने थापाको भनाइ छ ।

Esewa Pasal

प्रकाशित : श्रावण २६, २०७५ १८:५४
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

जनप्रतिनिधि कर बढाउँदै विलासितामा लागेको भट्टराईको आरोप

हरिराम उप्रेती

गोरखा — नयाँ शक्ति पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री बावुराम भट्टराईले अनावश्यक करको भार बढाएर जनप्रतिनिधिको दोहनकारी चरित्र तल्लो तहसम्म पुगेको आरोप लगाएका छन् ।

पार्टी कार्यक्रमका लागि शनिबार गोरखा आएका भट्टराईले सञ्चारकर्मीसँग कुरा गर्दै तल्लो तहका जनप्रतिनिधिले शीर्ष नेताको देखासिकी गरेको आरोप लगाए। ‘माथिल्लो तहका नेता राज्यको दोहन गरेर जसरी निजी लाभ लिइरहेका छन् तिनै पार्टीबाट निर्वाचित भएका तल्ला तहका जनप्रतिनिधि पनि शीर्ष नेताको देखासीखी गरेर विलासीताको सामान खरिदका लागि जुन हर्कत गरिरहेका छन्,' उनले भने, 'त्यो एकदमै गलत हो।,’ उनले कांग्रेस र कम्युनिस्टका कार्यकर्ताले जनप्रतिनिधिको रुपमा भ्रष्टचारजन्य हर्कत तल्लो तहसम्म बताए।

कतिपय स्थानीय तहले जन्मदर्तामा १ हजारदेखि १५ सयसम्म कर लिने विषय सार्वजनिक भएको भन्दै उनले असन्तुष्टि जनाए। ‘जन्मने वित्तिकै कर लगाउनु गलत हो, विदेशमा बच्चा जन्मिए खुसी हुँदै आउँछन्, हाम्रो यहाँ ट्याक्स तिर्नुपर्छ, यो उल्टो भयो,’ उनले भने, ‘यो संघीयताको मर्मविपरीत भयो, केन्द्रीय नेतृत्वले दिशाबोध गर्नुपर्छ।’ लामो संघर्ष, बहस र छलफल पछि आएको संघीयता कार्यान्वयनमा केही त्रुटी भए पनि यसबाट विमुख हुन नसकिने भट्टराईको भनाइ छ।

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी प्रवक्ता खड्कबहादुर विश्वकर्मालाई हत्कडी लगाउनु गलत भएकोसमेत उनले बताए। ‘राजनीतिक शक्तिलाई राजनीतिक ढंगले व्यवहार गरिनुपर्छ,’ उनले भने, ‘क्रान्ति गरेर आएका पार्टीका नेता सरकारमा हुँदा अपराधी घोषणा गरेर हत्कडी लगाउनु गलत भएको हो।’ अहिलेको सरकारले राष्ट्रहित र जनविरोधी काम गरेको भट्टराईको आरोप छ।

५–६ महिनामै सरकारको असली चरित्र देखिएको समेत उनले बताए। ‘१४ वर्ष जेल परेका प्रधानमन्त्री, विद्रोहको नेतृत्व गरेको प्रचण्ड र मेरा सहकर्मी साथीहरु भएको सरकारले केही राम्रो काम गर्छ भन्ने थियो,’ उनले भने,‘दुई, तीन वर्ष हेरौं भनेको ५–६ महिनामै राष्ट्रहित र जनविरोधी काम देख्यौं अब जनताले नयाँ विकल्प खोज्छन्।’ सरकारले भ्रष्टचार, अनियमितता, कमिसनखोरी नियन्त्रण गर्न नसकेको उनको भनाइ छ।

सरकार ठूला पूर्वाधर निर्माणमा अघि बढ्नुपर्नेमा रेल र पानी जहाजको अमूर्त कुरा गरेर अड्किएको उनको भनाइ छ। ‘प्रत्येक स्थानीय तहको केन्द्र जोड्ने बाटो चाहियो, लगानी बढाउनुपर्थ्यो,’ उनले भने, ‘आयातमुखी अर्थतन्त्रलाई पक्षपोषण गर्नु राष्ट्रहितविपरीत हो, मुखले राष्ट्रवादको कुरा गर्नुभयो व्यवहारमा त्यसो भएन।’

गोरखा निर्वाचन क्षेत्र नम्बर २ का सांसदसमेत रहेका भट्टराईले शनिबार नै पुनर्निर्माणमा रहेको गोरखा दरबारको निरीक्षण गरेका थिए। पुनर्निर्माण ढिला भएको भन्दै उनले असन्तुष्टिसमेत जनाए।

प्रकाशित : श्रावण २६, २०७५ १८:१९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT