कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

किन आवश्यक छ हात्ती संरक्षण ?

गोविन्द पोखरेल

काठमाडौँ — आज विश्व हात्ती दिवस । हात्तीको महत्व, संरक्षण र रक्षा गर्ने उद्देश्यले यो दिवस सन् २०१२ देखि मनाउन थालिएको हो ।

किन आवश्यक छ हात्ती संरक्षण ?

क्यानेडियन फिल्म निर्माता प्याट्रिका सिम्स र एलिफेन्ट रिइन्ट्रडक्सन फाउन्डेशनको संयुक्त प्रयासबाट यो दिवस मनाउन सुरु गरिएको हो । वन्यजन्तु संरक्षणसम्बन्धी काम गर्ने विश्वका ६० भन्दा बढी संस्थाहरुले यो दिवस मनाउँदै आएका छन् ।


विश्वमा अहिले अफ्रिकन र एसियन प्रजातिका हात्ती मात्र बाँकी छन् । डिफेन्डर्स अफ वाइल्डलाइफ संस्थाका अनुसार हाल विश्वमा अफ्रिकन हात्तीको संख्या ४ लाख ५० हजारदेखि ७ लाखसम्म र एसियन प्रजातिका हात्ती ३५ हजारदेखि ४० हजारसम्म छ ।

अफ्रिकन हात्तीलाई संरक्षित र एसियन प्रजातिको हात्तीलाई संकटापन्न जीवको सूचीमा अन्तर्राष्ट्रिय वन्यजन्तु संरक्षण संघले राखेको छ । नेपालमा पाइने हात्ती एसियन प्रजातिको हो ।


हात्तीको महत्वपूर्ण अंग मानिने दाह्राका लागि यसको शिकार हुँदै आएको छ । संरक्षकर्ता डाक्टर डेम सेल्डिरिकले सन्डे एक्सप्रेसलाई दिएको जानकारी अनुसार अफ्रिकामा प्रत्येक १५ मिनेटमा आइभोरीका लागि एउटा हात्तीको शिकार हुँदै आएको छ ।

अहिलेकै गतिमा हात्तीको शिकार हुने र संरक्षणका उपयाहरु नअपनाइए अबको १२ वर्षपछि हात्ती विश्वबाट लोप भएर जाने उनले दाबी गरेकी छन् ।


अफ्रिकामा पछिल्लो समय ३६ हजार हात्ती मारिएको उक्त पत्रिकाले जनाएको छ । केन्यामा पत्रिकाको रिपोर्ट अनुसार अघिल्लो दुई महिनामा विभिन्न ठाउँमा छापा मार्दा साढे ४ टन हात्तीको दाह्राहरु फेला परेका थिए ।


पछिल्लो समय नेपालमा हात्ती र मानवबीच पनि द्वन्द्वका समस्याहरु निम्तिन थालेका छन् । प्रस्तावित दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा हात्ती हिँड्ने जैविक मार्गलाई विनाश गरेर विमानस्थल निर्माण गर्न खोजिएको छ । जसका कारण मानव हात्ती द्वन्द्व निम्तिने खतरा छ ।


विश्वमा वन्यजन्तुको संख्या घट्दै जानुमा चोरी शिकारी र बासस्थानको विनाश मुख्य कारण मानिदै आएका छन् ।

नेपालमा हात्तीको संख्या २ सय हाराहारीमा याकिन गरिएको पनि सरकारी संयन्त्रबाट हात्तीको गणना भएको पाइदैन । हात्तीले परापूर्वकालदेखि प्रयोग गर्ने जैविका मार्गमा मानव आतिक्रमण बढेसँगै मानव–हात्तीको द्वन्द्व बढ्दै गइरहेको छ ।


पछिल्लो अध्ययन अनुसार बारा,रौतहट,सर्लाही र महोत्तरीमा ३० जनाले हात्तीको आक्रमणबाट ज्यान गुमाएका छन् । ६० देखि ७० वर्षसम्म बाँच्न सक्ने यो जीव जमिनमा पाइने सबैभन्दा ठूलो स्तनधारी जनावर हो ।

चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन केन्द्र हात्तीहरु । तस्बिर: गोविन्द पोखरेल/कान्तिपुर

चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन केन्द्रका हात्ती । तस्बिर: गोविन्द पोखरेल/कान्तिपुर

सदर चिडियाखानामा राखिएको पवनकली हात्ती नेपालको सबैभन्दा धेरै वर्षसम्म बाँचेको हात्ती हो । पवनकलीको उमेर ७० वर्ष पुगेको छ । ५ टन वजन हुने हात्तीलाई नियमित रुपमा दुई सयदेखि तीन सय केजीसम्म खाना आवश्यक पर्छ । त्यही भएर यसलाई बाँच्न ठूलो क्षेत्र आवश्यक पर्छ ।


समूहमा बस्न रुचाउने हात्तीलाई विवकेशील प्राणीको रुपमा लिइन्छ । यिनीहरुमा भावनात्मक सम्बन्ध बढी हुन्छ । एक पटक गएको र देखेको ठाँउ हात्तीले बिर्सदैन ।


जेन गुडअल इन्स्टिच्युट नेपालकी कार्यक्रम संयोजक सृष्टि सिं श्रेष्ठका अनुसार हात्तीमा मानिसमा जस्तो एक अर्कामा भिन्न हुने गर्छन् ।

हरेक हात्तीको बानी फरक फरक हुने गरेको उनले बताइन् । समूहमा बस्न रुचाउने हात्तीमा मानिसमा जस्तै जन्मदा खुशी हुने,मृत्युमा वियोग हुने अनि मृत शरिरको आसपासमा धेरैसमयसम्म नजिक बस्ने जस्ता क्रियाकलापहरु हात्तीले देखाउँछ । हात्तीको झुण्डमा पोथी हात्ती(ढोई)हरु मात्र हुन्छन् । भाले हात्ती(मत्ता) सम्भोगको समयमा मात्र आउने श्रेष्ठको भनाइ छ । हात्तीको बच्चाले १२ वर्षसम्म मातृत्व स्याहार पाउँछ । भाले हात्ती छ भने समूह छाड्ने र पोथी छ भने समूहमै बस्ने गरेको उनले बताइन् ।

हात्तीको सुँड अनि दाह्रालाई सबैले चासो दिन्छन् । हात्तीको सुँड सास फेर्न, वस्तुहरु बोक्नका लागि प्रयोग हुन्छ भने दाह्राले हतियारको रुपमा काम गर्छ । हात्तीको खुट्टाले शरिर थेग्न, कानले सुन्ने र तापक्रम सन्तुलनका लागि प्रयोग हुन्छ ।

यसको पुच्छरबाट सबैप्रकारको जानकारी लिन सकिन्छ । पुच्छरमा भएको एउटा रौंबाट हात्तीले खाने खाना,आवस्था,उमेर लगायतका अन्य जानकारीहरु पाउन सकिन्छ ।


जंगलमा हात्तीले आफ्नो सुँडको मद्दतले रुखका हागाँहरु भाँचेर जमिनमा रहेका स–साना विरुवाहरुका लागि प्रकाशको पहुँच दिलाइदिन्छ । जसका कारण साना बिरुवाहरुले प्रकाश पाउँछन् र प्रकाश संश्लेषण प्रकिया सुरु हुन्छ अनि राम्रोसँग हुर्कन्छन् । हात्तीले विरुवा तथा झाडी सफा गरेर नयाँ विरुवा हुर्कनका लागि वातवरण तयार गरिदिन्छ ।


अफ्रिकाको साभाना ग्रासलेण्डमा हात्तीले सुख्याममा आफ्नो दाह्राको मद्दतले जमिन खनेर पानी निकाल्छ । हात्तीले निकाले उक्त पानी सख्खायाममा अन्य जीवहरुले पनि प्रयोग गर्छन् र बाँच्छन् ।

हात्तीले जंगलमा ग्याप राखेर विरुवा खाने परिपाटीका कारण नयाँ वनस्पतिहरु उम्रने गर्छन् । विरुवा खाने क्रममा प्राकृतिक रुपमा बाटो निर्माण हुन्छ, जुन बाटो अन्य वन्यजन्तुहरुले प्रयोग गर्छन् ।


यिनीहरु परागसेचनमा पनि भूमिका हुन्छ । केही प्रजातिका रुखहरुमा हात्तीका कारण सिड डिस्पर्सन हुन्छ । हात्तीले निकाल्ने गोबरमा वनस्पतिका बिउहरु पनि हुन्छन् ।

साभना ग्रासलेन्डमा यस्ता विउहरु उम्रेर त्यहाँको पारस्थितिक प्रणाली (इको-सिस्टम)लाई स्वस्थ्य बनाउने गरेको सेभ द एलिफेन्ट संस्थाको वेभसाइटमा उल्लेख छ । हात्ती हिँड्दा बन्ने डोब(छाप) स–साना किरा प्रजातिका जीवहरुका लागि उपयुक्त बासस्थान हो । त्यस्ता डोबहरुमा ती जीवहरु बस्छन् ।


यिनै यस्ता विशेषताका कारण हात्तीलाई किस्टोन स्पेसिसको रुपमा लिइन्छ । यसकारण हात्तीको संरक्षण आवश्यक छ ।

प्रकाशित : श्रावण २७, २०७५ १५:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?