कृषिमा क्रेज

विमल खतिवडा

काठमाडौँ — ताप्लेजुङ खेवाङकी २२ वर्षीया सपना तिवारीले काठमाडौंको मोडेल कलेजबाट प्लस टु साइन्स गरिन् । ८० प्रतिशत अंक ल्याएर प्लस टु गरेकी उनले सुरुमा एमबीबीएसका लागि परीक्षा दिइन् । चितवनको कृषि तथा वन विज्ञान विश्वविद्यालका बारेमा उनलाई थाहा थियो । त्यहाँ पढाउने प्राध्यापकसँग उनको काठमाडौंमा भेट हुन्थ्यो । उनले त्यहाँ पढाइ हुने विषयका बारेमा चासो दिएर सोध्थिन् ।

कृषिमा क्रेज

चित्तबुझ्दो भएपछि उनी बीएस्सीएजीमा भर्ना भइन् । अहिले सातौं सेमेस्टरमा पढिरहेकी छन् । ‘कृषि पढेपछि यसको स्कोप धेरै हुन्छ भन्ने थाहा पाएको छु,’ उनले भनिन्, ‘पढिसकेपछि विदेश जाने सोच छैन, यही रोजगार भएर बस्ने छु ।’ पढ्दै गएपछि सोचेभन्दा राम्रो भएको उनले सुनाइन् । कृषि तथा वन विज्ञान विश्वविद्यालयअन्तर्गत ५ क्याम्पस छन् । चितवनको रामपुरमा पशु विज्ञान, पशु चिकित्सा, मत्स्य विज्ञान र कृषि विज्ञानको अध्ययन हुन्छ । त्यस्तै हेटौंडामा वन विज्ञानको अध्ययन हुन्छ ।


विश्वविद्यालयअन्तर्गत ४ आंगिक क्याम्पस छन् । त्यसैगरी, धनकुटाको पाख्रिबासमा प्राकृतिक स्रोत व्यवस्थापन कलेज, सिन्धुलीस्थित मरिन गाउँपालिकाको कपिलाकोट, कास्कीको पुरुन्चौर र कैलालीको टीकापुरमा यसको पढाइ हुन्छ । कास्कीमा ३ वर्षदेखि र अन्य कलेजमा एक वर्षदेखि यसको पढाइ भइरहेको छ ।


रामपुरका पशु प्रजनन तथा जैविक प्रविधि विभाग प्रमुख डा. निराजन भट्टराईका अनुसार रामपुर र हेटौंडामा कृषि, पशु तथा वन विज्ञानसम्बन्धी स्नातकदेखि विद्यावारिधिसम्मको अध्ययन अध्यापन र अनुसन्धान हुन्छ । स्नातक ४, स्नाकोत्तकर २ र विद्यावारिधि ३ वर्षको हुन्छ ।


त्यस्तै त्रिभुवन विश्वविद्यालयअन्तर्गत ४ आंगिक क्याम्पस छन् । ती लमजुङ क्याम्पस सुन्दर बजार, पक्लिहवा क्याम्पस रूपन्देही, गौरादह कृषि क्याम्पस झापा र रामपुर कृषि क्याम्पस खैरहनी चितवन हुन् । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त निजी क्याम्पसमा दाङको लमहीमा रहेको पृथु टेक्निकल कलेज, कलेज अफ साइन्सेस तुल्सीपुर र कृषि तथा पशु विज्ञान कलेज गोकुलेश्वरमा यसको पढाइ हुन्छ ।


‘यो विषय पढ्नेलाई धेरै ठाउँमा अवसर छ,’ भट्टराईले भने ‘त्यही भएर पढ्न आउने विद्यार्थी बर्सेनि बढ्दो छन् ।’ उता कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. युवकध्वज जीसीका अनुसार कृषि क्षेत्रमा पछिल्लो समय जनशक्ति उत्पादन बढ्दो छ ।


‘कृषिको जनशक्ति अप्रयाप्त भन्ने छैन,’ उनले भने, ‘हामीलाई चाहिने संख्याभन्दा पनि बढी नै उत्पादन भएको छ ।’ कृषि तथा वन विज्ञान विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय कृषि र पशु विज्ञान अध्ययन संस्थान, पूर्वाञ्चल विश्वविद्यालयअन्तर्गत सम्बन्धन प्राप्त कलेजहरू, सीटीईभीटीअन्तर्गत कलेजबाट चाहिने संख्यामा कृषिका लागि जनशक्ति उत्पादन हुने गरेका छन् ।


कृषि र वन विज्ञान विश्वविद्यालय, त्रिविका कृषि र पशु विज्ञान अध्ययन संस्थानअन्तर्गत लगभग आधा प्रोडक्टको लक्ष्य विदेश जाने हुने गरेको छ । ‘एक दशक विद्यार्थीले विदेश जाने लक्ष्यसहित अध्ययन गरेको देखिन्छ,’ उनले भने, ‘तर कृषि पहिलाको जस्तो छैन, सैद्धान्तिक पढाइ राम्रो छ तर प्रयोगात्मक कम छ ।’

प्रकाशित : श्रावण ३१, २०७५ ११:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?