शिक्षक बन्न मात्रै होइन बीएड

कान्तिपुर संवाददाता

काठमाडौँ — बीएड पढेका ऋषिकेश उपाध्याय जुम्लाको तातोपानी गाउँपालिकामा आईटी अफिसर छन् । पढाइ सकिएलगत्तै उनले सूचना प्रविधि अधिकृतमा जागिर पाएका हुन् । शिक्षाशास्त्र पढेका विद्यार्थी भविष्यमा शिक्षक मात्र हुने आम मान्यता छ । तर, शिक्षा पढेर पनि विभिन्न क्षेत्रमा सफल हुनेको संख्या बढ्दो छ ।

शिक्षक बन्न मात्रै होइन बीएड

अझ आईसीटी (इन्फरमेसन कम्युनिकेसन टेक्नोलोजी) पढेर सूचना प्रविधि क्षेत्रमा जम्नेको संख्या दिनानुदिन थपिँदो छ । उपाध्यायले त्रिवि शिक्षाशास्त्र संकायअन्तर्गत भक्तपुरस्थित सानोठिमी क्याम्पसबाट आईसीटी विषयमा स्नातक (बीएड) गरेका हुन् । ‘आईसीटी विषय पढेर पास गर्ने कोही बेरोजगार छैन,’ उनले भने, ‘पास गरेकै दिन जागिर पाइन्छ, धेरै जना आईटी अफिसर भइसकेका छन् ।’


सूचना प्रविधि क्षेत्रमा योग्य जनशक्तिको माग बढ्दो रहेकाले स्नातक सक्नेबित्तिकै रोजगारी पाइहाल्ने उनले सुनाए । स्थानीय तहहरूमा सूचना प्रविधि अधिकृतको माग छ । शिक्षण संस्थामा पढाउन चाहे पनि यो विषयको जनशक्ति अभाव रहेकाले सजिलै पाइने जानकारहरू बताउँछन् । निजी संस्थाहरूमा पनि यो पदका लागि जनशक्ति खाँचो भइरहन्छ । लोकसेवातर्फ पनि आईटी पढेका कर्मचारीको माग छ ।


बढ्दो माग र विद्यार्थीको पनि आकर्षणको कारण देशभरका विभिन्न क्याम्पसले सम्बन्धन माग गरिरहेका छन् । तर, त्रिभुवन विश्वविद्यालयको शिक्षाशास्त्र संकायले सम्बन्धन दिन सकेको छैन । सम्बन्धन दिन नसक्नुको एउटा कारण आईसीटी पढाउने शिक्षकको अभाव हुनु हो । देशभरका १४ वटा क्याम्पसमा यो विषयमा स्नातक तहको पढाइ हुन्छ । प्लस टुमा विज्ञान पढेका उपाध्यायले स्नातक तहमा भने शिक्षाशास्त्रमा आईसीटी पढेका हुन् । उनी त्रिवि बीएड आईसिटी पहिलो ब्याज हुन् । २०६६ सालबाट यो विषयको पढाइ सुरु भएको हो । ‘हामीसँगै पढ्ने कोही बेरोजगार छैन, धेरै नगरपपालिका र गाउँपालिकामा अफिसर भएका छन्,’ उनले भने, ‘कोही पढाउँछन्, केही लोकसेवा पास गरेर जागिरे भइसकेका छन् ।’ उनकै मद्दतमा जुम्लाको तातोपानी गाउँपालिकालाई सूचना प्रविधि मैत्री गाउँपालिका घोषणा गर्न लागिएको छ । गाउँपालिकाको सूचना अधिकृतको जिम्मेवारीसमेत उनलाई दिइएको छ ।


आईसीटीको स्नाकोत्तर भने कीर्तिपुरस्थित विश्वविद्यालय केन्द्रीय क्याम्पसमा मात्र पढाइ हुन्छ । स्नाकोत्तरको पहिलो ब्याचको रिजल्ट आउनासाथ थप कलेजहरूलाई सम्बन्धन दिइने शिक्षाशास्त्र संकाय डिन प्रा. कृष्णप्रसाद गौतमले बताए । उनका अनुसार आईसीटी पढेका विद्यार्थीको माग बजारमा अधिक छ । त्रिविको सबैभन्दा बढी शिक्षाशास्त्र संकायमा विद्यार्थीको चाप छ । अधिकांशले शिक्षक बन्ने ध्ययले बीएड पढ्छन् । ग्रामीण भेगमा बढी प्रचलनमा छ । बीएडलाई ‘बुहारी शिक्षा’ को संज्ञासमेत दिने गरिएको छ । ‘अरू संकाय र विषय पढेकाले शिक्षण गरेजस्तै शिक्षा पढेका जनशक्ति पनि अन्य क्षेत्रमा बिकाउन हुन थालेका छन्,’ डिन गौतमले भने । आईसीटी अध्ययन गर्नु डिप्लोमा तहमा साइन्स, इन्जिनियरिङ पढे सोसरह रहेको उनको दाबी छ ।


‘आईसीटी पढेर अन्त जागिर नपाए पनि यो विषय पढाउने जनशक्ति नै अपुग छ,’ उनले भने, ‘पढाउनैपर्छ भन्ने बाध्यता छैन, धेरै विकल्पहरू छन् ।’ देशभर वार्षिक करिब एक हजारको हाराहारीमा विद्यार्थीले शिक्षामा आईसीटी विषय लिएर अध्ययन गरिहेको डिनको कार्यालयको तथ्यांक छ । कक्षा १२ का जुन कुनै विषयमा कम्तीमा डी प्लस ग्रेड ल्याएका विद्यार्थीले स्नातक तहमा यो विषयमा भर्ना हुन पाउँछन् । प्रवेश परीक्षा उत्तीर्ण गरेपछि भर्ना भएर पढन पाउने प्रावधान बनाइएको छ । ६/६ महिनाको ९ समेस्टरमा स्नातक तहको पढाइ पूरा गर्न सकिन्छ ।


आईसीटी पढेका विद्यार्थीको माग अत्यधिक रहेको सानोठिमी क्याम्पसका प्रमुख रामचन्द्र घिमिरेले बताए । ‘हाम्रोबाट पास गर्ने धेरै विद्यार्थी स्थानीय तहमा आईटी अफिसर भइसकेका छन्,’ उनले भने, ‘उनीहरूको रुचि पनि पढाउनभन्दा अफिसर हुनमा देखिएको छ ।’ विद्यालयहरूले पनि कम्प्युटर विषय पढाउन इन्फर्मेसन कम्युनिकेसन टेक्नोलोजी पढेका जनशक्ति खोज्ने गरेको उनको अनुभव छ ।


‘माग बढ्दो छ, पर्याप्त जनशक्ति छैन ।’ शिक्षाशास्त्र संकायतर्फ आईसीटी र विशेष आवश्यकता शिक्षा नयाँ विषय हुन् । घिमिरेले भने, ‘पढेपछि जागिर पाउन गाह्रो छ तर आईसीटी अध्ययन गरेकाले अहिलेसम्म सजिलै रोजगारी पाउने गरेका छन् ।’


शिक्षाशास्त्र पढाइ हुने अधिकांश क्याम्पसहरू ग्रामीण भेगमा छन् । अझै पनि शिक्षा छोरीबुहारीले पढ्ने विषय भनेर परिभाषितसमेत गर्ने गरिन्छ । सरकारी तबरबाट पनि शिक्षा पढेका विद्यार्थीलाई मात्रै स्थायी अनुमति (लाइसेन्स) दिने नीति लिइएको थियो । अहिले अरू विषय पढेका पनि एकवर्षे बीएड गरेर शिक्षण पेसामा आउने गरेका छन् । शिक्षा पढेका कतिपय विद्यार्थी लोकसेवा पास गरेर माथिल्लो तहमा पनि पुगिसकेका छन् । विद्यालय निरीक्षक हुन पनि शिक्षा पढ्न अनिवार्य गरिएको छ । आईसीटीले झनै शिक्षातर्फ जुनसुकै क्षेत्रमा लाग्न सक्ने ढोका खोलेको प्राध्यापक र शिक्षकहरू बताउँछन् ।

प्रकाशित : श्रावण ३१, २०७५ ११:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?