१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

जोड्दै इन्जिनियरिङ

स्वरूप आचार्य

काठमाडौँ — इन्जिनियरिङ विषय भनेको पूर्ण रूपमा प्राविधिक विषय हो । कुनै पनि वस्तुको निर्माणसम्बन्धी व्यावहारिक र सैद्धान्तिक ज्ञान हासिल गर्नु भनेकै इन्जिनियर हुनु हो । विकासशील राष्ट्रमा यो विषयको महत्त्व अझ बढी हुन्छ । विश्वमा भइरहेको विकासलाई आत्मसात् गरेर अगाडि बढ्नका लागि त्यस राष्ट्रमा दक्ष इन्जिनियरहरू आवश्यक हुन्छ ।

जोड्दै इन्जिनियरिङ

कुनै पनि देश विकासको खाका सुरुमा राजनेताले कोरे पनि त्यसलाई मूर्तरूप दिने भनेको इन्जिनियरहरूले नै हो । देशमा भौतिक पूर्वाधारको विकासदेखि सूचना आदानप्रदान गर्नसम्म इन्जिनियरको ठूलो महत्त्व रहन्छ । तसर्थ इन्जिनियरिङ विषयको नेपालमा उपादेयता धेरै भएकैले पनि यस विषय पढ्न विद्यार्थीहरू लालायित हुने गरेका छन् ।


इन्जिनियरिङ विषय प्राविधिक विषय भएकाले अहिलेको युगमा खाली हात कोही पनि बस्नु नपर्ने भएकाले विद्यार्थीहरूको आकर्षण बढेको हो । नेपालमा ६ वटा विश्वविद्यालयले इन्जिनियरिङ पढाउँदै आएका छन् । सरकारी तथा निजी दुवैखाले कलेजमा यसको पढाइ हुँदै आएको छ ।


त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, पोखरा विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय र सुदूरपश्चिम विश्वविद्यालयले आफ्ना आंगिक क्याम्पसमा इन्जिनियरिङ विषय पढाइरहेका छन् । त्यसो त ती विश्वविद्यालयबाट सम्बन्धन लिएर निजी कलेजले समेत इन्जिनियरिङ विषय पढाइरहेका छन् ।


अहिले नेपामा सिभिल, मेकानिकल, आर्किटेक्चर, मेकानिकल, कम्प्युटर साइन्स, इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स, बायो–टेक्नोलोजी, बायो–मेडिकल, सर्भे वा जियो–मेट्रिक र इन्डस्ट्रियल इन्जिनियरिङको पढाइ हुने गरेको छ ।


प्रोग्रेसिभ इन्जिनियरिङ एसोसिएसन केन्द्रीय सदस्य तथा युवा इन्जिनियर वासुदेव नेपालका अनुसार नेपालको परिप्रेक्ष्यमा अहिले सिभिल, अर्किटेक्चर, इलेक्ट्रिकल र कम्प्युटर इन्जिनियरहरूको माग र काम दुवै बढी छ । ‘भूकम्पपछि सिभिल र अर्किटेक्चरको माग धेरै नै बढेको छ,’ उनले भने, ‘यस्तै विभिन्न जलविद्युत् योजनाहरू पनि निर्माण भइरहेकाले इलेक्ट्रिकलको माग पनि राम्रो छ ।’ युवा इन्जिनियर वासुदेव नेपालको भनाइमा नेपाल सिँचाइ विभागका डीई इन्जिनियर चूडाराज ढकाल पनि सहमत छन् । उनको विचारमा नेपालले विश्वको विकासको गतिलाई समात्ने हो भने यहाँको भौतिक पूर्वाधार विकास र जलविद्युत्मा ठूलो लगानी गर्नुपर्छ । ‘इन्जिनियरिङ भनेको विकासका लागि मात्रै होइन, देशभित्र रहेका विभिन्न तहका मानिसलाई एक सूत्रमा बाँध्नका लागि पनि आवश्यक पर्छ ।’


सिभिल
यो विषय अध्ययन गरिसकेपछि कुनै भवन निर्माणको क्षेत्रमा काम पाइन्छ । सिभिल इन्जिनियरले कुनै पनि भौतिक संरचनाको डिजाइन र निर्माण गर्छ । भवन निर्माण, जलविद्युत् सिँचाइ, खानेपानी, एयरपोर्ट र रेलमार्ग निर्माणमा जागिर पाइन्छ ।


आर्किटेक्चर
यो अध्ययन गरिसकेपछि भवनहरूको निर्माण र डिजाइन पनि गर्छ । यो सिभिल इन्जिनियरले पनि गर्न सक्छन् । आर्किटेक्चरले भवनहरूको मात्रै काम गर्छ । विशेष गरेर आर्किटेक्चर इन्जिनियरले घरको नक्सा बनाउने, प्रारूप तयार पार्ने काम बढी गर्छन् । भवन निर्माण पनि गर्न सक्छन् । तर यो कामचाहिँ सिभिलले गर्छन् ।


इलेक्ट्रिकल
यो इन्जिनियरङ अध्ययन गरेपछि विद्युत्का सबै काम उनीहरूले नै गर्छन् । मेसिन जडान गर्नेदेखि विद्युुत् उत्पादन भएपछि त्यसलाई प्रसारण गर्ने, वितरण गर्ने, त्यसलाई मर्मत–सम्भार गर्ने काम इलेक्ट्रिकल इन्जिनियरले गर्छन् । हाइड्रो पावर प्रोजेक्ट, उद्योगधन्दा कलकारखानामा रोजगार पाइन्छ ।


मेकानिकल
सबै किसिमको मेसिनहरूको डिजाइन गर्ने, मर्मत गर्ने, उद्योगहरूमा चाहिने मेसिनहरू डिजाइन गर्ने उत्पादन मर्मत गर्ने मेकानिकल इन्जिनियरले हो । मेकानिकलले इन्जिनियरले अटोमोबाइलको पनि काम गर्छन् ।


इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसन
इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसन इन्जिनियरले दूरसञ्चारको काम गर्छ । मोबाइल बनाउनेदेखि कम्प्युटर मर्मत तथा सम्भार गर्ने पनि इलेक्ट्रोनिक्स इन्जिनियरले नै गर्छन् । अटोमेटिक मेसिनहरू बनाउने काम पनि यही अध्ययन गरेका इन्जिनियरहरू नै हुन् ।


कम्प्युटर
यो अध्ययन गरेका इन्जिनियरले सफ्टवेयर बनाउँछन् । अहिले मोबाइल एप्सहरू पनि यही इन्जिनियरिङ पढेका विद्यार्थीले बनाउन सक्छन् । कम्प्युटराइज गर्नको लागि यही इन्जिनियरको आवश्यकता पर्छ ।


बायो मेडिकल इन्जिनियरङ
यसले स्वास्थसँग सबै उपकरणहरूको इनोभेसन गर्ने, निर्माण गर्ने, मर्मत गर्ने सञ्चालन गर्ने काम यही इन्जिनियरङ अध्ययन गरेकाले हो ।


एग्रो इन्जिनियरङ
यसले कृषिसँग सबै कुरा गर्छ । कृषिमा चाहिने उपकरण, औजार निर्माणदेखि सञ्चालन, मर्मत–सम्भार यही इन्जिनियरङ पढेकाले गर्न सक्छन् । यो सबै इन्जिनियरिङको मिक्स हो । कृषिका लागि चाहिने सबै पूर्वाधार यही विषय अध्ययन गरेका इन्जिनियरहरूले बनाउँछन् । नेपालमा यसको पढाइ धरानमा हुन्छ ।


सर्भे इन्जिनियरङ
सबै भूगोलको नापी गर्ने, नक्सा बनाउने काम सर्भे इन्जिनियरले गर्छन् । सामान्य जग्गा नापी गर्नेदेखि देशको नक्सांकन गर्ने काम यही इन्जिनियरङ अधययन गरेका विद्यार्थीले गर्न सक्छन् । जुनसुकै आयेजनाहरू बनाउँदा पनि सर्भे गर्नुपर्ने भएकोले आयोजनामा पनि सर्भे इन्जिनियर आवश्यकता पर्छ ।

प्रकाशित : श्रावण ३१, २०७५ ११:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?