३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

आकर्षण कानुनमा

घनश्याम खड्का

काठमाडौँ — एउटा उक्ति प्रचलित छ, ‘कानुनको अज्ञानता क्षम्य हुँदैन ।’ यसको अर्थ हो, कानुन सबैले जानेकै हुनुपर्छ । निमयै थाहा थिएन भन्दैमा गल्ती गर्ने कोही फुत्किन पाउँदैन, जसरी यो आगो हो भन्ने थाहा नपाए पनि त्यसलाई छुनेलाई आगोले नपोली छाड्दैन ।

आकर्षण कानुनमा

कानुन पनि त्यही आगोजस्तै हो जसको पोल्ने क्षमता तपाईंलाई थाहा भए पनि नभए पनि उत्तिकै कायमै रहन्छ । तर, समस्या के भने, सबैलाई कानुनको ज्ञान हुँदैन किनभने यो सामान्य अध्ययनले जानिने कुरा पनि होइन ।
कानुन आफैंमा एक सामाजिक शास्त्र हो । यसको बेग्लै इतिहास, दर्शन र क्षेत्र छ । त्यसैले यसको अध्ययन र महत्त्व पनि बेग्लै छ । त्यसै हुनाले कानुन पढे–लेखेको जनशक्ति जुनसुकै समाजलाई जहिल्यै चाहिन्छ । किनभने समाजमा झगडा, मनमुटाव र कलह सधैं भइरहन्छ । अपराध नभएको कुनै समाज र कुनै समय कहिल्यै भएन, हुँदैन पनि ।


मान्छेको सभ्यताले फड्को मार्दै जाँदा यस्ता मनमुटाव, झैझगडा र आपराधिक क्रियाकलाप हुँदा के गर्ने भनेर नियम बनाए, कानुन भनेको त्यही नियम हो । यो पढेपछि मानिस कानुनको ज्ञाता हुन्छ र अरूलाई पर्दा के गर्ने भन्ने सल्लाह दिन सक्छ ।


यसरी सल्लाह दिनु उसको पेसा हो किनभने त्यसो गरेबापतको शुल्क उसले पाउँछ । कानुनका यस्ता पेसा व्यवसायीलाई अधिवक्ता, न्यायाधिवक्ता र न्यायाधीश भनिन्छ । त्यस्तै कानुन बनाउने र कार्यान्वयन गर्ने प्रशासनिक तहका जानकारहरू पनि हुन्छन् । तिनलाई चाहिँ कानुनका अधिकारी भन्नु युक्तिसंगत हुन्छ ।


त्यसै पनि यी कानुनका विशेषज्ञ र ज्ञाता अड्डा अदालत, महान्यायाधिवक्ताको कार्यालय तथा कानुन मन्त्रालयजस्ता निकायमा खपत हुँदै आएको थियो । ३ तहको सरकार गठन भएपछिको संघीय नेपालमा झनै यस्तो जनशक्तिको आवश्यकता भएको छ, भन्छन् संविधानविद् डा. विपिन अधिकारी ।


‘अब देशलाई धेरै मात्रामा कानुन जानेका मानिसको खाँचो परेको छ,’ उनी भन्छन्, ‘किनभने हामीसँग तीन तहका गरी ७ सय ६१ सरकार छन् । यी सबैमा कानुन जानेका र बुझेका मानिसको ठूलो आवश्यकता छ ।’


यो आवश्यकता पूर्ति गर्न विद्यार्थीले कानुन पढी दक्ष जनशक्तिका रूपमा आफूलाई विकास गर्न उनको सुझाव छ । विगतमा त्रिभुवन विश्वविद्यालयअन्तर्गतको नेपाल ल क्याम्पसमा मात्रै पढाइ हुन्थ्यो, कानुन । अहिले काठमाडौं विश्वविद्यालय र अन्य विश्वविद्यालयअन्तर्गतका कलेजमा पनि पढाइन थालेको छ । अधिकारीको बुझाइमा नयाँ पुस्तामा कानुनी शिक्षाप्रतिको झुकाव बढेकै हुनाले कानुन पढाउने शिक्षण संस्थाहरू पनि बढेका हुन् ।


‘कानुनको महत्त्व निकै छ,’ नेपाल ल क्यामपसमा एलएलबी पहिलो सेमेस्टरमा पढ्दै गरेका समीर रिजाल भन्छन् । विज्ञान विषयबाट हात झिकेर उनले स्नातक तहको अध्ययन सुरु गरेका छन् जसलाई समीर जीवनको महत्त्वपूर्ण र संवेदनशील निर्णय मान्छन् । ल क्याम्पसमै कानुन पढिरहेकी रस्मिता खड्काको विचार पनि उस्तै छ । ‘यो दुनियामा म न्यायाधीश वा वकिल बनूँला वा पैसा कमाउँला भनेर कानुन पढिरहेकी छैन ।’


कानुन समाज परिवर्तनको ठूलो माध्ययम भएकाले यसको पालना गराउने काममा आफू लागिपर्ने कुरो कानुन पढिरहेका अरू विद्यार्थीहरूले पनि गरे । हुन पनि हो, नियम कानुनको पालना भएको समाजमा शान्ति र समृद्धिको बाटो खुल्छ । यो नभएको समाजमा अराजकता र जंगली राजले ठाउँ लिन्छ । यसो हुन नदिन कानुनी शिक्षाको प्रचार गर्नु र यसको दक्ष जनशक्तिको उत्पादन गर्नु निकै जरुरी छ भन्छन् डा.अधिकारी ।

प्रकाशित : श्रावण ३१, २०७५ ११:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?