१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

हस्पिटालिटीमा ह्वात्तै

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल सरकार सन् २०२० मा नेपाल भम्रण वर्ष मनाउने तयारीमा छ । अबको दुई वर्षपछि मनाइने भ्रमणवर्षको उद्देश्य नेपालमा २० लाख पर्यटक ल्याउने हो । अहिलेसम्म सर्वाधिक पर्यटक नेपाल आउनेमा १० लाख हाराहारी मात्रै पुगेको छ । अहिले आइरहेको पर्यटक संख्या दोब्बर बनाउँदा सबैभन्दा पहिले आवश्यक पर्ने दुइटा पूर्वाधार हुन विमानस्थल र होटल । अर्थात् अहिले चलिरहेको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलबाट २० लाख पर्यटकको आगमन असम्भव छ भने अहिले भइरहेका होटलले २० लाख पर्यटक धान्न सक्दैनन् ।

हस्पिटालिटीमा ह्वात्तै

अब कुरा गरौं पर्यटकीय स्तरीय होटलको । काठमाडौंमा अब ५ वटा नयाँ पाँचतारे होटल थपिँदै छन् । अहिले देशभर कम्तीमा १२५ स्टार होटल, स्टार होटलबाहेक पर्यटकस्तरीय होटल, लज, रिसोर्ट ३० हजार हाराहारी छन् । यी सबैको बेड (शय्या) जोड्दा ५० हजार हाराहारी पुग्छ । तर, २० लाख पर्यटक ल्याउन अहिलेकै पूर्वाधार दोब्बर चाहिन्छ । यति मात्रै होटल, टुर, ट्राभलमा स्नातक र उच्च शिक्षा अध्ययन गर्ने जनशक्ति पनि दोब्बर चाहिन्छ । त्यसैले होला अहिले काठमाडौंमा तीन दर्जनभन्दा बढी कलेजमा होटल व्यवस्थापन विषयको अध्ययन भइरहेको छ ।


होटल व्यवस्थापन होटलका लागि मात्रै होइन एयरलाइन्स र क्रुजका लागि पनि आवश्यक पर्ने विषय हो । नेपालमा वार्षिक १ हजार ५ सय हाराहारी विद्यार्थी बीएचएम पासआउट हुन्छन् । यीमध्ये आधा हाराहारी नेपालबाहिर पुग्छन् । नेपाली विद्यार्थी अहिले विभिन्न अन्तर्राष्ट्रिय एयरलाइन्स र क्रुजमा पनि अवसर खोज्दै गइरहेका छन् । सरकारले आफ्नो मातहतको सरकारी कलेज नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) लाई मानित विश्वविद्यालयमा स्तरोन्नति गर्दै छ ।


विश्वभर अबको १० वर्षमा करिब ४४ प्रतिशतका दरले होटल व्यवस्थापन उद्योगको विकास हुने प्रक्षेपण गरेको छ । नेपालमा पनि कम्तीमा डेढ करोडदेखि ५ करोड रुपैयाँसम्म लगानीमा ३० भन्दा बढी होटल व्यवस्थापन कलेज खुलेका छन् ।


अहिले नेपालमा काठमाडौं विश्वविद्यालय, त्रिवि, पूर्वाञ्चल र पोखरासँग सम्बन्धन प्राप्त गरेका कलेज छन् । लुम्बिनी बुद्धिस्ट विश्वविद्यालयले पनि सम्बन्धन दिन थालेको छ । नेपालका विश्वविद्यालयसँगै अस्ट्रिया, बेलायत, स्विजरल्यान्ड, मलेसियालगायत मुलुकका विश्वविद्यालयबाट पनि सम्बन्धन प्राप्त गरेका कलेजले होटल व्यवस्थापन अध्यापन गराउँदै आएका छन् ।

प्रकाशित : श्रावण ३१, २०७५ ११:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?