कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

फड्को मार्दै पोखरा

पहिलेभन्दा पोखराको शिक्षाको गुणस्तर वृद्धि भएकाले बाहिर जाने विद्यार्थीको ठूलो संख्यालाई यहीँ अवसर सिर्जना गरिरहेको छ ।
भीम घिमिरे

काठमाडौँ — विश्व बैंकले राजधानीमा आयोजना गरेको सम्मेलनमा सहभागी भएर पोखरा फर्किएका प्राध्यापक प्रतिनिधिले जनप्रिय सामुदायिक क्याम्पसमा आफ्ना सहकर्मीसँग प्रस्ताव गरे— अब माउन्टेन टुरिज्म म्यानेजमेन्ट भन्ने नयाँ विषय कोर्समा राखौं र पढाउँm ।

फड्को मार्दै पोखरा

भारतका एकाध कलेजमा मात्रै पढाइने, नेपालका कलेजमा सुरु नै नभएको विषयको अध्यापन सजिलो थिएन । सम्बद्ध प्राध्यापक र क्याम्पस व्यवस्थापनले त्रिभुवन विश्वविद्यालयमा पठाएको पर्वतीय पर्यटन व्यवस्थापन विषय राख्ने प्रस्ताव स्वीकृत भएपछि पाठयक्रम पनि आफैं बनाउनुपर्ने भयो । यसमा लागिपरे प्राध्यापक डाक्टर रमेशराज कुँवरसहितको टोली । गत वर्षदेखि उक्त विषय पढाउने मुलुककै एक मात्र संस्था पोखरा रत्नचोकको जनप्रिय क्याम्पस हो । ‘अब पोखरा ५/७ वर्षअघिको जस्तो छैन’, क्याम्पस प्रमुख विरञ्जी गौतम भन्छन्, ‘स्नातकमा जे पढ्न चाहनेका लागि पनि पोखरामा कलेज छन् ।’


जनप्रियमा विज्ञान, व्यवस्थापन र शिक्षा संकायमा करिब ३ हजार विद्यार्थी पढाइरहेको उनले बताए । ‘पोहोरदेखि मात्रै सुरु गरेको माउन्टेन टुरिजम म्यानेजमेन्ट पढ्न पोखराबाहिरबाट पनि विद्यार्थी आएका छन्,’ उनले भने, ‘सिट संख्या सीमित होला, पोखरा विद्यार्थीको छनोटका लागि मेडिकल, वनविज्ञान र इन्जिनियरिङका ठूला कलेज त छँदैछन्, म्यानेजमेन्टमा पनि छनोट गर्न पाउने थुप्रै विषय छन् ।’ पर्यटकीय नगर भएकाले होटल म्यानेजमेन्ट यहाँको चलनचल्तीको विषयमा पर्छ । ढुंगेपाटनमा रहेको पोखरा विश्वविद्यालयले आफ्नै हातामा एक दर्जन विषयका स्नातकोत्तरका कक्षा सञ्चालन गर्दै आएको छ । पूर्वाञ्चल विश्वविद्यालयको सम्बन्धनका बी फार्मेसी र नर्सिङका कक्षा सञ्चालन गरिरहेको नोबेल एकेडेमीका प्रमुख विशेश्वर आचार्य भन्छन्, ‘मेडिकल शिक्षाका लागि पोखराले अन्य सहरभन्दा विद्यार्थीलाई छनोटका धेरै अवसर दिएको छ ।’


फार्मेसी विषय मेडिकल सम्बद्ध परिवारका विद्यार्थीले मात्रै धेरै रोज्ने भए पनि नर्सिङ अहिले धेरैको रोजाइको विषय भएको उनले बताए । ‘शुल्क प्रचलित दरभन्दा धेरै छैन पोखरामा,’ उनले भने, ‘त्यसैले धेरै विद्यार्थी पढ्नका लागि यहाँ आइपुगेका छन् ।


चिकित्सा शिक्षाका लागि मनिपाल शिक्षण अस्पताल, गण्डकी मेडिकल कलेज छन् । इन्जिनियरिङका लागि त्रिविको पश्चिमाञ्चल क्याम्पससँगै पोखरा इन्जिनियरिङ, गण्डकी र पोखरा विश्वविद्यालय छन् । गण्डकी इन्जिनियरिङमा प्राध्यापन गर्दै आएका राजेन्द्र थापा भन्छन्, ‘सबै कलेज गरेर बर्सेनि सरदर ३ सय हाराहारीमा नयाँ विद्यार्थी स्नातक तहमा पढ्न पाउँछन्, अब विषयमा पनि धेरै च्वाइस दिइएको छ ।’


इन्जिनियरिङभित्रका विभिन्न विषयमा विद्यार्थीले छनोट पाउने अवसर भएपछि कलेजबीच पनि प्रतिस्पर्धा हुने गरेको उनले बताए । दशक अघिसम्म पृथ्वीनारायण क्याम्पसले मात्रै धानेको पोखराको उच्च शिक्षा अब भने त्यस्तो छैन । निजी क्षेत्रबाट सञ्चालित माविको संगठन हिसान अध्यक्ष रामजी शर्मा भन्छन्, ‘पहिलेभन्दा पोखराको शिक्षाको गुणस्तर धेरै फेरिएको छ ।’ त्यसैले पोखराले बाहिर जाने ठूलो संख्यालाई यहीँ अवसर सिर्जना गरिरहेको उनको भनाइ छ ।


‘म्यानेजमेन्टका विषयमा विविधीकरण भएको छ । फुड टेक्नोलोजीदेखि मेडिकल, इन्जिनियरिङ, होटल म्यानेजमेन्टदेखि वनविज्ञानसम्म यहीँ पढ्न पाइन्छ,’ उनले भने, ‘११ र १२ कक्षा पढाइरहेका स्कुलले स्नातक तह थपेर स्तरवृद्धि गरिरहेका छन् ।’ एक दशकअघिसम्म पनि पोखरामा सीमित कोटाका कारण विद्यार्थी बाहिर जानुलाई स्वाभाविक मानिए पनि अब त्यस्तो अवस्था बिस्तारै फेरिएको उनले बताए । ‘लगानी थपिँदै छ, सञ्चालकले शैक्षिक गुणस्तर सुधार्न अझै मेहनत गर्नुपर्छ,’ उनले भने, ‘भविष्य मैले राम्रो देखेको छु ।’ स्नातकोत्तर तहका लागि सीमित कलेज र सिटहरू भए पनि स्नातक तहमा पर्याप्त शिक्षालय र सिट व्यवस्था भइसकेको उनले बताए ।


रोजगारमुखी विषयमा कलेज सञ्चालकहरू केन्द्रित भएकाले अहिले कमर्स र आर्टसका परम्परादेखिका विषयभन्दा फरक विषयका कक्षा सञ्चालन भइरहेको प्राध्यापकहरू बताउँछन् । त्यसो त पोखरामा यहाँका स्थानीयले मात्रै पढ्ने होइनन्, मुस्ताङ, म्याग्दी, पर्वत, स्याङ्जा, तनहुँ, गोरखा, लमजुङ र बागलुङका विद्यार्थीका लागि पनि यो महानगर शैक्षिक हब बनेको छ । विद्यालय तहको शिक्षादेखि उच्च शिक्षासम्मको अवसर सहरले पर्याप्त पार्दै लगेको छ । उच्च शिक्षा लागि त्रिविअन्तर्गतका १६, पोखरा विश्वविद्यालयअन्तर्गत ४ पूर्वाञ्चल विश्वविद्यालयको सम्बन्धनमा २ कलेज छन् ।


कास्कीमा ११ र १२ पढाइ हुने सामुदायिक ६८ र संस्थागत ५५ शिक्षालय छन् । यिनमा व्यवस्थापनलाई प्रमुख विषय बनाएर अध्यापन गरिनेको संख्या १ सय १२ छ । धेरै शिक्षालयले विज्ञान, व्यवस्थापन, शिक्षा र मानविकी संकायका उच्चशिक्षाका लागि विद्यार्थीको बाटो सहज बनाउने गरी अध्यापन गराउँदै आएका छन् । चिकित्साशास्त्रको उच्चशिक्षाका लागि खुलेका मनिपाल र गण्डकी मेडिकल कलेजलाई पच्छयाउँदै अन्य ३ कलेजले स्नातक तहमा नर्सिङ र फार्मेसीलगायतका कक्षा सञ्चालन गरिरहेका छन् । कुनै समयमा विक्रम संवत् २०१७ बाट सुरु भएको पृथ्वीनारायण क्याम्पस मात्रै रहेको पोखरामा अहिले स्नातक तहको शिक्षाका लागि बग्रेल्ती कलेज र पढ्न चाहनेको छनोटका लागि थुप्रै विषय छन् ।

प्रकाशित : श्रावण ३१, २०७५ ११:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?