कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

काखभरि चौंरी

हरिहरसिंह राठौर

धादिङ — तिप्लिङको पाङसाङ र सोमदाङ लेक चौंरीगोठले भरिएका छन् । चौंरीको पोसिलो आहार मानिने बुकीले लेकमा हरियाली छाएको छ । गोठमा ब्याएका चौंरी र तिनका बाच्छाबाच्छी स्याहार्न किसानलाई भ्याइनभ्याइ छ ।

काखभरि चौंरी

चौंरीपालन यहाँको परम्परागत पेसा हो तर अहिले युवाले व्यवसायका रूपमा अघि बढाएका छन् । स्थानीय दिनेश घले, जस थापालगायत युवाको अग्रसरतामा करिब ५४ वटा गोठमा ३ सयभन्दा बढी चौंरी पाल्न थालिएको छ । दिनेश दिनभरि चौंरी हेरचाह, चरन र दुग्धजन्य पदार्थ (छुर्पी, पनिर, चिजलगायत) उत्पादनमा व्यस्त हुन्छन् । उनीसँग भएका ३५ वटा चौंरीमध्ये १४ वटाले बाच्छाबाच्छी पाएका छन् । काम खोज्न बिदेसिनुभन्दा गाउँमै केही गरौं भनेर चौंरीपालन सुरु गरेको उनले बताए ।

उत्तरी धादिङका तिप्लिङ, सेर्तुङ, लापाका युवा पनि चौंरीपालनमा लाग्न थालेका छन् । घिउ, दूध र चिजलगायत उत्पादन रसुवागढी नाका हुँदै चीन निकासी गरेर उनीहरूले मनग्य आम्दानी लिइरहेका छन् । त्यसबाट मासिक ५० हजारदेखि ८० हजारसम्म कमाइ हुने गरेको दिनेश बताउँछन् ।

‘बच्चा पढाउन र घरखर्च गर्न पुगेको छ,’ उनले भने । पहिले दूध र मोही मलखादमा पोख्ने किसान अहिले उत्पादित वस्तुले बजार पाउन थालेकामा खुसी छन् । आफ्ना उत्पादन खर्कबाटै बिक्री हुन थालेपछि चौंरीपालनमा आकर्षण पनि बढेको छ । किसानले आफ्नै पहलमा खर्कमै डेरी उद्योगसमेत सञ्चालन गरेका छन् । उद्योगले प्रतिलिटर ६० रुपैयाँमा दूध खरिद गर्छ । छुर्पी, घिउ र चिज नेपाली ठेकेदारले रसुवागढी हुँदै चीनको व्यापारिक केन्द्र केरुङसम्म पुर्‍याउँछन् । उद्योग सञ्चालकले भने मासिक ३ देखि ६ लाखसम्म आम्दानी गर्ने गरेका छन् ।

चौंरीपालनप्रति आकर्षण बढाउन र आर्थिक आम्दानी गर्न चरन खर्कको विकास कार्यक्रम लागू गरिएको छ । पशु आहार विकास कार्यक्रमअन्तर्गत तिप्लिङका परम्परागत चौंरी गोठालालाई गोठको सुधार, चरन र खर्क विकाससँगै चौंरीबाट लिन सकिने आम्दानीका स्रोतबारे तालिमसमेत दिइएको छ । चौंरी खर्क संरक्षण र विकासका लागि दिनेशकै संयोजकत्वमा खर्क उपभोक्ता समूहसमेत गठन गरिएको छ ।

प्रकाशित : भाद्र १, २०७५ ०७:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?