प्रधानमन्त्री ओलीले प्रदेश–२ को सभामा सम्बोधन गर्ने खबरले जनकपुर तरंगित

प्रतिपक्षी राजपाले केही युवा संघसंस्था विरोधको तयारीमा, नेकपाका कार्यकर्ता भव्य स्वागतको तयारीमा
श्यामसुन्दर शशि

जनकपुर — प्रधानमन्त्री केपी शर्मा ओलीको शनिवार हुने जनकपुर भ्रमणले यहाँको राजनीतिलाई मात्र होईन सामाजिक जीवनलाई पनि तरंगित बनाएको छ । नगरको चिया पसलदेखि गाउँघरका चौपालसम्म यसै विषयमा वहस हुन थालेको छ ।



Yamaha

राष्ट्रिय जनता पार्टी सम्बद्ध केही केन्द्रिय नेताहरुले यसलाई खुलेरै विरोध गरेपछि यस विषयले थप चर्चा पाएको हो। जबकी प्रधानमन्त्री त्यही पार्टीका मुख्यमन्त्रीको निमन्त्रणामा आएन लागेका हुन्।

ओलीको प्रदेश सभामा सम्वोधन गर्ने विषय सार्वजनिक भए लगतै राष्ट्रिय जनता पार्टीका केन्द्रिय नेता एवं पूर्व सांसद डा. विजयकुमार सिंह आफ्नो फेसबूक वालमा लेखेका थिए, 'सामान्य परिस्थितिमा संघीय कार्यकारी प्रमुख प्रधानमन्त्री केपी ओलीद्वारा प्रदेशसभालाई गर्ने संबोधित नसुहाउँदो (उहाँकै शब्दमा ‘अटपटा’) मात्र होईन सर्वथा बेतुकको हो। प्रादेशिक स्वायत्त्तालाई मजाक उडाउदै यो गणतन्त्रको अनौठो ‘नेपालीपन’ त होईन?’

तत्कालीन तराई मधेस लोकतान्त्रिक पार्टीका उपाध्यक्ष डा. सिंहको उक्त अभिव्यक्तिमाथि प्रतिक्रृया दिंदै राजपा उपाध्यक्ष एवं राष्ट्रिय सभा सदस्य बृषेशचन्द्र लालले लेखे, 'संविधान वा प्रदेशसभा नियमावलीमा प्रधानमन्त्रीले सम्वोधन गर्न सक्ने यस्तो कहि कतै छ की? जुन व्यक्ति सभाको सदस्य छैनन्, त्यो कसरी सभामा प्रवेश गरेर सभालाई सम्वोधन गर्ने छन्? कुन नियमले?'

बौद्धिक नेताको छवि बनाएका राजपाका यी दुई नेताको सार्वजनिक अभिव्यक्तिले तातेको जनकपुर, प्रदेशसभा सदस्य उपेन्द्र महतो तथा मनिष सुमनको अभिव्यक्तिले थप उद्देलित बनेको छ। राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोका भतिजासमेत रहेका प्रदेशसभा सदस्य महतोले प्रधानमन्त्री ओलीको प्रदेशसभामा हुने सम्वोधनलाई बहिष्कारसम्म गर्ने चेतावनी दिएका छन्।

ओलीलाई खुला पत्र शीर्षकमा उनले लेखेका छन्, 'प्रधानमन्त्रीज्यू, जून प्रदेशमा तपाई आउँदै हुनुहुन्छ त्यहाँका माननीय मुख्यमन्त्रीज्यूले पनि तपाईलाई पत्र लेखेर नै तपाईको सरकारले हामीमाथि गरेको विभेद बारे आफ्नो असन्तुष्टि जाहेर गरिसकेका छन्। न हाम्रो माग पूरा गर्ने, न हाम्रो अधिकारको कुरा गर्ने, न संविधान संशोधन गर्ने, न प्रदेश सरकारसंग उचित व्यवहार गर्ने, अनी किन तपाईलाई प्रदेश–२ मा स्वागत गर्ने, किन तपाईंको सम्बोधन सुन्ने हामी?’

राजपाकै प्रदेशसभा सदस्य मनिष सुमनले प्रधानमन्त्री ओलीको प्रस्तावित सम्वोधनको विरोध नगरे पनि उनलाई आफ्नो सम्वोधनको क्रममा मधेसी जनतासँग क्षमा याचना गर्न आग्रह गरेका छन्। आफ्नो फेसबूक वालमा उनले प्रधानमन्त्रीलाई मधेस विरोधी आफ्ना पूर्व अभिव्यक्तिहरुका कारण मधेसी समुदायसंग क्षमा याचना गर्न, संविधान संशोधनको समय सीमा निर्धारण गर्न, मधेस आन्दोलनकर्मीहरुमाथि लगाईएको झुठा मुद्दा फिर्ता गर्ने तथा रघु साफी लगायतलाई शहीद घोषणा गर्ने विषयमा प्रदेशसभामा घोषणा गर्न आग्रह गरेका छन्।
राजनीतिकमर्मी मात्र होइन, अन्यले पनि यस विषयमा मत जाहेर गरिरहेका छन्। राजनीतिक विश्लेषक डा. भोगेन्द्र झा ओलीको प्रदेशसभामा गर्ने भनिएको सम्वोधनलाई अप्रासंगिक मान्छन्। ‘यो संघीय संरचनालाई पुन: केन्द्रियकृत गर्ने दुष्चक्र मात्र हो। प्रधानमन्त्रीले प्रदेशसभालाई किन सम्वोधन गर्ने? यसको जवाफ आम नागरिकलाई दिनु पर्दछ।’ उनी
प्रदेशको अधिकार, संविधान संशोधन आदि विषयमा संघीय सरकारसँग असन्तुष्ट रहने मुख्यमन्त्री लालबाबू राउतले प्रधानमन्त्री केपी शर्मा ओलीलाई निम्तो दिएर प्रदेशसभामा बोलाएको मा आक्रोशित देखिए।

तर प्रधानमन्त्री ओलीको पार्टीका नेताहरु भने यस प्रकारको भनाईबाट असन्तुष्ट छन्। उनीहरुको भनाईमा केही मधेस केन्द्रित दलका नेताहरुको आचरणले प्रदेश २ का आम नागरिकले दुख पाएका छन्। ‘भारतका प्रधानमन्त्री जनकपुर आउदा खुशीयाली मनाउने मधेस केन्द्रित दलका नेताहरु आफ्नै प्रधानमन्त्री आउन लाग्दा किन दुखी छन्? बुझ्न सकेको छुईन’ नेकपा स्थायी कमिटी सदस्य एवं प्रदेशसभा सदस्य सत्यनारायण मण्डल भन्छन्।

मधेसमा मधेस आन्दोलन ताका तत्कालिन एमाले अध्यक्ष ओलीलगायतका तत्कालिन एमाले नेताहरुले दिएको अभिव्यक्तिप्रति अझै असन्तुष्टि छ। यद्यपी संघीय सरकारमा समेत रहेको संघीय समाजवादी पार्टीका नेताहरु भने मध्यमार्गी देखिएका छन्। प्रदेशसभा सदस्य रामाशीष यादव समस्याहरुको मिलेर समाधान गर्ने बेला भएको बताउँछन्।
स्वागतको भव्य तयारी

राजपाका नेता–कार्यकर्ता तथा स्थानीय केही युवा संघसंगठनहरु विरोध गर्ने गृह कार्यमा जुटेपनि नेकपाका नेता तथा कार्यकर्ताहरुले प्रधानमन्त्री ओलीको जनकपुर भ्रमणलाई भव्य जुटेका छन्।
प्रधानमन्त्री ओलीसंगै नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल पनि शनिवार विहान साढे १० वजे जनकपुर आउने कार्यक्रम छ। प्रधानमन्त्री ओलीले विहान ११ वजे प्रदेश २ को प्रदेशसभालाई सम्वोधन गर्ने कार्यक्रम निर्धारण गरिएको छ। उनीसंगै आउने पूर्व प्रधानमन्त्री दाहालको कार्यक्रम भने स्पष्ट भइसकेको छैन।

प्रदेशसभामा सम्वोधनपछि ओली र दाहाल दुवैले पूर्वी धनुषाको बरमझियामा आयोजित शहिद रामबृक्ष यादवको स्मृतिसभामा सहभागी हुने कार्यत्रम छ। कार्यक्रममा २० हजार अधिक पार्टी नेता तथा कार्यकर्ताको सहभागिता रहने दावी पार्टी नेताहरुले गरेका छन्।
माओवादी नेता शहिद रामबृक्ष यादवलाई २०५१ साल भाद्र २ गते उनको गाउँ बरमझिया नजिकै हत्या गरिएको थियो।

Esewa Pasal

प्रकाशित : भाद्र १, २०७५ १३:४०
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

नयाँ संहिताले दाङमा उत्साह, झाँकी र बाजागाजासहित स्वागत

दुर्गालाल केसी

दाङ — शुक्रबारदेखि लागू भएको नयाँ देवानी र अपराध संहिताले सबैतिर उत्साह ल्याएको छ । उच्च अदालत तुलसीपुर, दाङ देउखुरी जिल्ला अदालत र तुलसीपुर उपमहानगरपालिकाले तुलसीपुरमा बाजागाजा र बिभिन्न साँस्कृतिक झाँकीसहितको र्‍याली गरी संहिताबारे प्रचारप्रसार र स्वागत गरेका छन् ।

विभिन्न समुदायका पहिचान झल्किने साँस्कृतिक भेषभुषासहित सर्वसाधारण र्‍यालीमा सहभागी भएका थिए । जिल्लास्थित सरकारी अधिकारी, कानून व्ययवसायी, राजनीतिक दलका नेताहरु, शिक्षक, विद्यार्थी पनि संहिताको स्वागत कार्यक्रममा सहभागी भएका थिए । कानून कार्यान्वयनका लागि सबैको प्रतिवद्धता र सबैलाई सचेतना जरुरी रहेको जिल्ला अदालतका न्यायाधीश हेमन्त रावलले बताए ।

‘कानूनन समाजको गतिशिलता अनुसार परिवर्तन हुन्छ र यसले सँधै सभ्य समाजको परिकल्पना गरेको हुन्छ,’ उनले भने, ‘अहिले पनि योग्य र सभ्य नागरिकको अपेक्षा गरेको छ । कानून कसैलाई मान्ने र नमान्ने छुट नभएकाले सबैलाई यसबारे सचेतना आवश्यक छ ।’

अहिलेको कानून नागरिकमैत्री भएको रावलले बताए । ‘लापरवाही गर्ने सबैलाई कानूनको दयरामा ल्याएको छ । कानून कार्यान्वय गर्ने अधिकारीलाई प्रशस्तै अविश्वास गरिएको छ,’ उनले भने, ‘कानून कार्यान्वयनकर्तालाई पनि गल्ती गर्ने छुट छैन । नागरिकको अधिकारलाई महत्व दिइएको छ ।’ यस कानूनले सार्वजनिक सेवा गुणस्तरीय नभए प्रश्न गर्नसक्ने बनाएको उनले बताए । संहिताको व्यवस्था अनुसार भिडियो कलमार्फत बयान लिनसकिने व्यवस्था पनि गरिसकिएको रावलले जानकारी दिए । संहिता अनुसारका पूर्वाधार सबैतिर नभए पनि अदालतमा आवश्यक तयारी गरिएको उनले बताए ।

संहिता कार्यान्वयनसँगै नेपाल नयाँ युगमा प्रवेश गरेको न्याय परिषद्का सदस्य पदम वैदिकले बताए । सानालाई ऐन र ठूलालाई चैन भन्ने भनाई अब अन्त्य भएको उनले बताए । ‘ठूला भनिएका मानिसहरुलाई पनि कानूनले कारवाहीको दायरामा ल्याएको छ । यो संहिताले आन्दोलनको आह्वान गर्दैन,’ उनले भने, ‘मानवअधिकारको व्यापक उपभोग गर्न सकिने व्यवस्था छ । गर्भदेखि नै मानिसको हक स्थापित गरिएको छ ।’ हिजो छरिएर रहेका कानूनलाई एकिकृत गर्दै संहिताले नागरिकलाई अधिकारसम्पन्न बनाउन ठूलो भूमिका खेलेको उनले बताए ।

संहिता सामाजिक संविधान भएकाले यसले चाहे जस्तो संस्कार बसाल्न जरुरी रहेको उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधिश नहकुल सुवेदीले बताए । ‘राज्यको आधार व्यक्ती र समाज हो । संहिता समाजमा भिज्नेखालको छ । कानूनले सभ्य समाजको चाहना गरेको छ,’ उनले भने, ‘कानूनले भनेजस्तो असल नागरिक र आदर्श समाज बनाउन धेरै चुनौतीहरु छन् ।’

अनुसन्धान, अभियोजन र न्याय दिने निकायले उच्च व्यवसायीक मर्यादामा काम गर्न नसके कानूनको मर्म पूरा नहुने उनले बताए । ‘कानूनको विवेकसम्मत कार्यान्वयन जरुरी छ । नयाँ कानून आएपछि नागरिकले न्याय महशुस गर्नेगरी काम गर्नुपर्छ,’ सुवेदीले भने, ‘हामीले प्रवाह गर्ने सेवामा परिवर्तन आउनैपर्छ । चुनौतीलाई अवसरमा बदल्ने समय आएको छ ।’

समाजमा पारिवारिक मूल्य मान्यता स्खलित भैरहेको बेला नयाँ संहिताले अग्रजहरुलाई सम्मान र उचित संरक्षणको व्यवस्था गरेको सुवेदीले बताए । संहिताले न्यायीक प्रणालीमा ठूलो सुधार ल्याएको उनको भनाइ छ । ‘न्याय सरल र छिटोछरितो नभएको गुनाशो लामो समयदेखि छ । अब यस कानूनले कामकारवाही सहज बनाउन सघाउनेछ,’ उनले भने, ‘कानूनको भाषा समेत सरल बनाइएको छ । बदमासी गर्नेलाई पनि सुधार्न जोड दिइएको छ । कारागार मात्रै समस्याको समाधान होइन भन्ने मान्यता अंगिकार गरिएको छ ।’

नयाँ कानूनले सबै सरकारी अधिकारीलाई जिम्मेवार बनाएको प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले बताए । संहिताले अनुसन्धान र न्याय प्रवाहमा सरकारी अधिकारलाई जवाफदेही बनाएको उनले बताए । कार्यान्वयन गर्ने निकाय जिम्मेवार भएमा नागरिक नयाँ संहिताबाट तर्सनुपर्ने अबस्था नरहेको नागरिक समाजका संयोजक चन्द्रराज पन्तले बताए ।

जिल्ला समन्वय समितिका संयोजक जितेन्द्रमान नेपालीले सिमान्तकृत बर्गका अधिकार स्थापित भएकाले संहिता समायनुकूल भएको बताए । घोराही उपमहानगरपालिका प्रमुख नरुलाल चौधरी र तुलसीपुरका प्रमुख घनश्याम पाण्डेले संहिताले समाजलाई थप व्यवस्थित गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए ।

प्रकाशित : भाद्र १, २०७५ १३:२६
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT