कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

तानसेनमा चुइँकी फिराइ

माधव अर्याल

पाल्पा — सांस्कृतिक सहर तानसेन अब ९ दिनसम्म जात्रामा रम्नेछ । उहिले पश्चिम नेपालको ‘कमान्ड’ गर्ने थलोमा जात्रैजात्राको सिजन सुरु भएको हो । यहाँको ऐतिहासिक एवं सांस्कृतिक महत्त्व काठमाडाैं र भक्तपुरकै सरह छ ।

तानसेनमा चुइँकी फिराइ

भक्तपुरमा हुने जात्रा यहाँ पनि तत्काल सुरु गर्ने प्रचलन रहेको इतिहासका जानकार निर्मल श्रेष्ठले बताए । ‘त्यसले अहिलेसम्म निरन्तरता पाएको छ,’ उनले भने, ‘पाल्पालाई यसै सांस्कृतिक सहर भनिएको होइन ।’ नेवार समुदायमा प्रचलित गठेमंगलसँगै तानसेनमा पर्व मौसम सुरु हुन्छ । जनैपूर्णिमाका दिन निकालिने चुइँकी फिराइसँगै ९ दिन लगातार जात्रा निकालिन्छ । चुइँकी फिराइले चाडपर्व आएको संकेत गर्ने स्थानीय कलाकार किरण चित्रकारले बताए ।

दिनहुँजसो पारम्परिक बाजाको गुञ्जनले तानसेनवासीको ध्यान खिच्छ । कृष्णनवमीका दिन श्री ७ रणउजीरेश्वरी भगवती र अमरनारायणको जात्रा निकालिएपछि जात्राको मौसम टुंगिन्छ । बाजागाजा र झाँकीसहितको र्‍यालीले सडकमा जामै हुन्छ । ‘जात्राका समयमा ९ दिन बितेको पत्तै हुँदैन,’ तानसेन, बारुदखानका संस्कृति संरक्षक चित्रवलीराम सुवालले भने, ‘परम्परा जोगाउने भएकाले यसले निरन्तरता पाउनुपर्छ ।’

चुइँकी फिराइपछि गाईजात्रा, रोपाइँजात्रा, गणेश (श्रीनगर र टक्सार) जात्रा, अमरनारायण, टक्सार, भीमसेन, गणेश र भगवती जात्रा लोकप्रिय छन् ।

जात्रालु जातीय पहिरन, जोगी, झाँक्रीको वेशमा हातमा विभिन्न वस्तु लिएर सडकमा निस्किन्छन् । बसपार्क, शीतलपाटी, नारायणस्थान, भगवतीटोल, वसन्तपुरलगायत दिनहुँ हास्यव्यंग्यसहितको प्रदर्शन हुन्छ ।

पहिलो दिन आइतबार तानसेनका बसपार्क, नारायणस्थान, शीतलपाटी, दरवार क्षेत्रमा चुइँकी फिराइ देखाइयो । सोमबार गाईजात्रा निकालिँदै छ । कम्बललाई गाईको स्वरूप दिएर बजार डुलाइन्छ । यसलाई काम्ले गाई भनिन्छ । कतिपयले साँच्चिकै गाई डुलाउँछन् । काम्ले गाई बनाउँदा खर्च बढी लाग्ने स्थानीय संस्कृतिका जानकार मदन देउरालीले बताए ।

एक वर्ष अवधिमा दिवंगत भएकाका आफन्तले वासा, रामायण, गाई निकाल्ने चलन पुरानै हो । बिहानैदेखि तानसेनमा रामायण, भजन गाउँदै सहर परिक्रमा गरिन्छ । जिल्लाका आर्यभन्ज्याङ, हुमिन, ताहँ‘, छहरा, हार्थोक, जब्गादी, रामपुर, सिलुवालगायत स्थानमा पनि विभिन्न जात्रा निकालिन्छ ।

तायमचा निकाल्ने चलन पुरानै हो । रोपाइँजात्रा हर्षोल्लाससाथ मनाइन्छ । इतिहासका जानकार राजेन्द्रगोपाल सिंहका अनुसार अहिले संस्कृति धान्ने काम मात्र भएको छ । पन्चैबाजाको तालमा रोइला र असारे भाकामा नाचगान गर्ने प्रचलन हराएको उनले जनाए । ‘परम्परा धान्ने काम भएको छ,’ उनले भने, ‘पर्व निकै खर्चालु भइसक्यो ।’ तानसेनका अमर नारायण, श्रीकृष्ण, श्रीनगर गणेश, टक्सार गणेश, बाघ जात्रा, भीमसेन जात्रा पनि महत्त्वपूर्ण छन् ।

सबैभन्दा महत्त्वसाथ हेरिने भगवती जात्रा हो । यो जात्रा १ सय ९९ वर्षदेखि निरन्तर छ । यसमा सबैभन्दा बढी जात्रालुको सहभागिता हुन्छ । भाद्र कृष्णनवमीका दिन भगवतीको रथयात्रा गरिन्छ । स्थानीय विद्यालयमा बिदा दिइन्छ । निजामती कर्मचारी, प्रहरी, सैनिक पोसाकमै उपस्थित भएर नगर परिक्रमा गर्छन् । मन्दिर व्यवस्थापन समिति अध्यक्ष राजेश्वर उदयले यस पटक २ सय वर्षको रथयात्रा हुने बताए ।

भगवतीको रथयात्रा १८७१/७२ को नेपाल–अंग्रेज युद्धसँग गाँसिएको छ । काजी अमरसिंह थापाको कार्यकाल सकिँदा उनका नाति कर्णेल उजरसिंह पाल्पाका तैनाथवाला भएर बसेका थिए । त्यही बेला अंग्रेजहरूले नेपाल हडप्ने प्रयास गरेका थिए ।

अंग्रेजले चारैतिरबाट सेना अगाडि बढाएपछि राजा गिर्बाणयुद्ध विक्रमले त्यसतर्फको गौंडामा मुकाबिला गर्न उजिरसिंहलाई आदेश दिए । उनी फौज तयार पारी बुटवलको जितगढी किल्ला जाने निर्णयमा पुगे । जानुअघि भगवती मन्दिर पुगे । लडाइँमा विजयी भए दिव्य मूर्तिलाई एक सुन्दर मूर्तिभित्र प्रतिस्थापन गरी बर्सेनि रथयात्रा गराउने भाकल गरे ।

जितगढीमा नेपाली फौज विजयी भएको खुसियालीमा १८७६ सालदेखि भगवतीको रथयात्रा (सिन्दुरजात्रा) सुरु भएको इतिहासका जानकार निर्मल श्रेष्ठले बताए ।

प्रकाशित : भाद्र ११, २०७५ ०७:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?