कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

संस्कृत सिक्दै मुस्लिम बालबालिका

विनोद भण्डारी

विराटनगर — मोहमद सफिकुल शेक यहाँको गायत्री संस्कृत मावि आसपास हुने प्राय: सबै धार्मिक कार्यक्रममा स्वस्ती वाचन गर्न पुग्छन् । उनले स्वस्ती वाचन गर्दा कार्यक्रम आयोजकले शेक मुसलमान हुन् भन्ने भेउ नै पाउँदैनन् ।

संस्कृत सिक्दै मुस्लिम बालबालिका

उनी संस्कृत फररर पढ्छन् । स्वस्ती वाचन गर्दा शेकलाई अरू केही मुसलमान र हिन्दु बालबालिकाले साथ दिन्छन् । विद्यालय आसपास हुने धार्मिक कार्यक्रममा स्वस्ती वाचन गर्न संस्कृत पढ्दै गरेका बालबालिका पठाइ दिन आयोजक आएर आग्रह गर्छन् ।

विद्यालयका प्राचार्य युगेश्वर मेहताले भने, ‘त्यसका लागि शेकसहितको टिम पठाउने गरेका छौं ।’ उनका अनुसार विद्यालयमा राष्ट्रिय गानपछि वाचन गरिने स्वस्ती र आसपास हुने धार्मिक कार्यक्रममा जाने बालबालिकामा आधा मुस्लिम र आधा हिन्दु हुन्छन् ।

बाल कक्षादेखि १० सम्म संस्कृत पढाइ हुने यो विद्यालयमा शेक कक्षा १० मा पढ्छन् । तर उनी एक्ला भने होइनन् । विद्यालयका ३ सय बालबालिकामा ४६ मुस्लिम छन् ।

शेकले कक्षा २ देखि यो विद्यालयमा संस्कृत अध्ययन गरेका हुन् । उनका दाजु मोहमद रफिकुलले यसैपालिको एसइई परीक्षामा बी प्लस जीपीए ल्याएर उत्तीर्ण गरेर यहीँको सिटी कलेजमा कक्षा ११ मा शिक्षा संकाय पढ्दै छन् । बहिनी खुसवु ७ र भाइ सलमान कक्षा ३ मा अध्ययनरत छन् ।

‘हामी एक दिन पनि मदरसा पढ्न गएनौं,’ उनले भने, ‘आमाले पटकपटक मदरसा पढ्न जान र संस्कृत विद्यालय नजान भने पनि मानेनौं ।’ सरकारी विद्यालय पढ्दा सरकारी जागिर खान पाइन्छ भन्ने बुझेकाले घरनजिकैको संस्कृत विद्यालयमै पढेको उनको भनाइ छ ।

‘सुरुमा संस्कृत पढ्न र बुझ्न गाह्रो भयो,’ उनले भने, ‘अब त कुरानभन्दा संस्कृत पढ्न सजिलो लाग्न थाल्यो ।’ एसईई उत्तीर्ण गरेर कक्षा ११ र १२ मा व्यवस्थापन संकाय पढ्ने शेकको इच्छा छ । उनकी बहिनी खुसवु पनि स्वस्ती वाचन गर्न हिँड्छिन् । यो विद्यालयको बालकक्षामा अध्ययनरत २७ बालबालिकामध्ये १६ जना मुस्लिम छन् । कक्षा १ मा ९, कक्षा २ मा ४ जना मुस्लिम बालबालिका छन् ।

त्यसैगरी कक्षा ३ मा २३ मध्ये ७, कक्षा ४ मा १, कक्षा ५ मा ४, कक्षा ६ मा १, कक्षा ७ मा २, कक्षा ९ र १० मा एक–एक मुस्लिम विद्यार्थी पढ्ने गरेको विद्यालयको अभिलेखमा छ ।

साना कक्षामा मुस्लिम बालबालिका भर्ना हुने क्रम बढदो रहेको प्राचार्य मेहताको भनाइ छ । ‘पाँच कक्षासम्म मुस्लिम बालबालिका नियमित विद्यालय आउँछन्,’ उनले भने, ‘त्यसपछिका कक्षामा उनीहरूको उपस्थिति न्यून हुन्छ ।’

उनीहरू विद्यालय छाडेर अविभावकसँग मजदुरी गर्न हिँड्ने र केही सागसब्जी बिक्री गर्न हिँडने गरेको पाइएको मेहताले बताए । यी सबै बालबालिका विद्यालय नजिकको सिंघीया खोलाको ऐलानी जमिनमा बसोबास गर्ने सुकुम्बासी परिवारका हुन् । मेहताका अनुसार कक्षा ५ सम्म पढेर अधिकांश बालबालिका मजदुरी गर्न हिँड्ने गरेको पाइएको छ ।

विद्यालयमा हरेक वर्ष मुस्लिम बालबालिका भर्ना हुने क्रम नियमित छ । तर माथिल्लो कक्षामा केही बालबालिका मात्र टिक्छन् । मेहताका अनुसार यो विद्यालयवाट अहिलेसम्म संस्कृत पढेर मुस्लिम समुदायका ३ जनाले एसइई उत्तीर्ण गरेका छन् ।

२०६८ सालमा मोहमद समशिलले प्रथम श्रेणीमा एसएलसी उत्तीर्ण गरेका थिए । यसपालि मोहमद रफिकुल र अघिल्लो वर्ष मोहमद डोमीले बी प्लस जीपीए ल्याएर एसइई उत्तीर्ण गरेका थिए ।

प्रकाशित : भाद्र १२, २०७५ ०७:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?