कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पाइप जोगाउन ढुंगाको भुवा

राजेन्द्र मानन्धर

दोलखा — जिल्लामा सिँचाइका पाइप डढेलोबाट जोगाउन नौलो प्रयोग थालिएको छ– ‘ढुंगाको भुवा’ ।
ढुंगालाई भट्टीमा गालेपछि सिसाजस्तो वस्तु बन्छ । यसैलाई ‘रकउल’ अर्थात् ‘ढुंगाको भुवा’ भनिएको हो ।

पाइप जोगाउन ढुंगाको भुवा

यो सिमेन्टभन्दा सस्तो पर्छ । यसको प्रयोग मुलुकमै पहिलोपटक गरिएको सिँचाइ डिभिजन कार्यालयले जनाएको छ ।

कार्यालयलाई यस वर्ष जिल्लाको करिब ७० किमि सिँचाइ पोलिथिन पाइपबाटै गर्नुपर्ने बाध्यता छ । यस्तोमा जंगलको बीचबाट पाइप लैजाँदा डढेलोले नष्ट हुने जोखिम रहन्छ ।

यही समस्याको भरपर्दो उपाय खोज्दै ‘रकउल’ प्रविधि अपनाइएको हो । ‘यो प्रविधि नौलो हो,’ सिँचाइ डिभिजन प्रमुख कृष्णप्रसाद रिजालले भने, ‘४४ मिटर पोलिथिनलाई अग्निनिरोधक बनाइसकिएको छ ।’

भूकम्पपछि जिल्लामा ढुंगा, गिट्टी, बालुवाको अभावसँगै मूल्य बढ्यो । सिमेन्ट, बालुवा र ढुंगाको कुलो बनाउन डकर्मीसमेत पाइएन । यस्तोमा कार्यालयसँग पोलिथिन पाइप बिछ्याउनुको विकल्प रहेन ।

अहिले डढेलोले बढी प्रभावित नाम्दुस्थित बेताने जंगली क्षेत्रमा उक्त प्रविधि प्रयोग गरिँदै छ । पाइपलाई रकउल, त्यसमाथि जाली र प्लेनसिटले बेरेर आगो लगाई परीक्षणसमेत गरिँदै आएको छ ।

रकउल छुँदा जिउ चिलाउने र खटिरा आउने भएकाले बाँदरले पनि पाइप बिगार्न पाउँदैन । मानिसले पनि हत्तपत्त काट्न सक्दैन । रकउल प्रयोग गर्दा प्रतिमिटर २ हजार रुपैयाँ खर्च लागेको छ । यो ढुंगा, सिमेन्ट र बालुवाको प्रयोगबाट कुलो बनाउनुभन्दा सस्तो रहेको सम्बद्ध अधिकारीहरू बताउँछन् ।

रकउल गरिएको पाइपमा ‘लाइफटाइम ग्यारेन्टी’ रहने कार्यालयको दाबी छ । उक्त डिभिजनअन्तर्गत सिँचाइका १ सय ६ वटा योजना छन् । सबै योजनामा रकउल प्रयोग बढाउँदै लैजाने कार्यालयको तयारी छ ।

प्रकाशित : भाद्र १४, २०७५ ०७:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?