कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

किरालाई पासो थाप्ने नयाँ जुक्तिः पहेँलो सिट

काँकडभिट्टा — लामखुट्टे, रातो माकुरो, सुल्सुले, खुम्रे किरा, लार्भा चियाका शत्रु हुन् । किराको प्रकोपका कारण चिया उत्पादन बर्सेनि खस्कँदो छ । कहिले बोट पहेँलिएर सुक्ने त कहिले जरै मासिनेजस्ता समस्याले चिया किसान हैरान छन् ।

किरालाई पासो थाप्ने नयाँ जुक्तिः पहेँलो सिट

झापाका चिया बगानले वर्षौंदेखि ती किराको आक्रमण सामना गरिरहेका छन् । विषादी प्रयोगबाट पनि किराको आक्रमण कम भएको छैन । जिल्लाका केही बगानले चियामा आक्रमण कम गर्न किरालाई पासो थाप्ने नयाँ जुक्ति अपनाएका छन् । चिया बगानका रूख वरिपरि पहेँलो प्लास्टिक अर्थात् ‘एल्लो सिट’ बाँधिन्छ । पहेँलो प्लास्टिकमाथि गम (टाँसिने पदार्थ) पोतिन्छ । त्यही गमको पासोमा किरा पर्छन् । ‘पहेँलो प्लास्टिकमा किरा झुम्मिन्छन्,’ टोकला चिया बगानका प्रबन्धक राजु सिन्हाले भने, ‘अनि गममा आएर टाँसिन्छन्, टाँसिएपछि उम्किन मुस्किल पर्छ ।’

उनका अनुसार यो प्रविधि किरा मार्न निकै प्रभावकारी बन्दै गएको छ । सस्तो र भरपर्दो पनि छ । अहिले टोकलासहित अन्य बगानमा समेत किरालाई पासो थाप्ने प्रविधि प्रयोग भइरहेको छ । सिन्हाका अनुसार सीमापारि पश्चिम बंगालका दार्जिलिङ, मिरिक, खरसाङ तथा तराईका बागडुग्रा आदि बगानमा दुई/तीन वर्षदेखि ‘एल्लो सिट’ प्रविधि प्रयोग भइरहेको छ । यो प्रविधि अपनाएसँगै बगानमा विषादी प्रयोग घटेको छ । चियामा तीन सय प्रजातिका किरा र ५८ प्रजातिका ढुसीजन्य रोग लाग्ने गरेको तथ्यांक छ । यो प्रविधिले प्राय: किरा नष्ट पारिरहेको छ । सिन्हाले झापाका सबै चिया बगानले यो प्रविधि पछ्याउनुपर्ने बताए । ‘कम खर्चमा किरा नष्ट पार्न सकिन्छ,’ उनले भने, ‘यसले विषादीमा लाग्ने खर्च पनि कम हुन्छ ।’


चिया प्राविधिक इन्द्र अधिकारीका अनुसार चियालाई बढी क्षति पुर्‍याउने रोग फोके मरुवा हो । ओसिलो र कुहिरो बढी लाग्ने क्षेत्रमा देखिने यो रोगले पातको तल्लो भागमा सेतासेता फोका निर्माण गर्छ । चियामा लाग्ने अर्को रोग हो सिन्दुरे । ढुसीजन्य यो रोगले पातको हरियो रङ हराउँदै जाने र पात झर्ने हुन्छ । जरा कुहिने रोग, थ्रिप्स आदिले पनि चिया उत्पादन चौपट पार्ने गरेको छ ।

किरा नियन्त्रणका लागि चिया बालीमा इमिडा क्लोरोपिड, इमामेक्टिम, बेन्जोएट, स्पाइरोमेसिफिन, एसिटामापिडलगायत दर्जनौं घातक विष प्रयोग भइरहेको छ । बगानहरूले वार्षिक करोडौंका विषादी भारतबाट आयात गर्दै आएका छन् ।

प्रकाशित : भाद्र १५, २०७५ ०७:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?