बन्दुक बाेकेका हातले बिरुवा बाँड्दै

जितेन्द्र साह

विराटनगर — १९ वर्षे जवानी हुँदा उनले हातमा बन्दुक बोकेका थिए, सात सालको क्रान्तिताका । युग बदलियो, भूमिका पनि फेरियो । विराटनगर तिनटोलियाका ८७ वर्षे तोरेन्द्रमानसिंह प्रधान लामो समयदेखि हरियाली जोगाउने अभियानमा तल्लीन छन् ।

विराटनगरको तिनटोलियास्थित निवास अघिल्तिर फूलबारी स्याहार्दै तोरेन्द्रमानसिंह प्रधान । जितेन्द्र

‘लगाएको जोगाऔं, अझै थपौं’ भन्ने मान्यतासहित उनी हरियाली जोगाउन सबैलाई प्रेरित गरिरहेका छन् । आफ्नै घर करेसामा तयार बीउ, बेर्ना र बोट नि:शुल्क उपलब्ध गराउँछन् ।

व्यक्तिगत प्रयोजनदेखि संघसंस्थासम्मलाई रुद्राक्ष, श्रीखण्ड, अशोक, कपुरसहितका बिरुवा बाँडछन् । ‘जो कोही माग्न आए पनि दिन्छु,’ उनी भन्छन्, ‘अहिलेसम्म लागत र वितरणको हिसाबकिताब राखेको छैन ।’ उनी घर अघिल्तिरकै फूलबारी र नजिकैको निजी पार्कमा लौरोको सहाराले टेक्दै बोटबिरुवा स्याहारिरहेका भेटिन्छन् ।

Yamaha

बिहान ५ बजेबाट बगैंचा डुलाइ र पत्रपत्रिकाको अध्ययनबाट दिनचर्या सुरु गर्ने उनी दिनभरि सामाजिक भेटघाट एवं बोटबिरुवाको हेरचाहमा व्यस्त हुन्छन् । फूलबारी हेरचाहका लागि पाँच सहयोगी पनि छन् । ग्य्राजुएटसम्म पढेकी गृहिणी श्रीमती इन्दिरा प्रधान र शिक्षण पेसामा व्यस्त अंग्रेजीमा स्नातकोत्तर माहिली छोरी सम्झनाले उनको वातावरण संरक्षण अभियानमा हरक्षण साथ दिइरहेका छन् ।

काठमाडौंको बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको पूर्वपट्टि लगाइएको बिरुवाहरू तोरेन्द्रमानले प्रदान गरेका हुन् । ‘गत वर्ष त्यहाँका कर्मचारी दुई दिन बसेर श्रीखण्ड, रुद्राक्ष, रक्तचन्दन र कपुरका दुई टोकरी बिरुवा लिएर गए,’ उनले भने । ७ महिना अगाडि त्यहाँ पुग्दा बोट लहलहाइरहेको देख्दा निकै खुसी लागेको तोरेन्द्रमानले सुनाए ।

जहाँ जाँदा उपहार एवं कोसेलीका रूपमा बिरुवा लिएर उनी पुग्छन् । तोरेन्द्रमानले विराटनगरको परोपकार र सिंघियाघाट, वृद्धाश्रम, आरोहण गुरुकुल, मोरङको उर्लाबारीको राजघाटस्थित लक्ष्मी मावि, बेलबारी क्याम्पस, जहदास्थित शैलजा आचार्य स्मृति पोलिटेक्निक कलेज र धनकुटाको विश्रान्ति मन्दिरलगायत २७ थलोमा बिरुवा वितरण गरिसकेका छन् । तोरेन्द्रमानले २०१५/१६ सालमा विराटनगरको कोसी अञ्चल अस्पतालमा वृक्षरोपणबाट थालनी गरेका थिए ।

उनैले लगाएको रूखको छहारीमा अहिले बिरामी तथा आगन्तुक सुस्ताइरहेका हुन्छन् । अस्पतालछेउकै क्षयरोग निवारण संस्था र यहाँबाट थोरै टाढाको पूर्वाञ्चल विश्वविद्यालयमा लहलहराइरहेका बोट उनैले उपलब्ध गराएका हुन् ।मुलुकभरि ‘एक सन्तान, एक बिरुवा’ अभियान सुरु गर्ने चाहना राखेका उनको घरमा मासिक औसत ५ जना बोटबिरुवा माग्न आइराख्छन् । श्रीलंकामा छोरी जन्मनासाथ दुई बोट लगाउने र बिहे गर्ने बेलामा त्यही रूखको काठबाट फर्निचर बनाउन लगाएर छोरीलाई सप्रेम उपहार दिने गरिएको उनले जनाए ।

ऐतिहासिक व्यक्तित्व तोरेन्द्रमानको विगतदेखि वर्तमानसम्मका रचनात्मक गतिविधिलाई समेटेर परिवारजनले एक कृतिसमेत प्रकाशन गरिसकेका छन् । उनले सामाजिक कार्यका लागि स्थानीय एवं राष्ट्रियस्तरका ७८ र अमेरिका तथा जापानबाट गरी दुई अन्तर्राष्ट्रिय सम्मान पाइसकेका छन् । उनको बैठक कक्षभरि यत्रतत्र कदरपत्र, सिल्ड, उपहार, पुस्तक र पत्रपत्रिकाका चाङ देखिन्छ । ‘अब यो उमेरमा सम्मान लिँदा अप्ठेरो लाग्न थालेको छ,’ तोरेन्द्रमानले भने ।

तोरेन्द्रमानका पुर्खा पनि वनस्पतिप्रेमी थिए । राणाकालमा जनताले पक्की घर बनाउन पाउँदैनथे । त्यो बेला पूरा विराटनगरमा तोरेन्द्रमानको घरमा मात्र फूलबारी थियो । ‘साढे सात बिघाको घडेरीमा सामान्य घरबाहेक जग्गामा फूल मात्र लगाइएका थिए,’ उनी सम्झन्छन् । उनको हजुरबुबाले कोलकाता र पुणेबाट बीउ एवं फूल मगाएर घरमा मात्र नभएर खेतमा पनि बगैंचा लगाउँथे ।

२००७ सालको क्रान्तिपछि तोरेन्द्रमान सामाजिक सेवामा छन् । उनी विराटनगरमा रेडक्रस, क्षयरोग निवारण संस्था, एलिट क्लब र नेवारी संस्था झिपुच (हाम्रो समूह) को जन्मदातामध्येका हुन् । ३५ वर्षदेखि मुटुका रोगी उनलाई अहिलेसम्म ६ पटक हृदयाघात भइसकेको छ । ‘अझै बाँचिरहेकोमा चिकित्सक पनि चकित छन्,’ उनले भने, ‘म यसको श्रेय प्रकृति प्रेम, सक्रिय जीवन र सकारात्मक सोचलाई दिन्छु ।’ उनको पुख्र्यौली थलो काठमाडौं हो । उनका हजुरबुबा भूपेन्द्रमान सिंह राणाकालमा बजार अड्डाको सुब्बा भएर विराटनगर आएका थिए ।

Esewa Pasal

प्रकाशित : भाद्र १७, २०७५ ०७:३५
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

काठमाडाैं विमानस्थल ११ घण्टादेखि अवरुद्ध

सुरज कुँवर

काठमाडौँ — शनिबार राति ८ बजेर ३५ मिनेटदेखि अवरुद्ध भएकाे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अझै संचालनमा अाएकाे छैन । अवतरणका क्रममा चिप्लिएर घाँसे मैदानतर्फ धाँसिएकाे यती एयरलाइन्सकाे विमान हटाउने प्रयास जारी छ ।

मुलुककाे एकमात्र अन्तरराष्ट्रिय विमानस्थल बन्द भएपछि शनिबार रातियता २ दर्जन बढी अान्तरिक र अन्तरराष्ट्रिय उडान ठप्प भएका छन्। यी उडानबाट काठमाडाैं बाहिर जाने सयाैं यात्रु त्रिभुवन विमानस्थलमा अलपत्र परेका छन्।

विमानलाई धावनमार्गबाट निकाल्न कठिनाई भइरहेकाे एक पाइलटले बताए। उनका अनुसार यस विमानकाे ल्याण्डिङ गियर भाँचिएकाे छ। अर्काे पांग्रा फेर्न सक्ने सम्भावना छैन। लगातारकाे वर्षा र हिलाेकाे कारण जहाज निकाल्न कठिनाई भइरहेकाे उनले बताए।

उक्त विमानमा चालक दलसहित २१ जना यात्रु थिए। याे विमान नेपालगञ्जबाट क्याप्टेन लाभिस च्नद र भर्खरै क्याप्टेन भएकी एलिसा सिजापतिले उडाएका थिए।

विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले बिहान ८ बजे दिएकाे जानकारी अनुसार १५ मिनेटभित्रमा विमानस्थल सुचारु हुने बताएका छन् । उनले जहाजलाई निकाल्ने काम सकिन लागेकाे बताए ।

प्रकाशित : भाद्र १७, २०७५ ०७:२९
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT