कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सेलिब्रिटीका सवारी

सेलिब्रिटीको सवारी रोजाइका आधार ब्रान्ड, मूल्य, रङ, कम्फोर्ट, स्पेस हुने गरेको छ
सजना बराल

काठमाडौँ — गाडी कसैका लागि सोख त कसैका लागि बाध्यता हो । सेलिब्रिटीका हकमा चाहिँ दुवै हुन सक्छ । रंगकर्मी राजन खतिवडा बाध्यताले गाडी किनेको बताउँछन् भने गायिका रेखा शाह सोखिनजस्तै छिन् । उनले अहिलेसम्म चारथरी ब्रान्ड र मोडलका कार फेरिसकिन् । अब चाँडै निसानको टेरानो किन्ने मनस्थिति बनाएकी छन् ।

सेलिब्रिटीका सवारी

‘गाडी मेरो नजिकको साथी जस्तो हो,’ उनले भनिन्, ‘धेरै सयम यसमै बिताउँछु । गाडी भएन भने पागलै हुन्छु होला ।’ हाल उनी भोक्सवागनको पोलो चढ्छिन् । ब्राउन कलरको यो हयाचब्याक कार हेर्दै सुन्दर लागेर किनेको बताइन् । तीन वर्षदेखि पोलो कुदाइरहँदा उनलाई यसको सेन्सर सिस्टम खुब मन परेको छ । ‘ब्याक गर्दा ऐना हेर्न भ्याइएन भने सेन्सर बज्छ,’ उनले भनिन्, ‘यसले गर्दा सजिलो भएको छ ।’


रेखाले जर्मन ब्रान्डको फुल अप्सन कार कुदाइरहँदा रंगकर्मी खतिवडा जापानी मोडलमा रमाइरहेका छन् । उनी डाइहात्सुको सिरिअन कार चढ्छन् । यसअघि पनि यही ब्रान्डको सरेड कुदाएका थिए । ‘त्यो मारुतीजस्तो थियो,’ उनी भन्छन्, ‘खाँदखुद गरेर दस जना पनि अट्थ्यौं । म मात्र होइन, थुप्रै रंगकर्मीको प्रिय गाडी थियो त्यो ।’ अहिले उनले सेकेन्ड हयान्ड गाडी लिएका हुन्, जुन निकै सहज लागिरहेको बताए । ‘म गाडीलाई लिएर त्यस्तो सोखिन छैन,’ उनले भने, ‘केटाकेटी साना छन् । आफैंलाई पनि यताउति हिँडिरहनुपर्ने भएकाले किनेको हुँ ।’ उनलाई सिरिअनको माइलेज राम्रो लाग्छ । तर, क्लियरेन्स कम भएकाले अफ–रोडमा चलाउन गाह्रो पर्ने बताए । जिप र कारको मिश्रित स्वरूपको कार निकै कम्फर्टेबल भएको उनको अनुभव छ । ‘भित्री भाग खुला छ,’ उनले भने, ‘कन्जस्टेड छैन । नाटकका सरसामान हालेर हिँड्न सजिलो हुन्छ ।’


राजनलाई गाडी सहज लागे पनि अभिनेता आयुष्मान देशराज जोशी दुईपांग्रेमा रमाइलो मान्छन् । उनीसँग टीभीएस अपाचे आरटीआर २०० फोभी छ भने सन् १९८४ को मर्सिडिज बेन्ज २२० डी पनि कुदाइरहेका हुन्छन् । ‘बाइक र गाडी दुइटैमा मज्जा हुन्छ,’ उनले भने, ‘बाइकमा छिटो पुगिन्छ, थ्रिलिङ हुन्छ । गाडी सेफ हो ।’ हजुरबुबाले किनेको नीलो रङको मर्सिडिज बेन्ज आफूहरूले निकै जतनसाथ राखेको बताए । एसीबिनाको त्यो गाडी आफ्ना लागि निकै महत्त्वपूर्ण रहेको उनको भनाइ छ ।


आयुष्मानको ड्रिम कारचाहिँ निसानको जीटी–आर हो । यो नेपालमा उपलब्ध छैन । यहाँ ल्याइहाले पनि जीटी–आरमैत्री सडक नभएको र ५ करोड रुपैयाँजति मूल्य पर्ने हुँदा सबैलाई एफोर्डेबल नहुने बताए । ‘कुनै मिनी एसयूभी किन्नुपर्ला अब,’ उनले भने, ‘गाडी किन्दा म यसको इन्जिन र भित्री पाटपुर्जा ख्याल गर्छु । माइलेज र क्लियरेन्स सेकेन्डरी कुरा हुन् ।’


संगीतकार कालिप्रसाद बाँस्कोटा पनि क्लियरेन्सलाई लिएर त्यति टाउको दुखाउँदैनन् । बाटो नै खराब भएकाले जतिसुकै राम्रो ग्राउन्ड क्लियरेन्स भएको गाडी लिए पनि समस्या समाधान नहुने उनको बुझाइ छ । उनी अचेल कियाको पिकान्टो चलाउँछन् । हतार छ भने वा नजिकै जाँदा होन्डाको डीओ स्कुटर दौडाउँछन् । पार्किङको असुविधा र ट्राफिक जामको डरले गाडी चलाएको दिन सकेसम्म एकै ठाउँमा बसेर काम सकाउने गरेको उनले बताए ।


‘गाडी किनेको एक वर्ष भयो,’ कालिप्रसाद भन्छन्, ‘यसले मेरो आनीबानी नै फेरिदिएको छ । म पहिलेजस्तो यताउता धेरै गर्दिनँ । जहाँ छु, त्यहीँ बसेर काम सक्छु । निस्कियो भने जाममा फसिएला भन्ने डर हुन्छ । भनेको ठाउँमा पार्किङ पाइँदैन ।’ सन् २००४ को मोडल भएकाले आफ्नो कार आधुनिक नभएको उनले बताए । तसर्थ यो हयाचब्याकबाट उनी अब एसयूभीतर्फ मोडिने सोच्दै छन् ।


‘टाटाको नेक्सन, क्रेटा र होन्डाको बीआर–भी मन परिरहेको छ,’ कालिप्रसादले भने, ‘स्कोडा पनि ठीक छ रे । मार्केट रिसर्च गर्दै छु म । जुन कम्फर्टेबल लाग्छ त्यही किन्छु ।’ गायक प्रमोद खरेल पनि यही दसैंमा नयाँ गाडी लिँदै छन् । विगत चार वर्षयता उनले हयुन्डाई–आई टेन चलाउँदै आएका थिए । यो पुन्टे कार छरितो भए पनि नयाँ चलाउने रहर लागेको उनले बताए । ‘पार्टपुर्जा सजिलै पाइन्छ,’ उनले भने, ‘मेन्टिनेन्स खर्च पनि सस्तै छ ।’


सामान सहजै पाइने गाडी किन्दा भविष्यमा दु:ख नहुने प्रमोदको अनुभव छ । सुरुदेखि नै हयुन्डाई रोज्दै आएका उनी यसपालि पनि यही ब्रान्डको क्रेटा किन्ने योजनामा छन् । ‘यसको फिचर राम्रो रहेछ,’ उनले भने, ‘ग्राउन्ड क्लियरेन्स पनि धेरै रैछ । लुक्स पनि राम्रो लाग्यो ।’ गाडीले आफूलाई घाम, पानी, धूवाँ, धूलोबाट जोगाउने भएकाले यसको खुब माया लाग्ने बताए । उनी गाडी लिएर टाढामा झापासम्म पुग्ने गरेका छन् ।


लोकगायक बद्री पँगेनी गाडी कुदाउँदैनन् । यामाहाको एफजेड बाइकमा हिँडेकै आठ वर्ष भएछ । त्यसअघि होन्डाको साइन चलाउने गरेको बताए । ‘मलाई सवारी साधनमा सोख छैन,’ उनले भने, ‘चारपांग्रे किन्दिनँ होला । बाइकमै सजिलो हुन्छ ।’ उनी यामाहाको बाइक राम्रो भए पनि अफिसियल सर्भिस सेन्टरको व्यवस्थापन झुर भएको बताउँदै थिए । ‘उहाँहरूले आफ्नो व्यवहार सुधार्नुपर्छ,’ उनले भने ।


धेरैले नयाँ सवारी लिने योजना बनाइरहँदा अभिनेत्री रेखा थापाले भने हालै नयाँ कार लिइसकेको बताइन् । उनले निसानको टेरानो चढ्न थालेको पाँच महिना मात्र भएछ । नयाँ गाडीमा अद्भुत महसुस भइरहेको बताइन् । गाढा रातो रङको एसयूभी हेर्दै आकर्षक रहेको उनको भनाइ छ । ‘लेटेस्ट मोडल हो,’ उनले भनिन्, ‘पहिलाको गाडी दुर्घटनामा परेर थोत्रो भएको थियो । यसका चाहिँ पाटपुर्जा बलिया छन् जस्तो लागिरहेको छ ।’ उनलाई काठमाडौंमा गाडी चलाउन सहज र सुरक्षित लाग्छ । राजमार्गमा कुदाउँदा भने अलि असहज लाग्ने बताइन् ।


गायिक एवं सञ्चारकर्मी समृद्धि राईले सन् २०१३ मा सुजुकी ए स्टार किनेकी थिइन् । यो उनको पहिलो थियो, जुन अझै चलाइरहेकै छिन् । ‘गाडी चलाउन सिकेकै यसबाट हो,’ उनले भनिन्, ‘सानो र कम्प्याक्ट छ ।’ भूकम्पका बेला उनी यही कारभित्र ब्ल्यांकेट ओढेर बसेकी थिइन् । यसको माइलेज राम्रो भएको बताइन् । गोदावरीस्थित घरबाट हेटौंडा जाँदा समेत यसमै गएकी थिइन्, क्लियरेन्स ठीकठाक थियो । ‘यो गाडीको एउटै खराबी छ,’ उनले भनिन्, ‘पाटपुर्जा पाउन गाह्रो पर्छ । अस्ति हेडलाइट बिग्रिँदा एक महिनै लाग्यो बनाउन ।’ कार्यक्रमका लागि काठमाडौं बाहिर गइरहनुपर्ने भएकाले उनी अब ठूलो गाडी किन्ने सोचमा छिन् ।

प्रकाशित : भाद्र २६, २०७५ ११:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?