दुर्घटनाको शृंखला

औसतमा प्रत्येक दिन ६ जनाको मृत्यु
२९,६३९ किमि सडक, ३२ लाख सवारी
दीपेन्द्र विष्ट

काठमाडौँ — केही दिनअघि उदयपुर नगरपालिका ४ बस्ने २५ वर्षीय विकास राई र २३ वर्षीय सचिन्द्र राईको टिपरको ठक्करले मृत्यु भयो । मोटरसाइकलमा सवार राई दाजुभाइलाई तीव्र गतिमा आएको टिपरले पूर्वपश्चिम राजमार्गको धारापानीमा किचेको थियो ।

दुर्घटनाको शृंखला

राई दाजुभाइजस्तै सडक दुर्घटनामा परेर अंगभंग हुने र ज्यान गुमाउनेको संख्या बढ्दो छ । सडकको दुरवस्था, सवारी नियमको उल्लंघन, चालकको लापरबाहीलगायत दुर्घटनाका पछाडि अनेकौं कारण छन् । मुलुकभर सवारी दुर्घटनाबाट दैनिक ६ जनाको मृत्य हुने गरेको छ । प्रहरी प्रधान कार्यालयअन्तर्गतको ट्राफिक निर्देशनालयका अनुसार आर्थिक वर्ष २०७४/०७५ मा २ हजार ३ सय १८ जनाको मृत्यु भएको छ । त्यसैगरी १६ हजार ४ सय ७ सवारी दुर्घटना भएका छन्, जसमा बढी चालकको लापरबाही देखिएको छ ।


त्यसैगरी ०७३/०७४ मा २ हजार १ सय ९५ जनाको मृत्यु भएको छ । यी तथ्यांकले सवारी दुर्घटनाबाट मर्नेको संख्या दिन प्रतिदिन बढ्दै गएको देखाउँछ । प्रहरी प्रवक्ता शैलेश थापाले मुलुकभर सवारी दुर्घटनामा मृत्यु हुनेको संख्या बढेको जानकारी दिए । आव २०७२/०७३ मा २ हजार ६ जनाको सवारी दुर्घटनामा मृत्यु भएको छ । त्यसमध्ये १६ हजार ५ सय ७ सवारी दुर्घटना भएका छन् । दिन प्रतिदिन सवारी दुर्घटना बढ्दै गएको उल्लेख गर्दै थापाले दुर्घटना रोक्न ठोस कदम चाल्नुपर्ने बताए । ‘सवारी चाप बढेको छ, सडक सुधार हुन सकेको छैन,’ उनले भने, ‘अनुशासित चालकको कमी छ ।’


पछिल्लो समय सडक सञ्जालको विस्तार व्यापक रूपमा बढे पनि कालोपत्रे र व्यवस्थित सडकको अभाव भएकाले दुर्घटना बढ्ने गरेको प्रवक्ता थापाले बताए । भौतिक पूर्वाधार तथा यातायात विकास मन्त्रालयले एक तिहाइभन्दा बढी सडक इन्जिनियरिङ अध्ययनबिना नै निर्माण गरिएकाले सडक सवारी दुर्घटना प्रत्येक वर्ष बढ्ने गरेको जनाएको छ ।
चालकको लापरबाही, तीव्र गति, मादक पदार्थ सेवन, यान्त्रिक गडबडी, ओभरटेक, पैदलयात्रीको लापरबाही, तोडफोडबाट सवारी साधनको क्षति, सडकको अवस्था र मौसम तथा चौपायाका कारण प्रत्येक दिन सवारी दुर्घटना बढ्दै गएको छ ।


सबैभन्दा बढी दुर्घटना चालकको लापरबाहीले हुने गरेको छ । उपत्यका ट्राफिक महाशाखाका प्रमुख वसन्त पन्तले पछिल्लो पटक उपत्यकाको सडकको दुरवस्थाले गर्दा सवारी दुर्घटना बढेको दाबी गरे । ‘चालकले ओभर कन्फिडेन्टमा गाडी हाँक्छन् तर सडकको अवस्था नाजुक छ,’ उनले भने, ‘अवस्था नबुझेरै गाडी हाँक्दा दुर्घटना बढेका छन् ।’ पन्तले दक्ष चालको अभावले गर्दा दुर्घटना अनुपात प्रत्येक वर्ष बढ्ने गरेको बताए ।


‘दक्ष चालक पनि छैनन्, राजधानीका सडक पनि राम्रा छैनन्,’ उनले भने, ‘त्यसकारण सडकको अवस्था पनि सुधार्नुपर्छ ।’ अस्वस्थ प्रतिस्पर्धाले गर्दा चालकले जथाभावी गाडी चलाउँदा दुर्घटनाको अनुपात बढेको उनको भनाइ छ । त्यसैगरी प्रत्येक वर्ष सवारी साधनको संख्या अत्यधिक रूपमा बढ्दै गएको उनले बताए ।


यातायात व्यवस्था विभागका अनुसार आव २०७४/७५ सम्ममा मुलुकभर करिब ३२ लाखभन्दा बढी गाडी गुडिरहेका छन् । उक्त वर्ष ४ लाख ३७ हजार १४ वटा गाडी थपिएका छन् । कुल सवारी साधनमध्ये ७९ प्रतिशत मोटरसाइकलको संख्या रहेको छ ।


गाडीको संख्या जति थपिए पनि सडक पूर्वाधार अवस्था सुधार नभएको विज्ञहरूको भनाइ छ । सार्वजनिक यातायातमा लामो अध्ययन र अनुसन्धान गरेका प्राध्यापक सूर्यराज आचार्यले यातायात पूर्वाधार नै कमजोर भएको बताए । ‘सडक निर्माण हुन्छ, पूर्वाधारमैत्री हुँदैन,’ उनले भने, ‘जेब्रा क्रसिङ पैदल यात्री मात्र होइन, गाडीलाई खोई ?’ स्थानीय तहले निर्माण गरेका सडकहरूमा जथाभावी रूपमा गाडी कुद्ने गर्दा दुर्घटना बढेको उनले बताए ।


बिनाइन्जिनियरिङका सडक सञ्जालले गर्दा यात्रीको ज्यान जोखिममा भएको जानकार बताउँछन् । दैलैदैलोमा गाडी पुर्‍याउने होड चल्ने क्रम चलेपछि बिनाइन्जिनियरिङ सडक विस्तार भएको आचार्यले बताए । आर्थिक सर्वेक्षण ०७४/७५ अनुसार हाल मुलुकभर २९ हजार ६ सय ३९ किमि सडक सञ्जाल विस्तार भएको छ । त्यसमध्ये कालोपत्रे १३ हजार १ सय ४९, खण्डास्मिथ ६ हजार ९ सय ५६ र कच्ची सडक ९ हजार ५ सय ३४ किमि रहेको छ । स्थानीयस्तरमा निर्माण भएका सडकमा कालोपत्रको स्थिति न्यून छ ।


ती सडकमा जथाभावी गाडी
गुड्दा दुर्घटना हुने गरेको हो । कच्ची भएकाले गणस्तरीय र सुरक्षित सडक सञ्जालको पहुँचमा पुग्न सकेको छैन । विभागका प्रवक्ता मुक्ति गौतमले मुख्य सडकलाई कालोपत्रे गर्न समस्या भएको बताए । स्थानीयस्तरमा निर्माण गरिएका सडक कालोपत्रे तथा सुधार गर्ने जिम्मा स्थानीय तहको भएको उनले बताए । ती सडकको स्तरोन्नति तथा पूर्वाधार सम्पन्न बनाउनुपर्ने उनले बताए ।

प्रकाशित : भाद्र २६, २०७५ ११:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?