फैलँदो सडक सञ्जाल

सडकको संख्यात्मक विकास धेरै भएको छ, गुणात्मक विकास गर्न जरुरी छ
विमल खतिवडा

काठमाडौँ — सडक निर्माण विकासको पर्यावाचीजस्तै बनेको छ । सर्वसाधारणदेखि ठूला नेताको प्राथमिकतामा सडक परेको छ । मुलुकभर ट्रयाक खोल्नेदेखि कालोपत्रे गर्नेसम्मका विभिन्न चरणमा सडक निर्माण भइरहेका छन् ।

सडकले सहर र गाउँलाई नजिक बनाउँदै छ । जहाँ सडक पुगेको छ, त्यहाँ स्थानीय आयआर्जनमा सक्रिय छन् । जीवनस्तर फेरिँदो छ, यात्रा छोटिएको छ । सहरबाट नुन, तेल र खाद्यान्न ढुवानी गर्न सहज भएको छ । यातायातको सहजताले गर्दा गाउँगाउँमा खुद्रा पसल र होटल खोल्ने प्रतिस्पर्धा छ ।


त्यसैले होला सडकलाई पूर्वाधारको पनि पूर्वाधार भन्ने गरिन्छ । तर, जहाँ सडक पुगेको छैन, त्यहाँको उत्पादनले भने अझै सहज रूपमा बजार पाउन सकेको छैन । सडक पुगेको ठाउँका स्थानीयले भने तरकारी, फलफूल लगाएर आम्दानीको स्रोत बनाएका छन् । स्थानीयले सदरमुकाम पुग्न दिनभर पैदल हिँड्नुपर्ने बाध्यता थियो । अहिले अवस्था बिस्तारै फेरिएको छ । सडकै कारण गाउँ, सदरमुकाम र बजार चम्किएका छन् । उदाहरण हो चितवनको मुग्लिन बजार । नारायणगढ–मुग्लिन सडकको ०३४ सालमा निर्माणको काम सुरु भयो । ०३६ सालमा ट्रयाक खुल्यो । ०३८ सालमा पिच भयो ।

Yamaha


जब सडक सञ्चालनमा आयो । मुग्लिन बजार व्यापारिक केन्द्र बन्यो । पूर्व र पश्चिमबाट आउने यात्रुहरूका लागि मुग्लिन थकाइ मेटाउने गन्तव्य बन्यो । अहिले यो सडक २ लेनको बनेको छ । मुग्लिनबाट नारायणगढ ३६ किमि दूरी हो । पहिला नारायणगढ पुग्न ७० मिनेट लाग्थ्यो । अहिले स्तरोन्नतिपश्चात् दूरी छोटिएको छ । ३५ मिनेटमा पुग्न सकिने नारायणगढ–मुग्लिन सडक आयोजनाका इन्जिनियर शिव खनाल बताउँछन् ।


‘पहिला सडक साँघुरो थियो, जाम बढी हुन्थ्यो,’ उनी भन्छन्, ‘अहिले सडक फराकिलो बनेको छ, कुनै समस्या नआएको खण्डमा सहजै गन्तव्यमा पुग्न सकिन्छ ।’ उनका अनुसार यो सडक मुलुकको ‘लाइफ लाइन’ हो । कारण यही राजमार्ग भएर दैनिक उपभोग्य वस्तु राजधानी भित्रिन्छ । वीरगन्जबाट आएको सामान होस् वा भैरहवाबाट । यो सडक भएर दैनिक करिब ८ हजार सवारी गुड्छन् । यो उदाहरण मात्र हो । मुलुकमा सडकै कारण काँचुली फेरेका सहर बजार प्रशस्त छन् । फाइदा धेरै भए पनि सडककै कारण समस्या ननिम्तिएको भने होइन ।


ग्रामीण बस्तीमा भने जथाभावी सडक खनेकै कारण बस्ती पहिराको जोखिममा पर्ने, पानीका मुहान सुक्ने, कुलोकुलेसा पुरिने, वन नासिने गरेका छन् । राजनीतिक आडमा ठेक्का पाउने, बजेट सक्ने हतारो र घरघरमा सडक पुर्‍याउने प्रतिस्पर्धाले यस्ता घटना हुने गरेकोपूर्वाधारविज्ञ बताउँछन् ।


नेपालको पहिलो सडक त्रिभुवन राजपथ हो । सडक विभागका उपमहानिर्देशक मुक्ति गौतमका अनुसार यो सडक २०१६ सालमा निर्माण सुरु भई २०१८ मा पूरा भयो । ७७ जिल्लामध्ये ७५ जिल्ला सदरमुकाममा सडक पुगिसकेको छ । हुम्ला र डोल्पामा अझै सडक विस्तार हुन सकेको छैन । ‘डोल्पामा यो आर्थिक वर्षभित्र सडक पुग्नेछ,’ विभागका प्रवक्तासमेत रहेका गौतम भन्छन्, ‘हुम्लामा चाइनाबाट यो आर्थिक वर्षमा सडक पुग्छ, नेपालबाट अर्को आर्थिक वर्षमा मात्र पुग्नेछ ।’


२००७ सालमा ३ सय ७६ किलोमिटर सडक थियो । अहिले विभिन्न सडकहरू गरेर ८० हजार किलोमिटर पुगेको गौतम बताउँछन् । प्रजातन्त्र आएपछि सडक विस्तार अभियान सुरु भयो । निर्माणले बिस्तारै तीव्रता पाउँदै गयो । ०४७ सालपछि भने सडक विकासले एकदमै तीव्रता पायो । ‘आफ्नोगाउँ आफैं बनाऊँ’ कार्यक्रम आएपछि सडक निर्माण अझै बढयो,’ गौतम भन्छन्, ‘अहिले पनि जनताको पहिलो माग सडक निर्माण नै हुन्छ ।’ विकास भन्नेबित्तिकै सडकलाई बुझ्ने गरिन्छ ।


अन्य पूर्वाधार विद्युत्, टेलिफोन, सिँचाइ जे गर्न पनि सडक नै पहिला चाहिन्छ । सडकले देशको आर्थिक अवस्थामा पनि झल्काउँछ । ‘जुन देशमा आर्थिक गतिविधि राम्रो हुन्छ, सडक पनि राम्रो हुन्छ,’ गौतम भन्छन्, ‘हामीले बनाएका सडकमा जति बढी गाडी गुड्छन्, त्यति बढी राम्रो प्रतिफल दिन्छ ।’


उनका अनुसार सडकको आयु डिजाइनमा भर पर्ने गर्छ । त्यही भएर आयु १० वर्ष, १५ वर्ष र २० वर्ष हुन्छ । त्यसपछि मर्मत गर्नुपर्ने अवस्था रहन्छ । नयाँ सडकको लम्बाइ बढ्ने क्रम कम हुँदै गएको छ । ‘सडक धेरै बने, अब बनेका सडकलाई मर्मत–सम्भार धेरै गर्नुपर्ने हुन्छ,’ उनी भन्छन्, ‘त्यसरी नै दिगो राख्नुपर्छ ।’


उनको तर्क काठमाडौं उपत्यकामा मात्र सवारी साधन बढी भएको भन्ने छ । बाहिर सवारी साधनले सडक नपाएको अवस्था छ । राजमार्गबाट भन्सार जोड्ने सडक चार र छ लेनमा बनिरहेका छन् । ती राम्रा सडकभित्र पर्छन् । पश्चिममा धनगढीदेखि–अत्तरिया जोड्ने गरी सडकबन्दै छ । कोहलपुर–नेपालगन्ज सडकले रुपैडिया नाकालाई जोड्छ । मुख्य सडक चार लेन र बजार क्षेत्रको सडक ६ लेनको हुनेछ । बुटवल–बेलहिया सडक बनिराखेको छ । पथलैया–वीरगन्ज जोड्ने सडक बन्ने क्रममै छ । रानी–विराटनगर–धरान जोड्ने सडक बन्नेछ । ‘कोहलपुरको बनिसकेको छ,’ उनी भन्छन्, ‘अरू पनि बन्ने क्रममा छन्, २ वर्षभित्रमा यी सबै सडक पूरा हुनेछन् ।’ तर कतिपय ठाउँमा निर्माण व्यवसायीले निर्माणको जिम्मा लिएरसमेत समयमै काम नसक्दा सडक अलपत्रझैं बनेका छन् । कतै सडकमा पर्ने पुल पूरा हुन सकेका छैनन् त कतै सडक नै बेवारिसे बनेका छन् ।


पूर्वसचिव तुलसी सिटौलाका अनुसार नेपालमा पछिल्लो २० वर्षमा सडकको संख्या र लम्बाइमा उल्लेख्य वृद्धि भएको छ । तर, गुणस्तर वृद्धि अपेक्षाकृत छैन । गाउँगाउँमा सडक पुगेको छ । भएका सडक चौडा गर्ने काम बढेको छ । गाडी भित्रिने क्रम पनि उस्तै छ । सरकारले टयाक्सीबाहेक गाडी भित्रिन रोक लगाएको छैन । गाडीको संख्या दिनानुदिन बढ्दो छ । कतिपय सडकमा सवारी चाप अत्यधिक छ । यातायात व्यवस्था पेचिलो र चुनौतीपूर्ण बनेको छ ।


सडकमा गाडी धेरै देखिनुमा ट्राफिक व्यवस्थापन नमिलेर रहेको सिटौला बताउँछन् । ‘मेरो अनुभव छ, संसारका कतिपय देशहरूमा हाम्राजस्तै चौडा सडकहरूमा योभन्दा दोब्बर गाडीहरू सजिलैसँग गुडिरहेका छन्,’ उनी भन्छन्, ‘हामीले त्यो गर्न सकेनौं । त्यसका लागि लेन अनुशासन र ट्राफिक व्यवस्थापन हुनुपर्छ, यसलाई पालना गरेर सडकको क्षमतालाई दोब्बर बनाउन सकिन्छ ।’ पार्किङ छैन । सडकमै पार्किङ गर्नुपर्ने बाध्यता छ । व्यवस्थित पार्किङ नहुँदा बाटोलाई पार्किङस्थल बनाउने गरिएको छ । ‘संसारका अन्य मुलुकमा सवारी आवागमनलाई बाधा नपुग्ने गरी पनि बाटोलाई पार्किङका रूपमा प्रयोग गरिन्छ,’ उनी भन्छन्, ‘तर, हाम्रोमा फराकिलो सडकमा पहिलो प्राथमिकता पार्किङलाई हुन्छ, त्यसपछि बचेको ठाउँमा सवारी साधन चलाउनुपर्ने बाध्यता छ, अब हामीले यो समस्याबाट मुक्ति पाउनुपर्छ ।’


सम्भावना भएको ठाउँमा सडक थप्दै लग्नुपर्छ । उनका अनुसार अहिले गाडी आयात रोक्न सक्ने अवस्था छैन । जहाँ ट्राफिक घनत्व छ, त्यहाँ सडकलाई चौडा गर्दै बढीभन्दा बढी उपयोगमा ल्याउन जरुरी रहेको उनले बताए ।


‘नियम कानुन पालनामा कडाइ गर्नुपर्छ, अर्थतन्त्रमा सडकले उल्लेख्य टेवा दिइरहेको छ, उनी भन्छन्, ‘यो पछिल्लो वर्ष अर्थतन्त्र राम्रो हुनुमा सडकको योगदान पनि छ । सडकको पूर्ण उपयोग गर्न एकीकृत योजना चाहिन्छ, करिडोर डेभलपमेन्ट भनेर सडक आसपास के गर्ने के नगर्ने छुटयाउन जरुरी छ,’ उनी थप्छन्, ‘अर्को कुरा जहाँ सडक बनाइन्छ, त्यो सडक गुणस्तरीय हुनुपर्छ ।’


आधाभन्दा बढी सडकमा गरिएको लगानी बालुवामा पानीजस्तो भएको उनले टिप्पणी गरे । ‘गाडी गुड्दै नगुड्ने, गुडी हाले हिउँदमा मात्र गुड्ने खालका सडक पनि छन्,’ उनले भने, ‘करिब ८० हजार किमि सडकमध्ये ३५ हजार किमि सडकमा कहिलेकाहीँ मात्र गाडी गुड्छन्, कतिपयमा त गुड्दै गुड्दैनन्, यस्ता सडकले भने अर्थतन्त्रमा मद्दत पुर्‍याएको छैन ।’


जहाँ सवारी साधनको पर्याप्त आवागमन हुन्छ । त्यहाँ अरू विकासलाई पनि टेवा पुर्‍याएको हुन्छ । ‘सडकको संख्यात्मक विकास धेरै भएको छ तर गुणात्मक विकास गर्न जरुरी छ,’ उनी भन्छन, ‘सडकलाई भरपूर उपयोग गर्नका लागि ट्राफिक व्यवस्थित गर्नु जरुरी छ ।’

प्रकाशित : भाद्र २६, २०७५ ११:२९
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

कहिले बन्छ सडक ?

विमल खतिवडा

काठमाडौँ — दुई वर्षदेखि बूढानीलकण्ठ नगरपालिका ४, कपन क्षेत्रका स्थानीयको एउटै प्रश्न सामना गरिरहेका छन्– ‘सडक कहिले बन्छ ?’  निर्माण सुरु भएको दुई वर्षसम्म सडक बनेको छैन । कतै माटो थुपारेर सडक साँघुरिएको छ, कतै पानी जम्ने खाल्टाखुल्टी बनाएर अलपत्र छाडिएको छ ।

कलंकी–नागढुंगा सडक । करिब ९ किमि खण्ड ४ वर्षसम्म पनि बनेको छैन । तस्बिर : अंगद ढकाल

हिलाम्मे सडकको पानी गाडीले उछिट्याएर कहिले त घर–पसलभित्रै पुर्‍याउँछन् । गाडी भासिएका र मोटरसाइकल चिप्लिएका दृश्य नौला लाग्दैनन् ।

स्थानीयको पटक–पटकको गुनासो र प्रश्न सुनेपछि सांसद थापाले निर्माण नसक्ने ठेकेदारलाई कारबाही माग गर्दै डिभिजन सडक कार्यालय मीनभवनमा निवेदन पनि दिए । तर न ठेकेदारलाई कारबाही भयो न काममा कुनै प्रगति । स्थानीयवासी वडा र नगरपालिका पनि पुगे । दैनिक आवतजावतसँगै व्यवसायमा पनि असर परेको उनीहरूको गुनासो छ । कतिले त यो क्षेत्रबाट पसलसमेत अन्यत्रै सारिसकेका छन् ।

राजधानीका कलंकी–नागढुंगा, चाबहिल–जोरपाटी, कपनलगायत सडकको दुरवस्था छ । कतै माटो थुपारिएको छ, कतै पानी जम्ने खाल्टाखुल्टी बनाएर अलपत्र छाडिएको छ । हिलाम्मे सडकको पानी गाडीले उछिट्याएर घर–पसलभित्रै पुर्‍याइदिन्छन् । गाडी भासिएका र मोटरसाइकल चिप्लिएका दृश्य नौला लाग्दैनन् ।

‘चुनावका बेला मात्र हामी चाहिने रैछ,’ होटल व्यवसाय गर्दै आएकी स्थानीय सावित्री तामाङले भनिन्, ‘समस्या परेका बेला हेर्ने कोही हुँदैनन् ।’ पहिला उनको होटलमा खाजा खान आउनेको भीड हुन्थ्यो । अहिले होटलमा आउनेको बाटो हेरेर बस्नुपर्ने बाध्यता छ । बूढानीलकण्ठ क्षेत्रमा सडकको सबभन्दा बढी समस्या सैलुङ कन्स्ट्रक्सनले निर्माणको ठेक्का लिएको खण्डमा देखिएको छ । सैलुङका प्रमुख हुन्– शारदाप्रसाद अधिकारी, नेकपा अध्यक्ष पुष्पकमल दाहालका ‘घरबेटी’ ।

बूढानीलकण्ठ नगरपालिकाभित्र सडकका १२ योजना ठेक्का भएका छन् । तीमध्ये अधिकारीले तीनवटा सडकको ठेक्का लिएका छन् । तर, तीनवटै सडकको समय सकिए पनि काम सकिएको छैन । १२ मध्ये ५ वटाको मात्रै काम सकिएको छ ।

अधिकारीले ठेक्का लिएको खण्ड हो, आकाशेधारा–राम मन्दिर–कृष्ण मन्दिर । ६ करोड ५५ लाखमा ०७३ असार ३१ मा उनले यसको ठेक्का लिएका थिए । २०७४ असोज ३० मा यसको समय सकियो । समय सकिए पनि डिभिजन सडक कार्यालयका अनुसार काम भने जम्मा ३० प्रतिशत मात्र भएको छ ।

उनले लिएको अर्को ठेक्का हो, सुन्दरबस्ती–आदर्शनगर–चुनीखेल टुपेक–टुसाल । यसको समय २०७४ साउन २० मै सकियो । अधिकारीको सैलुङले ठेक्का लिएको अर्को सडक साततले–भण्डारी गार्मेन्टको पनि समय सकिइसकेको बूढानीलकण्ठका मेयर उद्धवप्रसाद खरेल बताउँछन् ।

मेयर खरेल पटक–पटक भन्दा पनि ठेकेदार शारदा अधिकारीले कुरै नसुनेको गुनासो गर्छन् । ‘अधिकारीले कसैलाई टेर्दैनन् । सबै सडकको सम्झौता सकियो तर सडक हिँडिसाध्य छैन,’ खरेलले भने, ‘यो सबै निर्माण व्यवसायीको बेइमानीले गर्दा भएको हो, फकाइफुलाई काम लगाउनुपर्ने बाध्यता छ ।’ अधिकारीलाई ठूला नेताहरूको संरक्षण भएकाले पनि नसुनेका हुन सक्ने अनुमान मेयर खरेल गर्छन् ।

निर्माण सम्पन्न नगर्ने ठेकेदार अधिकारी मात्र भने होइनन् । यही खण्डमा महांकाल–भृकुटी चोक–तेन्जिङ चोकसम्मको निर्माण ठेक्का तुदी/प्रेरा जेभीले लिएका हुन् । जेठभित्र निर्माण सम्पन्न गर्ने समयसीमा तोकिएको यो सडक पनि पूरा भएको छैन । त्यस्तै साप/कालिका जेभीले निर्माण ठेक्का लिएको बूढानीलकण्ठपूर्व तैलुङ–देउवा चोक सडक पनि अलपत्र छ । कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको निवास जाने बाटोको पनि निर्माण सकिएको छैन ।

सांसद थापाले स्थानीयबाट सडककै बारेमा बढी गुनासा आएपछि २०७५ साउन ११ मा सडक विभागलाई ठेक्काको म्याद थप नगराउन भन्दै पनि पत्र पठाए । संसद्मा कुरा उठाए । तर, कुनै सुनुवाइ भएन । ‘स्थानीय जनप्रतिनिधि तथा आमसर्वसाधारणको पूर्ण सहयोग हुँदाहुँदै पनि निर्माण कम्पनीको समयमा काम नसक्ने नियत देखियो, यही कारणले सडक निर्माणमा ठोस प्रगति हुन नसकेको हो,’ थापाले विभागलाई पठाएको पत्रमा लेखेका छन्, ‘स्थानीयको अवरोध देखाई वा अन्य कुनै बहानामा अब यी निर्माण कम्पनीले ठेक्का म्याद थप गर्नुको कुनै औचित्य नरहेको जानकारी गराउन चाहन्छु ।’ उनले काम नगर्ने निर्माण व्यवसायीको नाम पत्रमा उल्लेख गरी नियमअनुसार कारबाही प्रक्रिया अगाडि बढाउन माग गरेका छन् ।

नागढुंगा सडक पनि अधिकारीकै जिम्मा
राजधानीको अर्को समस्या बनेको सडक हो– त्रिपुरेश्वर–कलंकी–नागढुंगा सडक । चार खण्डमा बाँडेर ठेक्का लगाइएको यो सडकको २०७२ असारमै सम्झौता भएको हो । निर्माण सम्पन्न गर्ने समयसीमा कुनै खण्डको पुस त कुनै असोज र कुनैको कात्तिकमा सकिँदै छ ।

तर, काम भने कुनैको पनि ५० प्रतिशतभन्दा बढी भएको छैन । यो सडकको पनि मुख्य हर्ताकर्ता सैलुङ कन्स्ट्रक्सनका शारदा अधिकारी भएको काठमाडौं उपत्यका सडक विस्तार आयोजनाका प्रवक्ता विश्वविजयलाल श्रेष्ठ बताउँछन् । चार खण्डमध्ये तीन खण्डको निर्माणमा सैलुङ कन्स्ट्रक्सन संलग्न छ ।

एउटा खण्डको ठेक्का बज्रगुरु, बिरुवा र सीएम जेभीले लिएका छन् भने अर्को खण्डको शर्मा, सैलुङ र कान्छाराम जेभीले । तेस्रो खण्डको ठेक्का सैलुङ, लुम्बिनी र साप जेभीले लिएका हुन् भने चौथो खण्डको पनि ठेक्कामा सैलुङ संलग्न छ । यो खण्डको ठेक्का सैलुङ, शर्मा र कान्छाराम जेभीले लिएका हुन् । यी सबैजसो खण्ड तीन किलोमिटरभन्दा केही बढीका छन् । चारै खण्डको निर्माणमा सरकारले अहिलेसम्म ९७ करोड ९७ लाख ६२ हजार भुक्तानी दिइएको छ ।

उपत्यका सडक विस्तार आयोजनाका प्रवक्ता श्रेष्ठ निर्माण ढिलाइ हुनुमा सर्वोच्च अदालतबाट उक्त सडक खण्डको विभिन्न स्थानमा निर्माण कार्य रोक्न भएको अन्तरिम आदेशलाई कारण मान्छन् । विस्तारित सडकको दायाँ–बायाँका स्थानीयले जग्गासहितको क्षतिपूर्ति माग्दा समस्या भएको उनी बताउँछन् । ‘तर, सबै निर्माण व्यवसायी दूधले नुहाएका छन् भन्ने होइन, उनीहरूको पनि गल्ती छ,’ श्रेष्ठ भन्छन्, ‘तर सडक निर्माणमा प्रगति नहुनुको कारण सडकभित्र पर्ने घर भत्काउन नदिनु, विद्युत्, टेलिफोनका पोलको पनि समस्या छ ।’

ललितपुरको ढोलाहिटी–सुनाकोठी–चापागाउँ–प्याङगाउँ–लेले–तिलेश्वर हुँदै सरस्वतीकुण्ड सडक चार खण्डमा ठेक्का लगाइएको छ । यसमा पनि अधिकारीको सैलुङ कन्स्ट्रक्सन संलग्न छ । माघसम्म सक्नुपर्ने ठेक्का भए पनि जम्मा १० प्रतिशत मात्रै काम भएको छ । यो सडक निर्माणमा सैलुङसँगै दिवा, पप्पु, महालक्ष्मी, वल्र्डवाइड जेभी पनि संलग्न छन् ।

चाबहिल–साँखुमा २५ प्रतिशत काम
राजधानीको अर्को बेहाल सडक हो, चाबहिल–जोरपाटी–साँखु । काठमाडौंको एउटा मुख्य पर्यटकीय गन्तव्य बौद्ध स्तूप पुग्ने यो सडक खण्ड वर्षामा आहाल बन्ने गरेको छ । भारतीय प्रधानमन्त्री मोदी नेपाल भ्रमणमा आउँदा रातारात यो सडकको चाबहिल–हयात होटलसम्मको खण्ड स्तरोन्नति गरिएको थियो । यसपटकको बिमस्टेक सम्मेलनमा आएका पाहुनालाई गोकर्ण रिसोर्टमा रिट्रिट दिने तयारी भए पनि यही सडकका कारण रद्द गरिएको थियो । पाहुना बसेकै होटल सोल्टीमा रिट्रिट दिइएको थियो ।

यो सडकको ठेक्का पाँच खण्डमा बाँडेर लगाइएको छ । तर, निर्माण प्रगति सन्तोषजनक छैन । काठमाडौं उपत्यका सडक विस्तार आयोजनाअन्तर्गत ठेक्का भएको हो । यसको ठेक्का युनाइटेड विल्डर्स एन्ड इन्जिनियर्स, बज्रगुरु, च्याङमिला, खानी जेभी, बिरुवा, बिटी, सुनकोसी र वल्र्डवाइड जेभीले पाएका छन् ।

कुनै खण्डको निर्माण सम्पन्नको सीमा २०७६ वैशाखसम्म छ भने कुनैको २०७५ असोज । कार्यप्रगति भने कुनैको पनि ४० प्रतिशतभन्दा बढी छैन । कुनै खण्डको त जम्मा १५ प्रतिशत काम भएको छ । यो सडकका लागि अहिलेसम्म ७३ करोड १० लाख भुक्तानी भइसकेको छ ।

सैलुङको प्लान्ट अवैध
ललितपुर– सैलुङ कन्स्ट्रक्सनको असफाल्ट प्लान्ट (कालोपत्रे तयार पार्ने उद्योग) नै मापदण्डविपरीत सञ्चालनमा रहेको पाइएको छ । सुनाकोठीमा नख्खु खोला किनारमा स्थापित प्लान्टले ललितपुर महानगरबाट सञ्चालन अनुमति लिएको छैन ।

महानगरको २७ नम्बर वडा कार्यालयका अनुसार प्लान्टले डिपो मात्र राख्न स्वीकृति लिएको छ । ‘सरकारी निर्देशनसमेत अटेर गरेर चलाइरहेका छन्,’ वडाध्यक्ष बाबुराजा महर्जनले भने । सैलुङ कन्स्ट्रक्सनका सञ्चालक शारदा अधिकारी हुन् । उनकै घरमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल बसेका छन् ।

डिजेलबाट सञ्चालित उक्त प्लान्टले दुर्गन्ध फैलाएको, मानव स्वास्थ्यमा प्रत्यक्ष असर गरेको भन्दै वडाध्यक्षसहितको अनुगमन टोलीले स्थानान्तरण गर्न पटकपटक ताकेता गरेको छ । सुनाकोठीबासीले प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालय, उद्योग, गृह र वातावरण मन्त्रालय तथा संसदको वातावरण संरक्षण समितिको समेत ध्यानाकर्षण गराइसके । ‘अस्तिमात्र लिखित पत्र पठाएँ,’ वडाध्यक्ष महर्जनले भने, ‘उपस्थित हुन फोन गरेका छौं ।’

उद्योग स्थापना गर्न वातावरण संरक्षण ऐन २०५३ को दफा ३ बमोजिम वातावरणीय परीक्षण तथा वातावरण प्रभाव मूल्यांकन अनिवार्य गर्नुपर्छ । ऐनको दफा ४ बमोजिम उद्योग स्थापनाको प्रस्ताव स्वीकृत नगराई सञ्चालनमा ल्याउन मिल्दैन । तर सैलुङले राजनीतिक पहुँचको आडमा ऐन मिचेर सञ्चालन गरिरहेको स्थानीयको आरोप छ ।

प्लान्टबाट असफाल्ट तयार गर्दा निस्कने कालो धुवाले प्रदूषण बढाएपछि भैंसेपाटी, नखिपोट, सुनाकोठीवासी मर्कामा छन् । प्लान्टले वृद्धवृद्धा र बालबालिका बढी प्रभावित हुनुका साथै खोला र वरिपरिका बालीनालीमा समेत असर पुर्‍याएको अनुगमन टोलीको निष्कर्ष छ ।

‘चैतसम्म सकिन्छ’


सैलुङ कन्स्ट्रक्सनका सञ्चालक शारदाप्रसाद अधिकारी भने आफूलाई पूर्वाग्राही रूपमा आरोप लगाउने गरिएको बताउँछन् । ‘काम राम्रो भए पनि नराम्रो भनिदिन्छन्,’ उनले शुक्रबार साँझ कान्तिपुरसँग भने । वर्षाको समयमा समेत आफ्ना कुनै प्रोजेक्टको काम नरोकिएको उनले बताए । ‘समयमा म्याटिरियल पाइँदैन, न गाडी चल्न दिन्छन्, त्यसका बाबजुद काम भइरहेको छ,’ उनले भने, ‘कहीं पोल हटाइएको छैन, सडकमा पर्ने घर भत्काइएको छैन, कहीं मुआब्जा विवाद छ ।’ उनले चैत अन्तिममा सबै सडकको काम सकिने दाबी गरे । ‘चैतसम्म हामीसँग जोडिएका सबै प्रोजेक्ट सक्ने टार्गेटमा काम गरिरहेको छु ।’

प्रकाशित : भाद्र २३, २०७५ ०७:२७
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT