सुदूरपश्चिममा गति लिँदै

विगतको तथ्यांक हेरेर अबको ५ वर्षमा यहाँको अटोमोबाइल मार्केट दोब्बर हुने अनुमान व्यवसायी गर्छन्
अर्जुन शाह, मोहन बुढाऐर

काठमाडौँ — दशकअघिसम्म  रिक्सा र साइकल चल्ने बजार भनेर चिनिथ्यो धनगढी । अहिले रिक्सा विस्थापित भएका छन् । पाइडल रिक्साको स्थान इरिक्साले लिएको छ । कैलाली कञ्चनपुरका व्यस्त बजारमा टयाक्सी गुड्न थालेका छन् । टयाक्सीको संख्या ३ दर्जन नाघेको छ ।

६ वर्षअघिसम्म स्कुटी चलाउने महिलाको संख्या औंलामा गन्न सकिन्थ्यो । त्यो पनि हुनेखाने र जागिरे महिलाहरू मात्रै । अचेल धनगढीमा स्कुटी चलाउने महिलाको संख्या गनेर साध्यै छैन । बिहानतिर बजार क्षेत्रमा नजर घुमाउने हो भने स्कुल र कलेज जाने छात्राहरू स्कुटीमै घुइँकिएका हुन्छन् । मोटरसाइकल आधारभूत आवश्यकताको साधन भएको छ । एसईई उत्तीर्ण हुनेबित्तिकै छोराछोरीको पहिलो माग नै स्कुटी र मोटरसाइकल हुन थालेको छ । घरमा एउटा मात्रै हैन, छोराछोरी र श्रीमान् श्रीमतीका बेग्लाबेग्लै मोटरसाइकल र स्कुटी हुन थालेका छन् । सेती अञ्चल यातायात व्यवस्था कार्यालयमा मोटरसाइकल दर्ता संख्या ७० हजार पुग्न थालेको छ । ‘यो संख्या ५ वर्ष यता ह्वात्तै बढेको हो,’ विशेष आटोमोबाइल्स धनगढीका प्रबन्ध निर्देशक पुष्कर ओझाले भने ‘सहर बजारमा मात्र हैन, पहाडी जिल्लामा समेत मोटरसाइकलको माग तीव्र भएको छ ।’


अटोमोबाइल्स विक्रेताहरूका अनुसार प्रदेश ७ मा वार्षिक ८ हजारको संख्यामा मोटरसाइकल बिक्री हुने गरेको छ । डेढ अर्बको मोटरसाकल बजार छ । प्राय: सबै ब्रान्डका मोटरसाइकल धनगढी, महेन्द्रनगर र पहाडी जिल्लामा गुड्छन् । ‘मोटरसाइकलमा हिरो, बजाज र होन्डा कम्पनीका उत्पादनहरूको मार्केट अगाडि छ,’ प्रबन्ध निर्देशक ओझाले भने । प्रदेशभरि १० वटा कम्पनीका ३५ वटा मोटरसाइकल बिक्री केन्द्र रहेको व्यवसायीहरू बताउँछन् ।

Yamaha


दशकअघिसम्म अटोमोबाइल्सका क्षेत्रमा साइकल, मोटरसाइकल र टयाक्टरका सोरुम तथा डिलर मात्रै देखिन्थे । अहिले धनगढी, महेन्द्रनगर र डडेल्धुरामा चिल्ला कारका सोरुमहरू धमाधम थपिएका थपियै छन् । रेनो, टाटा, फोर्ड, मारुती सुजुकी, महिन्द्रा, हुन्डाई, निसान, टोयोटा, डयाटसनलगायत कम्पनीका कारहरूको मार्केट विस्तार भएको छ । ‘वार्षिक ५ सयको संख्यामा कार बिक्री हुन्छन्,’ मोटोकर्प प्रालिका प्रवबध निर्देशकसमेत रहेका पुष्कर ओझाले भने, ‘प्रदेश ७ मा कार बिक्रीको मार्केट वार्षिक २ अर्ब हाराहारीमा छ ।’
वर्षिक ८/१० को संख्यामा बिक्री हुने टयाक्टर संख्या अहिले ह्वात्तै बढेको छ । पहाडका कुनै कन्दरामा सडक विस्तार भएपछि पहिला पुग्ने टयाक्टर नै हुन् । त्यो सँगसँगै पहाडी क्षेत्रका लागि बोलेरो जिपको बजारलाई समेत व्यापारीहरूले आकर्षक मानेका छन् ।


विगतमा टयाक्टर, बसलगायत अन्य हेभी इक्युपमेन्ट्स तथा भेहिकल लिन वीरगन्जका सोरुम धाउनुपर्ने बाध्यता थियो । अहिले त्यो झन्झट छैन । अशोक, टाटा, महेन्द्र, सोनालिकालगायत अधिकांश कम्पनीका सोरुमहरू धनगढीमै छन् । महिनामा सरदर २० वटा टयाक्टरहरू बिक्री हुने गरेको व्यवसायीहरूले बताएका छन् ।

हेभी इक्विपमेन्टको आकर्षक बजार
प्रदेशको भौतिक योजना तथा पूर्वाधार विकास मन्त्रालयका अनुसार यतिबेला प्रदेश ७ मा दैनिक १५ देखि २० किलोमिटर सडकको नयाँ ट्रयाक खुल्छ । संघीय संरचनाअनुसार स्थानीय तहको गठन भएपछि त झन् विकास भनेकै सडक निर्माण भएको छ । सबै स्थानीय तहको पहिलो प्राथमिकतामा सडक निर्माण पर्ने गरेको छ । डाँडाकाँडा छिचोल्दै सडक विस्तार हुनेक्रम तीव्र छ । यस कार्यमा स्काभेटर तथा डोजर प्रयोग हुने गरेका छन् ।


अछाम जिल्लामा मात्र ६९ वटा डोजरहरू चलेका छन् । बझाङमा ५४ वटा डोजर सडक खन्नमा परिचालित छन् । प्रदेशका अरू पहाडी जिल्लामा पनि अछाम र बझाङकै हाराहारीमा डोजरले बाटो खन्दै छन् । कुनै गाउँ तथा नगरपालिका यस्तो छैन, जहाँ २/४ वटा डोजरहरू सडक खन्नमा प्रयोग नभएका हुन् । ‘हरेक वडा र बस्तीलाई जोड्ने सडक सञ्जालको ट्रयाक डोजरले खनिरहेका छन्,’ बाजुरा जिल्ला समन्वय समितिका संयोजक नरेन्द्रबहादुर रोकायाले भने, ‘पहाडमा त विकास भनेकै डोजर लगाएर सडक खन्ने भएको छ ।’ केही वर्षअघिसम्म ठूला ठेकेदार कम्पनीसँग भएका १५/२० वटा हेभी इक्विपमेन्टबाहेक अरू थिएनन् । एस्काभेटरलगायतका हेभी इक्विपमेन्टहरू अहिले ७ नम्बर प्रदेशका व्यवासायीसँग ८ सय ५० छन् । ७ नम्बर प्रदेशबाहिरका व्यवसायीहरूको समेत जोड्दाएक हजार नाघ्छ । ठूला क श्रेणीका ठेकादार कम्पनी एउटैसँग सयभन्दा बढी हेभी इक्विपमेन्टहरू छन् । निर्माण व्यवसायीसँग मात्रै हैन, अहिले स्थानीय तह आफैंले पनि डोजरलगायतका इक्विपमेन्टहरू खरिद गर्न थालेका छन् ।


हेभी इक्विपमेन्ट महासंघ ७ नम्बर प्रदेशका महासचिव दानसिंह बडैलाले पूर्वाधार विकासले तीव्रता पाएसँगै एस्काभेटरलगायतका मेसिनरी औजारहरूको आयात विगतका वर्षको तुलनामा निकै वृद्धि भएको बताए । धनगढीमा हेभी इक्विपमेन्टहरूका ११ वटा सोरुम छन् ।


कैलालीको नित्रगर भन्सारबाट समेत हेभी इक्विपमेन्ट आयात हुन थालेका छन् । वीरगन्जबाट आयात गर्दा ढुवानी लागत बढेकाले कैलालीकै भन्सारबाट आयात सुरु गर्न लागेको महासचिव बडैलाले बताए । अहिले यहाँको भन्सारबाट महिनामा १५/१६ वटा मात्रै हेभी इक्विपमेन्टहरू आयत हुने गरेका छन् । धनगढीमै हेभी इक्विपमेन्टको बजार वार्षिक २ अर्ब बढी रहेको महासंघले जनाएको छ ।


अटोमोबाइल्सको बजार विस्तारसँगै स्पेयर पार्टसको बिक्रीसमेत विस्तार भएको छ । धनगढी, महेन्द्रनगरलगायत पहाडी जिल्लामा समेत स्पेयर पार्टसका बिक्री केन्द्र खुलेका छन् । वार्षिक करिब ५० करोड बढी मूल्य बराबर स्पेयर पार्ट्सको मार्केट रहेको व्यवसायीहरू बताउँछन् । व्यवसायीहरूले अटोमोबाइल्सको आक्रामक बजार मानेको प्रदेश ७ मा अहिलेकै रफ्तारमा बजार कायम रहे अबको ५ वर्षमा यहाँको मार्केट दोब्बर हुन सक्ने व्यवसायी ओझा बताउँछन् ।

प्रकाशित : भाद्र २६, २०७५ ११:२९
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

नाडा अटो प्रदर्शनीमा के छ ?

कान्तिपुर संवाददाता

काठमाडौँ — यस वर्षको नाडा अटो सो विद्युतीय सवारीमा केन्द्रित हुनेछ । यो पटक ५/६ वटा ब्रान्डले विद्युतीय सवारी प्रदर्शनीमा राख्ने नाडाका कार्यबाहक अध्यक्ष कृष्ण दुलालले बताए । सोमा ७१ कम्पनीका १ सय ३४ वटा स्टल रहनेछन् ।

तीमध्ये १९ स्टल चारपांग्रे र २० स्टल दुईपांग्रे सवारीका रहने दुलालले जानकारी दिए । ३४ स्टलवटा सवारी साधनसँग सम्बन्धित स्पेयर पार्ट्स, लुब्रिकेन्टस र टायरलगायतका हुनेछन् ।


नाडा अटो सोमा सडक सुरक्षासम्बन्धी चेतना जगाउने उद्देश्यले दुई स्टलमा ट्राफिक प्रहरी रहनेछन् । त्यहाँमा ट्राफिक सचेतना जगाउने र दुर्घटना घटाउने उपायबारेका सामग्रीहरू प्रदर्शनी, जानकारी उपलब्ध गराइनेछ । अर्थमन्त्री युवराज खतिवडाले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । सोमा हरेक दिन यातायातसँग सम्बन्धित विविध विषयमा अन्तरक्रिया कार्यक्रम हुने दुलालले जानकारी दिए । नेपालमा यातायात क्षेत्रमा लगानी, यसले नेपाली अर्थतन्त्रमा पुर्‍याएको योगदान, आगामी १० वर्षमा यातायात क्षेत्रको यात्रा जस्ता विषयमा अन्तरक्रिया हुनेछन् । यातायात नेपालमा सबैभन्दा बढी कर तिर्ने क्षेत्र हो । सोमा टिकट किनेका मध्ये एक अवलोकनकर्तालाई चिठ्ठामार्फत हरेक दिन एउटा मोबाइल प्रदान गर्ने योजना रहेको उपाध्यक्ष दुलालले बताए ।

अटो सो कहिले र कहाँ?
पहिलो २०५५ कात्तिक १९–२२ भृकुटीमण्डप
दोस्रो २०५७ मंसिर ७–११ भृकुटीमण्डप
तेस्रो २०६१ कात्तिक नयाँबानेश्वर
चौथो २०६४ असोज १०–१४ नयाँबानेश्वर
पाँचौं २०६६ असोज १२–१५ भृकुटीमण्डप
छैटौं २०६८ भदौ २१–२५ भृकुटीमण्डप
सातौं २०६९ असोज ३–७ भृकुटीमण्डप
आठौं २०७० भदौ २६–३० भृकुटीमण्डप
नवौं २०७१ भदौ १८–२४ भृकुटीमण्डप
दसौं २०७२ भदौ २९– असोज ४ भृकुटीमण्डप
एघारौं २०७३ भदौ १४– १९ भृकुटीमण्डप
बाह्रौं २०७४ भदौ १३–१८ भृकुटीमण्डप
तेह्रौं २०७५ भदौ २६–३१ भृकुटीमण्डप

प्रकाशित : भाद्र २६, २०७५ ११:२९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT