कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११७

सुदूरपश्चिममा गति लिँदै

विगतको तथ्यांक हेरेर अबको ५ वर्षमा यहाँको अटोमोबाइल मार्केट दोब्बर हुने अनुमान व्यवसायी गर्छन्

काठमाडौँ — दशकअघिसम्म  रिक्सा र साइकल चल्ने बजार भनेर चिनिथ्यो धनगढी । अहिले रिक्सा विस्थापित भएका छन् । पाइडल रिक्साको स्थान इरिक्साले लिएको छ । कैलाली कञ्चनपुरका व्यस्त बजारमा टयाक्सी गुड्न थालेका छन् । टयाक्सीको संख्या ३ दर्जन नाघेको छ ।

सुदूरपश्चिममा गति लिँदै

६ वर्षअघिसम्म स्कुटी चलाउने महिलाको संख्या औंलामा गन्न सकिन्थ्यो । त्यो पनि हुनेखाने र जागिरे महिलाहरू मात्रै । अचेल धनगढीमा स्कुटी चलाउने महिलाको संख्या गनेर साध्यै छैन । बिहानतिर बजार क्षेत्रमा नजर घुमाउने हो भने स्कुल र कलेज जाने छात्राहरू स्कुटीमै घुइँकिएका हुन्छन् । मोटरसाइकल आधारभूत आवश्यकताको साधन भएको छ । एसईई उत्तीर्ण हुनेबित्तिकै छोराछोरीको पहिलो माग नै स्कुटी र मोटरसाइकल हुन थालेको छ । घरमा एउटा मात्रै हैन, छोराछोरी र श्रीमान् श्रीमतीका बेग्लाबेग्लै मोटरसाइकल र स्कुटी हुन थालेका छन् । सेती अञ्चल यातायात व्यवस्था कार्यालयमा मोटरसाइकल दर्ता संख्या ७० हजार पुग्न थालेको छ । ‘यो संख्या ५ वर्ष यता ह्वात्तै बढेको हो,’ विशेष आटोमोबाइल्स धनगढीका प्रबन्ध निर्देशक पुष्कर ओझाले भने ‘सहर बजारमा मात्र हैन, पहाडी जिल्लामा समेत मोटरसाइकलको माग तीव्र भएको छ ।’


अटोमोबाइल्स विक्रेताहरूका अनुसार प्रदेश ७ मा वार्षिक ८ हजारको संख्यामा मोटरसाइकल बिक्री हुने गरेको छ । डेढ अर्बको मोटरसाकल बजार छ । प्राय: सबै ब्रान्डका मोटरसाइकल धनगढी, महेन्द्रनगर र पहाडी जिल्लामा गुड्छन् । ‘मोटरसाइकलमा हिरो, बजाज र होन्डा कम्पनीका उत्पादनहरूको मार्केट अगाडि छ,’ प्रबन्ध निर्देशक ओझाले भने । प्रदेशभरि १० वटा कम्पनीका ३५ वटा मोटरसाइकल बिक्री केन्द्र रहेको व्यवसायीहरू बताउँछन् ।


दशकअघिसम्म अटोमोबाइल्सका क्षेत्रमा साइकल, मोटरसाइकल र टयाक्टरका सोरुम तथा डिलर मात्रै देखिन्थे । अहिले धनगढी, महेन्द्रनगर र डडेल्धुरामा चिल्ला कारका सोरुमहरू धमाधम थपिएका थपियै छन् । रेनो, टाटा, फोर्ड, मारुती सुजुकी, महिन्द्रा, हुन्डाई, निसान, टोयोटा, डयाटसनलगायत कम्पनीका कारहरूको मार्केट विस्तार भएको छ । ‘वार्षिक ५ सयको संख्यामा कार बिक्री हुन्छन्,’ मोटोकर्प प्रालिका प्रवबध निर्देशकसमेत रहेका पुष्कर ओझाले भने, ‘प्रदेश ७ मा कार बिक्रीको मार्केट वार्षिक २ अर्ब हाराहारीमा छ ।’
वर्षिक ८/१० को संख्यामा बिक्री हुने टयाक्टर संख्या अहिले ह्वात्तै बढेको छ । पहाडका कुनै कन्दरामा सडक विस्तार भएपछि पहिला पुग्ने टयाक्टर नै हुन् । त्यो सँगसँगै पहाडी क्षेत्रका लागि बोलेरो जिपको बजारलाई समेत व्यापारीहरूले आकर्षक मानेका छन् ।


विगतमा टयाक्टर, बसलगायत अन्य हेभी इक्युपमेन्ट्स तथा भेहिकल लिन वीरगन्जका सोरुम धाउनुपर्ने बाध्यता थियो । अहिले त्यो झन्झट छैन । अशोक, टाटा, महेन्द्र, सोनालिकालगायत अधिकांश कम्पनीका सोरुमहरू धनगढीमै छन् । महिनामा सरदर २० वटा टयाक्टरहरू बिक्री हुने गरेको व्यवसायीहरूले बताएका छन् ।

हेभी इक्विपमेन्टको आकर्षक बजार
प्रदेशको भौतिक योजना तथा पूर्वाधार विकास मन्त्रालयका अनुसार यतिबेला प्रदेश ७ मा दैनिक १५ देखि २० किलोमिटर सडकको नयाँ ट्रयाक खुल्छ । संघीय संरचनाअनुसार स्थानीय तहको गठन भएपछि त झन् विकास भनेकै सडक निर्माण भएको छ । सबै स्थानीय तहको पहिलो प्राथमिकतामा सडक निर्माण पर्ने गरेको छ । डाँडाकाँडा छिचोल्दै सडक विस्तार हुनेक्रम तीव्र छ । यस कार्यमा स्काभेटर तथा डोजर प्रयोग हुने गरेका छन् ।


अछाम जिल्लामा मात्र ६९ वटा डोजरहरू चलेका छन् । बझाङमा ५४ वटा डोजर सडक खन्नमा परिचालित छन् । प्रदेशका अरू पहाडी जिल्लामा पनि अछाम र बझाङकै हाराहारीमा डोजरले बाटो खन्दै छन् । कुनै गाउँ तथा नगरपालिका यस्तो छैन, जहाँ २/४ वटा डोजरहरू सडक खन्नमा प्रयोग नभएका हुन् । ‘हरेक वडा र बस्तीलाई जोड्ने सडक सञ्जालको ट्रयाक डोजरले खनिरहेका छन्,’ बाजुरा जिल्ला समन्वय समितिका संयोजक नरेन्द्रबहादुर रोकायाले भने, ‘पहाडमा त विकास भनेकै डोजर लगाएर सडक खन्ने भएको छ ।’ केही वर्षअघिसम्म ठूला ठेकेदार कम्पनीसँग भएका १५/२० वटा हेभी इक्विपमेन्टबाहेक अरू थिएनन् । एस्काभेटरलगायतका हेभी इक्विपमेन्टहरू अहिले ७ नम्बर प्रदेशका व्यवासायीसँग ८ सय ५० छन् । ७ नम्बर प्रदेशबाहिरका व्यवसायीहरूको समेत जोड्दा एक हजार नाघ्छ । ठूला क श्रेणीका ठेकादार कम्पनी एउटैसँग सयभन्दा बढी हेभी इक्विपमेन्टहरू छन् । निर्माण व्यवसायीसँग मात्रै हैन, अहिले स्थानीय तह आफैंले पनि डोजरलगायतका इक्विपमेन्टहरू खरिद गर्न थालेका छन् ।


हेभी इक्विपमेन्ट महासंघ ७ नम्बर प्रदेशका महासचिव दानसिंह बडैलाले पूर्वाधार विकासले तीव्रता पाएसँगै एस्काभेटरलगायतका मेसिनरी औजारहरूको आयात विगतका वर्षको तुलनामा निकै वृद्धि भएको बताए । धनगढीमा हेभी इक्विपमेन्टहरूका ११ वटा सोरुम छन् ।


कैलालीको नित्रगर भन्सारबाट समेत हेभी इक्विपमेन्ट आयात हुन थालेका छन् । वीरगन्जबाट आयात गर्दा ढुवानी लागत बढेकाले कैलालीकै भन्सारबाट आयात सुरु गर्न लागेको महासचिव बडैलाले बताए । अहिले यहाँको भन्सारबाट महिनामा १५/१६ वटा मात्रै हेभी इक्विपमेन्टहरू आयत हुने गरेका छन् । धनगढीमै हेभी इक्विपमेन्टको बजार वार्षिक २ अर्ब बढी रहेको महासंघले जनाएको छ ।


अटोमोबाइल्सको बजार विस्तारसँगै स्पेयर पार्टसको बिक्रीसमेत विस्तार भएको छ । धनगढी, महेन्द्रनगरलगायत पहाडी जिल्लामा समेत स्पेयर पार्टसका बिक्री केन्द्र खुलेका छन् । वार्षिक करिब ५० करोड बढी मूल्य बराबर स्पेयर पार्ट्सको मार्केट रहेको व्यवसायीहरू बताउँछन् । व्यवसायीहरूले अटोमोबाइल्सको आक्रामक बजार मानेको प्रदेश ७ मा अहिलेकै रफ्तारमा बजार कायम रहे अबको ५ वर्षमा यहाँको मार्केट दोब्बर हुन सक्ने व्यवसायी ओझा बताउँछन् ।

प्रकाशित : भाद्र २६, २०७५ ११:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?