जग्गा कारोबारको भरोसा

घरजग्गा कारोबार बढेकै बेला साना सवारीको पनि बिक्री बढेको तथ्यांकले देखाउँछ
घनश्याम गौतम

काठमाडौँ — आठ वर्षअघि बुटवलको कालिकानगरमा फोर्ड गाडीको सोरुम सञ्चालन गर्दा त्यसका प्रबन्ध निर्देशक योगेश घिमिरेलाई चल्छ कि चल्दैन भन्ने ठूलै त्रास थियो । झन्डै ५ करोडको लगानीमा उनले व्यवसाय सुरु गर्दै थिए । तत्काल नाफाभन्दा पनि बैंकबाट लिएको ऋणको ‘ब्याज’ चुक्ता गर्ने अर्को ठूलो चुनौती र चिन्ता थियो ।

जग्गा कारोबारको भरोसा



तर, समयले अप्ठयारो पारेन । उनको व्यवसायभन्दा तीन वर्षअघि नै बुटवलमा सुरु भएको फरक व्यवसाय ‘जग्गा प्लटिङ’ फस्टायो । धेरै मानिस त्यता लागे । त्यसको प्रत्यक्ष फाइदा बुटवलमा घिमिरेजस्तै नयाँ अटो व्यवसायीलाई पुग्यो । जग्गा प्लटिङले धमाधम गति लियो । पहाडबाट तराई झर्नेको संख्या उस्तै बढयो । हरेक महिना ३० देखि ५० को संख्यामा जग्गा व्यवसायी थपिन थाले । विदेशबाट आएको रेमिटयान्सको ठूलो हिस्सा जग्गा खरिदमा प्रयोग भयो । त्यसको आम्दानीले धेरैलाई सोखिन बनायो ।


साइकल चढ्नेले मोटसाइकल किने । मोटरसाकलमा हुइँकिनेहरूले कार चढे । बुटवलमा चलेका जग्गा व्यवसायी रुक्मांगत घिमिरेका अनुसार कारको प्रयोग यसरी बढयो कि जग्गा किन्न आएको ग्राहकलाई कारमा लगिएन भने उसले पत्याउँदैन र कारोबार नै हुँदैन ।


मालपोत कार्यालयको तथ्यांकमा रूपन्देहीमा सबैभन्दा धेरै जग्गा प्लटिङको कारोबार २०६५ देखि २०७३ सम्म छ । १५ वर्षको अवधिमा रूपन्देहीमा मात्र ७ हजार हेक्टर खेतीयोग्य जमिनको क्षेत्रफल घटेको छ । बुटवल, तिलोत्तमा, देवदह, सैनामैना नगरपालिकामा बस्ती विकास तीव्र छ । तिलोत्तमा नगरपालिकामा वर्षमा १ हजार १ सय, बुटवल उपमहानगरपालिका र देवदह नगरपालिकामा पनि वर्षमा ८ सय बढी घर थपिने गरेको देखिन्छ ।


तीनवटै नगरपालिकाका अधिकांश वडा पक्की सडकले जोडिएका छन् । ती सडकमा ५० प्रतिशत साना चारपांग्रे सवारी साधन मात्र गुड्छन् । त्यही तथ्यांक मात्र हेर्दा पनि बुटवल र आसपासमा भएको तीव्र विकाससँगै दैनिक ८ हजार सवारी साधन ओहोरदोहोर गर्छन् । त्यसमा १ हजारदेखि १ हजार ५ सय विभिन्न कम्पनीका कारले मात्र सडक ओगटेका छन् । अधिकांश निजी कार चढ्ने जग्गा व्यवसायी छन् ।


बुटवल आसपासमा जतिबेला जग्गा प्लटिङ फस्टायो त्यसैगरी चारपांग्रे सवारीको कारोबार पनि ह्वात्तै बढयो । घिमिरेका अनुसार पछिल्लो एक वर्षमा रोकिएको जग्गा प्लटिङले चारपांग्रे गाडीको कारोबार घट्दो छ । सरकारले कित्ता काट रोकेसँगै जग्गा व्यवसायी ‘टाट’ पल्टिने अवस्थामा पुगेका छन । महँगा र विलासी गाडी चढ्नेहरू धमाधम गाडी बेचेर साना गाडी रोज्दै छन् ।


जग्गा कारोबार फस्टाएकै समयमा यातायात व्यवस्था कार्यालय लुम्बिनीको तथ्यांकमा साना चारपांग्रे सवारी साधन दर्ता संख्या उल्लेख्य बढेको छ । आव ०६९ सम्म कार्यालयमा जिप र कार ४ हजार ६ सय ४७ दर्ता छन् । तीमध्ये झन्डै २ हजार निजी सवारी २०६५ पछि दर्ता भएका हुन् । त्यसयता ५ वर्षको अवधिमा ६ हजार ९ सय ८३ निजी कार दर्ता भएका छन् । आव ०७३/०७४ मा मात्र २ हजार ३ सय ३५ दर्ता भएकामा त्यो संख्या गत वर्ष ह्वात्तै घटेर ९ सय ६४ मा झरेको छ ।


बुटवलमा नाम चलेका सबै ब्रान्डका गाडीका अधिकृत बिक्रेता छन् । हुन्डाई, मारुती, फोर्डलगायत कम्पनीले वर्षमा १ सयदेखि ३ सयसम्म कार बिक्री गर्छन् । अन्य कम्पनीको पनि वार्षिक बिक्री १ सयसम्म हुन्छ । २० लाखदेखि २ करोड ५० लाख रुपैयाँसम्मका गाडी यहाँ उपलब्ध छन् ।


बुटवलका ग्राहकको रोजाइमा ३० देखि ८० लाख मूल्यका गाडी बढी पर्ने गरेका छन् । प्रविधि र विभिन्न फिचर्सले पनि गाडीमा ग्राहकको ध्यान तान्ने गरेको छ । प्रयोगपछिको मूल्यमा पनि ग्राहकले बढी चासो देखाएर गाडी रोज्ने गर्छन् । मर्मत, पार्टसको उपलब्धता र त्यसको मूल्यले पनि ग्राहकलाई गाडी रोजाइमा पार्छ । समय एयर ब्याग, इन्धन माइलेज, सञ्चार सुविधाले पनि ग्राहक आकर्षण गर्न थालेको छ । जग्गा कारोबारी, सामान्य व्यवसायी, डाक्टर र विभिन्न पेसा व्यवसाय गर्नेहरू नै यस क्षेत्रमा चलेका गाडीका ग्राहक हुन् । बुटवल, भैरहवा, मुर्गिया, तिलोत्तमा, देवदह क्षेत्रका व्यवसायीको कार आकर्षण बढ्दो छ ।

प्रकाशित : भाद्र २६, २०७५ ११:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?