प्रतिस्पर्धाले सुधार

नयाँ कम्पनीका बसहरुले आफ्ना कर्मचारीलाई पोसाक तोकिदिएका छन् भने यात्रुसँग शिष्ट भाषामा बोल्न र व्यवाहार गर्न तालिम नै दिएका छन्
लीलावल्लभ घिमिरे, विप्लव भट्टराई

काठमाडौँ — सार्वजनिक यातायातमा खुला प्रतिस्पर्धाले सुधार निम्त्याएको छ । पहिलेको जस्तो थोत्रा गाडीमा यात्रा गर्नु पर्ने बाध्यता छैन । बसका कर्मचारीहरूको रूखो बोली र तानातानको झन्झट पनि कम भएको छ । नयाँ कम्पनीका बसहरूले आफ्ना कर्मचारीलाई पोसाक तोकिदिएका छन् भने यात्रुसँग शिष्ट भाषामा बोल्न तालिम नै दिएका छन् ।

विगतको जस्तो कोचाकोच गरेर यात्रुसमेत खाँदिदैनन् । नयाँ आएका सगरमाथा, सूर्योदय र नागरिक बसले चोक पुग्नुअघि नै यात्रुहरूलाई झर्न तयारी रहन माइकिङ नै गर्छन् । ‘इटहरी चोकमा ओर्लनुहुने यात्रु महानुभावहरू तयारी अवस्थामा रहनुहोला’ चोक पुग्न लाग्दा माइकबाट यस्तो आवाज आउँछ । इटहरी मात्र हैन यी बसहरूमा हरेक चोक पुग्ने बेलामा चोकको नामसहित माइकिङ हुने गर्छ ।


सडक सञ्जालको विस्तारसँगै यातायातका साधन थपिने क्रम तीव्र छ । एक वर्षभित्र विराटनगरबाट चल्ने सार्वजनिक यातायातका साधन मात्र झन्डै २ सयको हाराहारीमा थपिएका छन् । यहाँबाट मेचीदेखि महाकालीसम्म यात्रुबाहक बस चल्ने गर्छन् । पूर्वको काँकडभिट्टा, ताप्लेजुङदेखि धनकुटा, भोजपुर, दिक्तेल, ओखलढुंगासम्म दैनिक यात्रुबाहक बस सञ्चालन हुन्छ भने पश्चिमतर्फ पोखरा, नेपालगन्ज, धनगढीसम्म बस चल्ने गर्छन् । विराटनगर बसपार्कबाट मात्र दैनिक १ हजार २ सय बस गन्तव्यका लागि निस्कने गर्छन् ।

Yamaha


नयाँ कम्पनीले छोटो दूरीको यात्रामा पनि टिकट अनिवार्य दिन्छन् । उनीहरूले यात्रुसँग गर्ने व्यवहार पनि सभ्य छ । यी कम्पनीहरूले आफ्ना कर्मचारीलाई तालिम दिएका छन् । पूर्व नेपाल यातायात व्यवसायी कम्पनीका अध्यक्ष राजन कँडेल पछिल्लो समय यात्रुको आवश्यकताभन्दा बढी बस सञ्चालनमा रहेको बताउँछन् ।


‘अहिले यात्रुभन्दा गाडी बढी भइसके,’ उनले भने, ‘सरकारले कुन क्षेत्रमा कति गाडी आवश्यक पर्छ भन्ने कुराको अध्यायन गर्नुपर्छ ।’ सडक विस्तार भए पनि सार्वजनिक यातायातका साधन सञ्चालन गर्न सक्ने अवस्थामा नरहेको कँडेलले बताए । ‘सडक बढेको छैन, गाडी मात्र थपिएका छन्,’ उनले भने, ‘पुराना गाडी विस्थापित गर्ने र नयाँ गाडी थप्ने नीति सरकारले ल्याउनै सकेको छैन ।’ पछिल्लो समय सरकारको नीतिका कारण यातायातमा लगानी गर्ने वातावरण नरहेको उनको भनाइ छ । अन्य क्षेत्रको तुलनमा पूर्व क्षेत्रमा सबै खाले सार्वजनिक यातायात सहज रहेको व्यवसायीहरू बताउँछन् । विराटनगरमा २ सयभन्दा बढी निजी भाडाका साना सवारी साधन छन् भने हरेक सहरमा त्यत्तिकै संख्यामा निजी सवारी साधन हुनाले यात्रुहरूलाई सहज छ ।

मेची राजमार्ग पनि सहज
झापाको चारआलीदेखि ताप्लेजुङसम्मको मेची राजमार्ग निर्माण भएयता चौडा गर्ने काम भएको छैन । तर, यो राजमार्गमा सवारीको चाप भने थेगिनसक्नु छ । मेचीका पहाडीसहित तेह्रथुमको संक्रान्ति क्षेत्रमा समेत यही राजमार्ग भएर सवारी साधन जाने गरेका छन् । त्यस्तै सीमावर्ती भारतीय क्षेत्रका सवारी साधन पनि यो क्षेत्रमा उत्तिकै दौडन्छन् । सवारी साधनको चाप तीव्र भए पनि राजमार्गलाई चौडा पार्ने काम हुन सकेको छैन । सूर्योदय नगरपालिकाले नगर क्षेत्रभित्र मेची राजमार्गलाई चौडा गर्ने अभियान थाले पनि प्रभावकारी हुन सकेको छैन । नगरपालिकाले कन्याम क्षेत्रमा सडक चौडा गर्ने भन्दै १५ मिटरभित्र ट्रयाक बढाउने काम गरे पनि स्तरोन्नतिको थप काम गरेको छैन ।


यी जिल्लाका गाउँगाउँसम्म सडक बनेकाले गाडी र मोटर साइकलको संख्या थपिँदो छ । हरेक जिल्लामा मोटरसाइकलका सोरुम खुलेका छन् । इलाम सदरमुकाममा रहेको यातायात व्यवस्था कार्यालयमा सवारी नवीकरण गर्ने तथ्यांकले अघिल्लो वर्षमा भन्दा ठूलो संख्यामा सवारी नवीकरण भएको देखाउँछ । ‘यहाँ बाहिर पनि नवीकरण गर्ने उत्तिकै भएकाले यो राजमार्गमा कति सवारी चल्छन् भन्न कठिन छ,’ कार्यालयका निमित्त प्रमुख दुर्गा दुलालले भने, ‘तर, सवारी साधनको चापचाहिँ बर्सेनि बढेर गएको छ ।’


कार्यालयमा आव ०७४/७५ मा ६ हजार ५ सय ९७ वटा सवारी साधन नवीकरण भए । २०७१ मा खुलेको यो कार्यालयमा आव ०७२/७३ मा ३ हजार ५ सय ६६ वटा सवारी साधन दर्ता भएका थिए । सबैभन्दा धेरै मोटर साइकलको संख्या बढेको हो ।


जिल्ला ट्राफिक कार्यालय इलामलाई पनि सवारी र मालबाहक गाडीको संख्या बढेसँगै ट्राफिक व्यवस्थापनमा हम्मे छ । वर्षौंदेखि उस्तै जनशक्तिले वढ्दो भार थेग्नुपरेको छ । ‘गाडी र मोटर साइकलको संख्या नियमित बढ्दो भएकाले व्यवस्थापनमा पनि उत्तिकै चुनौती छ,’ ट्राफिक प्रमुख पदम राईले भने, ‘अहिले नमुनाका लागि मेची राजमार्गको १० किलोमिटर क्षेत्र र इलाम बजारमा नमुना ट्राफिक व्यवस्थापन कार्यक्रम लागू गरिएको छ ।’ यो राजमार्गमा दिनमा १ हजार ५ सय धेरै सवारी साधन ओहोरदोहोर गर्ने अनुमान छ । यसमा अढाई सयभन्दा धेरै ट्याक्सी र जिप इलामबाट मात्र तराईका जिल्ला र गाउँगाउँका लागि छुट्छन् । पाँचथर र ताप्लेजुङमा करिब डेढ सय यस्ता गाडी आउजाउ गर्छन् ।


इलाम बजार र पशुपतिनगरबाट काठमाडौंका लागि ४ वटा रात्रि बस छुट्छन् । पशुपति धरान २ वटा बस र इलाम विराटनगर एउटा बस लाग्ने गरेको छ । इलामबाट ६ वटा माइक्रोबस काठमाडौंका लागि जान्छन् । केही सुमो र स्कर्पियो पनि काठमाडौं जाने गरेका छन् । इलाम, पाँचथर र ताप्लेजुङमा सामान ढुवानी र यहाँको उत्पादन निर्यातका लागि ५० हाराहारीमा ठूला ट्रक चल्छन् । यो राजमार्ग र भित्री गाउँसम्म २ सय जति टयाक्टर कुद्छन् ।


यो राजमार्ग र गाउँसम्म मोटर साइकल दगुर्ने क्रम भने धेरै छ । तीनवटै जिल्लामा गरी १ हजार धेरै मोटर साइकल कुद्ने अनुमान छ । सवारीका साधन बढेसँगै राजमार्ग जीर्ण हुने क्रम पनि उस्तै छ । मुख्यगरी इलामको गोलाखर्क, किटेनीलगायत खण्डमा सडक भासिने क्रम बढ्दो छ ।

प्रकाशित : भाद्र २६, २०७५ ११:२९
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

जग्गा कारोबारको भरोसा

घरजग्गा कारोबार बढेकै बेला साना सवारीको पनि बिक्री बढेको तथ्यांकले देखाउँछ
घनश्याम गौतम

काठमाडौँ — आठ वर्षअघि बुटवलको कालिकानगरमा फोर्ड गाडीको सोरुम सञ्चालन गर्दा त्यसका प्रबन्ध निर्देशक योगेश घिमिरेलाई चल्छ कि चल्दैन भन्ने ठूलै त्रास थियो । झन्डै ५ करोडको लगानीमा उनले व्यवसाय सुरु गर्दै थिए । तत्काल नाफाभन्दा पनि बैंकबाट लिएको ऋणको ‘ब्याज’ चुक्ता गर्ने अर्को ठूलो चुनौती र चिन्ता थियो ।



तर, समयले अप्ठयारो पारेन ।उनको व्यवसायभन्दा तीन वर्षअघि नै बुटवलमा सुरु भएको फरक व्यवसाय ‘जग्गा प्लटिङ’ फस्टायो । धेरै मानिस त्यता लागे । त्यसको प्रत्यक्ष फाइदा बुटवलमा घिमिरेजस्तै नयाँ अटो व्यवसायीलाई पुग्यो । जग्गा प्लटिङले धमाधम गति लियो । पहाडबाट तराई झर्नेको संख्या उस्तै बढयो । हरेक महिना ३० देखि ५० को संख्यामा जग्गा व्यवसायी थपिन थाले । विदेशबाट आएको रेमिटयान्सको ठूलो हिस्सा जग्गा खरिदमा प्रयोग भयो । त्यसको आम्दानीले धेरैलाई सोखिन बनायो ।


साइकल चढ्नेले मोटसाइकल किने । मोटरसाकलमा हुइँकिनेहरूले कार चढे । बुटवलमा चलेका जग्गा व्यवसायी रुक्मांगत घिमिरेका अनुसार कारको प्रयोग यसरी बढयो कि जग्गा किन्न आएको ग्राहकलाई कारमा लगिएन भने उसले पत्याउँदैन र कारोबार नै हुँदैन ।


मालपोत कार्यालयको तथ्यांकमा रूपन्देहीमा सबैभन्दा धेरै जग्गा प्लटिङको कारोबार २०६५ देखि २०७३ सम्म छ । १५ वर्षको अवधिमा रूपन्देहीमा मात्र ७ हजार हेक्टर खेतीयोग्य जमिनको क्षेत्रफल घटेको छ ।बुटवल, तिलोत्तमा, देवदह, सैनामैना नगरपालिकामा बस्ती विकास तीव्र छ ।तिलोत्तमा नगरपालिकामा वर्षमा १ हजार १ सय, बुटवल उपमहानगरपालिका र देवदह नगरपालिकामा पनि वर्षमा ८ सय बढी घर थपिने गरेको देखिन्छ ।


तीनवटै नगरपालिकाका अधिकांश वडा पक्की सडकले जोडिएका छन् । ती सडकमा ५० प्रतिशत साना चारपांग्रे सवारी साधन मात्र गुड्छन् । त्यही तथ्यांक मात्र हेर्दा पनि बुटवल र आसपासमा भएको तीव्र विकाससँगै दैनिक ८ हजार सवारी साधन ओहोरदोहोर गर्छन् । त्यसमा १ हजारदेखि १ हजार ५ सय विभिन्न कम्पनीका कारले मात्र सडक ओगटेका छन् । अधिकांश निजी कार चढ्ने जग्गा व्यवसायीछन् ।


बुटवल आसपासमा जतिबेला जग्गा प्लटिङ फस्टायो त्यसैगरी चारपांग्रे सवारीको कारोबार पनि ह्वात्तै बढयो । घिमिरेका अनुसार पछिल्लो एक वर्षमा रोकिएको जग्गा प्लटिङले चारपांग्रे गाडीको कारोबार घट्दो छ । सरकारले कित्ता काट रोकेसँगै जग्गा व्यवसायी ‘टाट’ पल्टिने अवस्थामा पुगेका छन । महँगा र विलासी गाडी चढ्नेहरू धमाधम गाडी बेचेर साना गाडी रोज्दै छन् ।


जग्गा कारोबार फस्टाएकै समयमा यातायात व्यवस्था कार्यालय लुम्बिनीको तथ्यांकमा साना चारपांग्रे सवारी साधन दर्ता संख्या उल्लेख्य बढेको छ । आव ०६९ सम्म कार्यालयमा जिप र कार ४ हजार ६ सय ४७ दर्ता छन् । तीमध्ये झन्डै २ हजार निजी सवारी २०६५ पछि दर्ता भएका हुन् । त्यसयता ५ वर्षको अवधिमा ६ हजार ९ सय ८३ निजी कार दर्ता भएका छन् । आव ०७३/०७४ मा मात्र २ हजार ३ सय ३५ दर्ता भएकामा त्यो संख्या गत वर्ष ह्वात्तै घटेर ९ सय ६४ मा झरेको छ ।


बुटवलमा नाम चलेका सबै ब्रान्डका गाडीका अधिकृत बिक्रेता छन् । हुन्डाई, मारुती, फोर्डलगायत कम्पनीले वर्षमा १ सयदेखि ३ सयसम्म कार बिक्री गर्छन् । अन्य कम्पनीको पनि वार्षिक बिक्री १ सयसम्म हुन्छ । २० लाखदेखि २ करोड ५० लाख रुपैयाँसम्मका गाडी यहाँ उपलब्ध छन् ।


बुटवलका ग्राहकको रोजाइमा ३० देखि ८० लाख मूल्यका गाडी बढी पर्ने गरेका छन् । प्रविधि र विभिन्न फिचर्सले पनि गाडीमा ग्राहकको ध्यान तान्ने गरेको छ । प्रयोगपछिको मूल्यमा पनि ग्राहकले बढी चासो देखाएर गाडी रोज्ने गर्छन् । मर्मत, पार्टसको उपलब्धता र त्यसको मूल्यले पनि ग्राहकलाई गाडी रोजाइमा पार्छ । समय एयर ब्याग, इन्धन माइलेज, सञ्चार सुविधाले पनि ग्राहक आकर्षण गर्न थालेको छ । जग्गा कारोबारी, सामान्य व्यवसायी, डाक्टर र विभिन्न पेसा व्यवसाय गर्नेहरू नै यस क्षेत्रमा चलेका गाडीका ग्राहक हुन् । बुटवल, भैरहवा, मुर्गिया, तिलोत्तमा, देवदह क्षेत्रका व्यवसायीको कार आकर्षण बढ्दो छ ।

प्रकाशित : भाद्र २६, २०७५ ११:२९
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT