कर्णालीमा ‘अफरोड’ गाडी

यहाँको सडकको कारण गाडी किन्ने रहर र हैसियत भएकाहरूको रोजाइमा कारभन्दा ‘मल्टियुटिलिटी भेहिकल’ पर्ने गरेका छन्
कलेन्द्र सेजुवाल

काठमाडौँ — होटल व्यवसायी तर्कबहादुर शाही चिल्लो कार किन्न नसक्ने होइनन् । तर, उनको रोजाइमा कार कहिल्यै परेन । बरु तीनवटा ‘अफ रोड’ गाडी किनेका छन् । ‘कार किनेर के गर्नु, यहाँ चलाउने ठाउँ नै छैन,’ उनी भन्छन्, ‘त्यसैले आफू र पाहुनलाई समेत बोक्न मिल्ने कच्ची बाटोमा गुड्ने (अफरोड) गाडी किनेको छु ।’

कर्णाली प्रदेशमा गाडी किन्ने रहर र हैसियत भएका शाहीजस्ताका लागि कारभन्दा ‘मल्टियुटिलिटी भेहिकल’ का रूपमा चिनिने स्कार्पियो, बोलेरो, फोर्स, हाइलक्स र टाटा गाडी रोजाइमा पर्ने गरेका छन् । यहाँको सडकको कारण पनि स्थानीय यी गाडीमा आकर्षित छन् ।


कर्णाली प्रदेशमा साना सवारी (कार, गाडी) चलाउन मिल्ने ठाउँ सुर्खेत मात्र हो । सुर्खेतमै पनि सडकको अवस्था बताउँछन् । ‘प्रदेशको सडक सुहाउँदो भएकाले हाम्रो कम्पनीका गाडीको माग बढी छ,’ उनी भन्छन्, ‘कच्ची सडकमा चलाउन मिल्ने र व्यक्तिगत वा व्यावसायिक दुवै प्रयोजनमा प्रयोग गर्न सकिनु यसको विशेषता हो ।’ कर्णालीमा महिन्द्राका यी दुई गाडीलाई टाटाको ‘अफरोड’ गाडीले पछयाएका छन् । टाटाको आधिकारिक बिक्रेता सिप्रदीको सुर्खेत कार्यालय प्रमुख विवेक आचार्यका अनुसार अहिले सरकारी कार्यालय र बजारमा समेत गरी करिब पाँच सयको संख्यामा बिक्री भएका छन् ।

Yamaha


फोर्स र हाइलेक्स गाडी पनि कर्णालीमा भित्रिन सुरु भएको छ । सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्षसमेत रहेका सुजुकी कम्पनीका अधिकृत विक्रेता प्रकाश अधिकारी कच्ची सडकमा चलाउन मिल्ने र व्यक्तिगत तथा व्यावसायिक काममा उपयोगी हुने गाडीप्रति उपभोक्ताको आकर्षण बढिरहेको बताउँछन् । करिब एक दशकसम्म नेपालगन्जबाट सुजुकीको डिलर सञ्चालन गरेका उनी भन्छन्, ‘तराईका सहरी क्षेत्रमा साना कारको माग रहे पनि कर्णाली प्रदेशका जिल्लामा भने ‘अफरोड’ गाडी नै प्रिय छन् ।’

रारा–यात्राले आकर्षण
देशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रहेको राराले गर्दा पनि सुर्खेतलगायत आसपासका जिल्लामा ‘अफरोड’ गाडीको माग बढ्दो छ । सुर्खेत रारा–यात्राको प्रवेशद्वार हो । रारा जाने यात्रुका लागि पहिलो रोजाइ पाँचदेखि आठ सिट क्षमताका यिनै गाडी पर्छन् । एउटा गाडीले ५० देखि ६५ हजार रुपैयाँसम्ममा राराको पाँच दिनको प्याकेज दिन्छन् । ‘सुरुसुरुमा त आम्दानी निकै राम्रो थियो, अहिले गाडी धेरै हुँदा रारामा सबैको व्यापार घटेको छ,’ होटल व्यवसायी शाही भन्छन्, ‘अब व्यवसायीले नयाँ पर्यटकीय गन्तव्यतिर पनि ध्यान दिनुपर्छ ।’ डबल क्याबवाला बोलेरोमा त चार यात्रुसहित पाँच क्विन्टलसम्म सामान बोक्न मिल्छ । यसले पनि रारा जाने यात्रुलाई सहज बनाएको शाही बताउँछन् ।


उनका अनुसार रारा–यात्रा असोजदेखि सुरु भई जेठसम्म चल्छ । बर्खाको तीन–चार महिना मात्र रारामा पर्यटक जाँदैनन् । भाडाकै भर सुर्खेतलगायत कर्णाली प्रदेशमा जति पनि ‘अफरोड’ गाडी भित्र्याइएका छन्, ती सबैको उद्देश्य व्यवसाय गर्नु हो । यस्ता गाडी दैनिक र मासिक रूपमा भाडामा लगाउने गरिन्छन् । एउटा गाडी दैनिक करिब पाँच हजार रुपैयाँमा भाडामा जान्छ । यो दर मासिक करिब ८० हजारदेखि १ लाख २० हजारसम्म छ । सिटी क्याप यातायात प्रालिका सञ्चालक सदस्य रहेका वीरेन्द्रनगरका उत्सव प्याकुरेलले व्यावसायिक प्रयोजनका लागि दुईवटा स्कर्पियो किनेका छन् । उनका यात्रु रारा, पञ्चकोसीलगायत क्षेत्रमा जाने पर्यटकदेखि बिरामीसम्म हुने गरेका छन् । ‘आपतबिपतमा परेको कोही मान्छे भेटियो भने प्रचलित दरमा घाटा नहुने गरी सेवा प्रवाह गर्ने गरेका छौं,’ उनी भन्छन्, ‘यति नगरे त गाडीको किस्ता पनि तिर्न सकिन्न ।’


स्कर्पियोधनीले सामान्यतया मासिक ६० हजार रुपैयाँसम्म किस्ता तिर्छन् । गाडी नचल्ने हो भने घरबाट किस्ता तिर्नुपर्छ । त्यसैले पनि उनीहरू व्यक्तिगत काममा भन्दा व्यावसायिक प्रयोजनमै बढी प्रयोग गर्छन् । प्याकुरेलका अनुसार यी गाडीको पहिलो पर्यटकीय गन्तव्य रारा, पञ्चकोसी हुने गर्छ । त्यसपछि सुर्खेत–नेपालगन्ज रुटमा ओहोरदोहोर बढी हुन्छ । कर्णालीका स्थानीयले आफ्नो आर्थिक क्षमताअनुसार यहाँका सडक सुहाउँदा गाडीहरू भित्र्याएका छन् । कर्णालीका कच्ची सडकमा २५ लाखको बोलेरोदेखि ९० लाखको हाइलक्ससम्म गुडिरहेका छन् । गाडीको मूल्य जति भए पनि सबैको उद्देश्य व्यावसायिक प्रयोजन नै हो । ‘ग्राहकहरू पनि आफ्नो गच्छेअनुसार गाडी चढ्छन्, सस्तो गाडीको भाडा सस्तो, महँगोको महँगै हुन्छ,’ शाही भन्छन्, ‘कस्तो गाडी चढ्ने भन्ने कुरा गाडी र पैसामा भर पर्छ ।’ सिंगो प्रदेश सरकार स्कर्पियोमा स्थानीय सर्वसाधारण मात्र होइनन्, सिंगो कर्णाली प्रदेश सरकारसमेत स्कर्पियोमा सवार छ । मुख्यमन्त्रीसहित सबै ६ मन्त्रीका सवारी स्कर्पियो छन् । प्रदेश प्रमुख, सभामुख, प्रमुख सचिवसहित सामाजिक विकास, आन्तरिक मामिला तथा कानुन, आर्थिक मामिला तथा योजना र भौतिक योजना तथा पूर्वाधार मन्त्रालयका सचिव पनि स्कर्पियो चढ्छन् ।


मुख्यमन्त्री कार्यालयका सूचना अधिकारी केशव उपाध्यायका अनुसार अन्य केही सचिवका लागि टाटाको फोर्ड, निसानको पिकअप व्यवस्था गरिएको छ । ‘गाडीहरू नयाँ पुरानो जे–जस्ता भए पनि अधिकांश पदाधिकारीका लागि स्कर्पियो नै प्रयोगमा छन्,’ उनले भने, ‘केही नयाँ गाडी पनि माग गरिएका छन्, ती कुन ब्रान्डका आउँछन्, अहिल्यै भन्न सकिन्न ।’ प्रदेशका पदाधिकारीले कारको रहर नगरेका होइनन् । तर, केन्द्र सरकारले काठमाडौंमा रहेका स्कर्पियो पठाइदियो । हुन पनि यी स्कर्पियो मुख्यमन्त्रीसहित मन्त्रीका लागि यति उपयोगी भएका छन् कि जिल्ला दौडाहामा निकै सहजता प्रदान गरेका छन् । वैशाख १ गते मुगुको रारामा आयोजित कर्णाली–रारा पर्यटन महोत्सवको क्रममा यिनै गाडी ताँती लागेर रारा पुगेका थिए ।

Esewa Pasal

प्रकाशित : भाद्र २६, २०७५ ११:२९
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

जग्गा कारोबारको भरोसा

घरजग्गा कारोबार बढेकै बेला साना सवारीको पनि बिक्री बढेको तथ्यांकले देखाउँछ
घनश्याम गौतम

काठमाडौँ — आठ वर्षअघि बुटवलको कालिकानगरमा फोर्ड गाडीको सोरुम सञ्चालन गर्दा त्यसका प्रबन्ध निर्देशक योगेश घिमिरेलाई चल्छ कि चल्दैन भन्ने ठूलै त्रास थियो । झन्डै ५ करोडको लगानीमा उनले व्यवसाय सुरु गर्दै थिए । तत्काल नाफाभन्दा पनि बैंकबाट लिएको ऋणको ‘ब्याज’ चुक्ता गर्ने अर्को ठूलो चुनौती र चिन्ता थियो ।



तर, समयले अप्ठयारो पारेन ।उनको व्यवसायभन्दा तीन वर्षअघि नै बुटवलमा सुरु भएको फरक व्यवसाय ‘जग्गा प्लटिङ’ फस्टायो । धेरै मानिस त्यता लागे । त्यसको प्रत्यक्ष फाइदा बुटवलमा घिमिरेजस्तै नयाँ अटो व्यवसायीलाई पुग्यो । जग्गा प्लटिङले धमाधम गति लियो । पहाडबाट तराई झर्नेको संख्या उस्तै बढयो । हरेक महिना ३० देखि ५० को संख्यामा जग्गा व्यवसायी थपिन थाले । विदेशबाट आएको रेमिटयान्सको ठूलो हिस्सा जग्गा खरिदमा प्रयोग भयो । त्यसको आम्दानीले धेरैलाई सोखिन बनायो ।


साइकल चढ्नेले मोटसाइकल किने । मोटरसाकलमा हुइँकिनेहरूले कार चढे । बुटवलमा चलेका जग्गा व्यवसायी रुक्मांगत घिमिरेका अनुसार कारको प्रयोग यसरी बढयो कि जग्गा किन्न आएको ग्राहकलाई कारमा लगिएन भने उसले पत्याउँदैन र कारोबार नै हुँदैन ।


मालपोत कार्यालयको तथ्यांकमा रूपन्देहीमा सबैभन्दा धेरै जग्गा प्लटिङको कारोबार २०६५ देखि २०७३ सम्म छ । १५ वर्षको अवधिमा रूपन्देहीमा मात्र ७ हजार हेक्टर खेतीयोग्य जमिनको क्षेत्रफल घटेको छ ।बुटवल, तिलोत्तमा, देवदह, सैनामैना नगरपालिकामा बस्ती विकास तीव्र छ ।तिलोत्तमा नगरपालिकामा वर्षमा १ हजार १ सय, बुटवल उपमहानगरपालिका र देवदह नगरपालिकामा पनि वर्षमा ८ सय बढी घर थपिने गरेको देखिन्छ ।


तीनवटै नगरपालिकाका अधिकांश वडा पक्की सडकले जोडिएका छन् । ती सडकमा ५० प्रतिशत साना चारपांग्रे सवारी साधन मात्र गुड्छन् । त्यही तथ्यांक मात्र हेर्दा पनि बुटवल र आसपासमा भएको तीव्र विकाससँगै दैनिक ८ हजार सवारी साधन ओहोरदोहोर गर्छन् । त्यसमा १ हजारदेखि १ हजार ५ सय विभिन्न कम्पनीका कारले मात्र सडक ओगटेका छन् । अधिकांश निजी कार चढ्ने जग्गा व्यवसायीछन् ।


बुटवल आसपासमा जतिबेला जग्गा प्लटिङ फस्टायो त्यसैगरी चारपांग्रे सवारीको कारोबार पनि ह्वात्तै बढयो । घिमिरेका अनुसार पछिल्लो एक वर्षमा रोकिएको जग्गा प्लटिङले चारपांग्रे गाडीको कारोबार घट्दो छ । सरकारले कित्ता काट रोकेसँगै जग्गा व्यवसायी ‘टाट’ पल्टिने अवस्थामा पुगेका छन । महँगा र विलासी गाडी चढ्नेहरू धमाधम गाडी बेचेर साना गाडी रोज्दै छन् ।


जग्गा कारोबार फस्टाएकै समयमा यातायात व्यवस्था कार्यालय लुम्बिनीको तथ्यांकमा साना चारपांग्रे सवारी साधन दर्ता संख्या उल्लेख्य बढेको छ । आव ०६९ सम्म कार्यालयमा जिप र कार ४ हजार ६ सय ४७ दर्ता छन् । तीमध्ये झन्डै २ हजार निजी सवारी २०६५ पछि दर्ता भएका हुन् । त्यसयता ५ वर्षको अवधिमा ६ हजार ९ सय ८३ निजी कार दर्ता भएका छन् । आव ०७३/०७४ मा मात्र २ हजार ३ सय ३५ दर्ता भएकामा त्यो संख्या गत वर्ष ह्वात्तै घटेर ९ सय ६४ मा झरेको छ ।


बुटवलमा नाम चलेका सबै ब्रान्डका गाडीका अधिकृत बिक्रेता छन् । हुन्डाई, मारुती, फोर्डलगायत कम्पनीले वर्षमा १ सयदेखि ३ सयसम्म कार बिक्री गर्छन् । अन्य कम्पनीको पनि वार्षिक बिक्री १ सयसम्म हुन्छ । २० लाखदेखि २ करोड ५० लाख रुपैयाँसम्मका गाडी यहाँ उपलब्ध छन् ।


बुटवलका ग्राहकको रोजाइमा ३० देखि ८० लाख मूल्यका गाडी बढी पर्ने गरेका छन् । प्रविधि र विभिन्न फिचर्सले पनि गाडीमा ग्राहकको ध्यान तान्ने गरेको छ । प्रयोगपछिको मूल्यमा पनि ग्राहकले बढी चासो देखाएर गाडी रोज्ने गर्छन् । मर्मत, पार्टसको उपलब्धता र त्यसको मूल्यले पनि ग्राहकलाई गाडी रोजाइमा पार्छ । समय एयर ब्याग, इन्धन माइलेज, सञ्चार सुविधाले पनि ग्राहक आकर्षण गर्न थालेको छ । जग्गा कारोबारी, सामान्य व्यवसायी, डाक्टर र विभिन्न पेसा व्यवसाय गर्नेहरू नै यस क्षेत्रमा चलेका गाडीका ग्राहक हुन् । बुटवल, भैरहवा, मुर्गिया, तिलोत्तमा, देवदह क्षेत्रका व्यवसायीको कार आकर्षण बढ्दो छ ।

प्रकाशित : भाद्र २६, २०७५ ११:२९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT