सवारी सुरक्षा

आधुनिक युगमा कार पांग्राहरूमाथिको एउटा कम्प्युटर होइन, पांग्रामाथिका धेरै कम्प्युटरहरू बनेका छन्
दिनेश यादव

काठमाडौँ — सन् २०१७ मा कारहरूका लागि साइबर सुरक्षा बजारको मूल्य ७८.४८ मिलियन अमेरिकी डलर थियो । यो बढ्दो क्रममा छ । एक अनुसन्धानअनुसार सन् २०२३ सम्म यो ५८६.१४ मिलियन डलर पुग्दै छ । पूर्वानुमान अवधि (२०१८–२०२३) मा कारको सुरक्षा बजार ४९ दशमलव ५ प्रतिशतले वृद्धि हुने बताइएको छ ।

सवारी सुरक्षा

यसबारे गरिएको अध्ययनको सीमा हार्डवेयर, सफ्टवेयर, व्यावसायिक सेवाहरू र एकीकृत समाधानसम्म मात्रै सीमित रहेको पाइएको छ । अध्ययनमा अमेरिका, युरोप, जापान र अन्य केही मुलुकलाई समावेश गरिएको थियो । अध्ययनमा कार, अटोमोटिभ सुरक्षा मूल्यांकन, साइबर सुरक्षा मानक र पहलमाथि जोड दिइएको थियो ।


हाल विश्वमा अटोमोटिभ उद्योगले ‘इनोभेसन’ को तरंग र ‘ग्राउन्ड ब्रेकिङ टेक्नोलजी’ को अनुगमनबीच कडा प्रतिस्पर्धा गरिरहेको छ । खासगरी इन्टरनेट अफ थिङ (आईओटी) लाई पारम्परिक वाहनहरूको तुलनामा नयाँलाई सुरक्षित बनाउँदै लगिएको छ । उन्नत जीपीएस स्थान र रेखदेखका लागि लाइभ रेकर्डिङ, वाईफाई सेवा, ड्राइभिङ सहायतालगायतका सेवाहरू उपलब्ध रहेका कारहरूको माग हाल बढ्दै गएको छ । एक अनुमानअनुसार सन् २०२० सम्ममा विश्वभरिका ९२ मिलियन कारहरूमध्ये ७५ प्रतिशत कारहरूमा यी सेवाहरू कुनै न कुनै रूपमा जोडिकै हुनेछन् । यस्तो अवस्थामा सुरक्षाको चासो पनि बढ्ने निश्चित छ ।


अमेरिकाको मिसिगन राज्यको डेट्राइटमा अगस्टको पहिलो साता ‘ग्लोबल अटोमोटिभ साइबर सेक्युरिटी सम्मेलन’ भएको थियो । त्यहाँ पनि अत्याधुनिक कारहरूको सुरक्षाबारे व्यापक छलफल भएको थियो । सम्मेलनमा आर्टिफिसियल इन्टेलिजेन्स (कृत्रिम बुद्धि) को उपयोग गरी अटोमोटिभ सुरक्षाको बहस गरिएको थियो । अमेजोन, गुगल र माइक्रोसफ्टलगायतका टेक कम्पनीहरू त्यसमा सहभागी भएका थिए । अगामी दशकमा कार टेक्नोलजी इनोभेसनमा अग्रपंक्तिमा रहने विज्ञहरूले अनुमान गरेका छन् । यसमा यात्रुको सुरक्षादेखि कारको सुरक्षा पनि चुनौतीपूर्ण हुने भएकाले कार निर्माता कम्पनीले सर्वसाधारणको विश्वास कायमै राख्नका लागि कडा परिश्रम गरिरहेका छन् ।


हयाकरहरूले कम्प्युटरमा आक्रमण गरेको धेरैले सुन्नुभएकै छ । तर, अब हयाकरहरूले कारहरूमा समेत आक्रमण गर्ने हैसियतमा पुगेका छन् । किन र कसरी कारलाई हयाक गर्ने ? यसको कारण एकदमै सरल छ, कारमा समेत विभिन्न सफ्टवेरको प्रयोग कनेक्टिभिटीका लागि गरिएको छ । ब्लुटुथ, वाईफाईसहित सेलुलर कनेक्टिभिटीले उनीहरूलाई सजिलो पारिदिएको छ । तर, तपाईंले आफ्नो कार हयाक हुनेबारे चिन्ता गर्नु पर्दैन । यसको समाधानका उपाय पनि खोजिसकिएको छ । यसका लागि सबैभन्दा पहिले तपाईं नै सचेत हुनुपर्छ । कारलाई नियमित चेकअफमा राख्नुपर्छ । तपार्इंको कारलाई सफ्टवेयर डिलरहरूमा गई नियमित अपडेटेड गराइरहनुहोस् । केही कार निर्माता कम्पनीहरूले सफ्टवेयरमा हुने कमजोरीलाई हटाउने प्रयास गरिहेका छन् । केहीले भने सेलुलर नेटवर्कको उपयोग गर्दै कमजोरी हटाउन सक्षम भइसकेका छन् । केही अटोमेकर्सले नियमित रूपमा मेन्टेनेन्सका लागि सर्भिस केन्द्रहरूमा गएर कमजोरीलाई हटाउन आफ्ना ग्राहकलाई अनुरोध गरिरहेका छन् । स्वचालित क््रयास सूचनाको माध्यमबाट जीवन बचाउनका लागि आवश्यक सेलुलर मोडेमको उपयोग पनि गरिएको पाइन्छ । यीमध्ये सही विकल्पको छनोट गरी कारको सुरक्षा गर्न सकिन्छ ।


कार मालिकहरूले मात्रै हैन, निर्माता कम्पनीहरूले पनि सम्भावित खतराहरूको पहिचान गरी त्यसको समाधानका साथ अघि बढ्नुपर्छ । अर्थात् अटो निर्माताहरूले ठूलो हयाकिङको खतराहरूलाई पहिचान गर्न जरुरी छ । यसका लागि व्यापक अपरेटिङ आर्किटेक्चरसहित कारहरूमा अत्याधुनिक सुरक्षाका उपायहरूको अवलम्बन गर्नुपर्छ । त्यस्तै वाहन सुरक्षा सञ्चालन केन्द्रको निर्माण र त्यहाँ सुरक्षा चुनौतीहरूको विश्लेषण गर्दै समस्याहरूको समाधानका लागि नया रणनीति निर्माण गर्न जरुरी छ ।


अन्त्यमा अहिलेको आधुनिक युगमा कुनै कार पांग्राहरूमाथिको एउटा कम्प्युटर मात्रै होइन, पांग्रामाथिका धेरै कम्प्युटरहरू हो । नयाँ कारहरूमा ५० या योभन्दा बढी विद्युत् नियन्त्रित एकाइहरू (ईसीयू) एकै साथ नेटवर्क हुन सक्छ र प्रत्येक नेटवर्क एउटा छुट्टै कम्प्युटरजस्तै काम गरिरहेको हुन्छ । सन् २०२० सम्ममा २५० मिलियन कनेक्टेड कारहरू सडकहरूमा हुनेछन् । प्रत्येक कारमा २ सय या बढी सेन्सरसँग जोडिएका कनेक्टरहरूले सूचनाहरू सम्प्रेषण गर्न, सडकको अवस्था, कारको स्थिति र चालकको व्यवहारलगायतका जानकारीहरू एकत्रित गर्छ । यस्तो अवस्थामा साइबर सुरक्षाको खतरा पनि उत्तिकै हुन्छ ।
(एजेन्सीहरूको सहयोगमा)

प्रकाशित : भाद्र २६, २०७५ ११:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?