१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

आयातमै निर्भर स्पेयर पार्ट्स

गत वर्ष २४ अर्बको आयात, माग बर्सेनि १५ प्रतिशतले बढ्दै
राजु चौधरी

काठमाडौँ — सवारी साधनका लागि आत्यावश्यक स्पेयर पाटर््स आयातमै निर्भर हुने गरेको छ । मुलुकभित्रै स्पेयर पार्ट्स उत्पादन गर्ने चर्चा चले पनि यसले मूर्त रूप लिन सकेको छैन ।

आयातमै निर्भर स्पेयर पार्ट्स

गोरखकाली टायर उद्योग सञ्चालन हुन नसक्दा टायरटयुबमा मात्रै वार्षिक ८ अर्ब रुपैयाँ बाहिरिएको छ । अन्य स्पेयर पार्ट्सका लागि करिब १६ अर्ब रुपैयाँ बाहिरिएको नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले जनाएको छ ।


नाडाका महासचिव एवं स्पेयर पार्ट्स समिति सभापति सुनील रिजालका अनुसार टायरबाहेक अन्य पार्टस उत्पादन गर्ने करिब ४ वटा उद्योग सञ्चालन हुन सकेका छैनन् । जसले गर्दा आयातमै निर्भर हुनुपरेको छ । ‘स्पेयर पार्ट्सको बजार राम्रो भए पनि सञ्चालन गर्न सक्ने वातावरण भएन । टायर उद्योगबाहेक अन्य ४ वटा उद्योग बन्द छन्,’ महासचिव रिजालले भने, ‘उद्योग सञ्चालन हुन नसक्दा वार्षिक २४ अर्ब रुपैयाँभन्दा बढी बाहिरिएको छ ।’


नाडाका अनुसार यसको माग बर्सेनि १५ प्रतिशतले बढ्दै गएको छ । रिजालका अनुसार हाल मुलुकमा यू बोल्ट र सेन्ट्रल बोल्ट मात्र बन्छ । त्योबाहेक अन्य कुनै उत्पादन हुँदैन ।
नाडाका कोषध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको भनाइ पनि उस्तै छ । ‘गोरखकाली टायर उद्योग सञ्चालन भए स्वदेशी माग पूर्ण रूपमा धान्छ । आयातको आवश्यकता नै पर्दैन,’ उप्रेतीले भने, ‘उद्योग सञ्चालन नहुँदा टायर खरिदमा मात्रै ८ अर्ब रुपैयाँ बाहिरिएको छ ।’


चीन सरकारको सहयोगमा निर्माण भएको उक्त उद्योग तत्काल सञ्चालनका लागि करिब ८२ करोड रुपैयाँ लाग्ने सरकारी अधिकारीहरू बताउँछन् । तर, लगानी गरेर सञ्चालन गर्नतर्फ सरकारको ध्यान गएको देखिँदैन ।


नाडाका अनुसार भन्सारका कारण विवाद स्पेयर पार्ट्समै छ । भन्सारका कर्मचारीले स्पेयर पाटर््सलाई, चोरेर ल्याएर बिक्री गरेको भन्ने आरोप लगाउने गुनासो व्यवसायी गर्छन् । ‘अन्य क्षेत्र हेरी अटोमोबाइल क्षेत्र धेरै पारदर्शी भइसकेको छ ।


भारतमा जीएसटी लागू भइसकेपछि दुई नम्बर काम गर्नेहरू विस्थापित भइसकेका छन् । जीएसटी लागिसकेपछि अनुशासित व्यापार ३० प्रतिशतले बढेको छ,’ रिजालले भने, ‘त्यसकारण अब सरकारी कर्मचारीले हामीलाई विश्वास गर्नुपर्छ ।’ स्पेयर पार्ट्सको उद्योग नेपालमै खोल्न सक्ने अवस्था छ । तर, यसका लागि केही नीतिगत समस्या छ । ‘एसेम्बलिङ प्लान्ट पनि खुलेका छन् । तर, यो कामका कच्चा पदार्थ र तयारी सामग्रीमा बराबर भन्सार महसुल लाग्ने व्यवस्थाले समस्या भयो,’ रिजालले भने । भन्सार महसुलको अन्तर घटाउनुपर्ने उनले बताए ।


उप्रेतीका अनुसार एक वर्षअघिसम्म टायर व्यवसायीहरूले भन्सार सुविधा पाएका थिए । तर, अहिले उक्त सुविधा पनि कटौती भएको उनको दुखेसो छ । ‘१५ देखि २० प्रतिशत भन्सार लाग्ने गरेकामा करिब ७ प्रतिशत छुटको सुविधा पाउने गरेका थियौं । तर, हाल सुविधा कटौती भएको छ,’ कोषध्यक्ष उप्रेतीले भने, ‘सुविधा नदिँदा टायर उद्योगमा लगानी हुँदैन ।’ एउटा सरकारले एउटा नीति ल्याउने अर्कोले त्यसलाई परिवर्तन गर्ने गर्दा लगानीमा असर परेको उनले बताए ।


‘सरकारले नीतिहरू स्पष्ट पारिदिने हो भने सवारी साधनको स्पेयर पाटर््स, लुब्रिकेन्ट, टायर उद्योगको सम्भावना नेपालमै छ,’ उनले भने, ‘यहाँ मात्रै उपयोग गर्ने हैन निर्यात पनि गर्न सक्छांै । तर, सरकारले हामीलाई जग्गा प्राप्ति, विद्युत् आपूर्ति, श्रमिकको समस्या सामधान, सामाजिक सुरक्षाको ग्यारेन्टी गरिदिनुपर्‍यो ।’


भन्सार विभागका निर्देशक सवारी साधन र पार्टस आयात गर्दा भन्सारमा देखिएको समस्या क्रमश: कम हुँदै गएको बताए । ‘कार्यस्थलमा केही सानातिना समस्याबाहेक अटोमोबाइल क्षेत्रमा धेरै समस्या छैन,’ उनले भने । उनले स्पेयर पार्ट्सको समस्या सामधान गर्न अधिकतम खुद्रा मूल्य (एमआरपी) को कार्यान्वयनको तयारी भइरहेको बताए ।


‘म पनि भन्सार नाकाको कार्यस्थलमै खटिएर यहाँसम्म आएको कर्मचारी हुँ । एमआरपी मूल्यअनुसार कारोबार गर्दा स्पेयर पाटर््समा पनि समस्या छैन,’ उनले भने, ‘ब्रान्ड नखुलेका र एमआरपी नटाँसिएका सामानमा समस्या हुने गरेको छ । हामीले एमआरपीअनुसार काम गर्नु भनेर भन्सार कार्यालयहरूलाई स्पष्ट निर्देशन दिएका छौं । ब्रान्डेड कम्पनीहरूका सामान स्पष्ट मूल्य खुलाएर आउने गरेको छ, त्यसमा समस्या छैन ।’


उद्योग स्थापना भएपछि सरकारले बिस्तारै सुविधा दिने बताए । आयातमा कच्चा पदार्थ र तयारी सामग्रीमा समान भन्सार सुविधाको विषयमा थप अध्ययन भइरहेको उनले बताए । व्यवसायीका अनुसार मुलुकमा ३ किसिमले स्पेयर पाटर््स आयात हुन्छ । पहिलो गाडी आयातकर्ताले नै ल्याउँछन् । अर्को खुला बजार भएकाले अन्यले अवैधानिक बाटोबाट ल्याउँछन् । तेस्रो पूरै भन्सार छलेर मुलुकमा भित्रिने गरेको जानकारहरू बताउँछन् । कमसल पार्टसको प्रयोग हुँदा दुर्घटना हुने सम्भावना पनि उत्तिकै हुने व्यवसायीहरू बताउँछन् । भन्सार विभागका अनुसार गत वर्ष ८६ अर्ब ३ करोड रुपैयाँको सवारी साधान र त्यसका पार्ट्सहरू आयात भएको थियो । यसबाट ८० अर्ब भन्सार राजस्व संकलन भएको छ । ३ खर्ब १६ अर्ब भन्सार राजस्व संकलन भएकामा यातायातको योगदान २५ प्रतिशतभन्दा बढी छ ।

प्रकाशित : भाद्र २६, २०७५ ११:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?