कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रूखले जोगायो ज्यान

मोहन बुढाऐर

धनगढी — कहिले सडकको दायाँबायाँ गाडी कुदाउने । कहिले सम्मै बाटामा पनि अचानक ब्रेक लगाउने । बुधबार साँझ दार्चुलाबाट महेन्द्रनगरतर्फ लागेको गाडीचालकको व्यवहार हेरेर यात्रुले पटक–पटक सचेत गराएका थिए तैपनि ना५अ ९११४ नम्बरको बसका चालक पदम पन्तले सुने नसुनेझैं गरी गाडी दौडाए ।

रूखले जोगायो ज्यान

चालकसहित २४ यात्रु बोकेको बस बिहान ३ बजे दुर्घटनामा पर्‍यो । संयोग, सडकबाट ३० मिटर तल रहेको सल्लाको एक रूखमा गाडी अड्किँदा सबैको ज्यान जोगियो ।


डोटीको जोरायल गाउँपालिकामा पर्ने गुडर–रुवसकाँडा सडक खण्डमा बस दुर्घटनामा परेको हो । ‘भगवान्ले हात थापेजस्तो गरी सबैको ज्यान जोगियो,’ घाइते राजु विकले भने, ‘बस रूखमा नअड्किएको भए ठूलो दुर्घटना हुन्थ्यो । हामी बाँच्न मुस्किल थियो ।’


गाडी खस्दा अधिकांश यात्रु निद्रामा थिए । ‘गाडीमा मीठो हिन्दी गीत बजिरहेको थियो । अधिकांश यात्रु निदाएका थिए । म पनि निदाउनै लागेको थिएँ,’ विकले भने, ‘एक्कासि गाडी ओरोलो झर्‍यो । सबै यात्रुको मुखबाट डरलाग्दो आवाज आयो । मेरो पनि होसै हराएजस्तो भयो ।’


घाइते यात्रुले चालक पन्तको लापरबाहीका कारण दुर्घटना भएको बताए । उनी निदाए वा मदिरा सेवन गरे भन्ने यकिनचाहिँ उनीहरूले गर्न सकेनन् ।

‘त्यहाँ दुर्घटना नहुँदै हामीले दुई/तीन पटक राम्रोसँग गाडी चलाउन चालकलाई सम्झाएका थियौं,’ विकले भने ।


उक्त बसमा १ बालक, २ महिलासहित २४ जना यात्रु सवार थिए । उक्त सडक खण्ड बढी दुर्घटना हुने क्षेत्रमा पर्ने क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरियाको तथ्यांकले देखाउँछ । बस अड्किएको ठाउँभन्दा करिब २ सय मिटर तल ठाडो भिरालो छ ।


उद्धार टोलीमा खटिएका असई लोकबहादुर पालले अप्ठेरो ठाउँमा बस अड्किएको बताए । ‘बसभित्र अड्किएकालाई सावधानीपूर्वक उद्धार गरियो,’ उनले भने, ‘ज्यान जोगिनुलाई भगवानले हात थापेकै ठान्छु ।’ घटना भएको तीन घण्टाभित्र सबैलाई उद्धार गरी उपचारका लागि धनगढी पठाइएको थियो ।


क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयका अनुसार उक्त दुर्घटनामा परी गम्भीर घाइते चालक पदम पन्त, बस मालिक गंगादत्त जोशी, कञ्चनपुर सुडा बस्ने २५ वर्षकी उर्मिला बोहरा र भीमदत्त नगरपालिका १४ का देवलाल जोशीलाई भारत रिफर गरिएको छ । कञ्चनपुर बेतकोट बस्ने जय भण्डारी, हर्क भण्डारी र सुर्खेत घर भएका प्रदीप सुनारलाई नेपालगन्ज रिफर गरिएको छ । अन्य घाइतेको अत्तरियास्थित पद्मा अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित : भाद्र २९, २०७५ ०७:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?