३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

खसे खोला, बाँचे भेट होला

चट्टानमा अड्याएर पाँचवटा उत्तिसका काठ जोडेर बनाइको फडके नै वारपार गर्ने एक मात्र बाटो
आश गुरुङ

लमजुङ — घोप्टे र काप्रेबीचको घोप्टेखोलामा बाढी एकनास बगिरहेको छ । ढुंगे चट्टान मात्रै बाँकी राखेर पहिरोले सबै खोतलेर लगेको छ । चट्टानमै अड्याएर वारपार गर्न उत्तिसका पाँचवटा काठले फडके बनाइएको छ । त्यसैको सहारामा ज्यानको बाजी राखेर स्थानीय वारपार गरिरहेका छन् । करिब ६० मिटर दूरीमा मर्स्याङ्दीको ठूलो भेल छ । एक पाइला मात्रै तलमाथि भए घोप्टेखोलाबाट सिधै मर्स्याङ्दी पुगिन्छ ।

खसे खोला, बाँचे भेट होला

‘अलिकति मात्रै तलमाथि भए सिधै खोलामा हो । परिवारले खोजेर कहाँ पाउनु,’ बुधबारको भीषण पहिरोबाट घाइते ६७ वर्षीय बलबहादुर तामाङले फडके पार गरेपछि भने, ‘मरे यही खोला, बाँचे भेट होला भनेर फडके तर्न लगाएँ । केटाहरूले तारिदिए ।’ मर्स्याङ्दी गाउँपालिका ४ च्याम्चेका उनको लमजुङ सामुदायिक अस्पतालमा उपचार भइरहेको छ ।


बेंसीसहर–चामे सडकमा पर्ने लमजुङ खण्डको मर्स्याङ्दी गापा ३ को अर्खलेबेंसीदेखि श्रीचौरसम्म बुधबारको बाढीपहिरोले क्षतविक्षत बनाएको छ । अर्खलेबेंसी, घोप्टेभीर, काप्रेभीरमा चट्टान मात्रै बाँकी छन् । पहिरोले जिप पुरिएपछि बाहिर निस्केर ज्यान जोगाएका बलबहादुरलगायत १० घाइतेलाई स्थानीयले डेढ घण्टा लगाएर पहिरो गइरहेकै ठाउँबाट उद्धार गरी घोप्टेगाउँ पुर्‍याए । उनीहरूले बिहीबार घोप्टे पुलको फडके तरेका हुन् । ‘गाउँमा आत्तिएँ, कहिले निस्कौंला जस्तो भयो । मरे मर्छ, बाँचे बाँचिन्छ भनेर छोरा (सुकलाल) लाई बोक्न लगाएँ,’ ८१ वर्षीया उरमाया तामाङले भनिन्, ‘फडके हल्लियो । आज मर्ने दिन रहेछ भनेर थुर्थुर कामेँ । जसोतसो फडके पार भयो । अब बाँचियो झैं लाग्यो । खुसीले रोएँ ।’


नारायणगढमा छोरीको घरपैंचोमा जाने भन्दै आएका बलबहादुर र भारतीय पेन्सन क्याम्पमा पट्टा नवीकरण गर्न आएकी उरमायाजस्ता धेरैले जोखिम मोलेर फडके तरिरहेका छन् । बेंसीसहर आउजाउ गर्ने स्थानीय, पर्यटक तथा अन्य यात्रु जोखिम मोलेर त्यही फडके तरिरहेको घोप्टेका जितबहादुर गुरुङले बताए ।


अर्खलेमा बुधबार बज्यै नाता पर्ने ललितमायालाई पहिराले बगाएको खबर सुने पनि उनी झट्टै जान सकेनन् । बिहीबार साँझपख मात्रै पुगे । ‘केटाहरूले फडके बनाएपछि त्यहीँबाट गएँ,’ उनले भने, ‘उभिँदै, बस्दै ढुंगा समातेर पहरा तरियो । फडके कसरी पार गरियो, थाहै भएन ।’ छिमेकी गाउँ शीलढुंगाको कन्यादेवी प्राविका शिक्षक रुपलाल गुरुङका अनुसार बाढीपहिरोले गाउँलाई घेरेको छ । बालबालिका स्कुल आउजाउ गर्न सकेका छैनन् ।


‘पहिरो खस्दै छ । वरपरका गाउँ जान सकिएको छैन,’ उनले भने, ‘सामान ल्याउन पनि गाह्रो भयो । कोही बिरामी भए के गर्ने ?’ उक्त गाउँमा घाइतेलाई उद्धार गर्न गएको नेपाली सेनाको हेलिकप्टर बिहीबार ल्यान्ड गर्ने ठाउँ नहुँदा माथिबाटै राहत झारेर फर्केको थियो । उक्त गाउँमा १२ परिवार बस्छन् ।


पहिरोमा करिब ३० जना फसेपछि उक्त फडकेबाट तारिएको स्याँगेका पर्यटन व्यवसायी नरबहादुर गुरुङले बताए । ‘पहिरोमा फसेपछि सबै रोइकराइ गरेर फोन आयो । सबै भोकै । चाउचाउ, बिस्कुट र पानी किनेर लगियो,’ उनले भने, ‘वारिबाट फ्याँकेर पहिरोपीडित र घाइतेलाई दियौं । त्यसपछि फडके तार्‍यौं ।’


स्याँगेकै खुसीराम परियार, घेर्मु खानीगाउँ, घोप्टे गाउँका युवा मिलेर उक्त फडके बनाएको उनले बताए । फडकेबाहेक मान्छे हिँड्ने अर्को विकल्प छैन । उनका अनुसार रातभरि निदाउन सकिएको छैन । मर्स्याङ्दी गापा ४ का अध्यक्ष सुमन गुरुङका अनुसार अलपत्र र जोखिममा परेकालाई उद्धार गर्न उक्त फडके बनाई तारिएको हो । ‘गाउँलेले फडके प्रयोग नगरी सुखै छैन । सडक नबनाउँदासम्म विकल्प छैन,’ उनले भने । बुधबारको मुसलधारे वर्षासँगै आएको बाढीपहिरोले सडक क्षतविक्षत बनाएपछि लमजुङ र मनाङ जोड्ने बेंसीसहर–चामे खण्ड अवरुद्ध छ ।

प्रकाशित : भाद्र २९, २०७५ २१:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?