३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

हलिउड हिरो लियोनार्डोलाई भेटेका भदै थारु भन्छन्- ‘वन सुन्दर युवती हो, वन्यजन्तु उसको गहना’

रमेशकुमार पौडेल

चितवन — बर्दिया मधुवन नगरपालिका-३ खाताका ५५ वर्षीय भदै थारु संरक्षणकर्मी माझ चर्चित छन् । बाघले आक्रमण गरेर देब्रे आँखा गुमाउँदा पनि संरक्षण प्रतिको यिनको समर्पणमा कुनै कमी आएन । संरक्षणका कुरा सिकाउँदै देशका कुनाकाप्चा चहार्ने क्रममा भदै आइतबार चितवनको माडी आए ।

हलिउड हिरो लियोनार्डोलाई भेटेका भदै थारु भन्छन्- ‘वन सुन्दर युवती हो, वन्यजन्तु उसको गहना’

यी पाका संरक्षणकर्मीले त्यहाँ भेला भएका युवाहरुलाई आफ्नै पारामा संरक्षणको महत्व बुझाए ।


वातावरण विज्ञान पढ्दै गरेका १० र समुदाय तहबाट संरक्षणमा जुटेका अन्य ३५ जना गरेर ४५ जना युवा माडीमा भेला भएका छन् । चितवनसहित नवलपरासी, मकवानपुर, बारा र पर्साबाट त्यहाँ पुगेका पढे लेखेका युवालाई पढेर नभइ परेर संरक्षण बुझेका भदैले सवै दंग हुने गरेर संरक्षणको महत्वको कथा सुनाए । उनले वनलाई सुन्दरी र वन्यजन्तुलाई त्यसका गहनाका रुपमा बखान गरे ।


‘एकजना सुन्दर युवती त्यसै त राम्रो हुन्छ, उसले गहना लगाए आहा झनै कति सुन्दर,’ भदैले कुरा सुरु गरे । वन पनि त्यही सुन्दर युवती जस्तै भएको उनले बताउँदा सहभागिहरु मुसुमुसु गर्ने थालिसकेका थिए । वन्यजन्तु सुन्दरीका गहना जस्ता हुन भन्दा सबै हाँसे । उनले संरक्षणकर्मीलाई जब हिरोको रुपमा उभ्याए सबैले खित्का छाडे ।


‘तपाइँले एउटा सिनेमा हेर्दा राम्री हिरोइन देख्नु हुन्छ । उसलाई दुःख दिने गुण्डाहरु हुन्छन् । र, बचाउने हिरो हुन्छ । वन, वन्यजन्तु सिनेमाका हिरोइन जस्ता हुन् । तस्कर त गुण्डा भइ हाले । गुण्डालाई पिट्ने हिरो हुन्छ । त्यसैले हामी वनलाई जोगाउने पनि हिरो हौं,’ उनले थप्दै गए । हिरो हारेको सिनेमा राम्रो नलाग्ने हुँदा संरक्षणकर्मीहरु सधै जित्ने ध्याउन्नले क्रियाशील हुनु पर्ने उनले बताए ।


खाता क्षेत्रमा जैविक मार्ग पनि छ । यो जैविक मार्गले बर्दिया राष्ट्रिय निकुञ्ज र भारतको कर्तनियाघाट राष्ट्रिय निकुञ्जलाई जोड्छ । अर्थात यो बाटो हुँदै वन्यजन्तु ओहरदोहर गर्छन् । यस्ता मार्गलाई उनले वन्यजन्तुको मोबाइल र फेसबुकका रुपमा अर्थ्याए । मोबाइल र फेसबुकबाट युवकयुवती एक आपसमा जोडिए जसरी जैविक मार्गले दुई देशका वन्य जीवलाई जोडेको उनले बताए ।


‘तपाइँसँग मोबाइल छ फेसबुक छ मन परेका केटा वा केटीसँग सम्पर्कमा रहनु हुन्छ । वन्यजन्तुको फेसबुक मोबाइल जस्तै हो जैविक मार्ग । यसले अन्य क्षेत्रका वन्यजन्तुलाई एक आपसमा जोड्छ । त्यसैले जैविक मार्ग जोगाउनु पर्छ,’ भदैले भने । बाघ आक्रमणमा परेर झण्डै ज्यान गुमाएका भदैको मुखबाट यति रसिला कुरा कसरी निस्कन्छन् होला सहभागी छक्क परे ।


त्यसो त उनले बेलायती अभिनेत्री मेन्सी पायल र टाइटानिक सिनेमाका हिरो लियोनार्डो डिक्याप्रियोलाई समेत भेटेका छन् । बाघले आक्रमण गरेर बाँचे पनि संरक्षण कार्य नछोडेको हिरोको रुपमा उनको कथा सुनेपछि विश्व सिने संसारका यी सेलीब्रेटी उनको गाउँनै पुगे । कुनै बेला कमैया बसेका एक कक्षासम्म पढेका भदैले रसिलो पारामा संरक्षणको रस अरुलाई पिलाएर दंगदास नै बनाउँछन् ।


विसं २०६० साल पुस २२ को घटना थियो त्यो, जुन दिन उनलाई बाघले जंगलमा आक्रमण गरेको थियो । बाघको पञ्जा भेटेपछि भदै तिरमिराए । स्वर्ग पुगेकी नर्क पुगे झै भन्ने भयो रे । डेढ महिना अस्पताल बस्दा खानपिउन अफ्ठ्यारो हुन्थ्यो । मर्ने भए कि भन्ने लागेको थियो । अस्पतालबाट घर आए पनि तीन वर्षसम्म उनले केही गर्न सकेनन् । घरमै आराम गरे ।


‘बाघ र मेरो जम्का भेट भयो र न उसले मलाई खेद्यो । खान्छु भन्दै आएको त हैनन नी,’ यो कुरा मनमा खेलेपछि उनले बाघको कुनै गल्ती नभएको ठाने । जंगल बाघको घर भएको हुँदा त्यहाँ गएका बेलामा आक्रमण गर्नुलाई उनले बाघको अपराध ठानेनन् । ‘हामी सारा जंगल मासेर घर बनाएका छौं । भएको जंगलमा पनि उसलाई शान्तीसँग बस्न दिदैनौं । गल्ती उसको छैन विचरा,’ भदैले भने ।

प्रकाशित : आश्विन १, २०७५ १७:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?