कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

सस्तो पनि मीठो पनि स्ट्रिट फुड

काठमाडौँ — काठमाडौं मल अगाडिको ठेला पसलमा बिहीबार साँझ भीडभाड थियो । अरू साँझ पनि त्यहाँ त्यस्तै चहलपहल हुन्छ । आलु चप, समोसा, म:म, ससेजलगायत परिकारका बास्ना हरर आउन थालेपछि मान्छेहरू ठेलावरिपरि झुम्मिन सुरु गर्छन् ।

सस्तो पनि मीठो पनि स्ट्रिट फुड

‘दिदीलाई कुर्दै थिएँ, ससेज खाऊँ खाऊँ लाग्यो,’ कपनकी शान्ति मगरले भनिन्, ‘पहिलो चोटि स्ट्रिट फुड खाएको, मीठो लाग्यो ।’नक्सालको रेगलिया बुटिकमा काम गर्ने शान्ति साथी देव राईसँग थिइन् । देव बर्गर खाँदै थिए । उनीहरूले एक टपरी आलु चप खाइसकेको बताए । ‘यत्तिकै बस्नुभन्दा खाँदै बसौं जस्तो लागेर ठेलातिर आयौं,’ ब्रोकलिन कलेजमा अध्ययनरत देवले भने, ‘वरिपरिको रमाइलो हेर्दै खाजा खान मज्जा आउँदो रहेछ ।’ उनीहरूले ससेजको २५ रुपैयाँ, आलु चपको ६० र बर्गरको ६० रुपैयाँ तिरे । ठेला व्यापारी रमिता लामाले दिनको दुई/तीन हजार रुपैयाँ कमाइ हुने बताइन् ।

रमिताको ठेला दोकानभन्दा अलि पर्तिर भेटियो प्रशान्त लामाको ठेला । उनीकहाँ छ थरी परिकार बन्दा रहेछन् । बफ सेकुवा, बफ म:म, ससेज, चप, चिकेन लेग पिस र सपाले । यीमध्ये म:म, लेग पिस र सपाले धेरै रुचाइने गरेको प्रशान्तले बताए । ‘विदेशीहरू लेग पिस र सपाले धेरै खान्छन्,’ उनले भने, ‘फरक स्वाद भएर होला ।’ स्ट्रिट फुडमा लोकप्रिय रहँदै आएका यी परिकार सस्तो र मीठो मानिन्छन् । सपाले तिब्बती परिकार हो ।

प्रशान्तकहाँ म:म खाने गरेका राम श्रेष्ठ छिटो छरितो हुने भएकाले ठेलाको खाजा रुचाउँदा रहेछन् । सडक पेटीमा कपडा बेच्ने उनी ठेलाले गर्दा आफूहरूलाई फाइदा/बेफाइदा दुवै भएको बताउँदै थिए । ‘ठेलाको खाना मन नपराउनेहरू नाक थुन्दै हिँड्छन्,’ उनले भने, ‘उभिनै मान्दैनन् । हाम्रो व्यापार हुन्नँ । तर, खाजा मन पराउनेहरू हाम्रो सामानतिर पनि ध्यान दिन भ्याउँछन् ।’ प्रशान्तले एनएसीमा स्ट्रिट फुड बेच्न थालेको बाह्र वर्ष भएछ ।

‘पहिले पहिले भुटन खानेहरू धेरै हुन्थे,’ प्रशान्तले भने, ‘अहिले भुटन राख्न छोडेँ । चिल्लो बढी हुन्छ भनेर खानै छोडे, भाँडा माझ्न पनि अप्ठ्यारो ।’ क्षेत्रपाटीदेखि ठेला गुडाउँदै ल्याउने उनी साँझ ७ देखि ९ बजेभित्रमा न्यूनतम ३ हजारदेखि बढीमा ५ हजारसम्मको व्यापार गर्छन् । एनएसी अगाडि प्रशान्तजस्ता आधा दर्जन ठेला पसले छन् जो रेडी टु इट खाना बेच्दै आएका छन् । ठेलामै ग्यास चुल्हो राखेर उनीहरू चटामरीदेखि अमेरिकन चप्सीसम्म बेचिरहेका हुन्छन् ।

स्ट्रिट फुडका लागि वसन्तपुर दरबार परिसर उत्तिकै नामी छ । विशेषत: त्यहाँको सेकुवा, हट लेमन र चिया धेरैले मन पराउने गरेका छन् । विगत पन्ध्र वर्षदेखि सेकुवा बेच्दै आएका रामप्रसाद श्रेष्ठले अचेल आफ्नो काम छोरा राजलाई सुम्पिएका छन् । उनीकहाँ दिनको ६/७ हजार रुपैयाँको सेकुवा बिक्री हुँदो रहेछ । ‘यसरी हिसाब गर्दा महिनामा लाखौं कमाइ भएको देखिन्छ,’ राजले हाँस्दै भने, ‘तर, सबै बच्दैन । मासु, भुजिया (मुरही), मरमसला किन्नुपर्‍यो । महँगी छ ।’ दिनको न्यूनतम ६ किलो मासु चाहिने उनले बताए ।

राजको दोकानमा पाइने सेकुवा अरू ठाउँको भन्दा स्वादिस्ट हुने बालाजुका सहयोग रञ्जितको भनाइ छ । उनी वसन्तपुर आएका बेला यहाँको सेकुवा नखाई फर्किंदा रहेनछन् । ‘यो सबैभन्दा पुरानो सेकुवा पसल हो,’ गणेश मन्दिर छेउमा रहेको पसलबारे उनले भने, ‘हामी सानो हुँदादेखि नै पपुलर थियो । मामाघर आएका बेला हामी यहाँको सेकुवा खान्थ्यौं ।’ सेकुवाको भाउ अहिले ३० रुपैयाँ पुगेको छ । एक स्टिकमा ६ टुक्रा मासु हुन्छ ।

वसन्तपुरमै यात्रु पर्खेर बसेका टयाक्सी चालक कर्णबहादुर तामाङ थर्मसमा बेच्न ल्याएको चिया पिउन थाले । उनी तलतल लागेका बेला एक कप दूध चिया किनिहाल्दा रहेछन् । ‘चिया खान अचेल पसल पसल जानुपर्दैन,’ उनले भने, ‘टयाक्सीसम्मै ल्याइदिन्छन् । सुविधा छ ।’ उनले वसन्तपुरमा १० रुपैयाँ कप हुँदादेखि नै दूध चिया पिउन थालेको थिए । नाकाबन्दीपछि भाउ बढेर २० रुपैयाँ पुगेको बताए । ‘चुरोट, खैनी खादिनँ,’ उनले भने, ‘प्यासेन्जर नआउँदा चिया खाएर बस्छु ।’

गोंगबु, नयाँ बसपार्ककी पुष्पा बस्नेत रेस्टुरेन्टभन्दा सडकमा पाइने खाना मीठा र सस्तो पर्ने भएकाले यही रोज्ने गरेको बताउँछिन् । घरछेउकै चोकमा बेच्न राखिएका म:म, विङस, चिकेन लेग, तारेको माछा, पानीपुरी र दही चार्ट उनको प्रिय परिकार हुन् । उनी कहिलेकाहीँ ठमेल आएर गाडाका खानेकुरा किन्छिन् । किनमेलका लागि असन आउँदा उनी सूर्य आर्केडनिर पाइने पापडी चाट नखाई घर फर्कन्नन् । ‘स्ट्रिट फुडहरू बेस्ट लाग्छ मलाई,’ उनले भनिन्, ‘रेस्टुरेन्टभन्दा सफा हुन्छ । तत्काल बनाएर दिन्छन् ।’

नगरपालिकाले साँझ ७ देखि ९ बजेसम्म मात्र ठेला राख्न दिने गरेको छ । यसले गर्दा अलि गाह्रो पर्ने व्यापारीले बताए । फोहोर भएको भन्दै सम्बन्धित क्षेत्र र स्थानीयबासीले कहिलेकाहीँ गुनासो पनि गर्छन् । तर, सडकमा पाक्दै गरेका परिकार चाख्ने क्रम भने बर्सेनि बढदै गएको व्यापारीहरूको अनुभव छ । स्ट्रिट फुड कल्चर मौलाउँदै छ भन्ने कुरा बेलाबखत आयोजना हुन थालेका ‘स्ट्रिट फुड फेस्टिभल’ मा हुने सभागिताले पनि अवगत गराउँछ ।

नेपाली स्ट्रिट फुडका रूपमा सबैभन्दा लोकप्रिय बन्नेमध्ये एक हो, टपरी म:म । काठमाडौं, ललितपुर र भक्तपुरका चोकचोकमा टपरी म:म बेच्न राखिएको हुन्छ । फास्ट फुड रेस्टुरेन्टमा पाइने लगभग सबै परिकार सडकका अस्थायी दोकानमा उपलब्ध छन् । नेवारी र तिब्बती परिकार पनि स्ट्रिट फुडमा पपुलर छन् । यसरी सार्वजनिक स्थलमा अस्थायी फुड बुथ बनाएर खाजा बेच्ने चलन विश्वभर स्थापित छ । अमेरिकाको फुड एन्ड एग्रिकल्चर अर्गानाइजेसनका अनुसार दैनिक २.५ अर्ब मानिसले स्ट्रिट फुड खाने गरेका छन् ।

काठमाडौंका वसन्तपुर, एनएसी, ठमेल, सोह्रखुट्टे, स्वयम्भूलगायत स्थान स्ट्रिट फुडका लागि परिचित छन् । ललितपुरमा पनि पाटन दरबार स्क्वायर, मंगलबजार, पाटन, झम्सिखेलतिर हरेक साँझ स्ट्रिट फुडका विभिन्न परिकारले वतावरण मगमगाउँछ ।

प्रकाशित : आश्विन ६, २०७५ १०:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?