कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

नेपाली विद्यार्थीले बनाएका 'वेटर रोबोट'

किरण पाण्डे

काठमाडौँ — रोबोट प्रविधिको फडको हो । मानिसले गर्ने श्रमलाई घटाउने यन्त्रका रूपमा रोबोट प्रयोग भइरहेको छ । रोबोटले कसरी काम गर्छ भन्ने हेर्न कुनै प्रदर्शनी धाइरहनुपर्दैन, रेस्टुरेन्ट वा बैंक गए पुग्छ ।

नेपाली विद्यार्थीले बनाएका 'वेटर रोबोट'

नेपाली विद्यार्थीले बनाएका झन्डै आधा दर्जन रोबोटले नेपालमा काम गरिरहेका छन् । नेपालका विभिन्न इन्जिनियरिङ कलेजका विद्यार्थीको समूहले सन् २०१७ मा ‘पाइला टेक्नोलजी’ कम्पनी गु्रपको थालनी गर्‍यो । उनीहरूले सुरुमा माटोको डाईबाट संरचना बनाई रोबोटको परिकल्पना गरे । केही समयमै रोबोट विकास गर्न सक्षम भए । यही समूहले निर्माण गरेको ‘परी’ नामक रोबोटले हाल दरबारमार्गस्थित एसबीआई बैंकमा काम गरिरहेको छ ।

उनीहरूले निर्माण गरेको दोस्रो रोबोटले भने रेस्टुरेन्टमा वेटरको काम पाएको छ । पाइलाले दरबारमार्गमा आफंैले ‘नौलो’ रेस्टुरेन्ट खोलेर त्यसको प्रयोग गरिरहेको छ । ‘जिन्जर’ नाम दिइएका तीन वटा रोबोटबाट दुई महिनाअघि उनीहरूले यात्रालाई निरन्तरता दिए । त्यहाँ मेनु पनि डिजिटल छ । कुन खाना खाने हो, आफ्नै टेबलको डिजिटल मेनुमा अर्डर गर्न सकिन्छ । विभिन्न स्वादका परिकारका साथै नेपाली, इन्डियन तथा थाई खानाको व्यवस्था छ । यहाँका केही परिकार अन्य रेस्टुरेन्टमा विरलै पाइन्छन् । तीमध्ये म्याक एन्ड चिजबल्स, जाम्बला स्रिम्प, जमैकन ब्ल्याक पेपर स्रिम्प र काजुवान बटर स्रिम्प एन्ड चिकेन पास्ता मुख्य हुन् । नयाँ स्वादसँगै ग्राहकको समेत भीड लाग्न थालेको नौलो रेस्टुरेन्टका अपरेसन म्यानेजर विवेक भण्डारी बताउँछन् । ‘शुक्रबार र शनिबार ग्राहकले मन परेको खाना खान कुर्नुपर्छ,’ उनले भने ।

नेपाली रेस्टुरेन्टमा रोबोट दरबारमार्गमा मात्रै छैन । राजधानीको खिचापोखरीस्थित पिपल्स प्लाजामा एक वर्ष पहिलेदेखि नै केकेएफसी नामक रेस्टुरेन्टमा रोबोटले वेटरको काम गर्दै आइरहेको छ । उक्त रोबोट जापानी प्रविधिमा आधारित हो ।रोबोट उत्पादनमा सफलता पाएको ‘पाइला टेक्नोलजी’ का प्राविधिकहरूले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रविधि प्रतियोगितामा अवार्डसमेत जितेका छन् । यी युवा यतिमै सीमित हुन चाहँदैनन् ।

नेपाल मात्र होइन, थाइल्यान्ड, म्यान्मारलगायत दक्षिण–पूर्वी एसियामै नेपाली रोबोट फैलाउने गरी काम गरिरहेका छन् उनीहरूले । अब होटल तथा पर्यटन लगायत सेवाप्रदायक क्षेत्रमा यसको प्रयोग बढाउने उनीहरूको योजना छ । त्यसका लागि रुम सर्भिस रोबोट बनाई परीक्षण गरिरहेका छन् । परीक्षण सफल भए उक्त रोबोटले लिफ्ट चढदै होटलका कोठामा पुगी खाना, चिसो वा तातो पेय पदार्थ उपलब्ध गराउनेछ । यसका लागि ग्राहकले अर्डर भने गर्नुपर्छ । ५/६ मानिसको काम एउटै रोबोटले गर्ने भएकाले यसको माग उच्च हुने रोबोर्टिक इन्जिनियरको अनुमान छ ।

अन्य क्षेत्रको प्रयोजनका लागि हातको औंला चल्ने, फेस रिड गर्ने, दुईतर्फी कुराकानी गर्ने रोबोट बजारमा ल्याउने क्रममा रहेको रोबर्टिक इन्जिनियर रविन गिरीले बताए । यसलाई ‘परी–२’ का रूपमा ल्याउन लागिएको हो । संसारमै प्रतिस्पर्धात्मक रोबोट बनाउन लागिपरेको उक्त टिमलाई पूर्वाधार र सक्षम कामदारको कमी छ ।

प्रकाशित : आश्विन ६, २०७५ १०:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?