१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

स्वप्निल दरबारमार्ग

हिमेश वज्राचार्य

काठमाडौँ — तीन सय मिटरभन्दा केही बढी दूरी । बोलीचाली र विज्ञापनमा अचेल काठमाडौंका धेरै मुटु छन् । तर, केन्द्रैचाहिँ दरबारमार्ग (किङ्स वे) हो । नेपालका कुलीन र उच्च मध्यमवर्ग जसरी खुलिरहेका छन्, जसरी आफूलाई बदल्ने प्रयासमा छन्, त्यसैको प्रतीक हो दरबारमार्ग ।

स्वप्निल दरबारमार्ग

यहाँ के छैन ? अब्बल दर्जाका बैंक, रेस्टुरेन्ट, ब्रान्डेड सामानका आउटलेट, ग्याजेटका पसल । अनि पाँचतारे होटल र सपिङ मल । सँगै विश्व फेसनका पछिल्ला पहिरनलाई सिधै काठमाडौं भित्र्याउने पसल पनि ।

कुनै समय यहाँको फराकिलो बाटोमा राति–राति भर्खर भित्रिएका जापानी मोटरसाइकलले रेस लगाउँथे । केही अगाडिसम्म, अहिले उत्पादन हुन छाडेको भक्सवागन बिटल्सको यात्रा पनि यहींदेखि सुरु हुन्थ्यो । अचेल यहाँ स्ट्रिट फेस्टिभल खुबै हुन थालेका छन् । यसकै निहुँमा कन्सर्ट पनि । त्यो पनि मध्यदिनमै । मध्यदिनमै यो किन सम्भव छ भने दरबारमार्गको सडक बन्द हुँदा यसले काठमाडौंको ट्राफिकलाई प्रभाव पार्दैन, यसले अस्तव्यस्त बनाउँदैन ।

यी सबै पृष्ठभूमिबीच दरबारमार्गले जसरी आफूलाई विकास गरेको छ, त्यसको इतिहास पनि उत्तिकै रोमाञ्चक छ । आधुनिक नेपालको इतिहासमा सन् सत्तरीको ठूलो प्रभाव छ । दरबारमार्ग पनि यसको अपवाद रहेन । यही बेला हो, दरबार मार्गले अहिलेको रूप लिन थालेको । त्यसो त सन् साठीतिरै दरबारमार्ग लगभग अहिलेको स्थितिमा खुलेको हो । यो त्यो समय हो, जति बेला नेपालमा हिप्पीहरू आउन थालेकै थिएनन् । अझ भनूँ, नेपाललाई त्यो हिप्पी युगले छोएको थिएन । जति बेला दरबारमार्गलाई यसले छोयो, छपक्कै छोयो ।

इतिहासमा धेरै ठाउँ भनिएको छ, राजा वीरेन्द्र त्यो समयको हिप्पी युग र त्यसले अपनाएको जीवनशैलीप्रति उदार थिए । त्यसैले त्यति बेला नेपाल आफैं त्यो विद्रोही संस्कृतिप्रति उदार भयो । यसको प्रभाव कुनै न कुनै रूपमा सुरुवाती दरबारमार्गमा पर्‍यो नै । सायद उनले आफ्नै आँखाअगाडि त्यसको प्रभाव पनि देखे । सन् असीतिर यहाँ धेरैभन्दा धेरै टुर अपरेटर र एयरलाइन्स कार्यालय थिए । केही समयपछि दरबारमार्ग बन्यो, काश्मीरी ज्वेलरी व्यापारीको प्रमुख केन्द्र ।

यी व्यापारीले दरबारमार्गमा लामै समय राज गरे । देशमा द्वन्द्व सुरु भएयता यो व्यापार विस्थापित भयो । अनि सुरु भयो, लगभग अहिलेको दरबारमार्गको स्वरूप । त्यसयता बिस्तारै खुल्न थाले, विदेशी ब्रान्डका रिटेल सप । अनि रेस्टुरेन्ट पनि ।दरबारमार्ग आकर्षक देखिनुको एउटा ठूलो कारण हो, यहाँ रहेका एकनासे घर ।

नेपालमा राजतन्त्र रहँदासम्म त दरबारमार्गमा दुईतले घर मात्र बनाउन पाइन्थ्यो, त्यति बेला नियमै यस्तै थियो । राजतन्त्रको अन्त्यसँगै घरको उचाइले चार तला छुन पाउने भएको छ, फेरिएको नियमअनुसार । बाटोको नामअनुसार यो दरबार र राजसंस्थासँग जोडिने नै भयो । महेन्द्रको सालिकबाट सुरु भएर दरबारमार्ग टुंगिन्छ, नारायणहिटी पुगेर । नारायणहिटी अचेल यो रहेन, दरबार संग्रहालयमा परिणत भएको छ ।

नारायणहिटीमा सुरुमा विशाल भवन थियो, काजी धोकलसिंह बस्न्त्यातको । कोत पर्वपछि बस्न्यातहरू कमजोर भए । त्यसकै फाइदा उठाएर रणोद्दीप सिंहले त्यसमा कब्जा जमाए । पछि उनैले तत्कालीन राजा पृथ्वी वीरविक्रमलाई यहाँ ल्याए । राजा आएयता दरबार राजदरबारमा परिणत भयो । यसअघिसम्म शाह राजाहरू पनि वसन्तपुरको हनुमानढोका दरबारमै बस्थे ।अहिलेको नारायणहिटी दरबारको पूरा संरचना एकैपल्ट बनेको होइन । समयको अन्तरमा एकपछि अर्को संरचना थपिँदै गए । त्रिभुवनदेखि महेन्द्र र वीरेन्द्रसम्म यतै जन्मे–हुर्केका हुन् । दरबार बनिसकेपछि यस अगाडिको सडकले पनि नाम पायो, दरबारमार्ग ।

धेरै अगाडि जाने हो भने, दरबारमार्ग कुनै समय खेतकै रूपमा थियो र भनिन्छ, यहाँ बौद्ध विहार पनि थियो । यहाँ वरिपरिको अधिकांश जग्गा विहारको नाममा थियो । राणाहरूले त्यसमै आँखा लगाए र त्यसमा कब्जा गरेर बनाउन सुरु गरे, बाटो र त्यसको दुई छेउमा आफ्ना लागि दरबार । अचेल पनि कतिपय स्थानीय बासिन्दा महेन्द्र सालिकको छेउछाउ पूजाआजा गर्न आएका भेटिन्छन् । उनीहरूको तर्क हुने गर्छ( त्यहाँ पहिला देउताको मूर्ति थियो । अहिले यही स्थान कति धेरै फेरिएको छ !


विश्व फेसनमा के नयाँ आएको छ, त्यो कहिले काठमाडौं छिरेको छ भनेर बुझ्न दरबारमार्ग गए पुग्छ । यसको एउटा राम्रो विशेषता, यो सफा हुनु हो । अनि बाटोको दुवै छेउ रहेका साना रूखहरू । यसैले पनि दरबारमार्गलाई विशेष र आकर्षक बनाउँछ । त्यसैले स्वदेशमै रहेर पनि विदेशको केही न केही अनुभूति गराउन सक्षम छ, दरबारमार्ग । खासमै स्वप्निल छ दरबारमार्ग ।

प्रकाशित : आश्विन ६, २०७५ १०:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?