मेनुमा नयाँ

दीपक परियार

लेखनाथ — उखानै छ– धान पाके निहुरिन्छ, कोदो पाके ठडिन्छ । नठडियोस् पनि किन, कोदोको गुणै त्यस्तै । पौष्टिक तत्त्वका हिसाबले धानलाई जित्ने । लामो समय नकुहिने ।

मेनुमा नयाँ

पदयात्रा पर्यटनले चिनिएको अन्नपूर्ण क्षेत्रमा पर्यटकले यही गुण बोकेको कोदोका परिकार चाख्न पाएका छन् । घान्द्रुकबाट टाडापानी हुँदै घोरेपानी, पुनहिल पुग्ने पदयात्रा मार्गका होटलले कोदोको रोटी आफ्नो मेनुमा राखेका छन् । पहिले गहुँको पिठोबाट बनाइने ‘तिब्बती ब्रेड’ अहिले कोदोको पिठोबाट बन्ने ‘गुरुङ ब्रेड’ भएको छ ।


कास्कीको अन्नपूर्ण गाउँपालिका कोदो प्रवद्र्धनमा जुटेको छ । गाउँपालिकाले होटल तथा रेस्टुरेन्टका मेनुमा कोदोका परिकार अनिवार्य गरेको छ ।


पहिलो चरणमा गाउँपालिकाको छोम्रोङ र टाडापानी क्षेत्रका १ सय ५० होटलमा भदौदेखि उक्त नियम लागू भइसक्यो ।


वीरेठाँटीबाट घान्द्रुक हुँदै पुगिने अन्नपूर्ण आधारशिविरसम्मको पदयात्रा मार्गमा परम्परागत कोदोको खोले (सुप) मेनुमा छ । छोम्रोङ, सिनुवा, दोभान, बम्बु, हिमालय, देउराली, माछापुच्छ्ेर आधारशिविर र अन्नपूर्ण आधारशिविरका होटलले पर्यटकलाई कोदोको खोले खुवाउनेछन् । कोदोको पिठोमा घिउ, घरायसी मसला हालेर खोले तयार गरिन्छ । चिसो भगाउन र तागत बढाउन कोदोको खोले उपयुक्त मानिन्छ ।


छोम्रोङ पर्यटन व्यवसायी समितिका अनुसार गत आर्थिक वर्षमा मात्रै ८० हजार स्वदेशी तथा विदेशी पर्यटक अन्नपूर्ण आधारशिविर पुगे । समिति अध्यक्ष बुद्धिमान गुरुङ विदेशी पर्यटकले समेत कोदोको सुप रुचाएको बताउँछन् । ‘सुरुमा के हो भनेर बुझाउनुपर्छ,’ उनी भन्छन्, ‘एकपल्ट चाखेपछि थपीथपी खान्छन् ।’


गाउँमा पहिलेदेखि नै अडिलो अन्नका रूपमा कोदोलाई लिइने गरेको उनलाई सम्झना छ । ‘हामी पनि कोदोको ढिँडो नै खाएर हुर्कियौं,’ उनी भन्छन्, ‘यसले जति तागत भातले दिँदैन ।’
गाउँपालिका अध्यक्ष युवराज कुँवर कोदोको उत्पादन वृद्धि गर्न होटललाई कोदोको परिकार अनिवार्य गरेको बताउँछन् । ‘कोदो खेती घट्दै गएको छ,’ उनी भन्छन्, ‘खपत बढ्दै जाने हो भने व्यावसायिक रूपमा कोदो खेती प्रवद्र्धन गर्न सकिन्छ ।’


होटल तथा रेस्टुरेन्टमा कोदोका परिकार अनिवार्य गर्दा स्थानीय किसान कोदो खेतीतर्फ आकर्षित हुने उनको विश्वास छ । ‘बूढापाकाले अनिकाल लागे पुरानो कोदो निकालेर खानु भन्थे,’ कोदोको फाइदाबारे उनी भन्छन््, ‘मझेरीको कुना, पेटारो, भकारी जहाँ राखे पनि यो अन्न कुहिन्न ।’


गाउँपालिकाको ढिकुरपोखरीमा सिमै सिम्ले बहुउद्देश्यीय कृषि फार्मले १० रोपनी जमिनमा व्यावसायिक कोदो खेती गरिरहेको उनले बताए । बाँदरले समेत क्षति नपुर्‍याउने भएकाले कोदो खेती प्रवद्र्धन गर्न लागेको उनी बताउँछन् ।


कृषि वैज्ञानिक केशव खनालका अनुसार मध्यपहाडी भेगमा ओख्ले, डल्ले, काभ्रे, मुडे, झाप्रे जातका कोदो प्रचलनमा छन् । परिश्रम गर्ने व्यक्तिका लागि कोदो अडिलो र तागतिलो खाद्यका रूपमा लिइन्छ । मधुमेह भएकालाई कोदोको ढिँडो उत्तम मानिन्छ । ‘कोदोमा पाइने प्रोटिन दूधको जस्तै तागतिलो र सुपाच्य मानिन्छ,’ उनी भन्छन्, ‘पौष्टिक तत्त्वका हिसाबले धान, गहुँ र मकैमा भन्दा प्रोटिन, खनिज लवण र फाइबर (रेसा) कोदोमै धेरै पाइन्छ ।’ पहाडी बाली विशेषज्ञ ढुण्डिराज शर्मा कोदोको परिकार खाएका बालबालिकाको दिमागको विकास तीव्र हुने बताउँछन् । भन्छन्, ‘कोदोमा औषधीय गुण हुने भएकाले उच्च रक्तचाप र मधुमेहका बिरामीलाई पनि फाइदा पुग्छ ।’


गाउँपालिकाले गत असार ४ मा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा तीन वर्षभित्र गाउँपालिकालाई कोदोमा आत्मनिर्भर बनाउने योजना ल्याएको थियो । एक वर्षभित्र गाउँपालिकामा रहेका होटल तथा रेस्टुरेन्टमा कोदोको परिकार अनिवार्य गर्ने उल्लेख थियो । उक्त योजनाबमोजिम भूपी शेरचन राजमार्गमा पर्ने होटल तथा रेस्टुरेन्टको मेनुमा कोदोको ढिँडो अनिवार्य गर्ने तयारीसमेत छ ।


यही २०७५/७६ को बजेटमा कोदो प्रवद्र्धनमा ५ लाख रुपैयाँसमेत गाउँपालिकाले छुट्याएको छ । चालु वर्षबाटै कोदो बालीले ढाकेको क्षेत्रफल र कुल उत्पादनको तथ्यांक गाउँपालिकाले राख्ने भएको छ । आगामी पुसमा कोदो महोत्सव गर्ने गाउँपालिकाको योजनासमेत छ ।


त्यसो त कास्कीमा कोदो बालीको उत्पादन बढदो नै छ । साबिकको जिल्ला कृषि विकास कार्यालयको तथ्यांकअनुसार आर्थिक वर्ष ०७३/७४ मा १४ हजार ७ सय ६७ हेक्टर क्षेत्रफलमा कोदो खेती भएको थियो । गत वर्ष त्यसमा थोरै वृद्धि भएर १५ हजार ५ सय पुग्यो । गत वर्ष कास्कीमा १७ हजार २ सय मेट्रिक टन कोदो उत्पादन भएको थियो ।

प्रकाशित : आश्विन ९, २०७५ ०७:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?