१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

मधेसको दसैं

मधेसी समुदायलाई विजयादशमीको एक महिनाअघिदेखि नै दसैं लाग्छ ।
देवनारायण साह

मोरङ — मधेसी समुदायलाई विजयादशमीको एक महिनाअघिदेखि नै दसैं लाग्छ  । गणेश चतुर्थीकै दिन देवीको मूर्ति बनाउन आरम्भ गरिन्छ  ।

मधेसको दसैं

तराई–मधेसमा विभिन्न समुदायले फरक ढंगले दसैं मनाउने गरेका छन् । भदौको गणेश चतुर्थीकै दिनदेखि यहाँ तयारी सुरु हुन्छ । विशेषगरी देवीको मूर्ति बनाउन आरम्भ गरिन्छ । मधेसी महिलाले घटस्थापनादेखि भूत, प्रेत, जादु–टुना निस्तेज पार्न दसैंभर झिझिया नृत्य गर्छन् ।

भूत, प्रेत लाग्न नदिन छोराछोरीको घाँटी र पटुकामा लसुन र फलाम बाँधिदिन्छन् । घटस्थापनादेखि प्रत्येक घरमा भगवती र महादेवको पूजा गरिन्छ । घरमूली दसैंको हवन नहुन्जेल घरमा अरुवा चामलको भातलगायत परिकार खाई पूजा गरेर बस्छन् । विजयादशमीका दिन मूर्ति पोखरी, तलाउ, जलाशयमा विसर्जन गरेपछि दसैं समापन हुन्छ ।

गणेश चतुर्थीमा मनाइने चौठीचाँदकै दिन भगवतीको मूर्ति बनाउन सुरु गरिन्छ । भाकल गर्नेले मात्रै माटोको मूर्ति बनाएर पूजा गर्छन् । कटहरी गाउँपालिका–६ का हरिहर सरदारले घरमा भगवतीको मूर्ति बनाएका छन् ।

सात पुस्तादेखि यसरी दसैंमा मूर्ति बनाइँदै आएको स्थानीय पदम सरदारले बताए । रोगबाट मुक्ति, सन्तान प्राप्ति अनि समृद्धिका लागि देवीलाई भाकल गर्ने परम्परा छ । भाकल पूरा भएपछि मूर्ति बनाएर दसैंभर पूजा गर्ने चलन रहेको बूढापाका बताउँछन् ।

हरिहरले पनि आफ्नो घरमा मूर्ति बनाउन थालिएको यो सातौं पुस्ता भएको बताए । ‘बाबुबाजेले बनाउँदै आएकाले हामीले पनि परम्परालाई निरन्तरता दिएका छौं,’ उनले भने, ‘बाबुबाजेले परिवारको सुख, समृद्धिका लागि यस्तो गरेका हुन्, हामी पनि सकुन्जेल गर्छाैं ।’ मिस्त्रीले मूर्ति बनाउन सुरु गरेकै दिनदेखि आफूले पूजापाठ थालेको उनले सुनाए ।

दसैंमा भगवती, काली, लक्ष्मी, सरस्वती, हंस, सिंह, महिषासुर, राँगा, गणेश, महादेव, जोगनी, कात्तिकलगायतको मूर्ति बनाइन्छ । कारणवश मूर्ति बनाउन नसके जमरा मात्रै राखेर पूजा गरिन्छ ।

जहदा गाउँपालिका अध्यक्ष कैलाशप्रसाद मण्डलले घटस्थापनाका दिन बिहानै महिलाले गोबरले घरआँगन लिपपोत गर्ने परम्परा रहेको बताए । ‘घरका सदस्यले भगवतीको पूजाका लागि फूल, बेलपत्र, केराको पात टिपेर ल्याउनुका साथै महादेवको प्रतिमा बनाउन माटो मुछेर तयार पार्छन्,’ उनले भने, ‘पूजा सामग्री तयार भएपछि घरमुलीले स्नान गरेर कुल देउताको पूजा गर्छन् । ब्राह्मण आएपछि भगवतीको पूजा सुरु हुन्छ ।’

पञ्चमी, सप्तमी, नवमी र दशमीका दिन प्रत्येक घरमूलीले कुल देउताका साथै ग्राम देउताको पूजा गर्छन् । त्यसपछि मिठो परिकार बनाएर खाने र मेला भर्न जाने परम्परा छ । मूर्ति बनाउनेका घरमा प्रत्येक दिन भजनकीर्तन हुन्छ । भजनकीर्तन गर्नेलाई भोज खुवाउनुका साथै प्रसाद र दक्षिणा दिने चलन छ ।

सुनसरीको देवानगन्ज गाउँपालिका अध्यक्ष लालीप्रसाद मेहताले मूर्ति बनाउनेले इष्टमित्रलाई निम्तो गरेर बोलाउने परम्परा रहेको बताए । ‘षष्ठीका दिन साँझ कीर्तनमण्डलीसँगै बेलको रूखमा पूजा गरिन्छ ।

दुईवटा बेलसहित लड्डु, पान, सुपारी, फूल, केरा माटोको ढकनीमा राखेर रातो कपडाले बाँधिन्छ । यसलाई बेललाई निम्तो दिएको भनिन्छ,’ उनले भने, ‘सप्तमीका दिन बिहान दुवै बेल काटेर ल्याएपछि भगवतीको मूर्ति अगाडि राखेर पूजा गरिन्छ ।’

सप्तमीका दिन मूर्तिकारले प्रत्येक मूर्तिको आँखामा नानी बनाएर ‘नयन खोल्ने’ उनले बताए । ‘नयन खोलेपछि गाउँका महिलाले खोइछ भर्ने विशेष परम्परा छ,’ उनले भने, ‘महिलाले देवी भगवतीको खोइछ भर्ने भाकलसमेत गरेका हुन्छन् । खोइछ भर्न मूर्ति बनाउने मिस्त्रीले महिलासँग दक्षिणा लिन्छन् ।’

सप्तमीको मध्यराति भगवतीको विशेष पूजा गरेर पाठी बलि दिइन्छ । अष्टमीको दिन बिहान कुभिन्डो र त्यसपछि बोकोको बलि दिइन्छ । नवमीका दिन पनि बिहानको पूजा सकेपछि बोकाको बलि दिइन्छ । पाठी र बोकाको मासु प्रसादका रूपमा खाने चलन रहेको मेहताले सुनाए ।

‘मूर्ति नबनाउनेहरूले अष्टमी र नवमीका दिन कुल देउताको अगाडि घिरौँलाको बलि दिने परम्परा छ,’ उनले भने, ‘दसैंभर मधेसमा घिरौँलाको तरकारी खाँदैनन् । मूर्ति बनाउनेका घरमा गाउँभरका महिलाले सप्तमीदेखि दही जमाएको कचौराजस्तो माटोको ५/१० वटा लदिया, लड्डु, फूल, पान, सुपारी र कागजको मुकुट भगवतीलाई चढाएर पूजा गर्छन् ।’

नवमीको राति हवन गरेपछि पूजा समाप्त हुन्छ । विजयादशमीको दिन बिहानै भजनकीर्तन गर्दै गाउँभरका मानिस नीलकण्ठ चरा खोज्न निस्कन्छन् । भेट्टाएपछि सबैले ढोगेर पूजा गर्छन् । विजयादशमीको राति मूर्ति पोखरीमा विसर्जन गरेपछि गाउँलेलाई भोज खुवाइन्छ । यससँगै दसैं समाप्त भएको मानिन्छ ।

झिझियाको रौनक
घटस्थापनाको साँझबाट मधेसका गाउँगाउँमा झिझिया नृत्यको रौनक देखिन्छ । किशोरी, युवती तथा महिलाले समूह बनाएर गाग्रोमा गन्ती गर्न नसकिने दुलो पारी भित्र दियो बाल्छन् । त्यसपछि उनीहरूले दियो आआफ्नो टाउकामा राखेर झिझिया गीत गाउनुका साथै नाच्दै गाउँ परिक्रमा गर्ने परम्परा छ ।

सुनसरीको देवानगन्जका रामकुमार मेहताले झिझिया नृत्य गरिरहेका बेला कसैले गाग्रोमा रहेका सबै दुलो गन्ती गरे महिलाको मृत्यु हुने जनविश्वास रहेको बताए । ‘बोक्सी, जादु–टुना, भूत, प्रेतको शक्ति निस्तेज पार्न झिझिया नृत्य गरिन्छ,’ उनले भने, ‘घटस्थापनाको दिनदेखि विजयादमीको दिनसम्म झिझिया नृत्य गरेर मधेसका महिला रमाउने गर्छन् ।’

प्रकाशित : आश्विन २४, २०७५ ११:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?