दसैंकाे फुर्सदलाई गन्तव्य

लीलावल्लभ घिमिरे

बिराटनगर — दसैंको फुर्सदमा घुमफिर गर्न चाहनेका लागि प्रदेश १ मा थुप्रै पर्यटकीय गन्तव्य छन्  । विश्वकै सबैभन्दा होचो कचनाकवलदेखि सूर्याेदय दृश्यावलोकनका लागि प्रसिद्ध श्रीअन्तु, ‘गुराँसको राजधानी’ मिल्के डाँडाजस्ता लेकाली क्षेत्रको फन्को लगाउन सकिन्छ  ।

दसैंकाे फुर्सदलाई गन्तव्य


दसैं फुर्सदको समय पनि हो । यो बेला धेरैलाई वर्षभरिको कामको तनाव छल्न घुमफिर गर्ने रहर हुन्छ । योजना पनि बनाएका हुन्छन् । तर कहाँ जाने ? अन्योल हुन सक्छ ।


प्रदेश १ मा घुम्ने धेरै ठाउँ छन् । धनकुटाको भेडेटारबाट हिले बजार, तेह्रथुमको वसन्तपुर हुँदै संखुवासभाको गुफापोखरीसम्मको रुट एउटा विकल्प हो । यस क्षेत्रमा ‘होमस्टे’ सुविधा पाइन्छ । झापाका चिया बगान हुँदै इलामको कन्याम, फिक्कल, पूर्वको पशुपतिनगर, श्रीअन्तुसम्मको गन्तव्य पनि आकर्षक मानिन्छ ।


अरू बेलाभन्दा अलि लामै बिदा हुने भएकाले परिवारसहित यी ठाउँ घुमफिर गर्नेको संख्या बढिरहेको छ । यो चलनले आन्तरिक पर्यटन प्रवद्र्धनमा भरथेग गरेको छ ।


इलाम सदरमुकामबाट उत्तरमा रहेका सन्दकपुर, माईपोखरीजस्ता रमणीय स्थल जानेको संख्या अहिले उल्लेख्य छ । इलाम, धनकुटालगायत कृषि पर्यटनमा अघि छन् भने ताप्लेजुङ, सुनसरी, खोटाङलगायत जिल्ला धार्मिक पर्यटनमा महत्त्वपूर्ण मानिन्छन् । तेह्रथुम, संखुवासभा, मोरङलगायत जिल्ला जैविक विविधताका लागि चर्चित छन् ।


१ हजार ४ सय २० मिटर उचाइको भेडेटार बजार धरानबाट १६ किमि उत्तर पर्छ । छिनमै कुहिरो लाग्ने, छिनमा घाम लाग्ने यो ठाउँ धेरैको रोजाइमा पर्छ । भेडेटार, नाम्जे, नमस्ते झर्नासम्म आन्तरिक पर्यटकको चहलपहल देखिन्छ ।


धनकुटाबाट करिब ५० किमि कालोपत्रे सडक छिचोलेपछि तेह्रथुमको वसन्तपुर बजार पुगिन्छ । त्यहाँबाट उत्तर देउरालीसम्मको ५ किमि कच्ची सडकको यात्रा गर्नुपर्छ । त्यहाँबाट झन्डै ५ घण्टा गुराँसे वन हेर्दै पैदल यात्रापछि गुफापोखरी पुगिन्छ । संखुवासभाको नुनढाकीस्थित गुफापोखरी २ हजार ८ सय ९० मिटर उचाइमा छ । तीनजुरे, पाँचपोखरी, चौकी, मंगलबारे, गुफाबजार, मिल्के डाँडासम्मको पैदलयात्रा रमाइलो हुन्छ ।


पर्यटकका लागि वसन्तपुर, टुटेदेउराली, पाँचपोखरी, चौकी, मंगलबारे र गुफाबजारमा बास र खानाको राम्रो व्यवस्था छ । यो क्षेत्र ताप्लेजुङ, तेह्रथुम र संखुवासभासम्म फैलिएको छ । जैविक विविधताको खानी यो क्षेत्रको उत्तर–पूर्वमा कञ्चनजंघा संरक्षण क्षेत्र र उत्तर–पश्चिमतर्फ मकालु–वरुण राष्ट्रिय निकुञ्ज, सगरमाथा राष्ट्रिय निकुञ्ज पर्छन् ।


विशेषगरी गुराँसका २८ भन्दा बढी प्रजाति पाइने भएकाले ‘गुराँसको राजधानी’ का रूपमा परिचित छ । कचनाकवल नेपालको सबभन्दा होचो स्थल हो जुन समुद्र सतहबाट जम्मा ५८ मिटर उचाइमा छ । यहाँ पुग्न विराटनगरबाट पूर्व–दक्षिणतर्फ १ सय २३ किलोमिटर बस यात्रा गर्नुपर्छ । महाभारतकालमा भीमले किचकलाई मारेको, पुरातात्त्विक दृष्टिले पनि महत्त्वपूर्ण स्थल किचकबध झापाको पृथ्वीनगरमा पर्छ । यो स्थान पनि भ्रमणका लागि आकर्षक बन्दै आएको छ ।


इलामको सन्दकपुर क्षेत्र अर्को आकर्षक गन्तव्य हो । सदरमुकाम इलामबाट माईपोखरी, माईमझुवा हँुदै गोरुवालेबाट सन्दकपुर पुग्न सकिन्छ । माबुबाट कालपोखरी हुँदै सन्दकपुर नजिकको बिखे भन्ज्याज्याङसम्म मोटरबाटो सञ्चालनमा छ । त्यहाँबाट पनि सन्दकपुर पुग्न सकिन्छ । ३ हजार ६ सय ३६ मिटर उचाइको सन्दकपुरबाट सगरमाथा, कञ्चनजंघालगायत हिमशृंखला र सूर्योदय अवलोकन गर्न सकिन्छ । यो क्षेत्र र धार्मिक र जैविक विविधताले महत्त्वपूर्ण छ ।


यसैगरी इलाम सदरमुकामदेखि १३ किलोमिटर उत्तरको माईपोखरी अर्को गन्तव्य हो । यहाँ रैथाने गलैचे, झ्याउ, रूख, भ्यागुतो, ठकठकेजस्ता दुर्लभ जन्तु, वनस्पति र दुर्लभ चराहरू पाइन्छन् । इलामकै अन्तुडाँडा सूर्योदय अवलोकनका लागि उत्कृष्ट स्थान हो । ७ हजार ६ सय ३७ फिट उचाइमा रहेको अन्तु पुग्न मेची राजमार्गको फिक्कलबाट १३ किलोमिटर सडक पार गर्नुपर्छ । ताप्लेजुङको कञ्चनजंघा क्षेत्र पनि घुमघामका लागि उत्कृष्ट मानिन्छ । सदरमुकामबाट कञ्चनजंघा जान ओलाङचुङ जाने बाटोको लेलेपबाट छुटिन्छ । लेलेपबाट जौबारी, सेकाथुम, ग्याब्ला, फले हुँदै घुन्सा पुग्न सकिन्छ । घुन्सा यो क्षेत्रमा धेरै बाक्लो बस्ती भएको क्षेत्र हो । खाम्बाछेन घुन्साबाट एक दिनको पैदल यात्रामा पुगिन्छ ।


इटहरीका तालतलैया पनि पछिल्लो समय पर्यटकीय गन्तव्य बनिरहेका छन् । यहाँ बालउद्यान तथा मिनी चिडियाखाना छ । पशुपन्छी उद्धार केन्द्रसमेत राखिएकाले यो मिनी चिडियाखानाको रूप परिचित हुन थालेको छ । सुनसरीकै शान्तिवन अर्को गन्तव्य हो । बर्जु गाउँपालिकामा पर्ने शान्ति वनमा सुनसरी, मोरङ तथा झापासम्मका आन्तरिक पर्यटक आउने गरेका छन् । मोरङको बेतना सिमसार अर्को गन्तव्य हो । झापाको जामुनखाडी सिमसार पनि घुम्नलायक गन्तव्य हो । कन्काई नगरपालिकामा पर्ने यो क्षेत्रमा दुर्लभ वन्यजन्तु आरक्ष, झोलुंगे पुल, हरिणपार्क, बालउद्यान आदि अवलोकन गर्न सकिन्छ । तेह्रथुमको वसन्तपुर प्रसिद्ध पर्यटकीय स्थल तीनजुरे, मिल्के, जलजले टिएमजे क्षेत्रको प्रवेशद्वार हो । तीनजुरे पहाडको फेदीमा आकर्षक कलाकृति, जंगलभित्रका ठूला ढुंगा र रूख कुँदेर बनाइएका जंगली जनावरका आकृति हेर्न लायक छ ।


बढ्दै होमस्टे

फरक गाउँको फरक परिवेश, खानपान, जीवनशैलीका कारण पछिल्लो समय होमस्टे निकै लोकप्रिय बन्न थालेका छन् । नेपालमा करिब २० जिल्लामा होमस्टे सञ्चालनमा छन् । जातीय संस्कृति, स्थानीय परिवेशले पर्यटकलाई लोभ्याउँछन् ।


इलामको श्रीअन्तुमा होमस्टे सञ्चालनमा छ । असोज–कात्तिकको समय सूर्योदय दृश्यावलोकनका लागि उपयुक्त हुने भएकाले चाडपर्वको फुर्सदमा अन्तुको फन्को रोमाञ्चक बन्न सक्छ । यहाँ करिब ४० वटा घरमा होमस्टे सञ्चालित छन् । लोपोन्मुख लाप्चा जातिको संस्कृति हेर्दै अन्तुपोखरीमा बोटिङ अनि चियाबारीमा रमाइलो गर्न सकिन्छ । धनकुटाको नाम्जे गाउँलाई अमेरिकी समाचार संस्था सीएनएनले केही वर्षअघि विश्वका घुम्नैपर्ने १२ वटा गन्तव्यमा राखेपछि यहाँको होमस्टे पनि फस्टाएको छ । नाम्जेमा १९ घरमा होमस्टे सञ्चालन गरिएको छ । मगर संस्कृति, अर्गानिक परिकार यहाँका विशेषता हुन् भने हुर्रा नाच र मिहिनेती कृषक यहाँका पहिचान ।

प्रकाशित : आश्विन २४, २०७५ ११:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?