काढ्न पर्दैन ऋण

कान्तिपुर संवाददाता

काठमाडौँ — हुनेखानेले दसैंलाई खर्चिलो पर्व बनाएका कारण हुँदाखानेहरू ऋण काढेरै भए पनि खर्च गर्छन् । पर्वतमा केही परिवार यस्ता छन्, जो पर्व मान्न ऋण गर्दैनन् ।

काढ्न पर्दैन ऋण

थोरथोरै बचत गरेर जम्मा हुने पैसाले दसैं मान्दा जीवन सहज भएको छ ।

कुश्मा ८ की राधिका परियार घर बनाउने काममा मजदुरी गर्छिन् । ज्याला पाएका बेला स्थानीय सहकारीमा ५ सय–हजारका दरले बचत गर्छिन् । दैनिक पाँच सय ज्याला पाउने उनले एक/दुई महिनाको फरकमा पारिश्रमिक बुझ्दै आएकी छन् । ‘पोहोरको दसैंमा २० हजार ऋण लाग्यो,’ उनले भनिन्, ‘त्यो सहकारीबाट निकालेकी थिएँ ।

त्यहाँ किस्ता तिर्न जाँदा बचेको पैसा बचत गर्न थालें । अहिले आठ हजार पुगेको छ । ठेकेदारसित काम गरेको पैसा मागेकी छु । नपुगे सहकारीको बचत निकाल्ने हो ।’ आफूले बचत गर्दै रहे चाडपर्वमा आइलाग्ने खर्च धान्न सजिलो हुने उनले बताइन् । ‘अब दसैं मान्न मैले ऋण गर्न पर्दैन होला,’ उनले भनिन् ।

कुश्मा ६ का अर्जुन रिजाल श्रमिक हुन् । १२ वर्षअघि एउटा ठेला किनेर व्यापारीका सामान बजार आसपासमा ढुवानी गर्दै उनले १० वर्षको कमाइले कुश्मामै पक्की घर बनाए । अहिले उनीसँग ढुवानीको काम गर्न आफ्नै गाडी छ ।

जीविकोपार्जनका लागि निकै संघर्ष गरेका उनी चाडबाड ऋण गरेर मनाउने पक्षमा छैनन् । ‘केही वर्षयता दसैं खर्च १० हजार हाराहारीले पुगेको छ,’ उनले भने, ‘लुगा किन्न दसैं पर्खन पर्दैन, खानेकुरामा ठिक्क–ठिक्क गरे पुगिजान्छ ।’ अर्काको देखासिकी नगरी गच्छेअनुसार मनाउने गरेमा दसैं ऋण काढ्न नपर्ने उनी बताउँछन् ।


बिहादी गाउँपालिका १ का कृषक उत्तम परियारले पनि मितव्ययी तवरले दसैं मान्दै आएका छन् । ‘दसैंकै लागि भनेर छुट्टै खानपान र किनमेल कहिल्यै गर्दिनँ,’ उनले भने, ‘अरूको देखासिकी गरेर दसैंका नाममा ऋणको भारी बोक्नु आफैंलाई बोझ हो ।’

मौरीपालक परियार आम्दानीको थोरै–थोरै रकम बचत गर्ने बानी गरे चाडबाडको खर्च धान्न गाह्रो नपर्ने बताउँछन् । ‘मह जेठ र मंसिरमा हुन्छ, अरू बेला नियमित आम्दानीको स्रोत छैन,’ उनले भने, ‘आम्दानी भएका बेला गर्ने बचतले मैले दसैं राम्रैगरी धानेको छु ।’

सामान्य खर्चमा दसैं मनाउने परिवारका सदस्यहरू पर्वका बेला मात्रै अनावश्यक खर्च गर्ने कुरामा सहमत छैनन् । ‘दसैं भनेर जथाभावी ऋण खोजेर खर्च गर्दा अरू बेला छाक टार्नै गाह्रो हुन्छ,’ जलजला ८ का रामु सुवेदीले भने, ‘खानपान र जीवनशैली सधैं एकनासको हुनुपर्छ । दसैंमा गर्ने अनावश्यक खर्च व्यवस्थापन गर्न सके त्यसले वर्ष दिनलाई पुग्छ ।’ आफूले चाडपर्वअघि नै चाहिने सामानको जोहो गर्ने भएकाले एकै पटक धेरै खर्चको भर नपर्ने उनको अनुभव छ ।

पर्वतका बैंक तथा वित्तीय संस्थाहरूमा दसैंको सिजनमा मात्रै एकतिहाइ आर्थिक कारोबार हुने गर्छ । रेमिटयान्स, तलब–भत्ता, सामाजिक सुरक्षालगायतको रकम सर्वसाधारणले दसैंका बेला बढी उपयोग गर्ने गरेको ग्रामीण विकास कृषि सहकारीका प्रबन्धक राजु शर्माले बताए ।

‘अरू बेला चार महिनामा नहुने ट्रान्जेक्सन अहिले एक सातामै हुन्छ,’ उनले भने, ‘अरू बेला बचत गर्नेले पनि यही बेलामा सबै पैसा झिक्छन् ।’ कुश्मामा करिब एक दर्जन बैंक र तीन दर्जन सहकारी छन् । सबै वित्तीय संस्थामा दसैंका दुई सातामा मात्रै दुई अर्बभन्दा बढीको कारोबार हुने गरेको छ ।

प्रकाशित : आश्विन २५, २०७५ १३:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?