१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

चेलीलाई सम्मान

मिथिलाञ्चलमा गाउँभरिका सबै चेलीलाई घटस्थापनापूर्व नै माइत बोलाइन्छ र देवीकै स्वरूप मानेर दसैंभरि मानमनितो गरिन्छ । दुर्गा मूर्ति सेलाउने काम सकिएपछि मात्र बिदा गरेर सुसुराल (घर) पठाउने चलन छ ।
कान्तिपुर संवाददाता

काठमाडौँ — जनकपुरस्थित सामुदायिक परिवार कल्याण संघमा कार्यरत नगराइन नगरपालिका–७ देवडिहाका रमलेशकुमार शर्मा मंगलबार अपराह्न अलि चिन्तित देखिन्थे । संघका केन्द्रीय पदाधिकारीको उपस्थितिमा महत्त्वपूर्ण बैठक चलिरहँदा पनि उनी भित्र–बाहिर गरिरहेका थिए ।

चेलीलाई सम्मान

कार्यालयबाहिर चिया पसलमा एकवर्षे छोरालाई काखी च्यापेर प्रतीक्षा गर्दै थिइन् उनकी २३ वर्षीया श्रीमती शीला । खासमा शर्मालाई साँझसम्म ससुराली सबैला पुग्नु थियो । राति भयो भने १५ किलोमिटर टाढा गाउँको बाटो छिचोल्न सजिलो थिएन । किनकि श्रीमतीलाई घटस्थापनापूर्व अनिवार्य रूपमा माइत पुग्नु थियो ।

उता शीलाकी दिदी पनि धनुषाधाम नगरपालिकाको सिकियाहीमा त्यत्तिकै चिन्तित थिइन् । उनलाई पनि मंगलबार रातिसम्म सबैला पुग्नैपर्ने थियो । शीला भन्दै थिइन्, ‘दुवै दिदीबहिनी धनुषाधाममा भेट हुनेछौं अनि सँगै माइती जाने योजना छ ।’

शीलाका दिदीबहिनी मात्र होइन, सबैला माइत भएका प्राय: सबै चेली घटस्थापना (बुधबार बिहान) पूर्व आ–आफ्ना माइत पुगे । उनीहरू बुधबार बिहान दुर्गा पूजा समिति सबैलाले गर्ने कलशयात्रामा सहभागी भए । त्यसपछिका दस दिन नित्य दुर्गा पूजन र आरतीमा सहभागी हुनेछन् । बालसखासँग गाउँको मेलामा रमाइलो गर्दै डुल्नेछन् । अनि भसान (मूर्ति सेलाउने काम) सकेपछि घर फर्कनेछन् ।

नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एवं स्थानीयवासी योगनारायण यादवका अनुसार दसैंमा चेलीबेटीलाई माइती बोलाउने सबैला गाउँको परम्परा हो । दुर्गा प्रतिमा निर्माण गरी पूजा थालेदेखि नै यो परम्परा छ ।

साविक सबैला गाउँपालिकाका उपप्रमुख एवं दुर्गापूजा सेवा समितिका वरिष्ठ सल्लाहकार राजु गुप्ताका अनुसार यस गाउँमा दुर्गा पूजा परम्परा सय वर्षभन्दा पनि पुरानो छ । गाउँमा आकर्षक दुर्गा मन्दिर छ अनि मेला लाग्ने आफ्नै मैदान पनि । दसैंमा चेलीबेटीलाई माइत बोलाउने तथा कात्तिक पूर्णिमाको राति सामा पर्व सकेर मात्र घर फिर्ता पठाउने परम्परा प्राय: मिथिलाञ्चलको सम्पूर्ण गाउँमा छ तर सबैलामा भने अनिवार्यजस्तै ।

पछिल्ला दिनमा समयाभाव तथा व्यावसायिक व्यवस्तताका कारण केही चेली माइत आउन नसकेको स्थानीय अशोक महतोले बताए । ‘अचेल चेली कामकाजी पनि छन् । उनीहरू दस दिन नबसे पनि दुर्गा पूजामा केही दिनका लागि माइत भने अवश्य आउँछन्,’ उनले भने ।

घटस्थापनाका दिन घरघरमा जमरा राखी पूजापाठ, होम आदि गर्ने परम्परा मिथिलाका प्राय: सम्पूर्ण परिवारमा छ । यसका अतिरिक्त केही गाउँमा शक्तिपीठ हुन्छन् भने केही गाउँमा दुर्गाको प्रतिमा निर्माण गरेर पूजाअर्चना गर्ने चलन छ । शक्तिपीठ तथा दुर्गा प्रतिमा निर्माण हुने गाउँमा प्राय: दसैंमा चेलीलाई माइत बोलाउने परम्परा छ ।

सीता मिथिलाकी चेली भएको कारण यहाँ नवदुर्गा, सरस्वती, लक्ष्मीलगायतका देवीलाई पनि चेलीकै रूपमा माया–स्नेह गर्ने परम्परा रहेको संस्कृतिविद् डा.राजेन्द्रप्रसाद विमलले बताए । दसैंमा दुर्गालाई निम्तो दिएर माइत बोलाइन्छ । चेलीलाई पनि निम्तो दिएर माइत बोलाइन्छ । पूजा अवधिभरि दुर्गालाई पनि मिठाई पकवान चढाइन्छ । चेलीलाई पनि मिठा परिकार खुवाइन्छ । अनि मूर्ति सेलाउने बेला समदाओन (छोरी बिदा गर्ने बेलाको गीत) गाएर दुर्गालाई बिदा गरिन्छ । रुँदै चेलीलाई पनि बिदा गरिन्छ ।

डा.विमल नवधा भक्ति (भक्तिका ९ मार्ग) मध्ये वात्सल्य मार्गलाई सबभन्दा भावुक मार्गको संज्ञा दिन्छन् । जानकी मन्दिरका आदि महन्थ शूरकिशोर दास जानकीलाई छोरीको रूपमा माया गर्थे । उनका चेला/छोराहरूले अझै पनि यस परम्परालाई निरन्तरता दिएका छन् । काली (दुर्गाकै एक रूप) पनि सीताकै रूप भएकाले मिथिलामा दुर्गा मानेर छोरीलाई माया गर्ने चलन रहेको उनको कथन छ । रसिक सम्प्रदायको दार्शनिक सूत्र नै छ— देवीदेवताको पूजा गर्दा टाढाको सम्बन्ध स्थापित हुन्छ । पारिवारिक सम्बन्ध स्थापित गर्दा नजिक हुन्छ ।

वेदकालीन समाज प्रकृतिपूजक समाज थिए । वेदकालमा सूर्य, चन्द्र, आकाश, पाताल, पृथ्वी, प्रकृति, चरअचर तथा वृक्षादिको पूजा गरिन्थ्यो । मूर्ति पूजा हुँदैन्थ्यो । संस्कृतिविद् विमलका अनुसार (मोहन जोदडो र हडप्पाको उत्खननपश्चात् शिस्न (लिंग) र भग (योनि) को प्रतिमा फेला परेको थियो । जसलाई केही विश्लेषकले शिव–पार्वती तथा केहीले उत्पादन (वंश वृद्धि) सँग जोडेर व्याख्या गरेका छन् ।

मोहन जोदडो, हडप्पा तथा गुफाकालमा फेला परेका चित्रहरू भए पनि अचेल मिथिला समाजमा प्रचलनमा रहेको मूर्ति पूजा १६ औं शताब्दीदेखि अलबार सम्प्रदायका पुष्टमार्गीले सञ्चालन गरेको परम्पराको शृंखला भएको उनले जनाए ।


सिँगारिए शक्तिपीठ
दसैंको आगमनसँगै मिथिलाञ्चलका शक्तिपीठ बेहुलीझंै सिँगारिएका छन् । एकीकृत सहरी विकास आयोजनाका क्रममा जनकचोक, रामचोक तथा राजदेवी मन्दिरअगाडि सडक तथा ढल निर्माण भइरहेका कारण साजसज्जामा कमी देखिए पनि मन्दिर परिसर भने झकिझकाउ पारिएका छन् ।

राजदेवी मन्दिर, अमरखना माई, बौधी माई, पियरिया माई, सोनासत्ती देवीलगायतका शक्तिपीठका वरिपरि रंगीचंगी झाल–फानुस लगाइएका छन् । विद्यापति चोक, रामानन्द चोक, जिरो माइल, पुल चोक आदि स्थानमा आकर्षक दुर्गा प्रतिमा बनाइएका छन् ।

यसैगरी देवी चोकस्थित भगवती मन्दिर र अंगराज सरको पूर्वी डिलमा अवस्थित राजदेवी मन्दिरको सजावटमा पनि लाखौं खर्च गरिएको छ । पूर्वी धनुषाको सबैला, रघुनाथपुर, यदुकुहा, वीरेन्द्र बजारलगायतका नगरोन्मुख गाउँमा पनि आकर्षक दुर्गा प्रतिमा निर्माण गरी धुमधामसाथ मेला हुँदै छ । दुर्गा प्रतिमा बनाउने मूर्तिकारलाई भ्याइनभ्याई छ । कलाकारको एउटै समूह चार–चार शक्तिपीठमा प्रतिमा बनाउँदै छन् ।

कलाकार अभावका कारण सिकारुले समेत काम पाएका छन् ।

प्रकाशित : आश्विन २५, २०७५ १३:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?