१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

आफ्नै गाउँ फर्की आएँ...

भारतमा काम गर्दै आएका हजारौं नेपाली दसैंको मुखमा धमाधम घर फर्किरहेका छन् । मजदुरी गरेर फर्केका उनीहरुको गोजीमा केही दाम छ । राम्रो कमाउन सकेकाहरुमा थप उत्साह छ । अधिकांश तिहार मानेर मात्र फर्कने योजनामा छन् ।
ठाकुरसिंह थारू

काठमाडौँ — नेपालगन्ज नाकामा यतिबेला छुट्टै चहलपहल छ । एकाबिहानै भीडभाड लाग्छ । यात्रु लिन तँछाडमछाड छ । टाँगा, रिक्सा, अटो सबै भरिभराउ छन् । भीड व्यवस्थापन गर्न प्रहरीलाई धौ–धौ छ ।

आफ्नै गाउँ फर्की आएँ...

गुन्टागुन्टी बोकेर नेपालगन्जतिर आउनेहरूको संख्या कम छैन । शरीरमा मैला लुगा भए पनि अनुहारमा चमक छ । नयाँ जोस पनि उत्तिकै देखिन्छ । लडाइँ जितेर आएजस्तै उत्साह छ । सबैका अनुहार खुसीले भरिएका छन् ।

दसैंको आगमनसँगै भारतमा मजदुरी गर्ने नेपालीमा यस्तो खुसियाली छाएको हो । उनीहरूको मन तरंगित छ । तीमध्येका एक हुन् कर्णाली प्रदेश सुर्खेतका शोभाराम डाँगी । उनी आइतबार सपरिवार दसैं मनाउन घर फर्किए । दुई छोरा र श्रीमतीसहित भारतबाट फर्किएका उनी चाडपर्वका बेला आफन्तसँग भेटघाट गरी रमाइलो गर्ने योजनामा छन् ।

एक वर्षपछि घर फर्किएका उनी भारतको कालापहाडमा काम गर्दै आएका थिए । गत वर्ष पनि उनी दसैं मनाउन आएका थिए । तिहारसम्म घरमै बसेर उनी भारत फर्किएका थिए । उनी यसरी नै एक दशकदेखि भारत जाने र चाडपर्वमा घर फर्किने गर्दै आएका छन् । ‘कामको सिलसिलामा जहाँ भए पनि चाडपर्व मनाउन त घर आउनैपर्‍यो नि । साथीभाइसँग भेट हुन्छ । रमाइलो हुन्छ,’ नेपालगन्ज नाका हुँदै घर फर्किन लागेका उनले भने, ‘तिहारसम्म यतै बस्छु । चाडपर्व सकिएपछि फेरि फर्किन्छु ।’

भारतमा काम गर्दै आएका हजारौं नेपाली दसैंको मुखमा धमाधम घर फर्किरहेका छन् । मजदुरी गरेर फर्किरहेका उनीहरूको गोजीमा केही दाम छ । राम्रो कमाउन सकेकाहरूमा थप उत्साह छ । ‘परिवारसँग भेट हुने भएपछि जो कोही खुसी हुने नै भयो । हामी पनि खुसी छौँ,’ ६ महिनापछि घर फर्किएका जाजरकोटका इन्द्र कार्कीले भने, ‘अलि कमाइ पनि भएको छ । दसैं रमाइलो गरी मनाउने विचार छ ।’

छिमेकी मुलुक भारतमा जान राहदानी चाहिन्न । अरू मुलुक गएजस्तो हजारौं रुपैयाँ खर्च पनि लाग्दैन । त्यसैले नेपाली युवाहरूको पहिलो रोजाइ भारत हुने गरेको हो । ५ नम्बर र कर्णाली प्रदेशका हजारौं युवा, महिला तथा बालबालिका काम खोज्दै भारत जाने गरेका हुन् । आफ्नै गाउँघरमा काम नपाएपछि नेपाली जनशक्ति भारत पलायन हुने गरेको हो ।

खेतीपातीपछि गाउँहरू युवाविहीन हुने गरेका छन् । खासगरी यस क्षेत्रका सर्वसाधारण भारतको कालापहाड, सिम्ला, गुजरात, दिल्लीलगायतका स्थानमा कामका लागि पुग्ने गरेका छन् । उनीहरू त्यहाँ मजदुरी गर्ने र चाडपर्वका बेला घर फर्किने परम्पराजस्तै बनिसकेको छ ।

हाल दैनिक ३ हजारभन्दा बढी नेपाली नेपालगन्ज नाका भएर घर फर्किरहेका छन् । ‘हूलका हूल नेपाली दसैं मनाउन घर फर्किरहेका छन् । उनीहरू निकै खुसी देखिन्छन्,’ नेपाल–भारत सीमास्थित इलाका प्रहरी कार्यालय नेपालगन्जका प्रमुख सइ शिव वली भन्छन्, ‘दसैंले सबैमा खुसी छाएको छ ।’

लाखौं भारू भित्रिँदै
रुकुमका दिलबहादुर खड्का ३० हजार भारतीय रुपैयाँ (भारु) कमाएर घर फर्किएका छन् । उनीजस्तै गाउँका अधिकांश युवाको कमाइ यो वर्ष राम्रो भएको छ । भारतको सिम्लामा सडक निर्माणको काममा लागेका उनीहरू ५ महिनापछि घर फर्किएका हुन् । ‘खेतीको काम सकिएपछि हरेक वर्ष मजदुरीका लागि भारत जान्छौँ । दुई/चार महिना काम गरी घर फर्किन्छौँ,’ उनले भने, ‘काम राम्रो पाइए तीस/चालीस हजार भारु पनि कमाइ हुन्छ । होइन भने १५/२० हजार भारु लिएर घर फर्किन्छौँ ।’

हरेक वर्ष पैसा कमाउन भारत जाने र चाडपर्वको मुखमा फर्किने गरेको उनले जनाए । उनीसँगै गाउँका दर्जनौं युवा नेपालगन्ज हुँदै घर फर्किएका छन् । यसरी भारतबाट घर फर्किने नेपालीमार्फत दैनिक लाखौँ भारु नेपाल भित्रिन थालेको छ । तीन/चार महिना भारतमा मजदुरी गरी घर फर्किने एक जनाले १५ हजारदेखि ४० हजार भारुसम्म ल्याउने गरेको बताउँछन् । राम्रो काम पाएकाले त्योभन्दा बढी कमाएर आउने गरेका छन् । कतिपय नेपाली चाडपर्वमा हुने खर्च जोहो गर्नैका लागि भारत जाने गरेका छन् । कम्तीमा १५ हजार बोकेर आउँदा दैनिक दुई हजार नेपालीले तीन करोड भारु नेपाल ल्याइरहेका छन् ।

जाजरकोटका अमर परियार चाडपर्व मनाउन घर फर्किएका छन् । उनले यसपल्ट राम्रो कमाइ भएको अनुभव सुनाए । ‘काम राम्रो मिलेपछि पैसा कमाइयो । चाडपर्व राम्रै गरी मनाउने विचार छ,’ उनले भने, ‘हाम्रा गाउँका सबैजसोले १५ हजार भारुभन्दा बढी नै कमाएका छन् ।

नेपाली घर फर्किन थालेपछि भारतीय रुपैयाँ पाउने प्रलोभनमा केही होटल व्यवसायी सीमास्थित रुपैडिहा पुग्ने गरेका छन् । पुष्पलाल चोक आसपासका साना होटलले उनीहरूलाई लिन रिक्सा लिएर पठाउँछन् । उनीहरूलाई आफ्नो होटलमा बसाउन सके भारु कमाइने आसमा त्यस्तो गर्ने गरेका हुन । नेपालगन्जमा भारुको अभाव हुने गरेको छ । एक सय रुपैयाँ भारु पाउन नेपाली १ सय ७० रुपैयाँ तिर्न‘पर्ने बाध्यता छ ।

भरिँदै गाउँ
काम खोज्दै युवाहरू भारत तथा विदेश गएपछि सुनसान हुने गाउँ दसैं सुरु भएसँगै भरिभराउ हुन थालेका छन् । मजदुरी गरेर हजारांै युवा घर फर्किन थालेपछि गाउँको महोल फेरिएको छ । एउटै गाउँबाट एक सय युवा मजदुरीका लागि भारत जाने गरेका छन् । ‘खेतीपाती गर्ने जग्गा नभएकाले गाउँका सबैजसो युवा भारतमा काम गर्न जान्छौँ । महिला र बूढापाका मात्रै घरमा हुन्छन् ।

चाडपर्वका बेला सबै फर्किंदा गाउँमा खुसियाली हुनु स्वाभाविक हो,’ भारतको कालापहाडबाट मजदुरी गरी घर फर्किएका बाँके राप्ती सोनारीका वीरबहादुर खुना भन्छन्, ‘चाडपर्वमा सबै साथीभाइसंग भेट हुन्छ । रमाइलो हुन्छ । फेरि मजदुरी गर्न हिंडेपछि सम्पर्क टुट्छ ।’ उक्त गाउँका करिब सयभन्दा बढी युवा मजदुरीका लागि भारत जाने र चाडपर्वका बेला घर फर्किने गरेको उनले बताए । त्यहाँका युवा कामका लागि भारतको कालापहाड, गुजरात, सिम्लालगायतका ठाउँमा पुग्छन् । सल्यान शंंखमूलका इन्द्रबहादुर बूढाको समूह पनि दसैं मनाउन घर फर्किएका छन् । उनीसँगै १२ युवा भारतको सिम्लामा स्याउ टिप्ने काममा गएका थिए ।

घर फर्किने अधिकांश युवाले गाउँमै रोजगारी नभएकाले भारत जानुपरेको गुनासो गरे । ‘गाउँमै काम पाए अरूको देशमा जान कसैको रहर हुँदैन । मनलागी काम लगाउँछन् । भनेजति पैसा पाइँदैन,’ जाजरकोटका ललाबहादुर बुढाले भने, ‘चाडपर्वमा घर फर्किन्छांै । परिवार, आफन्त, साथीभाइसँग भेटघाट गर्ने र रमाइलो गरेर फेरि काममै फर्किनुपर्छ ।’

सीमामा हेल्प डेस्क
चाडपर्व नजिकिँदै गएपछि भारतबाट फर्किने नेपालीलाई लुटपाटबाट जोगाउन स्थानीय प्रशासनले नेपाल–भारत सीमा जमुनाहामा हेल्प डेस्क राखिएको छ । सर्वसाधारणको सुरक्षाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीले हेल्पडेस्क राखेका हुन् । प्रहरीले ठगीमा पर्न सक्ने भन्दै सुरक्षा सतर्कता अपनाएको छ । स्थानीय प्रशासनले नेपाल–भारत सीमा जमुनाहामा हेल्प डेस्क राखेको छ ।

नेपालीहरूको सुरक्षाका लागि भारतीय सुरक्षा अधिकारीहरूसँग पनि समन्वय गरिएको छ । स्थानीय प्रशासनले चाडपर्व मनाउन घर फर्किने सर्वसाधारणलाई दुव्र्यवहार गर्ने र ठगी गर्ने व्यक्तिलाई कारबाही गर्ने चेतावनी दिएको छ । घर फर्किने सर्वसाधारणहरूको बसपार्कमा भीडभाड हुन थालेको छ । यात्रु ओसार्ने नाममा यातायातकर्मीबाट सर्वसाधारणलाई तानातान गर्ने, झोला खोस्ने र जबरजस्ती आफ्नो गाडीमा बसाउन खोज्दै दुव्र्यवहार हुने गरेको गुनासो छ ।

भीड बढेपछि बाँके प्रहरीले बसपार्कमा पनि यात्रु सहायता कक्ष राखेको छ । सर्वसाधारणलाई सुरक्षा दिन सहायता कक्ष राखिएको हो । बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) अरुण पौडेलले चाडपर्वका बेला विशेष सुरक्षा योजना बनाएर कार्यान्वयनमा लागेको बताए । उनले यात्रुलाई दुव्र्यवहार नगर्न यातायातकर्मीसँग आग्रह गरे । चाडपर्वका बेला आपराधिक गतिविधि बढ्न सक्ने भन्दै नियन्त्रणका लागि योजनाबद्ध ढंगले लागेको जनाए ।

उनले कुनै पनि आपराधिक घटना हुन थालेको सूचना पाए समयमै जानकारी गराउन आग्रह गरे । स्थानीय प्रशासनले चाडपर्वलाई लक्षित गरी सुरक्षा योजना लागू गरेको छ । जसका लागि आकस्मिक छड्के जाँच, टोलटोलमा प्रहरी परिचालन र सादा पोसाकका सुरक्षाकर्मी तैनाथ गरिएका छन् ।

दसैं सुरु भएसँगै गाउँसहरमा उल्लास सुरु भएको छ । नवरात्र पूजाका लागि टोलटोलमा दुर्गाको मूर्ति स्थापना भइरहेका छन् । घटस्थापनाकै दिन घरघरमा जमरा राखिएको छ । थारू समुदाय जमरा राखेर रातभरि नाचमा रमाए । घटस्थापनापछि रातभरि परम्परागत नाच गर्नुपर्ने थारू परम्परा छ । राति कुल देउताको पूजा गरिन्छ । पूजा गर्दा कुलदेउतालाई रक्सीको छाकी (प्रसाद) चढाइन्छ । सहर–बजारमा दुर्गाको पूजाका लागि माइकहरू राखिएका छन् । रामायणलगायतका धार्मिक कथाहरू भिडियोमा हेर्ने व्यवस्था मिलाइएको छ । दुर्गा पूजा र नाचगानले चौतर्फी रमाइलो छाएको छ ।

प्रकाशित : आश्विन २५, २०७५ १३:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?