सीमाको बजार पारिपट्टि

भूषण यादव

काठमाडौँ — जीविका चलाउनेदेखि लिएर हुने खाने परिवार किनमेलका लागि भारतीय बजार पहिलो रोजाइ बन्दै आएको छ  । विवाहका मौसम होस् वा चाडपर्व सीमावर्ती नेपाली सहरका बासिन्दाको किनमेलको थलो हो भारतीय बजार  ।

सीमाको बजार पारिपट्टि

जीविका चलाउनेदेखि लिएर हुने खाने परिवार किनमेलका लागि भारतीय बजार पहिलो रोजाइ बन्दै आएको छ । विवाहका मौसम होस् वा चाडपर्व सीमावर्ती नेपाली सहरका बासिन्दाको किनमेलको थलो हो भारतीय बजार । विधिवत् रूपले दसैं सुरु हुन एक साता पनि छैन । तैपनि वीरगन्ज बजार सुनसान छ । रक्सौल भने गुलजार देखिन्छ । वीरगन्जका व्यापारी ग्राहक कुरेर बसेका छन् ।

चाडपर्वका बेला पहिले राति साढे ८ बजेतिर बन्द हुने पसल अहिले ग्राहक नआउँदा ७ बजे नै बन्द हुन थालेका छन् । वीरगन्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष गोपाल केडियाले सीमावर्ती भारतीय रक्सौल बजारमा केही वर्षयता खुलेका रेडिमेड कपडाका ३ ठूला पसल (सपिङ मल) ले अत्यधिक ग्राहक तानेको बताए । ‘रक्सौलमा खुट्टा राख्ने ठाउँ छैन,’ उनले भने, ‘वीरगन्जमा ग्राहक छैनन् ।’ लत्ताकपडा, इलेक्ट्रोनिक्स सामान, चिनी, दाललगायतका सामग्री रक्सौलमै सस्तो पर्ने भएकाले नेपाली ग्राहक उतै किनमेल गर्न जाने गरेका छन् ।

त्योसँगै गत चैतदेखि एकीकृत भन्सार चौकी (आईसीपी) सञ्चालनमा आएपछि रक्सौल र वीरगन्जको सवारी जाम पनि घटेको छ । महावीरस्थानमा पसल सञ्चालन गरेका केडिया भन्छन्, ‘सवारीसाधन नहुने पनि २० रुपैयाँ भाडा तिरेर इ–रिक्साले मितेरी पुलसम्म पुग्छन्, अनि करिब एक किलोमिटर हिँडेर रक्सौल बजारमा किनमेल गरी फर्किन्छन् ।’

माईस्थानस्थित मेनरोडमा टीभी, फ्रिजलगायतका इलेक्ट्रोनिक्स सामानका विक्रेता विक्की अग्रवालले बजारमा चहलपहल नभएको गुनासो गरे । ‘विगतमा दसैंको एक साताअगाडि ३० प्रतिशतदेखि ४० प्रतिशतसम्म सेल हुन्थ्यो,’ उनले भने, ‘कतिपयले बुकिङ पनि गर्थे, अहिले १० प्रतिशत पनि छैन ।’ भारतीय व्यापारीले दसैँ लक्षित ग्राहकका लागि अनेक छुट अफर ल्याएका छन् ।


केही सपिङ मलमा २ वटा टिसर्ट खरिद गर्दा एउटा सित्तैमा दिने अफर छ । रक्सौलको चर्चित रेडिमेड कपडा पसल अमरदीपका सञ्चालक विमल रुँगटाका अनुसार दसैँको किनेमलका लागि आउने ग्राहकमध्ये अधिकांश नेपालकै हुन्छन् । ग्राहकलाई कपडा देखाउने उनका झन्डै दुई दर्जन कामदार फरर नेपाली भाषा बोल्छन् । अमरदीप मात्र नभई अधिकांश ठूला पसलमा नेपाली बोल्ने कामदर छन् ।

कतिपय कर्मचारी सरकारी गाडी नै लिएर पारिपट्टि किनमेल गर्न पुग्छन् । केही भन्सार नजिकै रहेको इनर्वा प्रहरी चौकीमा सवारी राखेर रक्सौल जान्छन् । भन्सार कार्यालयको मूल गेटबाट रक्सौल बजार हिँड्दै पुगेका नेपाली उपभोक्ता फर्किने बेला हातमा झोला झुन्डयाउँदै पुन: लस्करै हिँड्दै आइरहेका हुन्छन् । रेडिमेड, सर्टिङ, सुटिङका कपडा नेपाल आयात गर्दा भन्सार विन्दुमा मूल्य अभिवृद्धि कर र भन्सार राजस्व गरी करिब ३० देखि ३५ प्रतिशत राजस्व बुझाउनुपर्छ ।

‘नेपालमा भित्रिने अधिकांश भारतीय कपडा कर छलेर भित्रिने भए पनि व्यापारीले ग्राहकलाई बिक्री गर्दा करसमेत जोड्छन्,’ एक कपडा व्यवसायी भन्छन्, ‘त्यही भएर पनि सस्तोका लागि ग्राहक सास्ती खेपेर भए पनि नजिकैको रक्सौल बजार पुग्छन् ।’

मकवानपुर, बारा, चन्द्रनिगाहपुरदेखि सर्लाहीको हरिवन, नवलपुर, लालबन्दीमा बसोबास गर्ने पनि बिदाको दिन मिलाएर खरिददारी गर्न रक्सौल पुग्ने गरेका छन् । घरायसी खरिददारीलाई निरुत्साहित पार्न सरकारले ५ वर्षअघि कडाइका साथ संक्षिप्त प्रज्ञापनपत्र लागू गरेको थियो । ५ हजार रुपैयाँभन्दा बढीको सामान खरिद गरी ल्याउँदा भन्सार कार्यालयमा संक्षिप्त प्रज्ञापनपत्र भरेर राजस्व बुझाउनुपथ्र्यो ।

भन्सार कर्मचारी र सशस्त्र भन्सार गुल्मले कडाइका साथ संक्षिप्त प्रञापनपत्र लागू नगरेकाले भारतीय बजारमा किनमेल झन् फस्टाएको छ । वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकृत सन्तोष यादवले हाल अनलाइनमा गइसकेकाले संक्षिप्त प्रज्ञापनपत्र लागू नभएको बताउँछन् । ‘बढी सामान ल्याउनेलाई अनलाइन फारममार्फत राजस्व असुल गर्छौं,’ उनले भने ।

प्रकाशित : आश्विन २५, २०७५ १३:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?